अमर अधिकारीपाद्यात्मिक गुरु नाफाखोरी शुरु
सरकारमा बसेकाहरुको कानमा ठेँडी कोचिएको छ, किन पो सुन्थे र महाठगका भ्रमजालका बारेमा। पशुपतिको बजारमा सयमा पाइने माला बाबा वा गुरु भनाउदाहरुका एजेन्टहरुले हजारमा बेच्ने गरेको पाइन्छ।

अमर अधिकारी :
आफ्ना चेलाचेली अर्थात् शिष्यहरुलाई असल नियतले ज्ञान-चेतना दिने र उनीहरुको भलाईका लागि विभिन्न सकारात्मक कुराहरु बताउने गुरु वा सन्तको खडेरी छ यहाँ। कोहीकोही भेटिएलान् त्यस्ता महान गुरु वा बाबा। तर यहाँ कुरो अर्कै हुँदैआएको पाइन्छ। खराब गुरु वा बाबाका कारण असल गुरु वा बाबा वा सन्तको समेत बदनाम हुँदैआएको छ। भारतबाट नेपाल आएर धतुरो खाएर कुटी खोल्ने र लुटिरहनेहरुले दिनदहाडै ठगी खाइरहेका छन् अनि विभिन्न सहरमा धाइरहेका छन्। त्यस्ता लुटेराहरुले धर्मको नाममा निर्धक्कसँग आफ्नो लुट धन्दाहरु चलाएर बसेका छन् कहिले खरानी घसेका छन् र कहिले अन्धभक्तहरुलाई जालमा पारेर उनीहरुको तन-मन-धन खिच्न कम्मर कसेका छन्।
“हाम्रा गुरुले आफ्ना शिष्यलाई करोडपति हुने गराए, अरबपति हुने गराए“ भन्दै पाखण्डीका दलालहरु प्रचार प्रसारमा लागेका छन्। यस्तै हल्लैहल्लाको माध्यमबाट कमाउ धन्दा चलाउने र सोझा मान्छेलाई गलाउने बाबा तथा सन्तहरुको बिगबिगी छ यहाँ। गेरु बस्त्र धारण गरेका वा अरु नै बस्त्र धारण गरेकाहरुले मीठा मीठा कुराहरु अन्धभक्तलाई सुनाएर लठ्ठ पार्ने अनि नगद झार्नेहरुको सूची तयार गर्न थालियो भने दिन जान्छ। उनीहरुलाई साथ दिनेहरुमा नेताहरु पनि छन्। किन कि त्यस्ता कुटी वा आश्रम भोट बैंकको रुपमा प्रयोग हुने गर्छन्, चाहे भारतमा होस् वा नेपालमा। बाबाको चङ्गुल यति कडा हुन्छ कि त्यसमा फसेका अन्धभक्तहरु हतपत्त उम्किन पाउँदैनन् र आफ्नो तन-मन-धन सबै सुम्पिएका हुन्छन् पाखण्डीका पोल्टामा। उता अपराधी ठहरिएर जेलमा परे पनि यता अन्धभक्तहरुले उनीहरुको भजन कीर्तन गरेर आफ्नो घर व्यवहार लथालिङ्ग पार्दैआएका छन्।
“हाम्रा गुरुदेवको चरण सारा देवीदेवताको बासस्थान हो” भन्न पनि पछि नपर्ने त्यस्ता कथित गुरुलाई भगवानको पनि भगवान मान्ने कुवुद्धि भएका मान्छेहरु हाम्रो समाजमा बग्रेली छन्। पूजा कोठामा देवीदेवताका फोटोहरु हटाएर त्यस्ता महाठगहरुको फोटो सजाएर झनै झकिझकाउ पार्दै अझै बढी पूजापाठ गर्दै आएका छन्। ती अन्धभक्तहरुबाट विभिन्न वहानामा चर्को रकम असुलेर भारत लगेर नाफामूलक कम्पनीमा शेयर लगानी गर्ने फटाहाहरुलाई “जय गुरुदेव !” भन्दै भगवानभन्दा माथि राखेर पूजा गर्नेहरुको संख्या उल्लेख्य देखिनुले हाम्रो देश कतातिर गैरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ।
नेताहरुले पनि ठगहरुको बचाउ गर्ने र चुनावमा उनै मार्फत भोट बढाउने काममा लागेको पाइन्छ। खासमा भन्नुपर्दा हाम्रा ९० प्रतिशत नेताहरुलाई राँचीमा लगेर उपचार गराएर ल्याएपछि मात्र नेपाल सुध्रिन्छ होला होइन भने नेपालको लथालिङ्गी कहिल्यै पनि सुध्रिदैन भन्ने कुराको ठोकुवा गर्न सकिन्छ। अख्तियार प्रमुखमा महाभ्रष्टलाई नियुक्त गर्ने अनि संस्थानहरुमा अयोग्य र असक्षमलाई अध्यक्ष, महाप्रवन्धक अनि सञ्चालकमा नियुक्त गरेर जनतालाई बेबकुफ बनाउदै आएका नेताहरुका चम्चा अर्थात् झोलेहरुले भने आफ्नो झोलाहरु भर्दैआएका छन्।
