अमर अधिकारीम पनि आश्रम खोल्छु
मलाई मुद्दा पनि लाग्दैन, किन कि पार्टीका नेताहरु पनि मेरो चरण र शरणमा आएर चुनाव जित्ने, सांसद बन्ने, मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने भन्दै आशिर्वाद लिएर जानेछन्।

अमर अधिकारी :
कोँही ज्यानमारा बाबा त कोही लुटेरा बाबा अनि कोही धोकेवाज बाबा। त्यस्तै चोर बाबा, बलात्कारी बाबा, ठग बाबा, पाखण्डी बाबा, ढोँगी बाबाहरु पनि अहिले नेपालमा बग्रेल्ती नै देखिन्छन्। यसमा लठ्ठिने र भुल्नेमध्ये पुरुषहरुभन्दा पनि महिलाहरुको संख्या ज्यादा छ। कुनै गुरु वा बाबाले सम्भोगलाई महत्व दिन्छन् भने कुनैले विवाह गर्नुहुँदैन, विवाह भैसकेकाहरु सँगै सुत्नुहुँदैन भनेर बृहत् प्रचार प्रसारमा लागेका छन्।
नेपाली बाबाहरुको चक्र पनि बुझिनसक्नुको छ। बलात्कार काण्डमा फसे, यसो कारवाहीमा परे जस्तो देखिए, चोखिए अनि फेरी निस्किएर आफ्नो धन्दामा लागे। यसरी भारत र नेपालमा आश्रम चलाएर बस्नेहरुलाई ज्यान मार्न छुट छ, बलात्कार गर्न छुट छ, ठगी व्यापार गर्न छुट छ।
त्यही भएर तपाइँ मजाले धाराप्रवाह बोल्ने क्षमता छ भने कम्पनी उद्योग वा ब्यवसाय नखोल्नुस् घाटामा जानुहुन्छ। नेपालको परिस्थिति ठीक छैन। त्यसैले वनमा गएर सरकारी जमिनमा एउटा कुटी वा आश्रम बनाउनुस् विश्वासिलाहरुलाई सहयोगी नियुक्त गर्नुस्। पहेँला वा गेरु बस्त्र धारण गर्नुस् चन्दनको बुट्टा निधारमा सजाउनुस्। बिल, लेटरप्याड र रसिदमा माथिल्लो भागमा ॐ लेख्न नछुटाउनुस्, अझ गाईको चित्र भए झन राम्रो। वैदिक सनातन धर्मका लागेका हिन्दु भक्तहरुलाई तपाइँको आश्रममा तान्नका लागि विज्ञापन गर्नुस्। फेसबुकले झन सजिलो गराउँछ। वेबसाइटको सट्टा फेसबुकबाट भ्रम छर्नुस् ल्याण्डलाइनबाट चल्ने फोनबाट होइन मोबाइलबाटै सम्पर्क बढाउनुस् यस्ता संस्थाहरुमा धनको थुप्रो लगाउनलाई फेसबुक र मोबाइल नम्बर भए पुग्छ।
चितवनको एउटा महायज्ञमा उठेको रकममध्ये ९५ प्रतिशत रकम वाचक वा गुरुले लगेर गएपछि आयोजकहरु जिल्लाराम परेका थिए। जुन उद्देश्यका लागि महायज्ञ लगाइएको हो त्यसका लागि रकम अन्यत्रै कुलेलम ठोकेपछि यस्तो हुनपुगेको हो। यस्ता चरम आर्थिक शोषण गर्ने गुरु वा वाचकलाई ज्ञानी भनिदैन। यी त पैसामुखी अज्ञानी हुन्,यस्ता ढोँग रच्नेहरु देशमा धेरै छन्।
त्यसैले अब म पनि सन्त बन्न चाहन्छु, एउटा आश्रम खोल्न चाहन्छु, सबैले मेरो जयजयकार गर्नेछन्। मेरो आश्रममा आएर मलाई “जय गुरुदेव !” भन्दै मैले पासोमा पारेका अन्धभक्तहरु मेरो पाउमा पर्नेछन्, मलाई भेटी चढाइ नै रहनेछन्, मलाई फूलपाती चढाउने छन्। मैले हडपेको सरकारी जग्गा विस्तारै मेरो आश्रमको हुनेछ, आश्रम नै मेरो हुनेछ। अन्धभक्तहरु मेरा सेवक र नोकर हुनेछन्, म महाराज बाबा वा स्वामी बन्नेछु। मेरो प्रचार प्रसार गर्नका लागि सञ्चार माध्यमलाई किन्ने क्षमता हुनेछ। धर्म वा अध्यात्मको आडमा मैले जतिसुकै अपराध गरेको भए तापनि ती सबै ढाकिनेछन् अर्थात् छायाँमा पर्नेछन्। मेरा अन्धभक्तहरुले विगतका मेरा अपराधहरुतिर ध्यान दिनेछैनन्। किन कि म आश्रमको सञ्चालक भएपछि मलाई कसैले पनि औँला ठड्याउने छैनन् र उनीहरु डराउनेछन्। मेरा एजेण्टहरुले मलाई ३३ कोटी भगवानभन्दा शक्तिशाली भगवान भनेर प्रचार गर्नेछन्।
