रामप्रसाद पन्थीव्यापार राजनीतिकाे
न उमेरकाे हदबन्दी लाग्दाे रहेछ । घाटमा नपुग्दासम्म ठाँट पार्न सकिदाे रहेछ । एकपटक पदमा पुगेपछि सात पुस्तालाई तार्न सकिदाे रहेछ । उबेला जानिएन । काकाले भनेकाे मानिएन । अहिले पछुताएर के गर्नू ?

रामप्रसाद पन्थी :
“सक्छाै जागिर नखाऊ सक्दैनौ जागिर खाऊ
झण्डामुनि बस तर दरबार नपस ।”
– रणवीरसिंह थापा
तपाईंले याे भनाइलाई कसरी अर्थ्याउनु भएकाे छ कुन्नि ? मलाई त याे भनाई अर्थ न पर्थ गाेविन्दी गाई टाउकाे दुःखेकाे ओैषधि नाइटोमा लगाई भएकाे छ । घरमै बसेर हातमुख जाेर्ने अवस्था भएकाे भए जागिर खाेज्नै पर्दैनथ्याे । नसकेरै जागिर खाेज्दै हिडियाे । बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खाएर जागिर पनि पाइयाे । जागिर पाएपछि विश्वविजेता अलेक्जेण्डर पनि फुच्चे भएजस्तो भान भयाे। झुत्रेले जागिर खायाे भन्ने चर्चाले समाजमा छुट्टै मान भयाे । ठूलै घरानाबाट कन्याकाे अफर आएपछि शब्दमा वर्णन गर्न नसकिने विचित्रको सान भयाे ।
हुनैहार दैव नटार भनेझैं हुने कुरा भएरै छाेड्दाे रहेछ । डाँडाकाँडा सन्तानले ढाकून् भनेर बडादशैंमा ठूलाबडाले दिएकाे आशिक लाग्याे। छ/ सात सन्तानले संसारका विभिन्न कुना ढाक्ने भए । कहिले काखमा र कहिले काेखामा राखेर हुर्काएका सन्तान उडेर लाखापाखा लाग्दै गए । उँधाे मायाले याे मन थाक्दै गयाे । विरहकाे भुङ्ग्राेमा दिमाग पाक्दै गयाे ।
उबेला न व्यापार गरियाे न राजनीति । जागिर खान खाेज्दा जागिरले नै खायाे । उमेरले पाका आफ्नै काकाले व्यापार गर् अथवा राजनीति भनेकाे नमान्दा याे झुत्रेले दुःख पायाे । काकालाई दुःख पाएकाे कुरा सुनाउन मन लागेन । दुःख पाइस् मंगले आफ्नै ढंगले भन्ने झटाराले काकाले हाने भने झुत्रिएकाे झुत्रेकाे के हालत हाेला ? मनकाे वह कसैलाई नकह पनि भन्छन् । त्यसैले कसैलाई फलाक्दै हिड्ने कुरै भएन । कुरा गर्याे कुराकै दुःख भनेझैं जागिर खाएर कहिल्यै सुख भएन ।
नखाउँ भने दिनभरिकाे सिकार खाउँ भने कान्छा बाउकाे अनुहार भन्ने भनाइ मैमाथि लागू भयाे। मर्नुभन्दा बहुलाउनु वेश ठानेर यसै बसियाे । के गर्नु मर्न सकिएन ? जागिरले बहुलाउने गरायाे । नाेकरीले नाेकर बनायाे ।
सानाे जागिरकाे तनखाले गुजारा चलाउन गाह्राे भयाे । महिनाभरिकाे तनखाले पेट पाल्न सकस भएका बेला ओैषधि उपचारले थला पारेकाे कुरा सिस्नाले पाेल्याे मनमनै भयाे । सानाेतिनाे पूजाआजा गरूँ, मरेपछि स्वर्गजाने बाटाे बनाउँ भन्ने कुनै उपाय देखिएन। जसले गर्दा नर्क जानुपर्ने भयले बेलाबखत मुटुमा ढ्याङ्ग्राे ठाेक्ने गर्छ। यसरी जागिरे भएर केही जाेहाे गर्न नसकेकाे याे झुत्रे गाेज्याङ्ग्राे भएर बाँच्नुपर्दा जिउँदै मरेसरह भएकाे बेथा कसलाई सुनाउनु ?