तस्कर, माफिया, ठेकेदार सबै नेताहरुको वरिपिर घुमिरहने हुँदा जनताले लोकतन्त्रको प्रत्याभूति गर्न पाएका छैनन्। राम्रो छबि भएका १० प्रतिशत नेताहरुलाई भने निकै गाह्रो छ। राजनीति गर्न साह्रो छ। कतिपय नेता त निष्क्रिय भएर बसिसके। तिनीहरुको सूची पनि मैले बनाइसकेको छु। राज्यकोष दोहन गर्ने काम तत्कालै रोकिएन भने देश श्रीलंका जस्तो टाट पल्टिनसक्ने सम्भावना धेरै छ। भारतले जे जे भन्यो त्यही त्यही गर्ने भए भारतमै बिलिन हुनुपर्यो नेपाल, हैन भने चिलिम हुनुपर्यो ।
अध्यात्मको नाममा अखडा जमाएर बसेकाहरुले जतिसुकै ठगे पनि यतातिर सकरारको ध्यान गएको छैन। सरकारमा बसेकाहरुको कानमा ठेँडी कोचिएको छ, किन पो सुन्थे र महाठगका भ्रमजालका बारेमा। पशुपतिको बजारमा सयमा पाइने माला बाबा वा गुरु भनाउदाहरुका एजेन्टहरुले हजारमा बेच्ने गरेको पाइन्छ। “यो यन्त्र दराजभित्र राख्नुस्, दिनहुँ धन फलेको फल्यै हुन्छ” भन्दै कपोलकल्पित यन्त्र अर्थात् जन्तर विक्री गर्छन् र “यो मन्त्र जप गर्नुस्, तपाइँको गर्भमा रहेको शिशु छोरा चाहे छोरा र छोरी चाहे छोरी भएर जन्मिन्छ” भन्दै हजारौँको दरमा मन्तर विक्री गर्ने कथित गुरुका कथित आध्यात्मिक संस्थाको कमाउ धन्दा गजबकै छ।
अन्धभक्त पनि कस्ता त्यस्ता ढोँगीहरुको कुरा पत्याउने, दक्षिणाको नाममा धन लत्याउने। बाउबाजेदेखिका धर्मकर्म गर्न छोड्ने, अनि त्यस्ता पाखण्डीका कुरातिर ध्यान मोड्ने ? अनि उनैलाई नै सर्वशक्तिमान भगवान मान्ने अन्धभक्तहरुबाट लुटिएको धन सीमापारीका तारे होटेल र अन्य नाफामूलक कम्पनीहरुमा लगानी गरिएका छन् भन्ने कुरा अन्धभक्तहरुका बन्द आँखाले देख्ने कुरा पनि भएन। किन कि उनीहरु पाखण्डीका पछाडि लागेको लाग्यै छन्, घरबाट भागेको भाग्यै छन्। “परिवारमा शान्ति हुन्छ” भन्दै जन्तर-मन्तर बेच्नेले नै परिवारमा अशान्ति फैलाएका छन्।
विश्व हिन्दू महासंघको भवन भग्नावशेषमा परिणत हुने अवस्था छ भने आध्यात्मिक भनाउँदाका आश्रमका पछाडि ठूला ठूला आलिसान दरबारहरु छन्। आश्रम त केवल देखाउनका लागि मात्र हो। अन्धभक्तहरुबाट खिचिएका धनबाट उनीहरुको ठाउँठाउँमा अथाह सम्पत्ति थुप्रिएका हुन्छन्। यतातिर अन्धभक्तहरुको आँखा सधै बन्द। किन कि बाक्लो पट्टी लगाइएको छ त्यस्ता धर्मद्रोहीहरुका पुच्छरहरुका आँखामा। अन्धभक्तहरुबाट लुटिएको धनले भुँडी ढाडिउञ्जेल खान्छन् अनि पादेर रात बिताउछन् र “भोलि पनि धन कमाउने” भन्दै चिताउछन्। त्यसैले अन्धभक्तहरुको आँखाको पट्टी खुल्नेगरी आजैदेखि भनौँ- “पाद्यात्मिक गुरु ! नाफाखोरी धन्दा शुरु !!
०००
बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































