सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चूडामणि वशिष्ठको हास्यव्यङ्ग्य शैली

कतिपय ठाउँमा हास्य-आफू तटस्थ द्रष्टाका रुपमा प्रस्तुत हुँदै जीवनका होची अर्धेलीमाथि कटाक्ष गर्छन् त कतै आफैलाई पात्र बनाएर विसङ्गतिको उछित्तो काढ्छन् अनि कतै अरुलाई सम्बोधन गर्दै कुरौटेले कुरा लगाए झै गरी वित्सङ्गतिको पोल पनि खोल्छन् ।

Nepal Telecom ad

डा.गङ्गाप्रसाद अधिकारी :

२०३६ सालतिर ‘विवेचना’ साप्ताहिकमा दुईचार मनोरन्जनात्मक गफाडी चु‌ट्किलाहरू प्रकाशित गराए पनि हास्य व्यङ्ग्य सृजनामै चाहिँ ‘कक्टेल’ (जुही २०३९) मार्फत् देपापरका चूडामणि वशिष्ठ (२०१४) हालका चर्चित झापाली हास्य- व्यङ्ग्यकारमा पर्छन् । विशेषतः ‘या’ छ्द्मनामले चिनिने वशिष्ठले फाट्टफुट्ट रूपमा समालोचनाका क्षेत्रमा पनि कलम चलाउने गरेका भए पनि खास समातेको सृजनको क्षेत्र चाहिं हास्यव्यङ्ग्य नै हो। एकाध कविता, कथा आदि सृजना गरेका भए पनि तिनले समातेको मूल धर्म पनि हास्यव्यङ्ग्य नै रहेको छ ।

झापाली भूमिमा रहेर हास्यव्यङ्ग्य सृजना गरिरहेका चूडामणि रेग्मी, होम सुवेदी, नकुल काजी, कोमलप्रसाद पोखरेल, रोहिणीविलास लुईटेल, डम्बर घिमिरे, कृष्ण धरावासी, डिकमान विरही, भक्त खपाङ्गी आदि थुप्रै भए पनि यसै तांतीभित्र रहेर हास्य-व्यङ्ग्यलाई नै लेखनको एक मात्र क्षेत्र बनाएर लेख्ने ‘हास्य- व्यङ्ग्य’ सर्जक वशिष्ठ मात्रै पो हुन् कि ?

‘कक्टेल’ पछि झन्डै एक दशक, जति बिसाएर मात्र वशिष्ठको कलम पुनः सक्रिय हुन थालेको हो । प्रजातन्त्र प्राप्तिपछि प्रकाशन प्रारम्भ भएको ‘स्वाधीन सम्बाद’ साप्ताहिकमा केही समयसम्म निरन्तर रूपमा उनका हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित भएका देखिन्छन् भने ‘जुही’, ‘यथार्थ कुरा’ अदि साहित्यिक पत्रिकाहरूमा पनि फाटफुट रूपमा भए पनि थुप्रै हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित भएका छन् । खास गरी हास्यव्यङ्ग्यकारको रूपमा उनको प्रसिद्धि भने ‘तित्रा’ छद्म नामबाट ‘विवेचना’ दैनिकमा ‘कुरा यिनै हुन् कसो पो गर्ने र ।’ स्थायीस्तम्भ अन्तर्गत दैनिक रूपमा हास्यव्यङ्ग्य प्रकाशित हुन थालेपछि भएको हो । वास्तवमा तित्राको प्रसिद्धिमा ‘विवेचना’ को महत्वपूर्ण भूमिका छ भने ‘विवेचना’ लाई थप समृद्धि र लोकप्रियता दिनमा पनि तित्रा र तित्राका स्तम्भको पनि केही न केही भूमिका रहेको छ नै । जेहोस्, हास्यव्यङ्ग्यकार वशिष्ठको सृजनात्मक समृद्धिका लागि ‘विवेचना’ एउटा कोशेढुङ्गा नै हो भनेमा बढी हुने छैन । हाल तित्राको कलम ‘विवेचना’ र ‘पूर्वाञ्चल’ दैनिकमा पालैपालो क्रियाशील रहेको छ । एउटामा ‘तित्रा’ र अर्कोमा ‘वशिष्ठ’ नामबाट ।

यो गन्थन वशिष्ठको ‘कुरा यिनै हुन्, कसो पो गर्ने र ” नामको यसै कृक्तिका सन्दर्भमा हो । यसर्थ यसै कृतितिर केन्द्रित भएर गन्थन अघि बढाउन बसेँ।

