साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि मेरो ध्यान ह्यान न त्यान !

ए ! ए के आइलाग्यो यस्तो झ्याउलो भन्दै धपाउन छुत् छुत् गर्दै मात्र के थिएँ, मेरो ध्यान सकिएको ठानेर श्रीमतीले भान्साबाट कराइन्, लौ ध्यान सकिएछ, खाना तयार भयो खान ठिक पर्नु त ! अनि मेराे ध्यान ह्यान न त्यान भएन त ?

Nepal Telecom ad

पराशर रिजाल :

धेरै समयपछि राती पानी परेकोले विहान सित्तल थियो । चिया खाजा खाइसकेपछि मेरो नजर भित्तामा टाँगेको घडितिर पर्यो । विहानको भर्खर आठ मात्र बज्दै रहेछ । अझै त बिहानै छ, समय कसरी बिताउने त ? एकछिन् सोचें । अँ अलिबेर ध्यान गर्दा समयको सहि सदुपयोग होला भन्ने लाग्यो । भनौं भर्खर भर्खर सिक्दै गरेको ध्यानको अभ्यास गर्ने मुड चल्यो र श्रीमतीलाई भने छोटो समय म ध्यान तिर लागें, नसकुन्जेल डिस्टर्ब नगर है । “लौ लौ, बेला न कुबेला खाजा खाइसकेपछि, दिउँसो मास ध्यान !” उनले व्यङ्ग्य मिश्रित श्वरमा मन नपरी नपरी स्वीकारोक्ति जनाइन् ।

बुढीको छेडखान सहितको सहमतिपछि आफ्नो आसन मिलाएँ । ध्यानको विषय बुझेको हुँदा कतै आफ्नो कारणले बिचैमा ध्यान भङ्ग होला र झगडाको बिउ बन्ला भन्ने कुरामा सावधान हुँदै उनी पनि आफ्नो कामतिर लागिन् । मैले अब दिमागमा अरु केही कुरा खेलाउनु हुँदैन भन्ने अवधारणा बनाएँ र ध्यानतर्फ केन्द्रित हुने कोसिस गर्न थालें । मन कति बरालसिङ छ ! शुरुवातमै मेरो दिमागमा दृष्यका अनेकौं पहलु र विचारका अनगिन्ती श्रृङ्खलाहरु हावा हुण्डरी जस्तै धमाधम मडारिन थाले । सबैभन्दा पहिला अहिले म कहाँ छु भन्ने प्रस्न मेरो मनमा एक्कास्सी उब्जियो । त्यसले म यहाँ आइपुगेको समय सन्दर्भ सम्झाउँदै मलाई विगततर्फ धकेल्यो ।

पटाक्षेप अनेकन घटनाहरु ताजा भएर आए । देश विदेशमा रहेकाहरुलाई सम्झें । आफ्नो गाउँघर छरछिमेकलाई सम्झें, अहिलेको बसोबास र बर्तमान नेपालको अवस्था सम्झें । घरी बेलायत युरोप इजरायल र खाडीलाई सम्झें घरी मलेशिया, जापान कोरिया र अमेरिका अष्ट्रेलिया सम्झें । कहिलेदेखि नसम्झेकालाई आज सम्झेँ । ए म त ध्यान गर्न लागेको हुँ त कसरी पो ट्रयाक आउट भएर भावना तरङ्गमा बग्दैरहेंछु, यसरी कहाँ हुन्छ त ध्यान ! अब चाहिँ मनलाई बेस्सरी बाँध्नु पर्यो भन्ने सोच्दै थिएँ, राम्ररी सम्हालिनै नपाइ तुरुन्तै अर्को विचार तरङ्गले अँठ्याइ हाल्यो ।

साँच्ची, आजको समाचार के के थियो कुन्नी, त्यो पनि सुनिएन छ । अनि आज दिनभर के के काम गर्नु थियो, त्यो पनि बिर्सिएला कि । लौ फेसबुक पनि हेरिएन छ, मेसेन्जर फोन कल पनि गर्नु पर्ने त्यत्तिकै बिहानको समय बितेछ । कतै घुम्न निस्कँदा पनि हुन्थ्यो, नयाँ नयाँ फिल्महरु हेर्दा पनि के फरक पर्थ्यो र ।

