अशोककुमार शिवाघर बिग्रियो रे
बेफ्वाके तर्क गर्न सजिलो होला तर प्रामाणिक तथ्य जुटाउनु गाह्रो हुन्छ । कतिपय राष्ट्र आन्तरिक कुरा मिलाउन नसकेर बाह्य हस्तक्षेपले तहसनहस समेत भएका छन् ।

अशोककुमार शिवा :
“बिग्रेको घरको भत्केको चाला, जता जता जाला उतै उतै खाला ।” यो त भयो उखान तर घर कसरी बिग्रिन्छ ? किन बिग्रिन्छ ? कस्ले बिगार्छ ? यी सवालहरू त्यसबेला तेर्सिन्छन् जब मान्छे मेरो घर बिग्रियो भन्छन् । घर दुई किसिमले बिग्रिँदो रहेछ । एउटा बनेको बनाइएको घर पुरानो वा जीर्ण भएर बिग्रिँदो रहेछ भने अर्को घरभित्रको परिवार बिग्रियो भने पनि घर बिग्रिँदो रहेछ ।
बल्ल बल्ल पाँचवर्षमा परिवार जुराई मिलाई दियो कता लहसिन्छन् कता बहकिन्छन् । कहिले ऊ सँग साँठगाँठ गर्या छ कहिले ऊ सँग टाँस्या छ । मौकाको फाइदा उठाउन नै सबै लामबद्ध हे प्रभु ! चार दिन उज्यालो अनुहार लाउन पा हुँदैन पाँचौ दिनमा गोबरको थाक छेउ उभिएको जस्तो मुख देखिन्छ । नून भेट्दा नुनिलो हुनु, सुन भेट्दा सुनौलो हुनु, दाम भेट्दा सुकिलो हुनु अनि हाम भेट्दा घ्याम्पे हुनु अनौठो मानिँदैन तर यिनै द्रव्यले धेरैको घर चकनाचुर पारेको रहेछ । भित्र भित्रै भुसको आगो पुत्पुताएझैँ ।
हैन अनि घरका बिग्रिए भने त घरकालाई पो मर्मत गर्नुपर्छ त्यस्का बाजे अर्कोले बिगार्यो कि भनेर शङ्कैमा दप्काउनु त राम्रो कुरा त होइन त गाँठे । आफ्नो तह लगाउन नसक्ने अर्काको टाउकोमा घण्टा बजाएर हुन्छ ? फेरि त्यो लहसिने मुर्दार पनि कस्तो/कस्ती ? खुरुक्क आफ्नै घरको रेखदेख गरेर बस्नुपर्छ नि । अर्काको पछि किन लाग्नु पद र प्रतिष्ठा पाइन्छ भन्दैमा पोइलै जानु त भएन नि कि कसो ? स्वास्नीले लोग्ने अनि लोग्नेले स्वास्नी कज्याउन नसक्नेले कुनै दलबलको मुखिया/मुखिनी हुन पनि मिल्दैन नि हौ ।
आफ्नी छोरी नक्कली छिमेकीको घरको झ्याल बन्द गर्न लगाएर हुन्छ र ? छोरीको नक्कल झक्कल र मसाकमुसुकलाई पो घर भित्रै खसाकखुसुक गरेर सपार्नु पर्छ । कट्टु लगाएर खुलेआम हिँड्दा बटुवाले नहेरे के आकास तिर आखा फर्काउछ त ? राष्ट्र सपार्न नसक्नेलाई परराष्ट्र समेत जिम्मा लगाएर केही आशा गर्न सकिन्छ होला र ? घर भित्रको परिवार मिलाउन नसक्नेले छिमेकी सुधार्छु भनेर फुर्ति लगाउदा उस्को घरको शिशाबाट भित्र देखिने चर्तिकला केले छोप्ने होला ?
समाज, सामाजिक परिवेश, सस्कार संस्कृति, धर्म परम्परा नबुझेकोले सामाजिकतामा खलल पर्ने पार्ने कुरा के हो ? सस्कार संस्कृतिको जगेर्ना गर्न नदिने तत्व के हो ? धर्म र परम्परा चल्न नदिने तत्व कुन हो ? कहिले बुझ्दैन र उसले यस्ता कुराको जगेणर्ा गर्न कदापि सक्दैन । दोष जति सबै अर्काको थाप्लोमा होलेर आफू पानी माथिको ओभानो हुनु भनेको दिवास्वप्न मात्रै हो । त्यसको कुनै न कुनै दिन पर्दाफास हुन्छ । कसैले कुनै कुरामा सफलता हासिल गरेको छ र उसले त्यस घरको वातावरणलाई स्वच्छ राखिरहेको छ भने त्यो घरको स्वामित्व उसैको पोल्टामा पर्नुपर्छ । यसो नहुने हो भने बनेको घर व्यवस्था पूनः बिग्रिन थाल्छ ।
कसैबाट उस्को विद्वता अनुसारको काम नलिएर विपरित कामको सफलताको आशा गरेर जिम्मा दिनु भनेको कालन्तरमा घर बिगार्नु नै हो । आमाले के गर्छे छोरीले विरोध गर्ने बाबुले के गर्छ छोरोले विरोध गर्ने परिपाटी चल्ने चलाउने हो भने न समाज बन्छ न सामाजिक परिवेश । बेफ्वाके तर्क गर्न सजिलो होला तर प्रामाणिक तथ्य जुटाउनु गाह्रो हुन्छ । कतिपय राष्ट्र आन्तरिक कुरा मिलाउन नसकेर बाह्य हस्तक्षेपले तहसनहस समेत भएका छन् ।
पहिला आफ्नो घर भित्रै सरसफाई गरौँ । मेरो घर गन्हायो भनेर छिमेकीलाई नकोसौँ । बिचरा छिमेकीले त्यसबेला सम्म आफ्नो छिमेकीको घर गन्हाएको महसुस गरेको थिएन भने पनि जुन दिन उस्लाई तिम्रो कारणले मेरो घर गन्हायो भन्छ त्यस दिनबाट झनै बढी गन्हाउन थाल्छ र मास्क लगाएर हिँड्छ ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































