
मेराे हेराइमा हास्यव्यङ्ग्य निबन्ध ‘खाइराइड’
मलाई नेपाली कविताहरूबाहेक अरू लेखहरूले यसरी आकर्षित गर्न सक्छन् भन्ने लागेको थिएन । तर राजेन्द्र कार्कीको यस खाइराइडले मलाई गलत साबित गरिदियाे ।

शुभम देवकोटा :
फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गर्ने छाैँ । – सम्पादक
म पुस्तक पढ्न रुचाउने मान्छे होइन तर गएको वर्षदेखि सिफल स्कुलमा पढेको हुनाले मैले २४ वटा जति पुस्तकहरू पढिसकेको छु । तीमध्ये १२ ओटा अङ्ग्रेजी भाषाका पुस्तक थिए र १२ ओटा चाहिँ नेपाली भाषाका । मेरो नेपाली निकै कमजोर भएकाले सुरुसुरुमा मलाई नेपाली भाषाका उपन्यासहरू पढ्न गाह्रो पनि भयो र मलाई रमाइलो पनि लागेन तर हाम्रो विद्यालयले हामीलाई कविता सङ्ग्रहहरू पढाउन थालेपछि मलाई कविताहरूमा एकदम रुचि लाग्न थाल्यो ।
मलाई उपन्यासले खासै तान्न सकेको थिएन तर यो महिनामा हामीले एउटा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह पढ्ने मौका पायाैँ । १० कक्षाको जयभुँडी भन्ने हास्यव्यङ्ग्य निबन्ध त मैले पढेको थिएँ । मलाई हास्यव्यङ्ग्यको अर्थ पनि थाहा थिएन । यो किताब पढ्नुअगाडि हामीलाई हाम्र गुरुले हास्य भनेको के हो ? व्यङ्ग्य भनेको के हो पनि बुझाउनुभयो । हास्य भनेकाे नौवटा रसमध्ये एक रस रहेछ र हास्यभित्र पनि विभिन्न प्रकारहरू हुने रहेछन् । हास्य भनेको लेखनमा मनोरञ्जनको कुरा मात्र हो । त्यसैगरी व्यङ्ग्य भनेको कुनै कुरालाई सिधा सिधा नभनी त्यसलाई घुमाएर भनियाे भने त्यसलाई व्यङ्ग्य भनिन्छ । व्यङ्ग्यबिना हास्य लगभग सम्भव नै हुँदैन । व्यङ्ग्यले घोचपेच गरे पनि व्यङ्ग्यको मुख्य अर्थ भनेको समाजमा परिवर्तन ल्याउनु हो ।
त्यसैगरी खाइराइड भन्ने हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहमा पनि समाजलाई परिवर्तन गर्न र समाजलाई अझ राम्रो बनाउनका लागि निबन्धहरू लेखिएका छन् । निबन्ध सङ्ग्रहभित्र कूल ३१ वटा निबन्ध रहेका छन् । तीमध्ये धेरैजसो सामाजिक र सामाजिकभित्र पनि राजनीतिक व्यङ्ग्यले भरिएको छ । निबन्धहरू छोटा साना र हास्यव्यङ्ग्यले भरिपूर्ण भएकाले यो निबन्धसङ्ग्रह पढ्न मलाई एकदमै रुचि जाग्यो । मैले यो किताब अरूभन्दा धेरै नै छिटो पढेर सकेँ । यस पुस्तकका लेखक राजेन्द्र कार्की हुन् र यो फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित भएको हो । यो किताब यस प्रकाशनकाे दोस्रो संस्करण रहेछ र मैले सुनेअनुसार हाम्रै विद्यालयको लागि यो पुनः प्रकाशित भएको रहेछ ।
