
तँ अब मुढाे भइस्
सकिनसकी आकाश नियालिरहेछ छिट्टै एउटा सुदूर गन्तव्यको खोजीमा तैपनि तँसँग अब अर्को विकल्प छैन तँसँग अब अर्को उपाय छैन किनकि तँ अब मुढो भइस् तँ अब बुढो भइस् ।

पिँडालु पण्डित :
यतिखेर
विपनामै तँ काँपिरहिछस्
सपनामै तँ काँपिरहिछस्
बस्दा, उठ्दा, सुत्दा
हरपल काँपिरहनु
तेरो नियति बनेको छ
पल पलमा त्रास छ तँलाई
पल पलमा आस छ तँलाई
कतै सास छँदैमा
मेरो कर्तुत नखुलोस् भनेर
मेरो भेल नफुलोस् भनेर
रातपछिको दिन
र, दिनपछिको रात
सबै बोझ छ तँलाई
किनकि
सास छ शक्ति छैन
आँट छ ओज छैन
छ केवल
विगतका कर्तुतले थिल्थिल्याएको
अपराधबोधले घच्घच्याएको
बाहिरियाको त कुरै छाडौं
घरपरिवारका सदस्यले पनि
बोझ मानिरहेको
एउटा अस्थिपञ्जर शरीर बलहीन भएर
सकिनसकी
आकाश नियालिरहेछ छिट्टै एउटा
सुदूर गन्तव्यको खोजीमा तैपनि तँसँग
अब अर्को विकल्प छैन तँसँग
अब अर्को उपाय छैन किनकि
तँ अब मुढो भइस्
तँ अब बुढो भइस् ।
०००
तँ अब बुढाे भइस् (२०८०)
Subscribe
Login
0 Comments
Oldest