सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘खाइराइड’ नेपाली साहित्यको एक उत्तम कृति 

यस्ता चलनहरूमा रोक नलाग्नु हाम्रो समाजको ठुलो असफलता हो । लेखकले नेपाली समाजको वर्तमान स्थिति र असामानताकै विरोध गर्न व्यङ्ग्य र हास्यको प्रयोग गरेको पाइन्छ ।

Nepal Telecom ad

सम्पदा पाैडेल :

फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति   गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गरिरहेका छाैँ । – सम्पादक

पृष्ठभूमि
प्रत्येक महिना हामी डियरवाक सिफल विद्यालयका विद्यार्थीहरूलाई एक नेपाली र एक अङ्ग्रेजी पुस्तक उपलब्ध गराइने विद्यालयको चलन छ । यसै अनुरूप हरेक महिना हामीले कुनै न कुनै साहित्यको नौलो विधा पढिरहेका हुन्छौँ । कहिले त्यो कविता हुन्छ, कहिले उपन्यास, कथा, निबन्ध आदि । यसै कारण हाम्रो नेपाली साहित्य र यसका विभिन्न विधासँग परिचय भइरहेको र भइसकेको छ । नेपाली साहित्यका विभिन्न विधाको निरन्तर खोजी गर्दै र पढ्दै आएको करिब एक वर्ष भइसक्दा गत साउन महिनाको नेपाली पुस्तक पढ्नका लागि म एकदमै उत्साहित थिएँ । पहिलोपटक म हास्यव्यङ्ग्य निबन्ध पढ्न लागेकी थिएँ, त्यो पनि एक मात्र होइन ३१ वटा निबन्ध भएको  सङ्ग्रह । त्यसैले म हास्यव्यङ्ग्य निबन्ध कस्तो होला, के होला भन्ने कुरा जान्न साह्रै इच्छुक पनि थिएँ । अहिले यो सङ्ग्रह पढिसक्दा मलाई साहित्यको यस विशेष शैलीलाई अझै पढ्ने र पहिल्याउँदै जाने इच्छा जागेको छ । यसरी मेरो इच्छा उजागर गर्न यस हास्यव्यङ्ग्य सङ्ग्रह र लेखकको ठुलो योगदान रहेको छ ।

पुस्तक परिचय
राजेन्द्र कार्कीद्वारा लिखित ‘खाइराइड’ एक हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हो । यो फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित भएको हो । यस सङ्ग्रहमा ३१ वटा निबन्धहरू समावेश गरिएको छ । हरेक निबन्धको मुख्य आशय भनेको हाम्रो समाज नै रहेको छ । लेखकले सामाजिक, राजनीतिक, धार्मिक, ऐतिहासिक, पौराणिक तथा शैक्षिक विषयवस्तुलाई लिएका छन् र एक प्रगतिशील सोचलाई पस्किएका छन् । लेखकले गम्भीर विषयवस्तुलाई पनि हास्यात्मक र व्यङ्ग्य्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । यसै कारण उनका हरेक निबन्ध पढ्दा सुधार र फराकिलो विचारको माग गरे जस्तो मलाई अनुभूत भएको छ ।

स्वतन्त्र हुनका लागि छनौट हुनुपर्छ, त्यो छनौट तपाईंसँग कहाँ छ ? जन्मँदा नै आमाको पेटमा कैद बसेको बिर्सिनुभयो । जन्मँदा नै तपाईंसँग छनोट थिएन । छनोट हुन्थ्यो भने गर्भकाे  बनोटमा छोरा वा छोरी के हुने भनेर तपाईंलाई छान्ने मौका हुन्थ्यो । ‘कहाँ छ स्वतन्त्रता’ (पृष्ठ- ३२) ।

निबन्धकारले भनेझैँ स्वतन्त्र हुन छनौट हुन जरुरी छ । लेखक हामी जन्मदादेखि नै छनौट विहीन भएर जन्मेको कुरा लेख्छन् । जो मेरो विचारमा एकदम सही कुरा हो । हामी जन्मने समयदेखि नै कैद थियौँ र आज पनि हामी कैद नै छौँ । हामी घरपरिवार, समाज, राजनीति, धर्म, भाषा, संस्कारको बन्धनमा बाँधिएका छाैँ । हामी लुगा अर्कालाई मनपर्ने गरी लगाउँछौँ । खाना अर्कालाई मनपर्ने खान्छौँ । स्कुल अर्काले पढेको पढ्छौँ । त्यसो हो भने हामी कुन रूपमा स्वतन्त्र छौँ ? हामीले रोजेको खोजेको के हो ? वास्तवमा हामीलाई के मन पर्छ ? र हाम्रा चाहना के हुन् ? निबन्धकारले उठाएका प्रश्नहरू पनि यिनै हुन् । तर उत्तरमा भने हामी अधिकांशको जवाफ केही थाहा छैन नै हो ।

