रामकृष्ण ढकालबाढीको महिमा
जे गरे पनि जसो गरे पनि फेरि यही बाढी नै पत्रकार तथा समाचार माध्यमका भने एकदम प्रिय विषयवस्तु हुन पुग्छ । किनभने यसैको गर्तमा एकैसाथ बसहरू धेरै दिनसम्म पनि नदेखिनेगरि लुक्छन्, बस खोज्ने चुम्बक डुब्छन् ।

रामकृष्ण ढकाल :
बारी, टारी, घारी, दारी, सारी, सबैलाई एकैचोटि बगाएर भगाएर लिएर जाने शक्तिसहित वारिपारी पूरै सम्मजस्तै देखिनेगरी पारिको कान्लाको फेददेखि वारि धान रोपेको खेतसम्म ढाकेर आउने वर्षा यामको असमेल बहावलाई बाढी भनिन्छ । यस्ता बाढी वर्षैपिच्छे कहिले यता कहिलेउता आइरहन्छ । कता बगाउन सकिन्छ के केलाई भगाउन सकिन्छ को कसलाई दशा महादशा लगाउन सकिन्छ भनेर धाइरहन्छ । खोला नदी किनारका बस्तिलाई तर्साइरहन्छ ।
आफ्नो राम्रो कमाइ धमाइ नभएका बगरको ओइलानिमा बस्न गएका मनुवाहरूलाई केही घण्टा थुनुवा बनाइरहन्छ । शयन कक्ष भान्साकोठा शौचालय गोठदेखि बारिको बोटसम्म छप्छपाइरहन्छ । एक ठाउँको चिज अर्को ठाउँमा पुर्याएर हुर्याइरहन्छ । खेतलाई बगर तुल्याइरहन्छ ।
तर यो बाढी भन्ने जातको दिमाग नहुने भएकोले होला खाली दुःखी पीडित गरिबलाई सताइरहन्छ अत्याइरहन्छ । घुस खाएर सुम्लिएका ढाडीहरूलाई केही गर्दैन । कमिशनखोर महलमानलाई यति पहलमान देख्छ कि तिनको नजिकै पर्दैन । राष्ट्रघातीहरूलाई छातीमा लात्ती हानेर, बासस्थानबाट तानेर कुकर्मी हो भन्ने जानेर यसले केही गर्दैन । यस्तो उल्टो बुद्धि यो बाढीले देखाउँछ कि लामखुट्टेको हुललाई केही नगरी खोला तर्न बनाइएको पुल भत्काउँछ । यसलाई मनलागे माटो बगाउँछ, बाटो बगाउँछ आँटो बगाउँछ खास्टो बगाउँछ । जे बगाउँछ दुःखीको बगाउँछ दुःखदातालाई सधैँ कहिल्यै बगाउँदैन सधैँ पाखा लगाउँछ । यसले पनि धनबहादुर, धनप्रसाद, धनमान, धनराज, धनलाल, धनमती, धनवतीहरूबाट यसले पनि कतै घुस खाएको छ कि शङ्का लगाउँछ । यो पनि मानव समाजका नेता कर्मचारी ठेकेदार व्यापारीले जस्तै जब गरिब दुःखी पीडितको आँसु खान्छ, ज्यान लान्छ धनसम्पत्ती तान्छ घरगोठमा हान्छ तब अघाउँछ ।
आफूले भेटेको मामिला वा सिमानामा एकदम राम्रो सम्बन्ध भएको असल छिमेकी मित्रराष्ट्रले जस्तै सदाबहार अनेक दुःख दिइरहन्छ । दुःखीका ज्याला मजदुरी लुटिरहन्छ । ढुङ्गामूढा ल्याई कुटिरहन्छ । वारि बाली जे पाउँछ लुछिरहन्छ । नराम्रो षड्यन्त्रमा मुछिरहन्छ । हाम्रा पुराना शास्त्रहरूमा शिवका र विष्णुका अनेक अवतार र लिला वर्णन गरिएझैँ बाढीले पनि अनेक झमेला गर्दै कहिले नेताजस्तो कहिले कर्मचारी जस्तो कहिले ठेकेदारजस्तो कहिले व्यापारी जस्तो अनेक रूप धारण गरि गरि सताउँछ सधैँभरि ।