सँगैका साथीभाइले सहरमा महल ठडाउँदा याे झुत्रेले झुप्राे अडाउन सकेन । जाेरीपारीले प्राडाे चलाउँदा भकाराेमा पाडाे ठडाउन सकेन । श्रीमतीले सुन खाेज्दा भान्सामा नुन दिन सकेन । न्यूनतम् आवश्यकता पनि पूरा गराउने नसक्ने कस्ताे जागिर खायाै त बुढा भनेर बुढीले साेध्दा सुकेकाे भुँडी देखाउन बाध्य भएँ ।
साहुले रासनकाे पैसा माग्दा तनखा आएपछि दिइहाल्छु नि भनेर कतिञ्जेल ढाँट्ने हाे ? तनखाकाे ढेवाले कहिल्यै टेवा दिएन । तनखाले तँ नखा भनेर सधै हेपिरह्याे । हरबखतकाे चिन्ताले चितामा लगेर सेकिरह्याे ।
उमेरले नेटाे काटिसक्याे । घरले जा जा र वनले आइज भन्न थालिसक्याे । दस पाँचकाे जागिरे जीवन बुढ्याैलीकाे सँगारमा गएकाे कहिल्यै थाहा भएन । “ओराली लागेकाे हरिणकाे चाल भाे । बाँचुञ्जेल सम्म पनि मरेकै हाल भाे ” भन्ने गायक रामकृष्ण ढकालकाे गीतले बेलाबखत झस्क्यायाे मात्रै । ” सिमली छायामा बसी भरिया लामाे सास फेरेकाे । उमेर भैसक्याे असी झन ठूलाे दुःखले घेरेकाे” बाेलकाे जीवन शर्माकाे गीतले मैसँग प्रीत लगायाे। धार्मिक गुरूहरूले प्रवचनमा सहू बाबू सहू सहनै नसके पनि भनेझैं सबै कुरा सहनु बाहेक अर्काे बिकल्प नभएकाे निवेदन गर्न चाहें ।
झण्डामुनि बस दरबार नपस भन्ने आदर्शले पनि उबेला झुक्यायाे । राष्ट्रवादी बनेर राष्ट्रिय झण्डामुनि बस्न खाेज्दा त्यहीँ झण्डाले डण्डा लगायाे । पार्टीको झण्डामुनि बस्नेहरूले राष्ट्रिय झण्डालाई लँगाैटी बनाए । दरबार पस्नेहरूले घरबार बनाए । कस्ता कस्ता कहाँ गए मुसाकाे छाेरा दरबार भन्ने उखानले उ -खानेहरूलाई राजा बनायाे । मजस्ता झुत्रेहरूलाई थाङ्ने बनायाे । माग्ने बनायाे । एकजना माननीयले कुनै दिन थाङ्ने कर्मचारी भन्दा कन्सिरीका राैं तातेका थिए । अहिले कुरा बुझ्दै जादा यथार्थ लाग्दै छ । थाङ्नेलाई थाङ्ने नै भनेका रहेछ । सत्य तीताे हुन्छ भन्थे हाे रहेछ ।
के जाति गरेपछि दैलाे देख्नुकाे कुनै अर्थ रहदैन भन्छन् । हाे रहेछ । उबेला काकाले भनेजस्तै ब्यापारी बनेकाे भए साहुजी बनिदाे रहेछ । ब्यापार भनेकाे अपार रहेछ । ब्यापार भनेकाे राजनीति र राजनीति भनेकाे व्यापार रहेछ । ब्यापारीहरू राजनीतिज्ञ बनेका छन् । राजनीतिज्ञहरू ब्यापारी बनेका छन् । बाेल्नेकाे पिठाे बिक्दछ । नबाेल्नेकाे चामल पनि बिक्दैन भनेकाे सुनेकाे थिएँ । साँचाे रहेछ ।
