सोझो कुरो बाङ्गो नियत
जे भए पनि कार्यकर्ता भनेका कार्यकर्ता हुन्, आदेश खस्न नपाउँदै भनेका ठाउँमा सामेल भएर काम तामेल गर्न कस्सिइसकेका थिए पाखुरामा बुद्धि भएका यी बुद्धिबहादुरहरू ।
पिँडालु पण्डित :
निर्वाचन र मनसुन करिब करिब उस्तै हो नेपालको सन्दर्भमा । वर्षको एकचोटि भित्रिने मनसुन कहिले व्यापक हुन्छ कहिले खण्डवृष्टि र कुन्नि के के गरेर बर्सादका समयमा पनि झन्डै झन्डै खडेरी पर्ला जस्तो हुन्छ । निर्वाचन पनि कहिले ठुल्ठुलो आइलाग्छ, कहिले सानोतिनो । प्रत्येक वर्ष मनसुन आएझैँ निर्वाचन नआएको वर्ष छैन पछिल्ला वर्षहरूमा । कहिले राष्ट्रिय सभा कहिले प्रतिनिधि सभा, कहिले प्रदेश सभा कहिले स्थानीय सभा । यी सभैसभाको निर्वाचनले राष्ट्रिय ढुकुटी कसरी धमिर्याउँदै छ भन्नेतिर कसैको ख्याल भए जस्तो लाग्दैन । उसको भन्दा बढी सिट, हारे पनि फलाना पार्टीको भन्दा दुई मत भने पनि हाम्रै बढी मत आदि इत्यादि जुँगाको लडाईं विनाटिकट हेरिरहेछन् आम जनता । साँढेको जुधाइ बाच्छाको मिचाइ भनेझैँ छ जनताको जग । खाने पिउने रामे चोट पाउने चामे भनेझैँ छ जनताको स्थिति । बोलूँ बोल्न भा’छैन, नबोलूँ मनले मान्दैन । जे गरे पनि सुख छैन । जे गरे पनि सन्तोष छैन । अर्काको आङको जुम्रा देख्छस्, आफ्नू आङको भैँसी देख्दैनस् भन्नु होला । त्यो भने पनि सहन्छु, तर नबोलिरहन सक्तिनँ । चाहे देखेको कुरा होस्, चाहे सुनेको कुरा होस् । भन्न चाहिँ कत्ति पनि बाँकी राखिन्न ।
प्रसूतिगृहमा लगेकी दोजिया नारीको कतिखेर जिउ हलुङ्गो हुन्छ थाहा हुन्न भने जस्तै छ यतिखेर निर्वाचनका कुरा । कतिखेर कुन निर्वाचनको घोषणा सुन्नुपर्ने हो थाहा छैन । तर निर्वाचनको हल्ला व्यापक छ जनबस्तीहरूमा । मध्यम बुद्धि भएकाहरू मध्यावधि निर्वाचनको माग गरिरहेछन्, अल्प बुद्धि भएकाहरू अल्पावधिको निर्वाचन चाहिरहेछन् । टीकाटालोमा विश्वास गर्ने राजनीतिककर्मीहरू टीके निर्वाचनकै पक्षमा कुर्लिरहेछन् । जनताको मतमा उनीहरूलाई विश्वासै छैन । दुई तीन जनालाई नमस्ते गरेर चाहे अनुसारको शक्तिशाली पद पाइन्छ भने लाखौँ जनतालाई नमस्ते गरेर अनिश्चित विजयको भुमरीमा को जाकिन जाओस् ! जित्ने एक दुई जनाले हो सबैले होइन । त्यसमाथि जनताको जित त अझैँ टाढाको कुरो । तिनले न हिजो जिते न आज जितेका छन् । न त भोलि नै जित्नेछन् । त्यही भएर उनीहरू भन्छन् – यो मते र टीके निर्वाचन भन्दा त निष्पक्ष पनि हुने, छिटो पनि हुने, खर्चालु पनि नहुने गोले निर्वाचन नै ठिक ।