यस संग्रहभित्र सङ्कलित दुई दर्जन जति रचनाहरू ‘विवेचना’ दैनिकमा ‘कुरा यिनै हुन्, कसो पो गर्ने र’ स्तम्भ अन्तर्गत प्रकाशित भइसकेका हुन् भने बाँकी रचनाहरू ‘जुही’, ‘यथार्थ कुरा’, ‘प्रभात’, ‘नवरङ्ग’ आदि साहित्यिक पत्रिका र सामयिक सङ्गलनहरूमा प्रकाशित छन् । यसरी एकपटक पाठकलाई आफ्नो ठट्‌यौलो र छेडालु अनुहार देखाइसकेका यी रचनाहरू एकमुष्ट रूपमा सङ्कलित भई यस संग्रहको रूपमा पुनः देखापरेका छन् ।

सङ्ग्रहभित्रका रचनाहरूको वस्तुसन्दर्भलाई कोट्याउँदा हास्यव्यङ्ग्यकार चूडामणि वशिष्ठको हास्यव्यङ्ग्यचेत समसामयिक युगजीवन, राष्ट्रिय अन्तर्राष्ट्रिय र आफ्नै वरिपरिको परिवेश र परिस्थितिले सृजना गरेका असङ्गतिहरूले नै उब्जाएको देखिन्छ । निबन्धहरूका छिटफुट सन्दर्भले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई छोएका छन् भने बाँकी सम्पूर्ण पक्षहरू राष्ट्रिय र स्थानीय सन्दर्भहरूसँगै जोडिएका छन् । राष्ट्रिय राजनीतिमा देखिएका सङ्गीर्णता, दलगत एवम् व्यक्तिगत स्वार्थ चरम अव्यवस्था आदि जस्ता असङ्गति र तिनकै नेतृत्वमा रहने समाजका शैक्षिक, आर्थिक, सामाजिक, नैतिक आदि विविध विसङ्गतिहरू माथि वशिष्ठको क्षेप्यास्त्र लक्ष्यित छ ।

यस प्रकार राष्ट्रिय राजनीतिमा देखिएका चरम असहिष्णुताहरूका साथै राष्ट्रका अन्य आर्थिक, सामाजिक, शैक्षिक, साहित्यिक, नैतिक र मानव स्वभावजन्य अर्घेल्याईंहरू देखेर नै हास्यव्यङ्ग्यकार वशिष्ठको कलम यस फाँटतिर लम्किएको देखिन्छ । त्यसैले कतै हल्का र कतै निकै गतिलै हँसाइको स्वादिलो मसलासँगै व्यङ्ग्यका मट्या‌ङ्ग्राहरू तिनै विषयहरूप्रति लक्ष्यित रहेका देखिन्छन् । राजनीतिक व्यङ्ग्यको एउटा नमूना दिनु ठीकै होला ।

“स्वर्गमा गाडी छन् कि छैनन्, चिलगाडी बनेका होलान् नहोलान्, त्यहाँ पनि सांसदको चुनाव हुन्छ कि हुँदैन, मन्त्री-प्रधानमन्त्री हुन पाइन्छ कि पाइँदैन, यहाँ शानेवानिमा खाने बानी परेर जाने बानी भएकालाई त्यहाँ केही मिल्छ कि मिल्दैन…..” (मर्ने बेलामा को कसरी बर्बराउला)

बाँचुन्जेल चौतर्फी विसङ्गतिको डङ्गुर लगाउने हाम्रा राजनेताहरूको मर्ने बेलाको घिङ्ङ्किसो के हुन्छ होला ! भनेर गरिएको यो अनुमान निकै चित्त बुझ्दो र घतलाग्दो छ ।

यस्तै शिक्षाका व्यापारी बोर्डिङ्गवालाहरूमाथि वशिष्ठको कलम त्यसै गरी खनिएको छ । ‘आइज बुढी, बोर्डिङ खोलौं’ भित्र जडिएको यो कवितांशले त्यस्ता बेपारी बोर्डिङ्गहरुको सिङ्गै कथा सुनाउँछ-

छोरो बी.ए. फेल, बुहारी आई. ए. फेल । छोरी एस.एल.सी. फेल म पनि साक्षर छदैछु बूढी अनपढ भएर के भो, सबैको बुद्धि एक ठाउँ घोलौ आइज बुढी वोर्डिङ्ग खोलौं ।

आजको जीवनमा स्वार्थ, मानवीय कमी कमजोरी, परिस्थितिको चपेटामा परेर धर्थिलिएको मानवनियति आदि जस्ता कुराहरु नै संग्रहभित्रका रचनाले अघि सारेका विषयहरु हुन् ।