हुन पनि, कोही मान्छे जन्मदेखि नै बुद्धिमान् भएर जन्मिँदैन । समय साथै अनुभव, परिस्थिति र बाध्यताले मान्छेले आफ्नो नैतिकता, सोच र व्यक्तित्वको विकास गर्ने हो । सामाजिक प्राणी हामी, आफ्नो र अर्काको अनुभव र सिकाइबाट नै ज्ञान आर्जन गर्छौं । यसरी नै हामीले ठिक र बेठिक भनेर निर्णय गर्न सिक्छौँ । आजभोलि हामी विद्यालय जान्छौँ जहाँ हामीलाई के गर्ने नगर्ने भनेर पाठ सिकाइन्छ । हामीले धेरै कुरा सिक्न सक्छौँ तर मेरो मान्यतामा, मान्छे आफूले अनुभव, गरेको गल्ती र परेको समस्याबाट नै सबैभन्दा बढी सिक्ने गर्छ । फेरि पनि प्रश्न उही छ, ज्ञान अनुभव भएर पनि हामी किन स्वतन्त्र छैनौँ त ? के ? को ? या कुन चिजले हामीलाई कैद गरेको छ ?

कारण भिन्न हुनसक्छ, तर मेरो विचारमा चाहिँ हामी अरूले के सोच्छन् भन्ने सोचले ग्रस्त भएका रोगीहरू हौँ । हामीसँग गल्ती गर्ने आँट छैन । “ए, यो त केवल जीवनको एक पाटो हो” भनेर हामी बुझ्न सक्दैनौँ । एउटा परीक्षा मात्रै दिन असफल भयौँ भने हामीलाई हाम्रो जीवन सकिए तुल्य लाग्छ । किन ? किनभने, हामीलाई आफू असफल भएको भन्दा पनि अरूले हामी असफल भएको कुरा थाहा पाउँछन् भन्ने कुराको डर बढी छ । आफू जीवनमा असफल भइएला भन्दा पनि अरूसँग कदमसँग कदम चाल्न विफल हौँलाले हामीलाई बढी तर्साउँछ। यदि अरू व्यक्तिले हाम्रो बारेमा के सोच्छन् भन्ने कुराको पिर नहुने हो भने, सायद हामी जीवनलाई एक सकारात्मक दृष्टिकोणबाट हेर्ने थियाैँ । नगरेको, नबुझेको र नसुनेको कुरा गर्नबाट हामी रोकिने छैनौँ । हामी जे गर्न पनि आत्तिने छैनौँ । सबै कुरालाई एक मात्र भए पनि मौका दिनेछौँ र यसरी नै हामी आफूले रोजेको खोजेको कुरालाई पाउनेछौँ र जीवनलाई कैदरहित भएर बाँच्नेछौँ । स्वतन्त्र हुनु भनेको पनि यही नै हो । नडराइ गल्ती गर्न सक्नु हो । कसैको अनुमति बिना आफ्नो लागि कर्म गर्न सक्नु । नहिचकिचाई आफ्नो विचार र सोच राख्न सक्नु हो । आफ्नो सत्य आफै खोज्न सक्नु हो । जब हामी यसरी स्वतन्त्र हुन्छौँ, हामी आफूले रोजेको धर्म, आफूले रोजेको पहिरन लगाउन, आफूले रोजेको विद्यालय पढ्न र आफूले रोजेको जीवन बाँच्न सफल हुनेछाैँ । जसले, “स्वतन्त्र नागरिकको स्वतन्त्र देश” यथार्थ बनाउने छ ।

स्वतन्त्रता पछि हामी सबै नेपालीको एकदम मन पर्ने विषय, देश विकास । हामी नेपाली, हरेक समय हाम्रो देश विकास भएन भन्ने कुरा गर्छौं र जोसँग पनि यही बारे गनगन गरिरहन्छौँ । विद्यालयको वादविवाद होस्, सडकमा हिँडिरहेकाे यात्रु होस्, चिया पसलमा कुराकानी गरिरहेका अङ्कल जो पनि हाम्रो देश विकास भएन मात्र भनेको सुनिन्छ । यसरी चर्चा गरिसकेपछि त देश पक्कै पनि विकास भइरहेको होला । मान्छेहरू आफ्ना आफ्ना तरिकाले योगदान दिइरहेका होलान्, हैन ? होइन नि ! वास्तवमा हामी कुरामा मात्रै देशको विकास गरिरहेका छौँ तर यथार्थ भने ठ्याक्कै विपरीत छ । निबन्धकार पनि कुराका धनी कर्मका अल्छी हाम्राे पद्धतिको बारेमा खुब व्यङ्ग्य गर्छन् ।

हे अगस्त्य मुनि, दुईजना भेट्ने बित्तिकै राजनीतिको कुरा गरेनन् । देशमा नेतै भएनन् भनेन । बिहे, व्रतबन्ध, भोज र भतेरमा देश डुब्यो, नेताले डुबाए भनेन भने त नेपाली होइन । वंशज नेपाली त झनै होइन। ‘त्यो नेपाली होइन’ (पृष्ठ- ५४) । निबन्धकारले त झन् यसरी हाम्रा नेता र राजनीतिका बारेमा नराम्रो नभन्नेलाई त नेपाली नै होइन पनि भनेका छन् । हामी हाम्रो समाजिक सञ्जाल, भेटघाट, वार्तालाप, हरेक कुरामा नेता र राजनीतिलाई गाली गर्छाैँ । काम गरेनन् भनेर चित्त दुखाउँछौँ तर हामी यस देशकाे नागरिक भएर के गरिरहेका छौँ त ? ल हाम्रा नेता राम्रा भएनन्, तर के हाम्रो आफ्नो देशप्रति केही कर्तव्य छैन ? हामी वीर गोर्खालीका छोराछोरी, जसका पुर्खाले आफ्नो ज्यानका बाजी लगाएर, रगत बगाएर हाम्रो देशलाई स्वतन्त्र बनाएका थिए, आज हामी हाम्रो देशको गरिमाका लागि के गरिरहेका छौँ ? केवल धिक्कार्ने, खराब वचन गर्ने र काम टार्ने ?