गोले निर्वाचनका विषयमा नसुनेकाहरू छक्क पर्छन् र सोध्छन् – के हो यो गोले निर्वाचन भनेको ? कहिल्यै नसुकेको निर्वाचन ! नसुन्नेका लागि अनौठै छ यो निर्वाचन । तर अनौठो मान्नु पर्दैन । किनकि, गोले निर्वाचन भनेको गोला हालेर गोला तान्ने निर्वाचन । याने कि चिठ्ठा निर्वाचन । जसको पुर्पुरो बलियो छ उसैका हातमा विजयको गोला । अहिले पाखुरा बलिया हुने कुबेरप्रसादहरू चम्केका छन् भने यो गोले प्रणालीमा तकदिर बलियो हुनेले खान्छन्, के फरक पर्यो र ! देशका लागि जसो गरे पनि उस्तै हो । भिरबाट लडे पनि किलो रित्तै, बाघले खाए पनि किलो रित्तै भने जस्तै हो देश र जनताका लागि ।
गोले निर्वाचनका विषयमा कानुनले नबोलिसकेको अहिलेको अवस्थामा बजारभरि मते निर्वाचनको हल्ला छ । निर्वाचनमा भाग लिने व्यक्ति हुन् वा राजनीतिक दलहरू सबै यसैको पूर्व तयारीमा जुटिसकेका छन् । डाँडाकाँडा चिच्याउनेदेखि जनबस्ती उराल्नेसम्मका काममा उनीहरू जुटेका छन् । आखिर ढाँटे पनि, काटे पनि, कुटे पनि, चुटे पनि जाने त जनताकै दैलोमा हो भन्ने यी मते निर्वाचनका अनुयायीहरूले राम्रैसँग बुझेका छन् । त्यसैले कार्यकर्ता परिचालनमा यिनीहरू रातदिन खटिएका छन् । जनतैको पैसाले, जनतैको खाएर, जनतैको दैलोमा, जनतैलाई झुक्याएर, जनतैको मत तान्ने रणनीतिमा निर्वाचनका कृषकहरू लागिपरेका देखिन्छन् । त्यसैले गाउँगाउँमा मतदानका लागि मतदान पूर्व नै मततान प्रशिक्षण टोली खटाउँदैछन् प्रत्येक राजनीतिक दल र उम्मेदवारीको आकाङ्क्षा पाल्नेहरू । कुरो सोझो गर्ने नियत बाङ्गो राख्ने अभीष्ट छ यिनीहरूमा । प्रशिक्षणमा भाग लिन लागेकालाई पनि बताएका छैनन् यिनले यस्ता भित्री कुरा ।
जनतासँग कसरी सम्पर्क गर्ने ? आपसी कुराकानी कसरी गर्ने ? कसरी नमस्कार वा अभिवादन गर्ने ? विदाइ हुँदा कसरी गर्ने ? यी त हाम्रै मान्छे रहेछन् भनेर कसरी प्रभाव पार्ने भन्ने मन्त्रदान हुँदै छ प्रशिक्षण कार्यक्रममा । प्रशिक्षण कार्यक्रममा समग्रमा बढी ध्यान (फोकस) नमस्कारमा दिइएको छ । सधैँ अर्कालाई नमस्ते गरेर हैरान भएका जनतामाझ नमस्कारको कोसेली लिएर जाँदा उनीहरू दङ्ग पर्ने कुरामा सबैको एक मत छ । निर्वाचनका कुरालाई ध्यानमा राखेर नमस्कारको तौर तरिका समेतका विषयमा प्रशिक्षित गरिने यो कार्यक्रम पहिलो पटक आयोजन हुन लागेको हो ।
यसमा न जनताको खर्च हुन्छ, न प्रशिक्षणमा सहभागी हुनेको खर्च हुन्छ, न उम्मेदवार, न राजनीतिक दल । कसैको पनि खर्च हुने छैन यसमा । अदृश्य भगवान् आएर यिनलाई सघाउने छन् यतिखेर यस काममा । त्यसैले छारोकै रूपमा भए पनि यसको कुनै बिल भरपाई निर्वाचन गराउने संस्थामा पेस गर्नुपर्ने छैन । यो प्रशिक्षण निकै खर्चिलो भएर पनि देखावटी रूपमा एक दमडी कसैको खर्च नहुने प्रशिक्षण कार्यक्रम हो । किनकि, कहीँ कतै यसको हिसाबकिताबको राखनधरन र परीक्षण हुनेवाला छैन ।