हास्यव्यङ्ग्यकार वशिष्ठको छेपनकला, समाजका विद्रूपता, कुरुपता र मूल्य मर्यादाहीनतातिर नै विशेष लक्ष्यी छ। उनको व्यङ्ग्यचेत ‘जीवन कस्तो हुनुपर्छ’ को बोधतिर भन्दा पनि ‘जीवन कस्तो छ’ को चेतमा नै बढी रुमल्लिएको देखिन्छ तथापि परोक्ष किसिमबाट जीवनका दुर्बलताहरुलाई उपहास्य वनाएर कत्कुत्याउँदै जीवनको असङ्गतिबोधका माध्यमबाटै सङ्गतितर्फको यात्रामा अग्रसर रहेको देखिन्छ । असइतिकै समर्थन गरे झै गरी व्याजोक्तिपूर्ण रुपले त्यसकों निन्दा-भर्त्सना गर्ने आइरोनी शैली वशिष्ठको समृद्ध हास्यव्यङ्ग्य शैली हो । यस पद्धतिमा नै उनलाई बढी सफलता प्राप्त छ झै लाग्छ । यसै गरी कुनै एउटा विषयमा कुरा गर्दागर्दै दृष्टान्त दिने निहुँमा अर्को क्षेत्रलाई पनि टपक्क टिपेर छिर्के लगाउने शैली पनि उनको निकै मापाको छ । यसो गर्दा एउटै दृष्टान्त धेरैवटा रचनामा आउन सक्ने पुनरावृत्तिको खतरा चाहिँ जताततै देखिन्छ ।

कतिपय ठाउँमा हास्य-आफू तटस्थ द्रष्टाका रुपमा प्रस्तुत हुँदै जीवनका होची अर्धेलीमाथि कटाक्ष गर्छन् त कतै आफैलाई पात्र बनाएर विसङ्गतिको उछित्तो काढ्छन् अनि कतै अरुलाई सम्बोधन गर्दै कुरौटेले कुरा लगाए झै गरी वित्सङ्गतिको पोल पनि खोल्छन् । हँसाउनका लागि व्यङ्ग्य गर्नु भन्दा पनि वशिष्ठको व्यङ्ग्यले नै हँसाउँछ । अर्थात् सायास हास्य सृजना कम र व्यङ्ग्य सृजना गर्दा स्वतः हास्य प्रकट हुने पाराको शैली छ वशिष्ठको । यसर्थ उनको लेखनको साध्य व्यङ्ग्य सृजना हो भने त्यसको साधन हास्य हो ।

यस संग्रहभित्रका सृजनाहरु सहज लेखनका भन्दा पनि बढी बाध्यात्मक लेखनका उपज हुन् । दैनिक अखवारको स्तम्भलेखनकै रुपमा प्रायः सबैजसो रचना आएका हुनाले यी दैनिक छाकटराइकै सृजना बढी हुन् । तात्कालिक महत्वको कुनै विषय टिपेर तोकिए‌को आकारमा दैनिक लेख्नुपर्ने लेखकका बाध्यता हुन् । र पनि संग्रहभित्रका रचनाहरुले निकै राम्रा सम्भावनाहरु देखाएका छन् । कथ्यलाई खेलाएर, सुन्दर रमाइलो र ठट्यौली पाराजको गाउँले सरजको भाषामा चटक्क मिलाएर प्रस्तुत गर्ने आफ्नै पाराको विशिष्ट शैली प्राप्त गरिसकेको छनक यिनै रचनाहारूले प्रस्तुति देखाइसकेका छन् ।

अब ‘कुरा यिनै हुन्, कसो पो गर्ने र !’ संग्रहलाई आधार बनाएर हेर्दा आफ्नै पाराबाट पहिचान दिइसकेको ‘तित्रा’ शैली झापाको हास्यव्यङ्ग्य साहित्यमा स्थापित भइसकेको शैली हो । अब भने करको लेखाइबाट मुक्त भएर स्वतन्त्रलेखनका माध्यमबाट आफ्नो सृजनात्मकतालाई नयाँ उचाइ दिने र चिरस्थायी एवम् शाश्वत् मूल्य बहन गर्नेतर्फ लाग्नै पर्ने देखिन्छ- हास्य-व्यङ्ग्यकार चूडामणि उर्फ ‘तित्रा’ ले।

०००
२०६१-पौष २१
उपप्रापध्याक मेची बहुमुखी क्याम्पस भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
‘म फर्केर आएँ’ कवि कोमलको कठोर झटारो

‘म फर्केर आएँ’ कवि...

डा. गंगाप्रसाद अधिकारी
हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

हास्य र व्यङ्ग्यबीच पारस्परिक...

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
मेरो यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म

मेरो यात्रा : धुलाबारीदेखि...

डा. गंगाप्रसाद अधिकारी
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x