कुरामा मात्रै सीमित भएका हामी, कर्मका कुरामा शून्य छौँ तर हामीमा अहम् भने पहाड जत्रो छ । निबन्धकारले हाम्रो यस्ताे पद्धतिमाथि यसरी बुट्टा भर्दै भनेका छन् : कोही बोलेको बेला बीचमा प्वाक्क बोलेन । कसैको कुरा काटेन । कुरा काट्दा तिललाई पहाड बनाउन बढाई चढाई गरेर फूल बुट्टा भरेन । हरेक विषयको विज्ञ बनेन । सबै उसैले मात्र जाने जस्तो गरेन भने त्यो नेपाली होइन ।अझ म जान्दिनँ, त्यो मेरो विषय होइन भन्छ भने त्यो नेपाली होइन भन्नेमा शङ्का गर्नुपर्दैन । शङ्का भएमा म:म: भन्नु होला । ‘त्यो नेपाली होइन’ (पृष्ठ- ५५) ।

यहाँ निबन्धकारले हामी बातका धनी, बुद्धिको कमी तर हाम्राे अहम प्रवृत्तिलाई रेखाङ्कन गरेका छन् । के हामी नेपालीहरूको बुद्धि नै नभएको हो त ? अवश्य पनि होइन, तर नचाहिएको, नबुझेको, नदेखेको, नचिनेको कुरामा धाक लगाउने बानी हामी अधिकांशमा छ । यही कुराको बारेमा निबन्धकारले यहाँ हँसी उडाएका हुन् ।

यसरी निबन्धकारले हामी दशैँको बेलामा शिरमा ढाका टोपी ढल्काउने, व्रतबन्ध गर्ने, घरमा खुकुरी सजाउने, लोकदोहोरी गाउनेलाई पनि नेपाली नभएको भन्दा अनौठो लाग्यो तर विचार गर्दै जाँदा हरेक व्यक्तिको पहिचान भनेकै उसको व्यक्तित्व हो भन्ने लाग्यो । एक व्यक्तिको व्यक्तित्व उसको विचार र व्यवहारले निर्धारित गर्छ । हरेक व्यक्ति यदि आफ्नो सोच र व्यवहारले परिचित हुने हो भने हामी नेपालीहरूको पहिचान के हो ? नेपाली आखिर कस्ता पद्धतिका हुन्छन् त ? हो, यही प्रश्न निबन्धकारले हाम्रा विभिन्न व्यवहार र पद्धतिलाई व्यङ्ग्य गर्दै नेपाली हुनु के हो ? को जवाफ आफ्नो यस निबन्धमा दिएका छन् ।

निबन्ध पढ्दै जाँदा बल्ल निबन्धसङ्ग्रहको शीर्षक बनेको निबन्ध ‘खाइराइड’ पढ्न पुगेँ । यस निबन्धलाई पढ्न म सबैभन्दा बढी उत्साहित थिएँ । निबन्धको सुरुवातमा लेखकले खाइराइड नामक एक अनौठो रोगसँग अध्ययनकर्तालाई परिचित गराउँछन् । उनले थाइराइड र खाइराइड दुई रोगबिचको समानता र भिन्नतालाई उजागर गर्दै देश विकासको मुख्य समस्याको रूपमा रहेको भ्रष्टाचारलाई व्यङ्ग्य्यात्मक रूपमा प्रस्तुत गरेका छन् ।

समाजमा बस्ने हरेक व्यक्ति उही सोचको हुँदैन । प्रत्येक व्यक्तिको आ-आफ्नै विश्वास, विचार, इच्छा, नैतिकता र सोच्ने तरिका हुन्छ । त्यसैले एउटै समाजमा रहे तापनि कोही असल हुन्छ भने कोही बदमास । कुनै पनि देशमा खराब गतिविधिबाट सुरक्षित र व्यवस्थित राख्ने कानुन हुन्छ । जुन देशमा कानुनको सही रूपमा पालन हुन्छ त्यहाँ विकास अवश्य पनि हुन्छ । तर कानुनको इज्जत नगरी बेढङ्ग तरिकामा चलेको देश कहिले पनि विकसित हुन सक्दैन । कानुनको सही पालन नभएका देशहरूमा अपराध, द्वन्द्व, झैझगडा, भ्रष्टाचार, चोरी, गरिबी, अत्याचार जस्ता समस्याहरू सामान्य हुन्छन् । यसरी सामान्य भइरहेका यी घटनाक्रमहरूले कुनै पनि देशको विकासको गतिलाई ठुलो नोक्सान पुर्याउँछ । भ्रष्टाचार जस्तो समस्या पनि सही कानुनको पालना नभएकै अवस्थाले सिर्जना हुने हो । जसरी थाइराइड लागेको बेला आयोडिनको कमी हुन्छ, जसले सम्पूर्ण शरीरलाई नोक्सान पार्छ त्यसरी नै खाइराइड, अर्थात् भ्रष्टाचारका कारण हाम्रो पुरा देशले ठुलो नोक्सान बेहोर्नुपर्छ। यही कुरालाई लेखकले यसरी व्यङ्ग्य्यात्मक शैलीमा प्रस्तुत गरेका छन्।

