कृष्ण प्रधान‘खाइराइड’ जस्ता अरू पुस्तक पढ्न मन लागेकाे छ
समाजमा लुकेर बसेका, दबिएका सत्यलाई उनले प्रष्ट बनाई लेखेका छन् जुन मलाई एकदमै मन पर्यो । यो पुस्तक पढेपछि लाग्यो कि हास्यव्यङ्ग्यकाे पुस्तक पढ्दा एकदमै रमाइलो हुँदो रहेछ ।

मुना गाैतम :
फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । त्यसै गरी नयाँ शैक्षिक सत्रमा भाेजपुरकाे सिद्येश्वर उच्च मा.वि., दाँवाले पनि कक्षा १० र ११ काे अतिरिक्त पाठ्यक्रमका रूपमा पठनपाठन गराउन थालेकाे छ । पठनपाठनकाे क्रममा छात्रछात्राले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका उनीहरूका लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गरिँदै आएकाे छ । – सम्पादक
खाइराइड हास्यव्यङ्ग्य निबन्धकृति राजेन्द्र कार्कीद्वारा रचना गरिएकाे कृति हो । यी पुस्तक फित्कौली अनलाइन मिडियाद्वारा २०८० भाद्रमा पहिलो संस्करण प्रकाशित गरिएको हो भने २०८१ असारमा दाेस्राे संस्करण । राजेन्द्र कार्की निबन्धमा नेपाली समाजको व्यङ्ग्यात्मक चित्र उतार्ने लेखकका रूपमा चिनिन्छन् । कार्कीकाे यस पुस्तकमा ३१ वटा निबन्धहरू सङ्कलित छन् । याे पुस्तक साहित्यपोस्टद्वारा स्थापित ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ २०८० का लागि ५ गैरआख्यान कृतिको छनौट भएको थियो ।
यस वर्ष हाम्रो विद्यालयमा श्रावणको नेपाली पुस्तक समीक्षाअन्तर्गत हास्यव्यङ्ग्य निबन्ध लगाइएको थियो। यो हास्यव्यङ्ग्य निबन्ध पुस्तक नै मैले पढेकाे पहिलो हास्य पुस्तक थियो । यसभन्दा पहिले कक्षा १० मा भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्ध त पढेकी थिएँ तर हास्यव्यङ्ग्य बारेमा धेरै ज्ञान थिएन । सोच्थेँ कि हास्यव्यङ्ग्य भनेको हँसाउने निबन्ध होला भनेर । खाइराइड पढेपछि यसको बारेमा अध्ययन गरेँ र मैले ज्ञान पाएँ कि हास्यव्यङ्ग्य भनेको त हाम्रो समाजमा रहेका सामाजिक, संस्कृतिक, धार्मिक, राजनीतिक र शैक्षिक क्षेत्रमा रहेका विकृतिहरूलाई हँसाउनु र व्यङ्ग्य गर्नु मात्र नभई एक परिवर्तनको पनि चाहना प्रस्तुत गर्नु पाे रहेछ। यहाँ नेपाली ठेट शब्दको प्रयोग गरिँदो रहेछ। मेराृ पढाइ अनुसार हास्यव्यङ्ग्यमा लेखकले भाषिक शिल्प अन्तर्गत अनुप्रासयुक्त शब्द, बिम्ब र प्रतीक, उखान टुक्का र समस्त शब्दको प्रयोग गरी यसलाई अझै रोचक बनाएका छन् । साहित्यका ९ रस मध्ये हास्य रसको प्रयोग हुँदो रहेछ ।
मलाई यो पुस्तक सुरुमा कस्तो होला भन्ने कुरामा म एकदमै उत्सुकता, खुल्दुली र कौतूहलता थियो । कविता सङ्ग्रह, कथा, नाटक र निबन्ध त मैले धेरै पढेकी थिएँ तर हास्यव्यङ्ग्य भने याे नै पहिलो थियो । त्यसैले पनि होला मलाई यो पुस्तक पढ्दा एकदम रमाइलो लागेको थियो । यहाँ प्रस्तुत गरिएका हरेक विचारहरू मलाई एकदमै सही पनि लग्यो र मलाई गम्भीर भई सोच्न बाध्य पनि बनाइदियो कि के हाम्रो समाज यस्तै नै छ त ? के हाम्रो देशको राजनीति पनि यसरी नै चलिरहेको छ त ? यहाँ लेखिएका हरेक निबन्धमा मैले तितो सत्य भेटेँ ।
यस पुस्तकमा भएका ३१ वटा निबन्ध मध्ये मलाई एकदमै मन परेको निबन्ध ‘जनावरलाई गाली किन ?’ भन्ने हो । यो पुस्तकको तेस्रो पाठ थियो र यो पाठ पढेपछि नै म अरू निबन्धमा तानिएको थिएँ । यो पाठ मैले दोहोर्याई तेहर्याई पढेँ। हामी मानिसहरू एक चेतनशील प्राणी भनेर चिनिन्छौँ तैपनि एकदमै नराम्रो हर्कत देखाउँछौँ । केही गल्ती हुँदा सबै दोष जनवारको नाम लिएर एक अर्कालाई होच्याउने गर्दछौँ । तिनै जनावरहरूले नै हामीलाई कतिपय कुराहरूमा मद्दत पुर्याएका छन् । तिनैलाई कहिले चोर स्याल भनी कहिले गोहीका आँसु र अन्य पशुको नाम लिएर गालीगलौज गर्दा रहेछाैँ ।
यस पुस्तकमा लेखकले समसामयिक विषयलाई लिएर आज भोलि विदेशिदै गएको युवा जनशक्तिलाई पनि चेतना दिन खोजेका छन् । यो कुरा मैले धेरै पाठ पढ्दा महसुस पनि गरेँ । खतीपति बिना अधिपति बनेका प्रधानमन्त्रीहरूलाई पनि समेटी लेखकले राजनीतिक व्यङ्ग्य हानेका छन् । यस पुस्तकबाट मैले कतिपय ऐतिहासिक ज्ञानहरू पनि प्राप्त गरेँ जस्तै: जमल कान्तिपथस्थित चारबुर्जा दरबारमा नेपालको पहिलो शौचालय रुद्र शमसेरले बनाएका रहेछन् (पृष्ठ: ३८), बेलायती सेनामा भर्ती हुन लाहोर (अहिलेको पाकिस्तान) जाने लाहुरे प्रथा सुरु भएको रहेछ (पृष्ठ:११०) र अन्य थुप्रै कुरा हरूको ज्ञान पनि प्राप्त गरेँ । यति मात्र नभई मैले अहिलेका जल्दाबल्दा घटनाहरूको पनि ज्ञान पाएँ । पुस्तकका हरेक निबन्धहरूले मलाई समाजमा भएका घटनाहरूसँग बाँध्न बाध्य बनायो । यहाँ लेखकले समाजमा नदेखिएका कुराहरूलाई प्रस्तुत गरी सामाजिक परिवर्तनको अपेक्षा गरेको जस्तो मलाई पाठहरू पढ्दै गर्दा लाग्यो ।
‘कहाँ छ स्वतन्त्रता ?: शीर्षककाे निबन्ध पढ्दा त झन् मलाई हास्य भन्दा पनि बढी मन छुने एउटा समाजको तितो सत्य जस्तो लाग्यो । अहिलेसम्म नै नसोचेको कुरालाई लेखकले सोच्न बाध्य बनाए र साँचो हो जस्तो पनि लाग्यो । हुन पनि कहाँ छ र स्वतन्त्रता, कोसँग छ,ती जतिसुकै बलिया र शक्तिशाली मानिसहरू किन नहाेऊन् ।
लाहुरे निबन्धमा लेखकले अहिलेको समसामयिक विषय केलाएका छन् । यहाँ उनले लाहुरेलाई एउटा बिम्बको रूपमा लिएका छन् । उनले लाहुरे भनेको एउटा बर्दीको मानिस मात्र नभई आज भोलि विदेशिदै गएका युवाहरूलाई पनि दर्शाएका छन् । आजभोलि हाम्रो देशमा युवाहरू कम नै छन् । अमेरिकी लाहुरेहरूको सङ्ख्या ह्वात्तै बढेको छ । उनले यहाँ लाहुरेहरूले वर्गीकरण गरेका छन् जस्तै : भर्ती लाहुरे, अर्ती लाहुरे, छिर्ती लाहुरे र फिर्ती लाहुरे । यी वर्गीकरणहरू पढ्दा मलाई एकदमै रमाइलो अनुभव भयो ।
पुस्तक पढ्दा मलाई एकदमै मन परेको अर्काे निबन्ध ‘पद पैसा’ पनि हाे । यहाँ लेखकले लेखेका हरेक वाक्य शक्तिशाली लाग्यो । उनले लेखेको यो वाक्य मलाई एकदमै मन पर्यो : ‘पैसाको लागि मान्छेले हरेक क्षण आफूलाई बेच्नुपर्छ’। साँच्चै चाहेर हुन्छ वा मजबुर भई मानिसहरूले आफ्नो जीविकोपार्जन गर्न हरेक क्षण आफूलाई बेच्नुपर्छ। लाग्यो, यस ब्रह्माण्डमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै पैसा नै हो । यसलाई सुन्दा हल्का तितो लाग्ला तर २१ औँ शताब्दीमा आइपुग्दा हाम्रो समाजमा मान्छे बिहान उठेदेखि राती सुत्दासम्म पद र पैसाकै अपेक्षा राख्दछ । हामी सबैजना पैसाका दस बनेका छौ । पैसाका लागि हामी जे गर्न नि तयार छौँ चाहे त्यो शत्रुसँग हात मिलाउने होस् वा अरूको हत्या नै गरेर होस् ।
समग्रमा भन्नुपर्दा मलाई यो पुस्तक एकदमै रमाइलो र ज्ञानपूर्ण लाग्यो। हास्यव्यङ्ग्य पुस्तक भए तापनि मलाई हास्य भन्दा बढी यस पुस्तकले गम्भीर भई सोच्न बाध्य बनायो । ‘नामको चाम’ पाठ पढ्दा मलाई एकदमै रमाइलो लागेको थियो । यस पुस्तकमा लेखकले हाम्रै वरिपरि भएका सामाजिक कुराहरूलाई सोच्न बाध्य बनाएका छन् । अहिलेसम्म नै नदेखिएका र नसुनेका कुरा समाजमा लुकेर बसेका, दबिएका सत्यलाई उनले प्रष्ट बनाई लेखेका छन् जुन मलाई एकदमै मन पर्यो । यो पुस्तक पढेपछि लाग्यो कि हास्यव्यङ्ग्यकाे पुस्तक पढ्दा एकदमै रमाइलो हुँदो रहेछ । यस्तै अरू पुस्तक पनि आगामी दिनहरूमा पढ्न मन छ । हास्यव्यङ्ग्य निबन्ध लेख्दा धेरै कुराहरूमा ध्यान दिनुपर्दाेरहेछ र हरेक शब्दको प्रयोग पनि व्यङ्ग्यात्मक तरिकाले लेख्नु पर्दा रहेछ ।
०००
कक्षा १२ ‘याला’
डियरवाक सिफल स्कुल, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































