कुमार खड्काहोसियार !
अझै पत्याउदैछौँ झुठा वाचा, कसमहरू, स्विकार्दै छौँ तिनै हातका टीका जमराहरू थाप्दैछौँ शीर नुहाएर तिनकै आशीर्वादहरू, कति निर्लज्ज छौँ ? उनैका अर्ती उपदेश पत्याउदै स्विकारोक्तिका अभिवादन टर्क्याउँछौँ ।

कुमार खड्का :
आफ्नो दैलो फोहोर गर्दा
अनुहारमा लागेका दाग पुछ्न
अरुले ऐना देखाउनुपर्नेहरू,
हौसिएर आख्यान सिकाउछन्,
स्वयं धर्म भाक्दै,
अधर्मका ह्रास लीला मच्चाउनेहरू
सभ्यता, संस्कार, संस्कृतिका
नैतिक पाठ पढाउँछन् ,
विमतिमा धारेहात लाउँदै
सत्तो सराप गर्ने लाचारहरू
ज्ञान, विज्ञानका
बुद्धिविलास गर्छन्,
जन्म कुण्डलीको पत्तो छैन,
इतिहास, भुगोल
सिकाउने जमर्को गर्छन् ।
आयातित रबैयाका
विकृति भित्र्याउन ,
अनैतिक चरित्र देखाउनेहरू,
वैदिक धर्मका मन्त्र ओकल्दै
दर्शन शास्त्र बर्बराउछन् ,
स्व धर्तीमा ईश्वर लत्याउनेहरू
पाप, पुण्यका साक्षात्
प्रतिमुर्ति बनेर
फेर्छन् राम नामका काँचुली ।
अवसर पाउँदा खल्ती काट्नेहरू,
अर्ती, उपदेश फलाक्न भ्याउछन् ,
पापको पुलिन्दा बोक्दाबोक्दै
लठ्ठिएको कालो जिब्रो फट्कार्दै
निरीह आत्मालाई
आशीर्वाद प्रदान गर्ने ,
जमर्को गर्छन् ।
कति लाचार र कमजोर छौँ हामी ?
अझै पत्याउदैछौँ झुठा वाचा, कसमहरू,
स्विकार्दै छौँ तिनै हातका टीका जमराहरू
थाप्दैछौँ शीर नुहाएर
तिनकै आशीर्वादहरू,
कति निर्लज्ज छौँ ?
उनैका अर्ती उपदेश पत्याउदै
स्विकारोक्तिका अभिवादन टर्क्याउँछौँ ।
आश्वस्त पार्छाैँ तिनैलाई
मौनताकाे स्विकृतिले,
लोभ र पापको भार थेग्न
झुक्किएको अभिनयमा,
टेको हाल्ने हर्कत गर्दैछौँ ।
उनैको खल्तीको
गुलाम बनेर चर्दाचर्दै
च्यातिएर सकिँदै छौँ एक दिन,
र
उनकै डस्ट्बिनमा फालिन्छौँ !
होसियार.. !!!
०००
आलापोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