ए आज ११ बजेतिर टोलको भेला छ भन्दैथे, त्यो चाहिँ बिर्सनु हुँदैन है । ..अनि विवाहको पार्टीमा पनि निम्ता थियो त, हैन त्यो त भोलि हो नि । एकपछि अर्का यस्तै यस्तै अनेकन सोचाइहरु आउन थाले । हैट म कता कता बहकिएको ? काम छ एकातिर कुम्लो बोकि ठिमीतिर ! अब चाहिँ मनलाई बेस्सरी हप्काएँ, अठ्याएँ । ध्यानमा पो छु त, यतिबेलै किन यति बिघ्न कुराहरु आउनु ? आफैंसँग रिस उठ्यो । अब चाहिँ छडी लिएरै दिमागको रखबारी गर्नु पर्ने भयो ।

अहिले भर्खर विहानको आठ मात्रै बज्दैछ, ध्यान सकेर गरौंला नि यी सब कुरा । ध्यान त मात्र बिस पच्चिस मिनेट जतिको न हो, फुर्सद निकालेर योजना बनाउँदा भएकै छ नि भन्दै यी सबै बिर्सिएर फेरि दिमाग एकोर्याउने कोशिस तर्फ लागें । शरीर अलि अप्ठ्यारो भएको, घरि ढाड दुखेको, घरि टाउको दुखेको जस्तो हुन्छ । होइन पेटै दुखेको पो हो कि, स्थीर भएर बस्नै मन नलाग्ने रिंगटै चल्ला जस्तो कस्तो कस्तो हुने । सधैं कति सजिलो लाग्ने कपडा पनि आज किन यति बिघ्न बिझाएको ? साँघुरो अप्ठ्यारो कस्तो कस्तो भएर अँठ्याउँदैछ । जिउ मिलाएर ढाड सोझ्याउन खोजेको, टाउकै बाँगिएको जस्तो भैरहेको छ ।

कसैले अगाडिबाट आँखा घोचिदेला कि जस्तो, कसैले पछाडिबाट आएर आँखा छोपिदेला कि जस्तो हुन्छ । लौ अब चाहिँ श्रीमतीले बोलाएर डिस्टर्ब गर्ने भइन् भन्ने आशंका बढेर आयो । होइन उनलाई त भनेकै छ, बरु साथीभाइहरु आएर हाइकिँग साइकिँग कतै घुम्न जाउँ भन्दै बिचैमा बिथोलि दिन्छन् कि । त्यसो भए के गर्ने त । श्रीमतीलाई साथीभाइ आए भने म घरमा छैन भन्दिनु है भन्नु पर्ला । फेरि ध्यान गर्ने मान्छेले झुटो बोल्न मिल्छ र ? ध्यानमा बसेको बेला बोल्नै त मिल्दैन । मनभित्र ठुलो खल्बली मच्चियो । आ जे आइलाग्छ त्यै बिहोर्ने हो । चुप्प लागेर बस्छु, ओठ बेस्सरी कसें ।

बल्लबल्ल आशन जमाएर बसेको मात्र के थिएँ फेरि पनि चाहिने नचाहिने इमेजहरु आउन थाले । दिमाग फेरि बरालियो, पालैपालो घन्चमन्च गर्दै विभिन्न किसिमका इमेजहरु आउन थाल्यो । घरि मायाँ लाग्ने आयो, घरि रिस उठ्ने आयो । हाँस उठ्ने आयो । लाज हुने आयो । भन्नु हुने, भन्नु नहुने, धेरै थोक मनले कल्पना गर्यो । धैत यसरी अनेकथोक कल्पना गरेर कसरी ध्यान लाग्छ त । दिमागलाई त पुराका पुरा खालि राख्न पो सक्नु पर्छ त, कस्तो अबुझ भइयो भन्दै मनभित्र आउने धेरै किसिमका अन्यौल र हल्लालाई समन गरेर बाहिर निस्कने कोशिस गरें ।

भित्रबाट जबरजस्त निस्किएको मेरो ध्यान अब चाहिँ बाहिरको वातावरणसित लुट्पुटिएर कता पुग्यो कता, सर्बत्र बरालियो । अहिले मेरो ध्यान कता कता घुमिरहेको छ, सबै विवरण प्रत्यक्ष प्रसारण गरिरहेको छु –
यतिबेलै घर अगाडिको बाटो भएर ठूलो गड्गडाहट गर्दै डोजर र गाडीहरु कतै गइरहेका छन् । शायद नगरपालिकाले यहिँ कहिँ बाटो वा कसैको घर भत्काउँदै होलान् । जमिन पुरै हलचल र कम्पायमान भैरहेको छ । ध्यान गर्दै गरेको सँगैको पल्लो भान्साकोठामा श्रीमतीको काम धमाधम र भ्याइनभ्याइ छ । तरकारी ओइरिएको झ्वाईंय आवाज आइरहेको छ र तरकारी चलाएको टयाँग टुँग्, ट्याँग्य्राँग् , टुँग्रुँग् आवाज सुनिदैछ, मसलाको हल्का वास्ना आउँदैछ र तेल खुर्सानीको खार पनि लाग्दैछ ।

