बिन्दु दहाल ‘मूकदर्शक’वृद्धको गथासो (२)
म सम्झिन्छु आमा दुखे माथ छाती सधैँ भन्नुहुन्थ्यो नबन्नू नजाती, छु यो पिन्जरामा बनेँ एक पन्छी बसेको छु भित्रै बनी दग्ध अल्छी भयो जिन्दगी यो वृथा शुष्क भारी नहेरूँ भयो लोक आँखा उघारी ।

बिन्दु दाहाल मूकदर्शक :
सधैँ हेर्छु जोडी परेवा बसेका
रमाई दुवै ती अँगालो कसेका
सँगै डुल्न जान्छन् कुनाकन्दरामा
म मान्छे हुँ एक्लै भएँ यो धरामा ।१२
उनी साथ बस्दा खुसी देह हुन्थ्यो
दुवैका खुसीले सधैँ व्योम छुन्थ्यो
अरे जिन्दगी यो भयो भग्न आज
बिराना भएछन् हिजोका समाज ।१३
बले अग्नि ताप्छ्न् निभे दूर भाग्छन्
मलाई सबैले दबाएर राख्छन्
विनाघाउ मेरो सधैँ दुख्छ आँत
जतै देख्छु हेप्नेहरूकै जमात ।१४
कुनै चाड आए गए छैन हर्ष
समस्या बढेमा गरिन्नन् विमर्श
म ज्यूँदै मरेको भएँ लासजस्तो
उडेको भुवा झैँ भएको छु सस्तो ।१५
म के पो सुनाऊँ कयौँ छन् गुनासा
सुनाए छिटै देखिने छ्न् तमासा
तँ लुच्चो हरामी भनी गाल पार्छन्
वृथा ती रिसाई दुवै नेत्र तर्छन् ।१६
फुटेको कुनै बाँसुरी झैँ नबज्ने
भयो जिन्दगी यो कसैमा नपच्ने
कयौँचोटि मुर्छा परेको छु रोई
थिएनन् नरो भन्नलाई न कोही ।१७
कुनै काम बिग्रे मलाई छ शङ्का
कयौंपल्ट चल्छन् बुढामाथि डङ्का
सहूँ के गरी यो सधैँ बज्रपात
भएँ निष्ठुरीको अचानो कुजात ।१८
नजाडो नगर्मी कुनै छैन याद
शिलाझैँ छ आत्मा लडेको प्रयात
म सम्झिन्छु आमा दुखे माथ छाती
सधैँ भन्नुहुन्थ्यो नबन्नू नजाती । १९
छु यो पिन्जरामा बनेँ एक पन्छी
बसेको छु भित्रै बनी दग्ध अल्छी
भयो जिन्दगी यो वृथा शुष्क भारी
नहेरूँ भयो लोक आँखा उघारी । २०
व्यथाका कथाले थिच्यो झन् मलाई
म बाँच्दै छु मेरो हियो नै जलाई
न सोचेँ म यस्तो गरी बाँच्नु पर्ला
कसो के गरे दुःख यो दर्द टर्ला ? २१
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































