लीलाराज दाहालभाषण
उनले एक्कासि मञ्चतिर हेर्दै भनिन्," हातभरि हिंसा र यातनाको पुरस्कार थापेर म घरबाट निकालिएँ !" उनले मनमा गाँठो पारेर फेरि भनिन्, "अहिले मञ्चमा भाषण गर्ने नेता मेरा साख्खै लोग्ने हुन् !"

लीलाराज दाहाल :
“हाम्रो नेता जिन्दावाद !” अचानक नारा लाग्यो !
बीरबहादुरको अनुहारमा एकाएक मुस्कानको लहर सलबलाउन थाल्यो ! खुलामञ्चमा महिलाहिंसा विषयक एक भव्य गोष्ठी आयोजना हुन लागेको थियोे ! उसलाई पनि वक्ताका रुपमा आमन्त्रण गरियो ! पालो आउनासाथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण गर्यो –
“आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ ! बालविवाह, यौन दुर्व्यवहार र दाइजो प्रथाले गर्दा महिला दिदीबहिनीहरु आक्रान्त बनेका छन् । उनीहरु आत्महत्या गर्न विवश छन् । जिउँदै जलाइएका छन ! जबसम्म महिलाहरु सशक्त हुँदैनन्, तबसम्म देशको विकास हुँदैन !”
उसको भाषण सकिनेवित्तिकै दर्शकदीर्घाबाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो। मानिसहरुले उसको खुलेरै प्रशंसा गरे ! ऊ एकछिन उमङ्गको पङ्खा हम्केर बस्यो !
दर्शक दीर्घापछाडि भने फरक दृश्य देखियो ! तीनवटी छोरी काखी च्यापेर एउटी महिला रुँदै थिइन् ! उनले एक्कासि मञ्चतिर हेर्दै भनिन्,” हातभरि हिंसा र यातनाको पुरस्कार थापेर म घरबाट निकालिएँ !”
उनले मनमा गाँठो पारेर फेरि भनिन्, “अहिले मञ्चमा भाषण गर्ने नेता मेरा साख्खै लोग्ने हुन् !”
०००
बागमती ११, कर्मैया, सर्लाही
Subscribe
Login
0 Comments
Oldest






