म सामान्य आश्रममा बसेर सामान्य पहिरनमा बसेको हुनेछु भने मेरो विश्वासी र सहयोगीहरुले मन्त्रहरु रच्नेछन् र यन्त्रहरु बनाउने छन्। जुन अन्धभक्तहरुलाई विकाएर करोडौ, अरबौँ आम्दानी बन्ने बाटो बन्नेछ। स्त्रीलाई पुरुषमा परिवर्तन गर्ने मन्त्र र घरमा धनवर्षा गराइदिने यन्त्र भन्दै मेरा सहयोगीहरुले आश्रमबाटै अन्धभक्तहरुलाई चर्को मूल्यमा भिडाउनेछन्।
म महाराज वा बाबा बनेपछि मैले भनेका कुराहरु अन्धभक्तहरुले नाइनास्ती गर्ने कुरै हुनेछैन। मैले उनीहरुलाई हजारौँ वर्ष बाँच्न पाइने ठाउँमा लैजाने योजना बनाउने छु। मर्न कसलाई पो मन लाग्ला र ? त्यसैले हजारौँ वर्ष बाँच्नका लागि मैले उनीहरुलाई बेबकुफ बनाउने खालका नौटंकीहरु रच्नेछु र सहयोगीहरुलाई पनि रच्न लगाउने छु।
मेरा चेलाचेली अर्थात् शिष्यहरुले मेरा सहयोगीहरुले निर्माण गरेका जन्तर-मन्तर कसैसँग रकम सापटी लिएर भए पनि किन्नेछन्। म लखपतिबाट करोडपति र करोडपतिबाट अरबपति हुनेछ। समय समयमा मैले कोटीहोम पनि सञ्चालन गर्नेछु, कथावाचनका लागि यज्ञस्थल बनाउने छु। भुसतिघ्रेहरुलाई मेरा अंगरक्षक बनाउने छु, ती भुसतिघ्रेहरुको ज्यान बलियो बनाउनका लागि शक्ति दिनेखालका भोजन गराइने छ। मैले अरुलाई शाकाहारलाई महत्व दिनेखालका प्रवचन दिए तापनि अंगरक्षकहरुलाई मासु खान लगाउने छु।
मैले आम्दानी गरेको पैसाले भारतमा पाँचतारे होटेलहरुमा शेयर लगानी गरेपछि मलाई मनग्यै लाभांश प्राप्त हुनेछ। मेरा सन्तानहरु सुख सयलमा रम्नेछन् मोजमस्ती गर्नेछन्, जुन मेरो लक्ष्य नै त्यहीँ हो। यता म साधारण भेषमा अन्धभक्तहरुलाई भुलाएर रकम तान्ने नौटंकीहरु रच्दैजानेछु। कसैले धर्मको नाममा ठगी गरेको आरोपमा म र मेरो आश्रम विरुद्ध उजुरी गरेमा मलाई कारवाही गर्नका लागि कानुनको अभाव छ। मलाई मुद्दा पनि लाग्दैन, किन कि पार्टीका नेताहरु पनि मेरो चरण र शरणमा आएर चुनाव जित्ने, सांसद बन्ने, मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने भन्दै आशिर्वाद लिएर जानेछन्।
अन्धभक्तहरुको संख्या बढाउनका लागि मसँग सम्वन्धित पुस्तक र पत्रिकाहरु पनि प्रकाशन हुँदैजानेछन्। पुस्तकमा लेखिने छ- “हाम्रा गुरुले फलानालाई यसरी निको पारिदिनुभएको थियो, हाम्रा गुरुको आशिर्वादले ती शिष्यले दिनहुँ विहान सिरानीमुनी एकतोला सुन फेला पार्थे …. आदि आदि।“ काल्पनिक शिष्यको नाम बताएर “गुरुका जन्तर-मन्तरले गर्दा ऊ करोडपति भयो, अरबपति भयो” भन्नेखालका कथाहरु रचिनेछन्। त्यो पुस्तकले बजार लिनेछ। मेरो आफ्नै वेबसाइट हुनेछ त्यसबाट पनि मैले अनेक नौटंकी रच्नेछु। मेरा शिष्यहरुले मलाई भगवानरुपी महापुरुषको रुपमा लिनेछन्। मेरो मृत्युपछि मैले मेरा छोराहरुमा मेरो जिम्मेवारी सर्नेछ। मैले शुरु गरेका धन्दाहरुले छोरा-नाति र तत्पश्चातका सन्तानहरुले अँगाल्नेछन्। किन कि आश्रम चलाउने काम एउटा उद्योग चलाउनुभन्दा सजिलो छ। मान्छेहरु मीठो बोलीमा भुल्छन्। त्यसैले म पनि आश्रम खोलेरै छोड्छु।
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ ।










































फरक बिम्ब आहा