देश विकासको मुख्य आयोडिन भनेको विधि र कानुनको शासन हो । थाइराइड लागेपछि विधिको लिदी काढिन्छ । कानुनको कान काटिएर नुन मात्र बाँकी रहन्छ । इमान र नैतिकता नभएको नुनले सुशासनको प्रणालीलाई ध्वस्त बनाउँछ। सुन समेत नुन ठानेर खाइदिन्छ। किलोका किलो सुन कता पचाउँछ थाहै हुँदैन । ‘खाइराइड’ (पृष्ठ- ७४)
भ्रष्टाचार जस्ता समस्या कुनै एक कारणले भएको हुँदैन । यो व्यक्तिले आफ्नो नैतिकतासँग सम्झौता गरेपछि र आफ्नो बाध्यताले घेरिएपछि व्यापक रूपमा देखापर्ने हो । यस्तो भनिरहँदा सबैजना आफ्नो बाध्यता र कमजोरीले नै भ्रष्टाचार गर्ने अथवा कुनै खराब काम गर्ने होइन । समाज स्वार्थी, लोभी र खराब मनस्थिति भएका मान्छेहरूको पनि साझा घर हो । तर गरिबीले नै गर्दा मान्छे आफ्नो सामान्य आवश्यकताहरू पूरा गर्न सक्दैन त्यसैले ऊ खराब बाटो रोज्न बाध्य हुन्छ । आफ्नो नैतिकतामा चोट पारेका र असत्यको बाटोमा हिँडेकाहरूले गर्दा आज देश डुब्दै छ । यस्ता व्यक्तिहरूको मुख्य समस्या भनेको आफ्नो सोच हो । जबसम्म उनीहरूको खराब कर्म गर्ने सोच परिवर्तन हुँदैन तबसम्म भ्रष्टाचारले देशलाई सजिलै छोड्दैन ।

शरीरमा पलाएको गाँठो काटेर फाल्न मिल्छ । तर नैतिकता, इमान्, जमानमा पलाएको गाँठो कसरी काट्नु ? त्यो सजिलो छैन । किनकि संसारभरि विकास भएको नैतिकहीनता, बेइमानी र धोकाधडीका गाँठाहरू जताततै भएपछि कता मात्र काटेर फाल्नु ! त्यसको लागि सबैभन्दा पहिले शरीरको रगत नै फेर्नुपर्ने हुन्छ । आखिर संसार भनेको समाजको रगत हो । रोग लागेको रगतलाई शुद्ध गर्न बेलाबखत आन्दोलन र क्रान्ति भए । तर पनि ती सबै नयाँ बोतलमा पुराना रक्सी राखेभन्दा बढी केही भएन । ‘खाइराइड’ (पृष्ठ- ७५) ।

माथि लेखक भ्रष्टाचार नियन्त्रण गर्ने उपायहरूबारे पनि चर्चा गर्छन् । कडा कानुन र त्यसको पालनाले केही हदसम्म भ्रष्टाचार रोके तापनि मानसिकता नै परिवर्तन नभइन्जेलसम्म केही असर हुने छैन । सही मानसिकताको विकास बिना कुनै पनि उपाय लामो समयसम्म दिगो रहने छैन ।

स्वतन्त्रता नभए पनि, देश विकास नभए पनि, खाइराइड, थाइराइड जस्ता रोग लागे पनि जीवनको गाडी चलिरहन्छ । एउटा मान्छे जन्मिएपछि विभिन्न प्रक्रियामा सहभागी हुन्छ । ऊ कहिले बालक हुन्छ, त्यसपछि युवक हुन्छ, याैवनमा रमाउँदै थाहा नै नपाइकन परिपक्व बनिसक्छ त्यसपछि पुरुष भए पिता महिला भए माता त्यसो गर्दा गर्दै सङ्घर्ष गर्दै, रुँदै, हाँस्दै, रमाउँदै मान्छे वृद्ध अवस्थामा पुग्छ । यो नै हाम्रो जीवन प्रक्रिया हो।

अघिदेखि जीवनको बारेमा वर्णन गरिरहेको मलाई यसैको एक महत्त्वपूर्ण पाटो, ‘बिहे’ को बारेमा झल्याँस्सै याद आयो । हाम्रो समाजमा हरेक व्यक्तिले विशेषगरी महिलाले निश्चित समयमा बिहे गर्नैपर्छ। बिहे नगर्ने महिला होस् या पुरुषलाई अलि भिन्न दृष्टिकोणले हेरिन्छ । तसर्थ, बिहे गर्नु हाम्रो समाजको र चलनको एक महत्वपूर्ण अंश हो। यस्तो महत्वपूर्ण मानिएको गतिविधिलाई निबन्धकारले रोचक ढङ्गले वर्णन गर्छन् र बिहे गर्ने कि नगर्ने भनेर आफ्ना तर्कहरू व्यङ्ग्यात्मक शैलीमा दिएका छन् । उनले प्रस्तुत गरेको एउटा तर्क यसप्रकार छ :