कहिले क्रान्तिकारी छलाङ मार्दै विद्यालयलाई सिद्यालय बनाउँछ भने कहिले अस्पताललाई खस्पताल बनाउँछ । कहिले बाढी आउला र हान्ला भनेर छेउछाउका कान्लाले पर्खेर बसेको सोच्छ अनि मुस्लो ल्याएर घोच्छ । दुःखसाथ हुर्केका रूखलाई उखेल्छ अनि आफ्नो धारमा नचाइ खेल्छ । कतै कतै पुराना वस्तुहरू स्वतः उत्खनन गरिदिने र बगरलाई पाँगोले भरेर उर्वर बनाइदिने पनि गरिटोपल्छ भने कतै यो जमानाका विदेशवाद परधर्मवाद, नातावाद, कृपावाद, हरियावाद, फरियावाद, जुसवाद घुसबाद, हाम्रावाद नराम्रावाद, झोलेवाद मुन्द्रेवाद, बाहुवाद साहुवाद खाउवाद कुम्ल्याउवाद विदेशी भाषावाद उपनिवेशपृयतावाद रुपि फोहोर जस्तैगरी किनारामा थुपारिएका रित्ता बोत्तल खोल बट्टा झुत्रामुत्रा मल आदि पनि आफुपुग्ने गन्तव्यमा कोशेली लगिदिन्छ ।
जे गरे पनि जसो गरे पनि फेरि यही बाढी नै पत्रकार तथा समाचार माध्यमका भने एकदम प्रिय विषयवस्तु हुन पुग्छ । किनभने यसैको गर्तमा एकैसाथ बसहरू धेरै दिनसम्म पनि नदेखिनेगरि लुक्छन्, बस खोज्ने चुम्बक डुब्छन् । राम्रा सुन्दर बस्ती हिजो अस्तिको कथा बन्दै भूतकालभित्र लुक्छन् । सयौँ ज्यान जीवन अचानक कहालीलाग्दो अवस्था झेल्दै पुरिन्छन् । हजारौं लाखौं आशा इच्छा सपना बिपना एकैछिनमा तुरिन्छन् । यस्तो अपरम्पार शक्तिसम्पन्न बाढीको यो महिमा जति गाए पनि कम नै हुने भएकोले मथिङ्गलमा यसकै बारेमा आउने सोचको बाढी धेरै आउन नदिउँहोला ।
०००
२०८१ साउन २१
चितवन








































यति डर लाग्दो र भर कत्ति नलाग्दो सम्झँदैमा व्लड,ओठ-तालु सुकाउने वेईमानी फ्लडको मुक्त कण्ठले प्रशंसा गर्नु भएर हाम्रो जस्तो नाम विकास, खल्तीमा निकास गर्ने डोजरे संस्कृतिको लुटाहा प्रवृत्तिले ओतप्रोत भएका जनप्रतिनिधिको विगविगी भएका वाढीसँग मितेरीको नजिकको साइनो भएको पुर्खाले खेपेको छिमेकिले हेपेको देश नेपाल भन्ने भूमिमा रहेर सहस्र जिव्रे शेषनागलाई समेत नूर गिराउँला झैँ जो वर्णनातित वर्णन गर्नु भो लेखकको लेखनीलाई वाह! लेश्राप होईन प्रशंसाको पोकोले आज मंगल मुर्तिको व्रत लिएको भोको पेट सँगै “सलाम् साप्!” भन्दै नमस्ते टक्र्याएँ, साथै कुशासन र भ्रष्ट शासकको जो यो खराब शासनाकालको गर्तबाट नेपाल र नेपालीलाई कसरी र कुन बाढीले उधिन्यो भने नेपाल र नेपालीको हित होला! भन्ने लेख अर्को पन्नमा पढ्न र गम्न पाइयोस्! हस नमस्कार!