माथिल्लो तलामा बहिनी खाना बनाउन धमाधम छिन् जस्तो लाग्छ, सिलौटोमा मसला पिस्दै जस्तो आवाज आउँदै छ, आफ्नो टाउकै माथि कुनै गह्रौं चिज तुरुन्तै खस्लाकी जस्तो पुरै सिलिङ नै गडक्क, गडक्क गरेर थर्किरहेको छ । नजिकै छिमेकमा घर निर्माण हुँदैछ त्यहाँ दक्षिणी छिमेकी देशका केही कामदारहरु सल्लाह गर्दैछन् र पुरै टोल खैलाबैला भएको छ । त्यहीँ ग्रीलको काम भैरहेको छ, त्यसले वरिपरि सबैतिर गुन्जिने गरि किर्र किर्रको तीखो, कर्कस र रुखो आवाज आइरहेको छ ।

बेला न कुबेला यतिबेलै कुखुराहरु कुखुरी काँ गरेर उफ्रिँदैछन् । यिनीहरुलाई पनि आजकाल समय बताउने कुनै लण्ठा नभएको हुँदा निस्फिक्री कुर्लन्छन् । समय असमय मनलागि कराइरहन्छन् । उनीहरु राम्ररी शान्त भैसकेकै छैनन् कुकुरहरुको भुकाई शुरु भएको छ । पल्लो घरबाट शुरु भएको कुकुरको भुकाइ टोलभरि फैलिरहेको छ । यिनीहरुलाई पनि दिन र रात आवस्यक, अनावस्यकताको कुनै छ्यान बिचार, ध्यान पर्वाह केही छैन ; कतिबेला भुक्ने किन भुक्ने कुनै मतलब छैन ; मनलाग्यो कि भुकिदियो । घरको छत, सडक गल्ली जहिँतहिँबाट भुकिरहन्छन् ।

कुकुरको भुकाइ के शान्त भएको थियो छेउको चउरमा ठूलठूलो स्वरमा बच्चाहरु बोलेको यताउता दगुरेको आवाज आउँन थाल्यो । बच्चाहरूको स्कुल जाने बेला भएछ, खलबलि, हाँसो र रोदन सुनिदैछ । यो सँगै आमा, दिदी बहिनी, गृहिणीहरुको बार्तालाप चर्कियो । बच्चाहरुलाई फकाउँदै थर्काउँदै छन् । त्यो हो–हल्ला, खल्बलि सँगसँगै अफिस जानेहरुको कल्याँगमल्याँग केही परैबाट शुरु भएर नजिक–नजिक हुँदै फेरि विस्तार बिस्तार टाढिँदै गैरहेको छ ।

अघिदेखि गाडीहरु एकनाससँग गुडिरहेकै छन् । अँ गाडीहरुलाई जताततै हर्न बजाउन प्रतिबन्ध छ, तर यसको पालना थोरैले, कहिँ कहिँ, कहिलेकाहिँ मात्र गर्ने गर्छन् । अहिले यहाँ पैदल यात्रुहरु र आसपासका छरछिमेकीहरुको चहलपहल बढ्दैछ । यो सरगर्मीसँग सबैको सातो लिने गरि तिखो आवाजमा पिंपिं र टिंट् टिंट् गर्दै गाडीहरु थर्काउँदै दौडँदै छन् । भर्खरै पाँच सात वटा बाइकहरुको जुलुसै आयो र आकाशमा चट्याङ परेझै गर्जिएर वरिपरिका हामी सबैलाई थर्कायो ।

