साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभ्यताको सेरोफेरो

मै बाँचूँ मै हासूँको लोकापत्य दर्शनलाई मूलमन्त्र मानेर सबै स्थानका सङ्गठित शक्तिहरूले अघि बढ्ने हो भने संसार नामक परिवेशको अस्मिता भस्मिभूत हुन कतिबेर लाग्ला र ?!

Nepal Telecom ad

रामकृष्ण ढकाल :

हामी अहिले बाँचिरहेको बृहत् परिवेशलाई एउटै नाम दिने भने त्यो नाम संसार भन्ने हुन्छ होला । यो अपरम्पार संसार विचित्रको पनि छ । कुनै न कुनै तरिकाले जीवन जोगाउनुको सगरमाथा विजय गर्न सके विधा विविधा स्वस्फूर्त रूपमा नजर अगाडि अनेक भावभङ्गीमा रङ्गिबिरङ्गी नृत्य गर्छन् । राजनीतिमा लाजनीति, वातावरणमा फोहोर नीति, विकाशमा नगरनीति, निकाशमा गुम्स्याउनीति, अरूसबै मर नीति आफ्नै उदरभर नीति, हाम्रा जतिलाई काखानीति राम्रा जतिलाई पाखानीति, आफ्ना लागि सुखनीति, अरूका लागि दुखनीति जस्ता अनेकौं आधुनिक विश्वका महानतम उपलब्धिहरू आँखैअगाडि जिउनुमात्रको मूल्यमा वर्षौं नजर गर्न पाउनु वास्तव मै हाम्रो सौभाग्य हो ।

यस्तो महत्वपूर्ण ज्ञानलाई रद्दिको टोकरीमा झट्टी हानेर विरोध गर्ने स्वतन्त्रता छ भन्दैमा वास्तविक चाहिँको भुत्ला पनि नजल्ने गरी पुत्ला जलाउने, शान्त तथा सुन्दर बस्तिका सारा कर्म मर्म र धर्मलाई सरक्क पन्छाइ फरक्क फर्केर पनि नहेरी अनेकौं कहरका नयाँ नाम शहरका सडकमा जुलुस नारासित रासलिलामा मग्न हुने, सके मिले अन्य दलसँग नसके नमिले आफ्नैभित्र भए पनि हानाहान तानातान ठोकाठोक टोकाटोकको उत्कृष्ट नेतृत्व प्रदर्शन गर्ने, डर धम्की लम्की झम्कीजस्ता शर्मपूर्ण अवयवहरूको सार्वजनिक मेला गर्नेजस्ता राष्ट्रका द्रुततर विकाशका अन्य कुनै देशमा नपाइने कार्यक्रमहरू साँच्चै नै प्रशंसायोग्य छन् । कुनैबेला वीर नेपालीका नामले संसारभरी प्रसिद्धी आर्जन भएको इतिहास आज भ्रष्टाचार, कलह, विवेकहीनता , जातिवाद, क्षेतृयतावाद, साम्प्रदायिकतावाद जस्ता प्रतिगतिका विषयहरूमा मात्र माहिर बनेर दोहोरिएको छ ।

लगातार पौने दुई शताब्दीसम्मका राष्ट्रका गौरवगाथा क्षितिजको सुदुर कुनामा शायद हालसम्मका कुनै पनि वैज्ञानिक उपलब्धिको क्षेत्रभन्दा धेरै पर ग्रहण लोकसम्मै पुगेको आभास भएको छ । पूर्खाहरूकै पालादेखि हाँडिगाउँ सृजना गरिएकोले होला यो अत्याधुनिक युगसम्म आइपुग्दा पनि त्यसको धङ्धङीले नछोडेको । तलका कपडा माथिमाथि र माथिका कपडा तलतल सर्दैजाने अनुपम विकाशको युगले सूर्यास्तको दिशाबाट हाम्रो सुन्दरतम संसारतिर वन छोडी वस्ती पस्ने चितुवालाई गिज्याएकोले पनि यस्तो हुन सम्भव होला । किम्बदन्तिका राजाहरूले पहिरेको पहिरन सिङ्गो जनसागरलाई चिनियाँ टुक्काको घण्टी चोर बनाउन सक्षम छैन । शिवले यहिँ पाएथे ज्ञानको पहिलो मुहान गाउनेहरूको देशमा मूर्ख प्रतियोगिताका विजेताहरू पनि विद्वान नै हुन्छन् ।