बिहे नगर्दा हुन्छ के ? सृष्टि रोकिन्छ ? रोकिँदैन । रोकिने भएको भए अविवाहित आमाबुबाबाट राजा भरतको जन्म कसरी हुन्थ्यो त ? उनै भरतको नामबाट भारत भयो। आखिर भरत जन्माउनको लागि राजा दुष्यन्त र शकुन्तलाले बिहे गरे त ? गरेनन्, तर पनि भरत जन्मिए । आखिरमा भरतको त्यत्रो संग्राम उनै भरतका सन्तान (पाण्डव र कौरव) बीच भयो। ‘बिहे किन ?’ (पृष्ठ- २१) ।

म यहाँ लेखकले उठाएका तर्कहरूसँग सहमत छु । बिहे नहुँदैमा सन्तान जन्माउन नसकिने होइन । आफ्नो तर्क पुष्टि गर्न नै उनले राजा दुष्यन्त र शकुन्तलाको पनि उदाहरण दिएका हुन् । यहाँ उनले पौराणिक कथाको प्रयोग गर्दा, भन्न खोजेको कुरा अझै गहिरो रूपमा महसुस भएको छ । किनभने, जब कहिले घरको बिहे योग्य छोरा या छोरीले, “म बिहे गर्दिन या पछि गर्छु” जस्तो कुरा गर्दा सबैभन्दा पहिले नाक खुम्च्याउने घरका वृद्ध हुन्छन् । यतिबेला नै ठुलाबडाले, बिहे हाम्रो संस्कृति हो, परम्परा हो जस्तो कुरा गरेको सुनिन्छ । त्यसैले कुनै एक इतिहासको समयमा हाम्रै यस समाजका राजा जस्ता व्यक्तिले बिहे नगरी सन्तान पाएको कुरा गर्दा कसैले पनि संस्कृति भन्दै यस कुराको विपक्षमा लागिहाल्दैनन्।

तर के बिहे गर्नु त्यस्तै नराम्रो हो त ? यो त हरेक मान्छेको सोच अनुसार भिन्न हुने कुरा हो। मान्छेले आखिर बिहे गरेर के पाउँछ ? एउटा साथी, जसले जीवनको अन्त्यसम्म साथ निभाउने बाचा गरेको हुन्छ। त्यही व्यक्तिले परेको बेला सहयोग पनि गर्छ र कुनै समयमा गनगन पनि गर्छ, रिसको कारण पनि हुन्छ र मायालु पनि उही नै हुन्छ । तर के यो साथी पाएपछि एक्लोपनबाट डराउने मान्छे कहिले एक्लो नहुने हो त ? त्यो पनि होइन। मान्छे बिहे गरेर पनि एक्लो हुन्छ। यसरी बिहे गरेर एक्लो भएका व्यक्तिहरू वास्तवमा एकअर्कालाई प्रेम गर्दैनन् र सम्बन्ध दुनियाँ र समाजका लागि जोगाउँछन् । प्रायः जस्तालाई यसरी बिहे पश्चात् एक्लो हुने व्यक्तिहरूको पक्कै पनि अरेन्ज म्यारिज भएका हुन् जस्तो लाग्छ तर प्रेम विवाह गरेकामध्ये पनि कति एक्लै छन् । के बिहेपछि साँच्चै प्रेम हराउँछ र ? हो, यसबारे निबन्धकारले यसरी आफ्नो विचार प्रस्तुत गरेछन् :

प्रेम आकर्षण हो। इन्द्रेणी रङको त्यो आकर्षणले प्रेमी र प्रेमिका एकअर्कालाई पाउन पागल हुन्छन् । त्यो पागल पनले कति मर्छन् । जब बिहे हुन्छ तब फेरि त्यो आकर्षण रहँदैन। बिहेपछि कोही पनि प्रेमी प्रेमिका हुँदैनन् । बिहेपछि पनि तपाईंले कसैलाई प्रेमी प्रेमिका भनेको सुन्नुभएको छ ? छैन सुनेको लोग्ने-स्वास्नी हो । बिहेको प्रसङ्ग उठ्दा छुटाउनै नहुने कुरा कन्यादानको हो । थरिथरिका दानमध्ये एउटा कन्यादान हो। “पाले पुण्य, मारे पाप” भन्ने चलन कन्यादानमा अझै छ। आखिर दानको रूपमा दिने भएपछि त्यो वस्तुको कुन मूल्य हुने हो र ! तसर्थ बिहेले नारीलाई किनबेचको वस्तु बनायो भन्दा कुनै मानहानीको मुद्दा खेप्नु नपर्ला । ‘बिहे किन ?’ (पृष्ठ- २३) .