विशेष सूत्रबाट जानकारी भएअनुसार बाङ्गो नियत भएका तर सोझो कुरा गर्न जान्ने पाका मान्छेहरूको यस प्रशिक्षणमा बढी हात छ । निर्वाचन केन्द्रित नमस्तेको तौर तरिका लगायतको प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरूलाई सोझा कुरा गरी यसरी प्रशिक्षण दिइयो । प्रशिक्षार्थीहरू आपूmले सिकेका कुरा स्थलगत रूपमा जतिसक्दो कलात्मक तरिकाले प्रस्तुत गर्न कम्मर कसेर लागे । सोझो कुरा गर्न जान्ने तर बाङ्गो नियत भएकाबाट गोप्य प्रशिक्षण क्रममा उनीहरूलाई भनिएको थियो –
१. बाटोमा झुत्रेझाम्रे, बुढो, बुढी, केटाकेटी, महिला, पुरुष, अपाङ्गता भएका, हलो जोत्दै गरेका, कोदाली खन्दै गरेका, घाँस काट्दै गरेका, भारी बोक्दै गरेका, फोहोरी, सुग्घरी, विरामी जो जस्तो र जे जस्तो अवस्थामा भेटे पनि हाँसीहाँसी नजिकबाट चिनेजस्तै गरी सार्वजनिक मिडियाहरूमा पत्रकारहरूले नमस्ते गरे जस्तो मुखले मात्र बोलेर नभई दुई हात जोडेर तिनलाई नमस्ते गर्नुस् । नमस्तेमा नारी पुरुषको भेद नगर्नुस् । जातजातिको पनि भेद नगर्नुस् । मान्छेको उमेर र मनोविज्ञान बुझेर कसैलाई मुड्की उठाएर, कसैलाई दुई हात जोडेर, कसैलाई पाँच औँलासहितको हत्केलो ठड्याएर, कसैलाई हातमा शिर राखेर, कसैलाई घुँडा छोएर अभिवादन ठोक्नुस् । यति गर्दा तपाईंहरूको के नै जान्छ र ! गर्नुस्, लाज नमानीकन गर्नुस्, धक नमानीकन गर्नुस् ।
२. सोझो औँलाले घिउ आउँदैन भन्ने कुरा न्वारानका दिनदेखि नै चाल पाएका यिनले कार्यकर्ता प्रशिक्षणका क्रममा भने – नमस्ते गरिसकेपछि जो कोहीलाई पनि सञ्चो बिसञ्चोका कुरा सोध्नुस् । खाना, खाजा, चिया खाए नखाएको विषयमा सोध्नुस् । भेटिएको मान्छेको अवस्था विचार गरी परिवारका अरू सदस्यका विषयमा पनि चासो राखेजस्तो गर्नुस् । पिरमर्का दुःखका विषयमा सहानुभूति प्रकट गर्न र खुसीका विषयमा बधाई तथा शुभकामना दिन नबिर्सनुस् ।
३. हेर्नोस् न, आउँला आउँला भन्दाभन्दै बिचमा आउनै पाइएन । आउन नपाए पनि हरहमेसा मन त यतै छ, तन मात्र उता हो भनेर चिप्लो घस्नुस् । गाउँघरका समस्या र पिर मर्काका विषयमा पनि ठाउँ र अवस्था हेरी सोधनी गर्नुस् । केही समस्याहरू देखाए भने नआत्तिनुस् हामी छँदैछौँ । निर्वाचन त सकिन दिनुस्, त्यसपछि जे गर्न पर्छ गरूँला नि भनेर अवस्था हेरी हाँसीहाँसी वा भावुक भएर आश्वस्त पार्नुस् । नाङ्गलो ठटाएर हात्ती र छोरी कुटेर बुहारी तर्साउन जानेका हामीहरू जस्ता राजनीतिक खेलाडी कहीँ पनि चुक्नुहुन्न । भविष्यका तारा तपाईंहरू जस्ता खेलाडी पाएर हामीले हीनताबोध हैन गर्व गर्न सकौँ । बुझ्नु भयो कि नाइँ ?