मिनेट भित्रै साइकलमा तरकारी फलफूल ओसार पसार गर्ने व्यापारीहरु आइपुगेछन्, आँप, खरबुजा खानु होस् भन्दै कुर्लिए । छिमेकमा पसले दाइले सटर खोलेछन् वरिपरि सिंगो परिवेश नै गरंरंगंको आवाजले तरङ्गित भयो । एक हुल चराहरु घर अगाडिको रुखबाट भुरुरु उडेर कराउँदै चौतर्फी फिँजिए । हिजोआज हस्पिटलमा बिरामी ओसार्न हेलिकप्टरको एम्बुलेन्स सेवा पनि चालु छ । टाउकै माथिको आकाशमा, गडगडाहट गर्दै तुरुन्तै एउटा हेलिकप्टर आयो । यहि बाटो भएर प्रत्येक दुइतीन मिनेटमा हवाईजहाज, हेलिकप्टरहरु आउने जाने गर्छन् । त्यो प्रकृया निरन्तर जारी छ ।
किचेनमा प्रत्येक बीस पच्चिस सेकेन्डमा कुकरको सिटी बजिरहेको छ । भर्खरै अर्को एउटा नौलो सिटी पनि बज्यो । त्यो चाहिँ फोहोर उठाउने टिमको रहेछ । त्यहि मिनेट भित्रै सँगै जोडिएकै घरको ट्याङ्कीमा पानी भरिएछ, ध्यार्र गरेर पानी झरेको आवाज आयो । पल्लो घरका छिमेकीले सुनेर चिच्याए ए.. ए…. पानी भरियो, कहाँ गएछन् यो घरका मान्छेहरु । पानीको ध्यार्र आवाज भर्खरै रोकिएको मात्र के थियो त्यतिबेलै तल मुल गेटमा कसैले बेल थिच्यो र आधा मिनेटको म्युजिक घण्टी बज्यो । यो सुनेर माथिल्लो तलाबाट सिम्बा कुकुर बेजोडले भुक्दै दौडेर तल पुग्यो । वरिपरि सबैको ध्यान त्यतैतिर खिचियो । अफिस जाने तयारीमा व्यस्त पल्ला घरको बहिनी आधा ड्रेसमै निस्किएर को हो भनेर चिच्याइन् । जय शम्भो भोलेनाथ म बाबा आएँ, भन्दै साधुले कमण्डलु तेर्स्यायो । त्यतिबेलै पुराना भाँडा, प्लास्टिक, कवाडी फलाम भनेर ठूलो स्वरमा भाँडाकुँडा ट्याँग्य्राँङ् टिंग्रिँङ् र छ्यान्द्य्राँङ् छिन्द्रिंङ् पार्दै अर्को कोही करायो ।

सधैं ख्याल नगरेको भित्ते घडीको टिकटिक र कहिल्यै थाहा नपाएको कमिला हिँडेको चालले पनि आज चाहिँ ठूलै हलचल र कम्पन ल्याउला जस्तो भयो । ओहो, यो पृथ्वीमा मानिसको ध्यान भङ्ग गराउने कति कुराहरु छन् हँ ? अब चाहिँ जस्तै जे भए पनि थाहा नपाए जस्तै गर्छु भन्दै मन बाध्ने प्रयत्न गर्दै थिएँ त्यतिबेलै किरिँरिँ गर्दै फोनमा घण्टी आयो । एक दुइ घण्टीमै रोकिएला भनेर नउठाइ टार्न खोजेको, के को रोकिन्थ्यो, तेस्रो पटक पनि रिङ आउन छोडेन । आशन छोडेरै उठाउनु पर्यो । थुइक्क ! मिस कल रहेछ । कानमा कपास खाँद्नु जस्तो भयो ।

फेरि सम्झें लौ कानमा त कपास खाँदौंला रे, दिमागमा के खाँद्ने नि । अन्यौल अझै बाँकि नै भयो । लौ यसरी हुँदैन, बाहिरको वातावरण त जहिले पनि यस्तै हो, आफूलाई नियन्त्रण गर्ने आफैंले हो, मन बाँध्ने आफैंले हो भन्दै आशन छेउ पुगेको मात्र थिएँ भर्खरै जन्मिएका बिरालाका छाउराहरु उफ्रिदै झ्यालबाट छिरे र तीनतिरबाट म्याउ, म्याउँ, ङ्याँउँ, ङ्याँउँ गर्दै कोठामा बुर्कुसी मार्न थाले । ए ! ए के आइलाग्यो यस्तो झ्याउलो भन्दै धपाउन छुत् छुत् गर्दै मात्र के थिएँ, मेरो ध्यान सकिएको ठानेर श्रीमतीले भान्साबाट कराइन्, लौ ध्यान सकिएछ, खाना तयार भयो खान ठिक पर्नु त ! अनि मेराे ध्यान ह्यान न त्यान भएन त ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
लेखनाथ गुरागाई
लेखनाथ गुरागाई
1 year ago

ध्यान त राम्ररी लागेछ।बधाई !

Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
1
0
Would love your thoughts, please comment.x
()
x