हरिप्रसाद उप्रेतीअक्षता सन्देश
जनताले आफ्नो प्रतिनिधि चुनेर पठाएपछि उनीहरू टीको निधारमा टल्केजस्तै गरी सत्तामा टल्किदा रहेछन् । अनि क्रमशः गर्दै जनताको नजरबाट झर्दा रहेछन् ।

हरिप्रसाद उप्रेती :
दशैँमा चामलमा दही र अबीर हालेर निधारमा टाँसिने गरी टीका तयार पारेर मान्यजनबाट निधारमा लाइयो । रातो टीका निधारमा लगाउँदा आफ्नो व्यक्तित्व खुलेझैँ लाग्यो । व्यक्तित्व खुलेको खुशीमा मनमा विचारहरू पनि खुल्न लागे । म एकाएक विचारशील हुन लागेँ । म विचारशील हुँदाहुँदै निधारबाट टीकाका सुकेका अक्षता झर्न लागे एक एक गर्दै । तिनले मलाई सम्बन्धको पाठ पढाउन थाले ।
जीवनमा सम्बन्ध गाँसिन र टुट्न बेर नलाग्ने रहेछ भन्ने ज्ञान निधारबाट खस्ने हरेक अक्षताले दिन थाले । म विगतका सम्बन्धहरू केलाउदै गएँ । जोडिएका सम्बन्ध र टुटेका सम्बन्धहरूको सम्झना आउन थाल्यो । हरेक वर्ष लगाएका निधारका अक्षता निधारबाट एकएक गर्दै झरे जस्तै जनताका प्रतिनिधि जनताको नजरबाट खस्दै गएको सम्झिन पुगेँ । जनताले आफ्नो प्रतिनिधि चुनेर पठाएपछि उनीहरू टीको निधारमा टल्केजस्तै गरी सत्तामा टल्किदा रहेछन् । अनि क्रमशः गर्दै जनताको नजरबाट झर्दा रहेछन् ।
अक्षता निधारबाट झरे भनेर न टीको लाउन छोडिदो रहेछ न नजरबाट गिरेकालाई प्रतिनिधि चुन्न नै छोडिँदो रहेछ । सत्तामा पुगे पछि निधारका अक्षता सुकेर झरेझैँ नित्य रूपमा नजरबाट झरिरहेछन् सिद्धान्तबाट च्यूत भएर । सत्ताले सिद्धान्तलाई सुकाउँदोरहेछ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