४. जो कहिल्यै गाउँ, जिल्ला, प्रदेश वा सङ्घीय सदरमुकाम आउँदैन जस्तो लाग्छ त्यस्तालाई भेट्दा खोइ ! तपाईंहरू उतातिर आउँदा पनि आउनु हुन्न । यसो कहिलेकहीँ आउँदै गर्नुस् न । उता आउँदा जाँदा बाटो नबिराउनुस् । केही समस्या परे भन्नुस् । अरूले तपाईंहरूलाई हेर्दैनन् । ती त्यस्तै हुन् । ती त्यस्ता भए भनेर हामीलाई पनि त्यस्तै स्वभावका नसोच्नु होला । हामी त जनताका मान्छे हौँ, जनताकै बस्तीमा आउँछौँ, जनताबाटै चुनिन्छौँ, जनताकै काममा खटिन्छौँ भनेर फस्ल्याङफुस्लुङ पार्नुस् । अरू आएर झुटा कुरा गरेर तपाईंहरूलाई झुक्याउलान्, सतर्क हुनुस् भनेर पनि आँखामा छारो हाल्नुस् । यसो गर्दा पनि कोही रिसायो र प्रतिवाद गर्न वा मुख छाड्न खोज्यो भने त्यस्तालाई एक्लै अँगालो मारेर अलिक परसम्म लगेर कानमा के के न भने जस्तो पारेर टाउको हल्लाउँदै केही नभनी पठाइदिनुस् । अनि जनताका चासोमा उनका अगाडि भन्ने कुरो केही नपाएर ती अझैँ थला पर्छन् । केही भनेको छैन भन्यो भने त्यत्रो बेर कानेखुसी गरेको छ, भनेको छ भनूँ भने केही भनेको छैन । अनि त्यस्ता मान्छे स्थानीय जनताका नजरमा कुरा ढाँट्नेमा पर्छन्, छलछाम गर्नेमा गनिन्छन्, नेताको नजिक हुन खोजेकोमा दरिन्छन् र आफैँ नाङ्गिन्छन् । बढ्ता जान्ने भएर डुक्रने यस्तालाई जस्तालाई तस्तै भने जस्तै व्यवहार त गर्नुपर्यो नि । परेन ? निकै सजग हुनुस् यस्ता कुरामा ।
५. नमस्कारलाई पटक पटक दोहोर्याउनुस् । खाने बेलामा बाहेक सकेसम्म हात तलतिर ल्याउँदै नल्याउनुस् । अघि नमस्ते गरेको मान्छे त हो नि भनेर दोहोर्याएर के नमस्ते गर्नु ? भन्ने नठान्नुस् । उसले नमस्ते गर्ला अनि म गरूँला भनेर पनि नपर्खनुस् । नमस्ते नै निर्वाचनमा मत तान्ने बलियो हतियार हो । त्यसैले कोही कसैलाई नमस्ते गर्नमा कत्ति पनि कञ्जुस्याइँ नगर्नुस् । जति पटक भेटिन्छ त्यति पटक नमस्ते गर्नुस् । नमस्ते गरेर तपाईंहरूको हात खिइँदैन । अनि, उनीहरूका अगाडि ठुलो पल्टने काम पनि नगर्नुस् । ठुलो पल्टने काम जति गर्नुपर्छ त्यो निर्वाचन जितेपछि गर्नुहोला । अहिलेलाई उनै ठुलो, उनै माननीय, उनै सम्माननीय जस्तो गराइदिनुस् ।
६. पशुपालन, उन्नत खेतीबाली, उद्यम, बजारभाउ, वैदेशिक रोजगार, नगदे बाली जस्ता सम्भावनाका क्षेत्र के के छन् ? कस्ता छन् ? जस्ता कुरा गरेर मख्ख पार्नुस् र तिनलाई त्यसै त्यसै अल्मल्याइदिनुस् । तिनको दिमाग भुटिदिनुस् । यो काम त गर्न सकिन्न जस्ता प्रस्ट कुरा कहीँ कतै नगर्नुस् । कसैले पानीमाथि सोझैँ आगो बाल्ने योजना ल्याउँछ भने पनि क्या राम्रो योजना ल्याउनु भो ! यो त चाहिन्छ नै, गर्नैपर्छ, भइहाल्छ नि जस्ता कुरा गरेर तिनलाई तिनले चाल नपाउने गरी दिनदहाडै हरियो घाँस हाल्नुस् । जुन कुराले उनीहरू मख्ख परून् । हामीलाई विश्वास गरून् ।