राजनीति सबैभन्दा ठूलाे ब्यापारिक केन्द्र रहेछ । राजनीतिज्ञ ठूला ब्यापारिक घराना । राजनीतिक ब्यापारमा कुनै वस्तु वा सामान बेच्नु पर्दाे रहेनछ । कुरा बेचे पुग्दाे रहेछ । कसलाई के बेच्ने ? टन्टाे हुँदाे रहेनछ । टनका टन सुन बेचे पनि हुँदाे रहेछ । जल, जमिन र जंगल बेचे हुँदाे रहेछ । सरकारी जग्गा बेचे पनि पुग्दाे रहेछ । नागरिकलाई अनागरिक बनाएर हाेस् या बेरोजगारकाे बिल्ला भिराएर परदेश छिराएर जे गरे पनि बिटाे झर्दाे रहेछ । कलकारखाना धराशायी बनाएर हाेस् या जहाज ग्राउन्डेड बनाएर कमिसन आउदाे रहेछ । सहकारी झ्वाम पारे पनि हुन्छ । सरकारी ढुकुटी स्वाम् पारे पनि हुन्छ । निर्वाचनमा टिकट बचे पनि हुन्छ । उच्च ओहाेदामा हेरफेर गरे पनि पुग्छ । नाफा नहुने कुनै ठाउँ छैन । ब्यापार नहुने कुनै गाउँ छैन ।
राजनीतिक ब्यापारमा स्थापित हुन शक्तिमा रहेकाहरूमा भक्ति गरे पुग्दाे रहेछ । एकपटक सत्तामा पुग्नुहाेस् तपाईंको अगाडि सबै झुक्दाे रहेछ । यस ब्यापारमा लाग्न न पढाइने चाहिदाे रहेछ । न उमेरकाे हदबन्दी लाग्दाे रहेछ । घाटमा नपुग्दासम्म ठाँट पार्न सकिदाे रहेछ । एकपटक पदमा पुगेपछि सात पुस्तालाई तार्न सकिदाे रहेछ । उबेला जानिएन । काकाले भनेकाे मानिएन । अहिले पछुताएर के गर्नू ?
कुनै समय कसैले उमेरदार गाेरूलाई कता जाने भनेर साेधेछ ? उमेरदार गाेरूले छाती पिट्दै जाेत्ने जाने भनेर उत्तर दिएछ । बेलुका जाेतेर फर्कदा कहाँबाट फर्कियाै त ? भनी साेध्दा सासैसासले जाेतेर मात्रै भन्न भ्याएछ । आफ्नो पनि हाल त्यस्तै भयाे । उमेरमा जागिरे हुँदा छाती फुलाइयाे । जागिर खाँदै जाँदा जागिरले खाँदै गयाे । जागिरकै कारण नाैनारी गलेर गए । मुटुकलेजा सुकेर गए । केही गर्न नसकेकाे भनी छाेराछाेरी उडेर गए । स्वास्नीले पनि छाेडेर गए । बुढेसकालमा पानी दिने र मरेपछि पिण्ड दिने साथमा काेही छैन ।
त्यसैले नयाँ पुस्तालाई भन्न चाहन्छु, “बेलैमा हाेस् गर । राजनीतिमा लागेर व्यापार गर । माैकामा चाैका हान । सत्ताकाे दाउ हेर । सत्ताकाे स्वाद फेर । जागिरे भएर मैले जस्तो कसैले पछुताउन नपरोस् । सबैलाई चेतना भया ।”
०००
रेसुङ्गा न पा २, गुल्मी
२०८१ चैत्र ३०
Subscribe
Login
0 Comments
Oldest








