आफैँ पनि एउटा नारी भएका कारण लेखकको यस्तो भनाइले मेरो मन खिन्न तुल्याएको छ । मलाई बडो असहज महसुस भयो हामी नारीलाई वस्तुसँग तुलना गर्दा । कोही व्यक्तिलाई पनि एउटा वस्तुलाई सरह लेनदेन गरेको कदापि मनपर्ने छैन र हामी नारीलाई पनि यो स्वीकार्य छैन । यो त एक आपत्तिजनक कुरा हुनुपर्ने हो तर हाम्रो समाजले कन्यादानलाई त दानमध्यको पनि सबैभन्दा ठुलो दान भन्ने गर्छ । यसले हाम्रो समाजको कस्तो चित्र कोरेको छ ? त्यो चित्रको बारेमा सोच्दा मलाई त घिन लागेर आएको छ । हाम्रो समाजमा नारीको अस्तित्व एक वस्तु सरह छ, यही कुराले हाम्रो समाजको लैङ्गिक असमानताको सत्य बोल्दछ ।

कन्यादान मात्रै हाम्रो समाजमा हुने दान होइन । हामी नेपालीहरू दान गर्न एकदम सिपालु छौँ । गोदान, भूदान, मतदान, प्राणदान हामी केही कुरा पनि दान गर्न पछि पर्दैनौं । जसले हाम्रो अगाडि हात फैलाएर आउँछ हामी त्यसको झोला भरिने गरी दान दिन्छौं । एक नजरमा त, हामीमा आफूसँग मात्रै राख्ने जस्तो स्वार्थै छैन पनि लाग्न सक्छ। दान गर्न पनि धनी होस्, गरिब होस्, आम नागरिक होस्, राजा होस्, नेता होस् जो कोही पनि अघि लाग्छ। हामी नेपाली के साँच्चै त्यति दयालु छौँ कि हामी मूर्ख मात्रै हौँ ?, हाम्रो यही दान गर्ने पद्धतिको बारेमा लेखक यसरी व्यङ्ग्य गर्छन् ।
हामी कहाँ ठूला शक्तिहरू दान माग्दै आउँछन् । हाम्रा नेताहरू पनि दान गर्नमा कमजोर छैनन्। जे जे दान माग्छन्, दिन्छन् । कोशीदान मागे दिए, गण्डकी दान मागे, दिए । महाकाली दान मागे सबै मिलेर दिए । नदी नालासँगै वनजङ्गल दान दिए । चारकोशे झाडी दान दिएर सकियो । खोला नालाका रोडा बालुवा दान हुँदैछन् । त्यो सकिएपछि पहाडदान सुरु होला। ‘दानी कि नादानी ?’ (पृष्ठ- १५१) ।

निबन्धकारले माथि भनेझैँ हाम्रो देश अरूलाई दान दिँदादिँदा आफै शून्य बनिसक्दा पनि हाम्रो चेतना अझै विकास भएको छैन । समाचारमा हाम्रो नक्सा यति प्रतिशतले बढ्यो, यति प्रतिशतले घट्यो भन्ने नौला कुरै होइनन् । अरूलाई दान दिने हामी संसारमा भिकारीका नामले प्रसिद्ध छौं । यो हाम्रो देशका लागि कति लज्जाको विषय हो । यति भइसक्दा पनि हाम्रो दान दिने पद्धतिमा केही खासै परिवर्तन भयो जस्तो लाग्दैन। निबन्धकारले भनेझै वास्तवमा हामी दानी होइनौँ आफैँले आफैँलाई सिध्याउने नादानी हौँ ।

सिद्धिन त ज्यान पनि एकदिन सिद्धिनेछ। विश्व पनि कुनै न कुनै समयमा गएर रोकिने होला तर सास रोकिँदाको अवस्था कत्तिको सहज या कठिन हुने होला ? हरेक जन्मेको व्यक्ति एक न एक दिन मर्नेछ । यो हामी सबैलाई थाहा भएकै कुरा हो तर मृत्युको कुरा गर्ना हामी संकोच मान्छौं। संकोच पनि किन नहोस्, सकिने, नरहने, दुःख, पीडाको बारेमा कोलाई नै छलफल गर्न मन लाग्छ र ! तर यो त कोही मान्छेले चाहेर पनि रोक्न नसक्ने प्रक्रिया हो । मैले अघि भनेझैँ हामीलाई मृत्यु शब्द सुन्नासाथ असहज महसुस हुन्छ तर यही शब्दलाई निबन्धकारले एक नयाँ परिचय दिन खोजेका छन् । त्यो यस प्रकार छ :

मृत्यु शोक कि उत्सव हो शोक हो ? शोक हो भने किन उत्सवझै प्रचारप्रसार गरिन्छ ? यसरी प्रचारप्रसार गर्न मृतकको परिवारको अनुमति चाहिन्छ कि चाहिँदैन ? त्यो प्रचारले परिवारलाई शान्ति दिन्छ कि अशान्ति ? यदि शोक हो भने त्यो शोकलाई शोककै रूपमा रहन दिनुपर्छ । सायद त्यही भएर होला, पुरानो जमानामा राजा महाराजाको मृत्यु हुँदा रेडियो र टेलिभिजनमा बज्थे । मृत्यु शोक होइन । जीवनको अन्तिम प्रक्रिया हो भने फेरि किन शोकको रूपमा मनाउनु ? उत्सवको रूपमा मनाउनु पर्छ। ‘मृत्यु विज्ञापन’ (पृष्ठ- १५७) .