७. आफ्ना आङको भैँसी लुकाएर अर्काका आङको जुम्रा देखाइदिनुस् । पत्ता साफ हुने गरी हुनेसम्म विपक्षीको धोइपखाली गरिदिनुस् । त्यस ठाउँमा विपक्षी पुगे भने तिनलाई सकेसम्म ढुङ्गामुढा गरेर निषेध गर्ने, नसके तिनका सभामा चरोमुसो कोही नजाने गरी भित्रभित्रै वरपरको वातावरणलाई त्यसै त्यसै त्रसित बनाइदिनुस् । अनि बाहिर बाहिर चाहिँ निष्पक्ष निर्वाचन र त्यसका लागि भयरहित वातावरण सिर्जनाका पक्षमा खुलेयाम वकालत गर्नुस् । यस्तो क्रियाकलापले निर्वाचनका विषयमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहबाट कसैले पर्यवेक्षण गरिरहेको भए त्यस्ताको अभिलेखमा कलम घुम्न पाउँदैन । हरेक कुरामा विचार पुर्याउनुपर्छ निर्वाचनमा ।
८. नमस्तेका विषयमा अझैँ हरहमेसा निरन्तर चनाखो रहनुस् । हामीले पाँच/छ वर्षसम्म खाएको नमस्ते पन्ध्रबिस दिनमै छरेर सक्नुपर्छ । स्थानीय जनता वा मतदाता मात्र हैन, वरपर भेटिएका विपक्षी उम्मेदवारका कार्यकर्ता, उम्मेदवार स्वयं. तथा तिनका भएजति र भेटेजति झोलेहरूलाई पनि नमस्ते अर्पिन कञ्जुस्याइँ नगर्नुू । अझ भन्न बिर्सियो – जनताका घर दैलामा जाँदा तिनका दैलामा अवरोध गर्न आउने सेरु, टमी, टाइगर, मोती जस्ता नामधारी प्राणी र गोेठका गाई, बाख्रा, भैँसी, भेडा, घोडा जे जे छन् तिनलाई पनि पशु अधिकारकर्मी जस्तो भएर टाढैबाट नमस्ते ठोक्नुस् । के खान्छौ तिमीहरू भनेर वरपर रहेको घाँस, खोस्टा आदि उनीहरूले खानेकुरा के छ त्यो अलिकति भए पनि उनीहरू भएतिर फाल्दिनुस् । यस्ता कामले पनि कतिपय मान्छेको मन खिच्न सकिन्छ, मन जित्न सकिन्छ ।
९. जुन घरमा पुगिन्छ त्यहाँका बालबच्चासँग पनि नजिकिएर बातचित गर्नुस् । नमस्ते गर्नुस् । काँधमा उचाल्नुस् । कतिमा पढ्छौ ? किताब छ कि छैन ? झोला छ कि छैन ? पढाइ कस्तो छ स्कुलमा ? सर मिस कस्तो हुनुहुन्छ ? कसले राम्रो पढाउँछ ? अक्षर कस्ता छन् तिम्रा ? जस्ता उनीहरूलाई प्रिय लाग्ने र तिनले बताउन सक्ने कुरा गरिदिनुस् । कति राम्रो बाबू, कति राम्री नानी भनेर म्वाइँ खाइदिनुस् वा टाउको सुम्सुम्याइदिनुस् वा पिठ्युँमा हात घुमाएर सुम्सुम्याइदिनुस् । अनि, ल धेरै पढेर ठुलो मान्छे हुनुपर्छ । जागिर खानुपर्छ । लाहुरेको बस्ती भए लाहुरे हुनुपर्छ जस्ता कुरा गरिदिनुस् । विदेश जानेको बाहुल्य भएको ठाउँ छ भने यो केटो वा केटी पक्कै विदेश जान्छ/जान्छे भनेर ज्योतिष बनिदिनुस् । सकेसम्म यी कुरा तिनका बाबुआमा, हजुरबा, हजुरआमा, दाइ, दिदीले देख्ने गरी गर्नुस्, भन्नुस्, सुनाउनुस् ।
