साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री छनोटमा सकस

यो सबै देखाउने नाटक न हो । आफ्नै मान्छे न छानिने हुन्, बेकारमा विधि पुर्‍याएँ भन्ने न हो । उनीहरूकै वरिपरीकाले मन्त्री हुन पाउने न हुन् ।

Nepal Telecom ad

उमेश गुइँठे :

पार्टी कार्यालयमा ठूलै भीड थियो । नहोस पनि किन ? पार्टीलाई प्राप्त सिटको दसौँ गुणा आकाङ्क्षी र तिनका सिफारिसकर्ता एकै चोटी ओइरिएपछि, गाह्रो हुने नै भयो । सभापति आइपुग्नु भयो । भीडको अभिवादन खान वहाँलाई हम्मे हम्मे पर्‍यो । आजको अभिवादन अलि चर्कै थियो । आफुलाई देखिन सबै सभापतितर्फ घाँटी तन्काएर हेरिरहेका थिए । अर्कोतर्फ खुट्टामै टाउको जोतेका सांसदलाई छुटाउन पनि त्यति सजिलो कँहा थियो र ?
सभाहलमा सांसदहरू एक आपसमा गफिँदै थिए, “बुझ्नुभो म त यो मन्त्रिमण्डलमा त म अवश्य पर्छु भन्ने लाग्छ, स्कूल पढदा कसको बारीको के मैले चोरेको छैन, कुखुराको भाले चोरेर पोलेर खाएको हिजो जस्तो लाग्छ । स्वाद अझै यो मुखमा झुण्डिएको छ । ”

अर्का सांसदले तुरुन्त प्रतिवाद गरे, “हैन, तपाईंले के भन्न खोजेको ? तपाईं मन्त्री बन्न खोजेको कि क्लासको मनिटर ? यो त मनिटरको योग्यता भयो । कहाँ मनिटर कहाँ मन्त्री”

“अब कलेज पढदा कति प्राध्यापक कुटियो । कतिलाई कालोमोसो दलियो । जुलुसमा सरकारी गाडी जलाइयो । स्ववियुको बजेट कति हिनामिना गरीयो । के भन्नु र त्यतिले नपुगेर कति ठेक्कामा त कमिसन समेत झ्वाम परियो… ”

“हे… के वाहियात कुरा गरी राखेको ? तपाईंको योग्यता त अझै स्ववियू सभापतिकै रहेछ । मन्त्रीको हैन, बरू सांसदबाट आजै राजीनामा दिएर जानुस् सभापति बन्न” अर्का सांसद फन्केर गएँ अर्को कुर्सीमा बस्न ।

छेउमा कुरा सुनिरहेका सांसद कडकिए, “के तालका माननीय हुन् यी, यिनलाई वाइडबडी काण्ड ललिता निवास काण्ड र भुटानी शरणार्थी काण्ड बारे अनुभवनै रहेनछ । सुन काण्ड, सहकारी काण्ड, एनसेल काण्ड, टेरामक्स काण्ड, बाँसबारी र टीकापुर जग्गा काण्डको त के कुरा गर्नु ? अब अन्तशुल्क स्टिकर काण्ड भनेको के हो ? भन्न बेर छैन । यस्ता काण्डमा नाम नै नमुछिएकाहरू के मन्त्री बन्न तम्सिएका हुन कुन्नि ?”

एक सांसदले हात जोड्दै भने, “मेरो त छैन त्यस्तो कुनै ठूलो काण्ड गरेको अनुभव । अहिलेसम्म त्यस्तो काण्ड गर्ने पदनै पाएको छैन, के गर्नु ? यसपालि मन्त्री बन्न पाए भने देखाउँँला, अघिल्ला काण्डलाई नै बिर्साउने गरेर ठूलो धमाका ।”

यत्तिकैमा बैठक शुरु भयो । सांसदहरूले आ-आफ्नो विचार राख्न थाले । यो पटक मैले काम गर्ने मौका पाउनै पर्छ … । मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व गर्ने जिम्मेवारी मैले पाउनु पर्छ… । जनजातिको प्रतिनिधित्व हुनु परेन, अहिलेसम्म पद नपाउने जनजाति पार्टीमा मै बाँकी छु … । हाम्रो प्रदेशमा पार्टीको साख जोगाउने मै हूँ, विरोधीलाई देखाउन भए पनि यसपटक पार्टीले अवश्य मेरो मूल्याङ्कन गर्नुपर्छ … । दुर्गम क्षेत्रको मन्त्रिमण्डलमा उपस्थिती अनिर्वाय गर्नुपर्छ … ।

सभापतिले र्‍याल पुछदै दाँयाबाँया र्हेदै सांसदहरूको कुरा सुनिरहे । यसै बिच सभाहलबाट एक सांसद भीड पन्छाउँदै निस्किए, “सभापतिले मतिर हेरेर हाँस्दै आँखा सन्काउनु भयो लौ मेरो त कनफर्म भयो । म त हिँडे दौरा किन्न । ल साथी हो अब मन्त्रालयमा नै भेटौँला ।”

सांसदहरूको कुरा सुन्दै कोही रन्किँदै कोही फन्किँदै हलबाट निस्कए । कोही पाखुरा सुर्कँदै मुरमुरिएर बरबराए त्यत्रो योगदानको कदरनै नहुने भएपछि यस्तो पार्टीमा अब के बस्नु ?
“तपाईंले त यसपालि झण्डा हल्लाउने हुनु भो, भाउजुको फरियाको फेर राम्रै सँग पकडिनु भएको छ । ढुक्क हुनुस, भाग्य चम्कियो”

अर्का सासद कड्किँदै थिए, “मन्त्री पाइनँ भने म त अनसन बस्छु, यो अन्याय सहेर बस्दिनँ । गए जाला मेरो ज्यान ।”
“हाम्रो गुटमा त आफ्नो पालो आउला जस्तो छैन । गुटले दुुई-तीन मन्त्री पाउला । त्यो पनि भक भकाएर दिन्न जा भन्न के वेर । अनि त हात लाग्यो फुस्सा ..”

अन्त्यमा उहि परम्परागत निर्णय भयो । मन्त्री छान्ने सर्वाधिकार सभापतिलाई दिइयो ।
“यो सबै देखाउने नाटक न हो । आफ्नै मान्छे न छानिने हुन्, बेकारमा विधि पुर्‍याएँ भन्ने न हो । उनीहरूकै वरिपरीकाले मन्त्री हुन पाउने न हुन् ।”
मन्त्री छान्ने गरुङ्गो जिम्मेवारी पाएका सभापति ताती …ताती गरेर सभाहलबाट निस्किए ।
केहीदिनमै मन्त्री हुनेको नाम आयो ।

जे भने पनि मन्त्रीको नाम छनोट भएपछि सबैले चित्त बुझाए, “ठिकै हो, हामी भन्दा क्षमतावान नै छनोट भएछन् । हामी भन्दा थप अनुभव ज्यान केस र बलत्कारमा सजाय पाएको पनि रहेछ ।”

०००
पशुपति, देवपत्तन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x