मृत्यु नाम सुन्न साथै आँसु झरेको, मान्छे रोएको, सम्बन्ध टुटेको, एक्लोपन सम्झनेहरूका लागि निबन्धकारले एक उचित प्रश्न उठाएका छन् । मृत्यु पनि जीवनको अरू प्रक्रिया जस्तै सामान्य प्रक्रिया होइन र ? जीवनको अन्तिम प्रक्रिया हुने भएपछि यसलाई त हर्ष र उत्सव सर मनाए पनि हुन्छ त । तर सायद कोही व्यक्तिलाई गुमाउनु र एक्लै बाँच्नु हामी अधिकांशले नचिताउने कुरा हो । त्यसैले मृत्युलाई एक सामान्य जीवन प्रक्रिया सरह हामीले लिन नसकेको हो । फेरि पनि हामी कोहीलाई मृत्यु शोक लाग्न सक्छ त कसैलाई उत्सव पनि तर शोक लाग्ने व्यक्तिले यसको प्रचारप्रसार गर्दा कतिको उचित हुने हो भन्ने कुरा लेखकले यहाँ उठाएका छन् । मृत्युबारे लेखककाे यस्तो प्रगतिशील र रोचक सोचको म प्रशंसा गर्छु । शोकलाई पनि हर्ष बनाउन सक्नु सामान्य कुरा हुँदै होइन।

निबन्ध पढ्दै जाँदा मेरा आँखा यी हरफमा आएर रोकिए,- स्याल चोर स्याल स्याल मोरो भनेर गालीको थाली पस्कन्छन् । तर त्यसको औचित्य पुष्टि हुनुपर्यो पुष्टि हुनु पर्‍यो । पुष्टि नहुने दृष्टि आरोप लगाउनु कति उचित हो ? कति न्यायोचित हो ? न त मान्छेले स्याललाई खान लाउन नै दिनु पर्छ । कुहिएको सिनो र फोहोर खाइदिएर बरु मान्छेलाई रोग ब्याधबाट हामी बचाउँछ । फेरि उल्टै स्याललाई किन ? ‘जनावरलाई गाली किन ?’ (पृष्ठ- ११) ।

यो अनुच्छेद पढ्ना साथै मलाई मेरो बाल्यकालकाे याद आयो । बाल्यकालदेखि आफूले या अरू कसैले केही गलती गर्नासाथ “तँलाई बाँदर”, “कुकुरनी” आदि मैले सुन्दै हुर्किएकी हुँ । तर कहिले पनि मैले दुध पोख्दा आमाले मलाई बाँदरनी नै किन भनेको या चकलेट किन्दिनौ भनेर रुँदा गोहीको आँसु किन भनिएको भनेर कहिले प्रश्न गरिनँ । मैले दूध पोख्दा के बाँदरनी जस्तै देखिन्छु त ? कि चकलेट माग्दा गोही जस्तै आवाजले कराउँछु ? मलाई थाहा भएन न त मैले सोधेँ । तर ‘जनावरलाई गाली किन ?’ भन्ने निबन्ध पढेपछि यो प्रश्न कति सान्दर्भिक रहेछ भनेर महसुस गरेकी छु । जनावरहरू,  तिनीहरू बोल्न सक्दैनन् हाम्रो भाषा बुझ्दैनन् तर पृथ्वीमा हामी जसरी नै बसोबास गर्छन् । मानवजस्तो बुद्धि, समझ र समस्या समाधान गर्ने क्षमता नहुन सक्छ तर तिनीहरू जीवित प्राणीहरू हुन्, जो चोट खान्छन्, पीडा महसुस गर्छन् र बाँच्नका लागि खाना खान्छन् । त्यस्तो अबुझ प्राणीको नाममा अरू कसैलाई गाली गर्नु कतिको बुद्धिमानी हाे ?

अझै हाम्रो नेपाली समाजमा त जनावरहरूको भूमिका साह्रै रोचक छ । हाम्रा चाडपर्वहरूमा र हाम्रो संस्कृतिमा जनावरहरूप्रति प्रेम र आफ्नो पनको भावना देखाइने चलन छ। तिहारमा हामी कुकुर, गाई, काग लगायतका पशुपक्षीलाई पूजा गर्ने, खाना खुवाउने र सम्मान गर्ने गर्छौं । हाम्रो नेपाली समाजका हिन्दुहरूले त गाईलाई आमा भनेर पनि सम्बोधन गर्ने गर्छन् । गाईको दूध मात्र नभएर गउमुत्र पनि कति पवित्र मानिन्छ। तसर्थ नेपाली समाज मानव र पशुपंक्षी बीचको रोचक सम्बन्धका लागि उदाहरणीय छ। गाईलाई आमा भनेर सम्मान गरिन्छ तर सोझो, सरल, अबुझ जस्ता मान्छेलाई गाई नै भनेर गाली गर्ने हाम्रो समाज खोइ कस्तो हो ? त्यस्तै हामी नेपाली कोही एक व्यक्तिले केही नौलो काम गर्छ र सफलता प्राप्त गर्छ भने त्यो काम तुरुन्तका तुरुन्तै गर्छौ। एक ठाउँमा चिया पसल चल्छ भने अर्को दिन अर्कोले त्यही ठाउँमा चिया पसल थाप्छ। एउटा विद्यार्थी परदेशी भएर पैसा कमाउँछ र सबैजना विदेश जाने लतका शिकार हुन्छन् । यसले हाम्रो देखा सखी गर्ने र फाइदा मात्रै सोची स्वार्थी हुने जस्ता पद्धतिलाई दर्शाउने काम गरेको छ । लेखकले पनि आफ्नो निबन्धमा यसबारे खुब उदाहरण दिएका छन् । यही निबन्धमा हाम्रो पुरुष प्रधान समाजको बारेमा पनि लेखकले लेखेका छन् र लैङ्गिक विभेदका कुरा पनि उठाएका छन् । जो यस निबन्धको अर्को प्रशंसायोग्य विषय हो ।