यस निबन्धसङ्ग्रहमा लेखकले धेरै सामाजिक विषयवस्तुलाई उठाएका छन् । जुन लेखकले आफै नेपालमा हुँदा भोगेको हो जस्तो मलाई लाग्यो । सबै कुरा मैले नभोगेको भए पनि धेरै कुरा मैले पनि देखेको छु र ती कुरा अझै पनि परिवर्तन भएकाे देखिँदैन । त्यसै गरी लेखकले हाम्रो देशको राजनीतिलाई पनि धेरै व्यङ्ग्य गरेका छन् । उनले प्रधानमन्त्री कि वरदानमन्त्री, देश डुब्यो, चुनाउ पुराण, नेपालीले गर्छ र कुरा गरेर खानु जस्ता निबन्धमा राजनीतिप्रति बढी व्यङ्ग्य गरेका छन् । उनले व्यङ्ग्य गरेका कुराहरूमा कसरी नेतृत्व वर्गले देश विकास नगरी आफ्नाे दुनाे मात्र साेझ्याउँछ । नेताहरूले चुनाव आउँदा मात्रै हामीलाई महत्त्व दिन्छन् । हरेक नेता बोलेर आफ्नो जीवन चलाइरहेका छन् । नेता पदबाट हटे पनि कसरी नेतागिरी गरेर आफ्नो जीवन चलाउँछन् जस्ता कुराहरू निबन्धमा उठाएका छन् ।
राजनीतिक विषय बाहेक लेखकले आजकालका युवाहरूको बारेमा पनि धेरै चर्चा गरेका छन्। जुनमध्ये सबैभन्दा मलाई मन परेका भनेको त्यो ‘नेपाली होइन’ र ‘लाहुरे’ भन्ने निबन्ध हुन् । यी दुई निबन्धमा उनले आजभोलिको नेपालको सत्य जहाँ सबै लाहुरे जस्तै कहिलेकाहीँ घर फर्किने अरू बेला बाहिर बस्ने, विदेश बस्ने कुरा गरेका छन् । कसरी नेपालीले आफ्नो पहिचान राम्रो कुराबाट नभई नराम्रो कुराहरू जस्तै गालीगलोज गर्ने, प्याच्च बोल्ने र बाेली नै पिच्छे नेतालाई गाली गर्ने जस्ता कुराबाट चर्चित छन् भनेर पिन व्यङ्ग्य गरेका छन् ।
लेखक आफ्नो लेखप्रति एकदमै निडर र ढुक्क छन् भन्ने कुरा हरेक निबन्देध पढ्दा थाहा पाउन सकिन्छ । लेखकले यहाँ हाम्रो समाज यौनका कुराहरूसँग एकदम लजाउने र कतिपय कुरामा एकदम गिरेको छ भन्ने कुरा पनि केही निबन्धबाट देखाउन खोजेका छन् । कताकता लेखकले आफूजस्तै नेपाल छोडी विदेश आएका युवाहरूलाई पनि व्यङ्ग्य गरेको देख्न सकिन्छ ।
मलाई यो निबन्ध पढ्दापढ्दै के पनि लाग्यो भने लेखकलाई कताकति नेपालै बसेको भए हुन्थ्यो, नेपालमै केही गर्न सकिन्थ्यो, भनेपछि नेपालमै पनि सम्भावनाहरू छन् भन्ने मनसाय उल्लेख गरेको पाे हाे कि जस्ताे पनि लाग्यो ।
अब यस किताबभित्र भएका हास्य र व्यङ्ग्यका कुराहरू गरौँ । यो किताब व्यङ्ग्यले भरिपूर्ण छ । गुरुले भनेझैँ कुनै लेखमा व्यङ्ग्य छैन र त्यो सिधा अर्थ दिन्छ भने त्यो रचनालाई हास्यव्यङ्ग्य मानिदैन। हास्यव्यङ्ग्य निबन्धको मुख्य गुदी भनेको हाम्रो समाजमा भएका कुरीतिलाई हटाउने र हाम्रो राजनीतिक सामाजिक पक्षलाई राम्रो बनाउन खाेज्नु नै हाे । त्यसका लागि लेखकले धेरै व्यङ्ग्यको प्रयोग, उखान टुक्काको प्रयोग, र बिम्बको पनि प्रयोग गरेका छन्। त्यसका साथसाथै खानाकी पाइखाना, कुकुरको भाग्य, भाग्दा भाग्दै, त्यो नेपाली होइन, आदि लगायत धेरै निबन्धहरूमा हास्य मज्जाले भरिएको देख्न सकिन्छ । तर लेखकको हास्य एउटा यस्तो पक्ष हो जुन सबैलाई एकै ठाउँमा मिल्दैन । यस कुराबाट म प्रभावित भएँ । मैले पढेअनुसार मलाई यो निबन्धसङ्ग्रह हास्यरसले भरिपूर्ण भएकाे लाग्यो ।
