जयन्ता पोखरेललासको सङ्ग्रहालयमा
प्रिय आफन्त । कुनै दिन म पनि पाउन सक्छु मृत्यु उपहार उपयोगी हुन सक्छ मेरो पनि देह गति र अगतिको पुरानो विश्वास फ्याँकेर चितामा मेरो लास नजलाए के हुन्छ ?

जयन्ता पोखरेल :
मुटु धड्किँदा न हो
अधरमा मुस्कान आउने
रगत बग्दा न हो
अनुहारते रङ पाउने ।
मुर्दा भएपछि
मतै उदाङ्ङ्गि रहेछन्
मान्छेका रहस्यहरु
जिउँदोपन विच्छेद भएपछि
यसै निभ्दा रहेछन्
जिजीविषाका दियाहरु
मुर्दाघरभित्र
पहेंलिएर चुपचाप लडि रहँदा
बेसर्म हुँदा रहेछन् लासहरु
प्रारब्धको अन्त्यहीन यात्रामा
अमरत्व असम्भव छ
आफैमा दर्शनको मोटो किताब रहेछन् लासहरु ।
दागबत्ती पाउनु अधि
तास तात्ने भए ?
स्मृतिबाट नाम हराउनु अघि
साँच्चै !
लास बाँच्ने भए ?
निर्जीवताको सरकार
प्रकृति-
पक्कै चलाउँथ्यो होला
चिहानको राज्यमा
आगोको सत्ता पानी झै सेलाउँथ्यो होला !
कुनै पल
लासको सङ्ग्रहालयमा उभिँदा
चेतना
मसँग संवाद गर्दै थियो र
रसायनको सुरक्षाभित्र
स्कुल हुन सक्दा रहेछन् लासहरु
छायाले झै पछ्याइ रहने मृत्यु
कसरी लखेट्ने ? प्रतिरोधको कला
मुर्दाबाट नै सिक्ता रहेछन् लासहरु ।
प्रिय आफन्त ।
कुनै दिन म पनि पाउन सक्छु
मृत्यु उपहार
उपयोगी हुन सक्छ
मेरो पनि देह
गति र अगतिको
पुरानो विश्वास फ्याँकेर
चितामा मेरो लास नजलाए के हुन्छ ?
भ्रमहीन हुनु पर्छ
अब त मान्छेहरु
अक्षरको घाम थुनेर
भूतप्रेतको कथा
नानीहरुलाई नसुनाए के हुन्छ ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