निष्कर्ष
यस निबन्धसङ्ग्रहमा नेपाली समाजका विभिन्न सामाजिक, राजनीतिक, ऐतिहासिक, पौराणिक, शैक्षिक आदि पक्षलाई लेखकले हास्यव्यङ्ग्य्यको माध्यमबाट प्रस्तुत गरेका छन् । उनले गम्भीरतापूर्वक र चतुराईंका साथ यी विषयमा आफ्ना प्रश्न उठाएका छन् । यो सङ्ग्रह पढिसक्दा लेखकले उठाएका प्रश्नहरूले मभित्र पनि प्रगतिशील सोचको र फराकिलो दृष्टिकोण विकास गर्न प्रेरित गरेको छ । राजेन्द्र कार्कीका ३१ वटा निबन्धहरू सबै एक से एक रहेका छन् । यी सबैले परिवर्तनको नै माग गरेको पाइन्छ । उनको धारा तथा शौचालय महात्म्य, कामी, चुनाउ पुराण, लाहुरे, हाइ हाइ अमेरिका, जस्ता निबन्ध पढ्दा मैले आफ्नो जीवनलाई पुन एकपटक नियालेर हेरेँ । यिनमा उनले प्रयोग गरेका उपकथाहरू मसँगै जोडिएको या भनौँ मैले नै अनुभव गरेको परिस्थिति जस्तै लाग्यो । त्यसैले मलाई उनले व्यङ्ग्य गरेका, उठाएका प्रश्नहरू मुख्य गरी विषयवस्तु हामी सबैकोकाे लागि सत्य भएजस्तो लाग्यो।

उनको ‘कहाँ छ स्वतन्त्रता’ र ‘खाइराइड’ जस्ता निबन्धहरूको म निकै प्रशंसा गर्छु । उनले राजनीतिसँग जोडिएर कानुन, सरकार, सुशासन, नागरिकको कर्तव्य, भ्रष्टाचारमाथि व्यङ्ग्य मात्रै नभई उचित प्रश्नहरू पनि उठाएका छन् । यी निबन्धहरूले हाम्रो समाजको यथार्थ कोरेका छन् । लेखकले गम्भीर विषय उठाउँदा पनि आफ्नो सरल र मनोरञ्जनात्मक शैली प्रयोग गरेर पाठकलाई सुधार र फराकिलो सोच माग गर्छन् । जो यस निबन्धको सबैभन्दा सबल पक्ष पनि हो। उनको ‘कामी’, ‘बिहे किन ?’, ‘लिङ्ग पुराण’ जस्ता निबन्धहरूमा नेपाली समाजको भेदभाव र विभेदको सत्य देखाइएको छ । यति लामो समय बितेर, हामी आधुनिक युगमा प्रवेश गरेर पनि हाम्रा सङ्कीर्ण सोचमा धेरै परिवर्तन आइसकेको छैन । हाम्रो समाजमा अझै पनि व्यक्तिलाई उसको रङ्ग, रूप, धर्म, भाषा, संस्कृति, जात, आर्थिक अवस्था, लिङ्गका आधारमा विभाजित गरिन्छ, कमजोर महसुस गराइन्छ । यस्ता चलनहरूमा रोक नलाग्नु हाम्रो समाजको ठुलो असफलता हो । लेखकले नेपाली समाजको वर्तमान स्थिति र असामानताकै विरोध गर्न व्यङ्ग्य र हास्यको प्रयोग गरेको पाइन्छ । जसले फेरि पनि हामी अध्ययनकर्तामा परिवर्तनका लागि क्रान्ति गर्न आफ्नो आवाज उठाउन र सही सोचको समर्थन गर्न प्रेरित गर्छ ।

यस्तै प्रगतिशील निबन्धले भरिएको यो निबन्धसङ्ग्रह मेरो एकदम प्यारो भएको छ । लेखकलाई म यसरी आफ्नो प्रगतिशील सोच र रोचक प्रश्नहरू हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरेकोमा धेरै धन्यवाद दिन चाहन्छु र याे सङ्ग्रहलाई नेपाली साहित्यको एक उत्तम कृतिका रूपमा पनि मान्दछु !

०००
कक्षा १२, ‘लाेबुचे’
डियरवाक सिफल स्कुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x