यसका साथसाथै एउटा मलाई एकदमै मन परेको कुरा भनेको लेखकले यहाँ जोडेका एक दुईटा टुक्रे कविताहरू र केही विषयले हाम्रो धर्म, संस्कृति र वास्तविक रहनसहन एवम् यथार्थतालाई राम्ररी छाेएका छन् । जस्तै त्यो नेपाली होइन (पृष्ठ सङ्ख्या ५३) मा उनले स्वस्थानी जस्तै गरी “कुमार जी आज्ञा गर्नुहुन्छ हे अगत्स्यमुनि” बाट निबन्ध सुरु गरेका छन् ।
अन्त्यमा भन्नुपर्दा मलाई यो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह एकदमै मनोरञ्जनले भरिपूर्ण कृति लाग्याे । मलाई नेपाली कविताहरूबाहेक अरू लेखहरूले यसरी आकर्षित गर्न सक्छन् भन्ने लागेको थिएन । तर राजेन्द्र कार्कीको यस खाइराइडले मलाई गलत साबित गरिदियाे । यसमा प्रयाेग गरिएकाे हास्य र हाम्राे समाज परिवर्तनका लागि गरिएकाे व्यङ्ग्यले मलाई किताब पढ्नमा एकदमै जागरूक बनायाे ।
यति भन्दैमा मलाई यहाँ भएका सबै निबन्धहरू मन पर्याे भन्ने होइन तर आधाभन्दा धेरै निबन्धहरू मलाई एकदमै मन परे । लाहुरे, बिहे किन, कहाँ छ स्वतन्त्रता, आदि जस्ता अनौठो शीर्षक भएका निबन्धहरू मैले सुरुमा पढेँ तिनीहरू मलाई एकदमै मन पर्याे तर पढ्दै जाँदा बिचमा एक दुईवटा निबन्धहरूकाे मलाई खासै रस पसेन र कतिपय त मैले अलि अलि पढेरै छोडिदिएँ ।
भदाै महिनाको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह पठनअनुभव एकदमै राम्रो रह्यो । मैले यसबाट लेखनका विविधतारूबारे पनि धेरै कुरा सिकेँ । अब मलाई अरू एक दुईवटा हास्यव्यङ्ग्य निबन्धका कृतिहरू पढ्ने रुचि पनि जागेको छ । यसको पूरा श्रेय मैले यस किताबका लेखक, पुस्तक उपलब्ध गराउने प्रकाशक र पुस्तक चयन गर्ने आदरणीय गुरूहरूलाई दिन चाहन्छु ।
०००
कक्षा १२, ‘याला’, डियरवाक सिफल स्कुल, काठमाडाैं
Ek domai ramro nibanda lekheka xan Mero priye Sathi Subham devkota le
As the author of the book, I appreciate your honest and critical review. You mentioned that your Nepali isn’t very good, but based on your writing, you have expressed yourself very well. How can you say your writing isn’t good? It’s very impressive!
Dherai ramro review shubham sathi.