छोराछोरीलाई क ख सिकाउँदा आफूलाई मात्र राम्रो भन्न सिकाउनु र ब्यासका दुई वचनहरूसँगै साथ नलगाउनुले केही समस्याहरू अवस्य सृजित हुन्छन् । सङ्घेशक्ति कलियुगे पूर्खाले उखान बनाए । सार्वजनिक स्थलहरूमा समारोह आयोजना गरि सम्मान अर्पण गर्दा कस्ता महानुभावहरू छानिन्छन भन्ने विषय पक्कै पनि दुर्बोध होइन । तैपनि आफूलाई शृष्टिकै सर्वश्रेष्ठ प्राणिको मपाइँत्व लिने र आधुनिकतम युगमा बाँचेको बढप्पन प्रस्तुत गर्ने वर्तमान समाजका सदस्यहरू किन पूर्खाको उखानलाई खुर्पा बनाइ सभ्यता फाँड्दै हिँड्छन् भन्ने बुझिएको छैन । दाह्रा र नङ्ग्रा बिना सादा वा अहिँस्रक स्वरूप लिइ जन्मेको मानव अमानवीयता, अविवेक र अस्त्रहरूका कृत्रिम दाह्रा नङ्ग्रा समातेर सिङ्गो सृष्टि माथि न्वारानदेखिको बल लगाएर जाइलागेको छ ।

वर्षौं लामो यो हमला समस्त स्थावर तथा जङ्गम दुवैका लागि विकराल विषादको वर्तमान व्याप्ति सायद अनुपम उपलब्धिको रूपमा उपस्थित छ । अत्यन्तै उत्कृष्ट हुनेगरी बसुधादेखि चन्द्रमासम्म टेकेको हौवा फिंजाउँदै आम विनाशकारी आयुधहरूको अन्धाधुन्ध उत्पादन र प्रयोग मानवले पाइला टेकेकोजति सकल क्षेत्रलाई हिरोशिमा र नागाशाकी बनाउन उद्यत हुनेहरू गलामा मुण्डमाला भिरेर आफूलाई महान विकसित मानव भएको दावी गर्छन् । विश्वको जुनसुकै कुनामा पुगे पनि आकारका मानवलाई साकार रूपमा प्रस्तुत गर्ने केही निश्चित गुणहरू छन । रूप र आकारले मात्र मानव बनिने भए पसल पसलमा राखिएका पानीकागतका पुतलीहरू पनि वायुमण्डल सुत प्राणवायुको दोहोरी खेल्नेहरूमै गनिन्थे ।

संसारमा विवेक, सद्भाव, प्रकृतिप्रेम, सहयोग, सदाचार जस्ता केही अमूर्त नामहरू ख्याल ठट्टाका शीर्षकहरू होइनन् । यिनै भाव वाचक संज्ञाका अनिकाल लागेर नै अरण्य जङ्गमहरू जनावर भन्ने नाम जडेर जिउन बाध्य छन् । स्वघोषित अगुवाहरूका यस्ता अनगिन्ती व्यवहारहरूका कारण सजीव तथा निर्जीव सबै यातनापूर्णरूपमा क्रमशः लोप हुँदैछन् । अरूलाई भनेर खनिएका खाल्टाहरू आज निर्माताहरूकै जीवनको सिमा साबित हुँदैछन् । बुद्धको बोलिमा लोली मिलाउनुभन्दा त बुद्धलाई महाबुद्धू साबित गर्ने अभ्यास महासभ्य होला । गरिब तथा श्रमजीवीहरू घाँसजस्तै कुल्चिइन तथा चपाइनका लागि निर्मित हुन् ।

मूसाहरूको चौतर्फी विकाशका लागि बिरालाहरूले छुट्टै मन्त्रालय र विभागहरूको व्यवस्था गर्ने, अनेक थरी धूवाँको मुस्लो ओकल्ने चिम्नीहरूले वातावरण शुद्धीकरणका विषयमा लामा लामा प्रवचन दिने, उदरमा शिकारका टुक्रा हातमा हतियार अनि साथमा मतियार धारण गर्नेहरूले शान्ति सुरक्षा र जीवनाधिकारका वकालत गर्ने आधुनिक विश्वका गौरवशाली विशेषताहरू हुन् । निर्दोष वधको वैज्ञानिक शिक्षा, रगत पसिना परिश्रम आँसु उत्कृष्ट आहार, दण्डहीनता सहितको दण्ड र भेद, जाति भाषा सानो भूगोल र आस्था जस्ता विषयहरूको हाम्रो युगको सुमधुर सभ्यता अनि महानत उपज हो ।

आधिकारिक रूपमा प्रतिदिन प्रतिक्षण यस्तै देख्ने सुन्ने र भोग्ने हामीले हाम्रो भविष्य कस्तो सोच्ने र हाम्रा उत्तराधिकारीहरूलाई कस्तो सिकाउने भन्ने एउटा अन्योलको कालो बादल मथिङ्गलमा मडारिइरहेको छ । सद्भाव सदाचार मेल सह अस्तित्व उपकार आदि बल मिच्याइँ छलकपट धूर्त्याइँ घुसखोरी पूर्वाग्रह एकल अस्तित्ववाद आदिको मत्स्यन्यायिक पहाडमुनि बेस्सरी पुरिएका छन । सुन्दर प्रकृतिमाथि कृत्रिमताका शतसहस्र अस्त्र सस्त्रहरू वर्षा गरिएको छ । प्रकृति पनि ज्ञान र गुणको खानी हो, यसको संरक्षण समस्त संसारनामक परिवेशको संरक्षण हो भनेर ज्ञान प्रदान गर्नेहरू अलौकिक र अनौठा प्राणिमा दर्ता भए ।

बुद्ध प्लेटो सुकरात फाल्गुनन्द र हज्जारौं ऋषिमुनिहरू आदिम युगका कुँडा कर्कट भए । ह्यान्सेल र ग्रेटेल नामक दाजुबहिनीको कथा र रापुञ्जेल नामक सुन्दरीको कथाजस्ता पश्चिमी कथामा वर्णित काला शक्तिधरहरू पूर्वका लागी मात्र अन्धविश्वास भए । हराम हराम मात्र गरि हिँड्ने तर रामका सेना भनेर चिनिनेहरू मानवका पूर्खा अरे । धन्य धन्य महाधन्य आधुनिक विज्ञान अनि त्यसका अन्धभक्तहरू !! अभावकाे समुद्रहरूमा अशिक्षा, रोग भोक शोक महङ्गी प्राकृतिक प्रकोप आदि मीनगणसँगै अरबाैँ जीवन घिस्रिदै छन् ।

यी यस्ता विषय बस्तुहरू हुन जो आजका महाशक्ति भनाउँदाहरूका निद्रा हरण गर्न एकदम सक्षम छन् । धेरै दशक पहिलेदेखि नै सद्भाव सदाचार मेल सहिष्णुता जस्ता भावनात्मक र सकारात्मक विषयहरूलाई प्रश्रय दिइएको भए आज आएर विकसित भनिन रुचाउने सभ्यताबाट हत्या यातना लूट अपहरण थिचोमिचो जस्ता आत्मघाती दुर्गन्ध आउने थिएन । इँटा र वालुवाको वनमा बारुदको बर्षा गरेर कुनैपनी हालतमा सम्यक सभ्यताको बिरुवा उम्रदैनन् । मै बाँचूँ मै हासूँको लोकापत्य दर्शनलाई मूलमन्त्र मानेर सबै स्थानका सङ्गठित शक्तिहरूले अघि बढ्ने हो भने संसार नामक परिवेशको अस्मिता भस्मिभूत हुन कतिबेर लाग्ला र ?!

०००
२०६७ साउन
शङ्खमूल, काठमाडौं ।

(याे व्यङ्ग्य निबन्ध २०६७ सालको तत्कालीन विश्व र नेपाली परिवेशको आधारमा लेखिएको थियाे सायद आज २०८१ सालमा पनि यो सान्दर्भिक नै हुनसक्छ भनेर संप्रेषणा गरिएको हो ।)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
CN Kanel Harit
CN Kanel Harit
1 year ago

Old, but gold, still contextual!!! – Harit

Nepal Telecom ad
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
सिङ्बिहिन तिखे गोरु

सिङ्बिहिन तिखे गोरु

रामकृष्ण ढकाल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x