१०. निर्वाचन मितिको घोषणा सुन्नेबित्तिकै आप्mनो कार्यक्षेत्रमा दौडिहाल्नुस् । त्यो दौडाइ यति छिटो होस् कि कसैले कल्पनै नगरेको होस् । रेडियोले निर्वाचन मितिका विषयमा मुख्य समाचारमा बोलिहाल्यो भने बाटोमै खाना खाने र भेटेका ठाउँमा गाडी चढ्ने गरी कुदिहाल्नुस् । घरमा पनि म हिँडे है भनेर बाटैबाट फोन गरेर खबर गरे पनि हुन्छ । पहिलो प्रभाव, परिपक्व प्रभाव भन्ने कुरालाई ध्यानमा राखेर रेडियोको पूरा समाचार सुन्नतिर पनि नलाग्नुस् । दौडिहाल्नुस् । परेको हामी बेहोर्छौँ ।
११. रातमा घ्याम्पो रित्याउने क्षमता तपाईंहरूमा छ भने पनि उनीहरूका सामु दिउसो गिलास छुँदा पनि अपराध लाग्ने जस्तो भएर प्रस्तुत हुनुस् । तपाईंहरूको खटाइ र कामको मूल्याङ्कन पछि हुन्छ । पार्टीले तपाईंहरूको एक एक अभिलेख राख्छ । तपाईंहरूको पसिनाको मूल्य हामी चुक्ता गर्छाैँ। (भगवान् यसरी झुटो बोलेकोमा मलाई कुनै पाप नलागोस् भनी मनमनै भगवान सम्झँदै) आफ्नो र अर्काको भेद हामी गर्दैनौँ । कसैलाई काख र कसैलाई पाखा हामी गर्दैनौँ । नातावाद, कृपावाद, फरियावाद, सुरुवालवाद, भनसुनवाद, जे जति कुवाद छ त्यसबाट हामी टाढा रहन्छौँ । त्यसमा तपाईंहरूलाई हामी पूरापूर विश्वास दिलाउँछौँ । जनतालाई पनि तपाईंहरू भनिदिनुस् हामी विपक्षी जस्तो सिरक ओढेर घुस खाने मान्छे/पार्टी हैनौँ । विश्वास लाग्दैन भने एक पटक जिताएर त हेर्नुस् अनि थाहा पाउनुहुन्छ ।
निर्वाचन मितिको घोषणा भयो । प्रशिक्षण दिनेभन्दा लिने अझैँ तीन कदम अगाडि देखिन पुगे । निर्वाचन मितिको घोषणा हुनेबित्तिकै निर्वाचनका लागि प्रशिक्षित यी जमातले मूल ढोकै नखोली आफ्ना घरको कम्पाउन्ड/पर्खाल नाघेर सर्लक्क बाटोमा ढाकिहाले । चरिचरनमा जान लागेका गाईभैँसी र भेडाबाख्राले पनि बाटो पाएनन् । चरिचरनमा जान लागेका तिनले बाटो नै छिचोल्न सकेनन् । रेडियोले पूरा समाचार फलाक्ने बेलासम्म त गाउँगाउँमा पुगेर जनताका दैला ढक्ढक्याउन थालिसकेका थिए तिनले । कतिपय ठाउँमा त मतदाता नै बिउँझीसकेका थिएनन् यी पुग्दा । जे भए पनि कार्यकर्ता भनेका कार्यकर्ता हुन्, आदेश खस्न नपाउँदै भनेका ठाउँमा सामेल भएर काम तामेल गर्न कस्सिइसकेका थिए पाखुरामा बुद्धि भएका यी बुद्धिबहादुरहरू ।
तर, उता जनता पनि कम लाटा त कहाँ थिए र ! ती भुक्तभोगी जनता चाहिँ एक अर्कामा आपसी खासखुस गर्दै मसिनो स्वरमा भन्दै थिए – नचिनेका चोर त कहाँ हुन् र यिनीहरू पनि !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest