साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘खाइराइड’ले अरू हास्यव्यङ्ग्य पुस्तक पढ्न उत्साहित गर्‍याे

राजेन्द्र कार्कीद्वारा लेखिएको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह मैले पढेकाे पहिलो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हो र यो पुस्तकले मलाई अरु पनि हास्यव्यङ्ग्य रचना र कृतिहरू पढ्नका लागि उत्साहित गरेकाे छ ।

Nepal Telecom ad

विजित पाैडेल :

फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् ।  त्यसै गरी  नयाँ शैक्षिक सत्रमा भाेजपुरकाे सिद्येश्वर उच्च मा.वि., दाँवाले पनि कक्षा १० र ११ काे अतिरिक्त पाठ्यक्रमका रूपमा पठनपाठन गराउन थालेकाे छ । पठनपाठनकाे क्रममा छात्रछात्राले याे कृति पढ्दा के कस्ताे अनुभूति   गरे ? फित्काैलीलाई प्राप्त भएका उनीहरूका लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गर्दै आएकाे छ ।  – सम्पादक

०००

डियरवाक सिफल स्कुलमा हरेक महिना विद्यार्थीहरूलाई एउटा अङ्ग्रेजी र एउटा नेपाली गरी दुईवटा पुस्तक पढ्न लगाइन्छ । ती पुस्तकहरू कथा सङ्ग्रह, कविता, कविता सङ्ग्रह, उपन्यास आदि विधाका हुन्छन् । हरेक महिना जस्तै यो श्रावणको महिनामा विद्यार्थीहरूलाई नयाँ किताब बाँडिएकाे थियो । आफूले पाएको किताब हेरेँ । किताबको शीर्षक थियो ‘खाइराइड’।

यसपटकको किताब भने नयाँ विधाको थियो। अहिलेसम्म विद्यालयद्वारा प्रदान गरिएका पुस्तकहरू मध्ये कुनै पनि हास्यव्यङ्ग्य पुस्तक थिएनन् । हास्यव्यङ्ग्यको नाममा अहिलेसम्म मैले पनि ‘जय भुँडी’ शीर्षककाे निबन्ध मात्रै पढेको थिएँ । भैरव अर्यालद्वारा लेखिएको ‘जय भुँडी’ जस्तै हास्यव्यङ्ग्य  निबन्ध भनेपछि पक्कै पनि यो पुस्तक रमाइलो नै होला जस्तो मेरो मनमा लाग्यो ।

‘खाइराइड’ नामकाे याे पुस्तक पढ्नु अघि मैले लेखकको बारेमा जान्ने बिचार गरेँ। यो पुस्तक राजेन्द्र कार्कीद्वारा लेखिएको रहेछ । उनको हालकाे ठेगाना भने क्यानडा रहेछ । उनी परदेशमा रहे पनि नेपाली साहित्यमा आफ्नो कलम चलाउँदै बसेका रहेछन् ।
‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हाे। यो पुस्तक भित्र ३१ वटा फरक फरक निबन्धहरू छन् । निबन्धहरूको विषयवस्तु एकआपस भन्दा फरक छन् तर पनि विषयवस्तुको आधारमा छुट्याउने हो भने यस संग्रहका निबन्धमा सामाजिक र राजनीतिक विषयहरू समेटिएका छन् । निबन्धहरूमा हास्य र व्यङ्ग्य प्रहारका लागि पौराणिक र तथ्यपरक कथाहरू पनि जोडिएको भेटिन्छ ।

यस निबन्ध सङ्ग्रहको पहिलो निबन्ध रहेको छ ‘कुकुरको भाग्य’ । हाम्रो समाजमा कसैले पनि दुःख पायाे वा खराब अवस्थामा फस्याे भने कस्तो कुकुरजस्तो भाग्य रहेछ मेरो भनेर भन्ने गरिन्छ । त्यस्तै सोचहरूको विरुद्धमा गएर लेखकले कुकुरको भाग्य त धेरै मान्छेहरूको भाग्य भन्दा पनि राम्रो रहेको देखाएका छन् ।

यस्तै उनको अर्को निबन्ध ‘जनावरलाई गाली किन ?’ मा हामी मान्छेहरूलाई कडा व्यङ्ग्य हानेका छन् । उनले लेखेको कुरा वास्तविकतामा पनि देखिन्छ । यदि हामीलाई कोही मान्छेले कुकुर भन्याे भने हामी त्यसलाई कुट्न समेत बाँकी राख्दैनाै तर त्यसैको सट्टा कसैले बाघ भन्याे भने हामी मख्ख पर्छाैँ जब कि कुकुर हामी मान्छेको वफादार हुन्छ र हामीलाई साथ दिन्छ र त्यही बाघ भने मान्छेहरूलाई देख्नेबित्तिकै झम्टेर मारेर खान खोज्छ। यस्तै अरु थुप्रै चित्त बुझ्दा उदाहरणहरू दिएर गरिएको व्यङ्ग्य मलाई असाध्यै रमाइलो लाग्याे ।

यस्तै सामाजिक निबन्धहरू पनि छन् जसमा हामी नेपालीहरूको विशेषताको सन्दर्भ उठाएर व्यङ्ग्य गरिएको छ। ‘भाग्दाभाग्दै’ भन्ने निबन्धमा कसरी हाम्रो जन्म शुक्राणुको दौडदेखि सुरु भयो र र अन्त्य भने दौडँदा दौडँदै यमराजको द्वारसम्म पुगेपछि हुने छ भनेर भनिएको छ । यी दुई मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण दौड भए तापनि मान्छेले यी बीचमा अन्य थुप्रै सानादेखि लिएर ठुलो दौडसम्म दौडिन्छ । झन् नेपालीहरूमा त आजकल गाउँदेखि शहर र शहरदेखि विदेश दौडिने प्रतियोगिता चलिरहेको छ यसैलाई लेखकले व्यङ्ग्य गरेका छन् । यसरी नै ‘नेपालीले गर्छ’ भन्ने निबन्धमा नेपालीहरूले आफूलाई नआउने केही पनि हुँदैन भन्ने ठान्छन् र उनीहरूलाई सबै कुरा आउँछ र जहिले पनि जे काम पनि आफू जान्ने छु भनेर देखाउनलाई अगाडि बढी हाल्नुपर्ने यस्तो नेपाली स्वभाव तथा प्रवृतिमाथ व्यङ्ग्य गरिएको छ ।

‘मृत्युको विज्ञापन’ शीर्षाककाे निबन्धमा कसरी मान्छे मर्नु अगाडि उसको बारेमा केही नभन्ने र उसलाई सहयोग नगर्ने तर उसको मृत्युपश्चात् उसलाई आफ्नो माया दिने र समाजसेवी, दानवीर जस्ता उपमा दिने हाम्रो नेपाली बानी देखाइएको छ । यहाँ यसलाई व्यङ्ग्या रूपमा देखाउन खोजे पनि याे अवस्था राम्ररी सोच्दा दुखदायी नै हाे । यस्तै सामाजिक व्यङ्ग्य समेटिएका निबन्धहरू ‘बुहारी सासू’, ‘सरको डर’, ‘सोल्टिनी’ आदि रहेका छन् ।

कुनै कुनै निबन्धहरूमा सांस्कृतिक र धार्मिक विषयवस्तुको पनि उठान गरिएको छ । ‘कामी’ भन्ने निबन्धमा नेपालमा तल्लो जात भनेर मानिने कामी समुदायका मान्छेहरूको कथा छ । अहिले पनि पुरानो सोच हुने मान्छेहरूले तल्लो जातको मान्छे हो भने उनीहरूले छोएको खाँदैनन् र टाढा बस्ने गर्छन् तर आफ्नो बिहेमा भनेचाहिँ बाजा बजाउन उनीहरूलाई नै बोलाउँछन् । यसमा सांस्कृतिक विषयवस्तुलाई लिएर व्यङ्ग्य गरिएको छ ।

यस पुस्तकमा धेरै जसाे भने राजनीतिक विषयमा व्यङ्ग्य गरिएको छ । अरु निबन्धहरूमा पनि बेलाबेलामा लेखकले राजनीतिक विषयमै व्यङ्ग्य हान्ने मौका छोडेका छैनन् । हुन त नेपालको राजनीतिक अवस्था पनि बेहाल र दयनीय नै छ । यहाँ चुनावमा भोट माग्न आउँदा खेरी मुसाजस्तो लुसुक्क परेर आउँछन् र भोट पाएर जितिसकेपछि बाघ भएर हामीलाई नै झम्टिन्छन् । यस्तै प्रसङ्गमा लेखकले लेखेका याे पङ्क्ति मलाई असाध्यै मन पर्याे : चुनाउमा चुनिएपछि मुसो पनि बाघ हुन्छ। लाटोकोसेरोले पनि आँखा देख्न थाल्छ। नबोल्ने पनि पुराण सुनाउन थाल्छन्। नजानेको र नसुन्ने केही हुँदैन। सर्वज्ञ। (पृष्ठ ६०, चुनाउ पुराण)

देशमा हुने भ्रष्टाचार र पदमा पुगेपछि कसरी मन्त्री र प्रधानमन्त्री जस्ता मान्छेहरूले आम जनताहरूको दुःख बिर्सन्छन् र मोजमस्तीमा भुलिन्छन् भनेर पनि व्यङ्ग्य गरिएको छ। त्यति मात्रै नभएर प्रधानमन्त्री भइसकेपछि स्वीस बैङ्कमा लक्ष्मी आफै पुग्दा रहेछन् पनि भनिएको छ। यस्तै व्यङ्ग्य गरेर लेखेको अर्को पङ्क्ति पनि मलाई असाध्यै मन परेको छ। : प्रधानमन्त्री भएपछि जताततै भोजभतेर र पाँचतारे होटल हुने रहेछन् । सडक गल्लीमा देखिने भोका नfङ्गा एकाएक बलिया बाङ्गा भए। आफै तिनछक्क ! गरिबहरू एकाएक देशबाट शेष भए । सेना र प्रहरीका साइरनवाला गाडी अघिपछि लागेपछि ट्राफिक जाम त चाम हुँदो रहेछ । (पृष्ठ १२०, प्रधानमन्त्री कि वरदानमन्त्री ।)

लेखकले यो निबन्ध सङ्ग्रहमा अझै थुप्रै ठाउँमा व्यङ्ग्य गरेका छन् । कुनै व्यङ्ग्य नेता राजनीतिज्ञहरूका लागि छ भने कुनै व्यङ्ग्य हामी आम नेपालीहरूको लागि पनि छ । कुनै कुनै व्यङ्ग्य पढेर रमाइलो लाग्छ भने कुनै कुनै व्यङ्ग्यमा रमाइलाे भए पनि त्यसले हाम्रो दुर्बल अवस्था देखाएको जस्तो पनि लाग्छ । यसो पढ्दा लेखकले राजनीतिक कोटाका बारेमा गरिएकाे व्यङ्ग्यले हामीलाई हँसाउन खोजे तापनि उनी आफै देशको यस्तो अवस्था देखेर दुःखी र चिन्तित भएको जस्तो अनुभव हुन्छ ।

यो पुस्तकको सबै निबन्धहरू पढेपछि मलाई धेरैजसो कथानिबन्धहरू रमाइला हाँसउठ्दा लागे । यसमा पहिलेको समयदेखि अहिलेको समयसम्म धेरै कुरासँग मेल खाने व्यङ्ग्यहरू छन् । व्यङ्ग्यको उद्देश्य भनेकै सुधारको चाहना गर्नु हो । नेपाली समाजमा रहेका विभिन्न त्रुटि र राजनीतिक कमजोरीहरूको लेखकले यस पुस्तकबाट मज्जाले विरोध गरेका छन् र आफ्नो व्यङ्ग्यात्मक ढङ्गले त्यसलाई रमाइलो शैलीमा प्रस्तुत गरेका छन् ।

यो पुस्तक पढ्दा मलाई असाध्यै रमाइलो लाग्यो । लेखक पनि हाम्रै समाजको व्यक्ति भएकाले उनको जीवन र हाम्रो जीवन धेरै जसो ठाउँमा मेल खान पनि जान्छ । उनले उठाएका कुरा वास्तविक र सान्दर्भिक  लाग्छन् ।

यस पुस्तकको धेरैजसो कुरा मैले बुझे पनि मलाई काहीँ काहीँ उल्लेख भएका राजनीतिक प्रसङ्गहरू बुझ्न नसकेको जस्तो लाग्छ। कुनै कुनै उपकथा भने अहिलेको समय सान्दर्भिक नभएकाले मैले आफूले महसुस गर्न र सोचेर हेर्न पनि खासै सकिनँ । पुराना राजनीतिक सन्दर्भ जोडिएको उपकथा र व्यङ्ग्य मलाई बुझ्न अलि गाह्रो भयो। त्यस बाहेक समग्रमा हेर्ने हो भने यो पुस्तक अति नै रमाइलो छ।

राजेन्द्र कार्कीद्वारा लेखिएको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह मैले पढेकाे पहिलो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हो र यो पुस्तकले मलाई अरु पनि हास्यव्यङ्ग्य रचना र कृतिहरू पढ्नका लागि उत्साहित गरेकाे छ ।

०००
कक्षा १२ ‘लाेबुचे’
डियरवाक सिफल स्कुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x