अमर अधिकारीश्री ४ अमरराज धिराजको दुई साताव्यापी खाजकीय भ्रमण
तरकारले मुख धुन पनि सकस व्यहोरीबक्सेको कुरा डाङडुङेखबर डटकमले जनाएको छ। देशका खातिर श्री ४ अमरराजधिराज ज्यादै चिन्तित होइबक्सेको कुरा सञ्चार खाध्यमहरुले जनाएका छन्।

अमर अधिकारी :
श्री परमेश्वरका अनुकम्पाले २०२१ सालमा जन्मिवक्सिएका श्री ४ अमरराज धिराजका बारेमा धेरैलाई जानकारी नै छ। ४२ वर्ष मौसुफ तरकार रोल्पाको खुंग्रीबाट काठमाडौँ नामको विशाल खाडलमा भासिइबक्सेको कुरा पनि तमाम जनतालाई अवगत नै भएको कुरा हो। समस्याहरुको गुजुल्टो र बेथितिको भूमरीको रुपमा चिनिने बेढंगीय राजधानी काठमाडौँबाट श्री ४ पुनर्ताजगीका लागि बेलाबेलामा मोफसलमा सवारी होइबक्सिन्छ।
यसै क्रममा मौसुफ तरकार गत बैशाख १७ गते काठमाडौँबाट दाङतिर सवारी होइबक्सियो। मौसुफ तरकार सवार भूमिहेलिकोप्टर नारायणी पारी र दाउन्ने वारी पर्ने दुम्कीबासमा बिग्रिएपछि सो मर्मतका लागि श्री ४ को हातमुख सम्बाद सचिवालयका प्रमुख सचिवको परामर्शमा स्त्री भनेर भन्न नहुने मिस्त्री बोलाइएको थियो। मौसुफका साथमा सवार अन्य सहयात्रीहरु ३६ डिग्रीको गर्मीमा सडक छेउँका छहारीमा बसेर आआफ्ना अनुहार हम्की रहेका थिए कसैले सलले त कसैले हत्केलाले। हत्केलाले हम्किने चलन युवाहरुमा भन्दा युवतीहरुमा बढी देखिन्छ। कोही पानी खोजिरहेका थिए भने कोही सु गर्ने ठाउँ खोज्दैगरेका देखिन्थे।
भूमिहेलिकोप्टर बिग्रिएको ठाउँमा न फलफूल पाइने पसल थियो न त उपयुक्त खानेकुरा पाइने पसल। मौसुफहरु बिचल्लीमा परिबक्सेको ठाउँमा पसलहरु त देखिन्थे। तर बोतलको पानी किन्न आधा किलोमिटर पर पुग्नुपरेको थियो। केहीछिनमा त्यसै ठाउँमा एउटा यात्रुवाहक बस बिग्रेर ठण्डाराम अवस्थामा रह्यो। लाग्थ्यो कि त्यस स्थान सवारी साधनहरु बिग्रनका लागि उपयुक्त स्थान रहेछ। हामी सवार भूमिहेलिकोप्टर एसिवाला भए पनि भुवन केसी जस्तै बिग्रेको थियो। चिसो हावा आउने दुईटा प्वालमध्ये एउटा प्वालबाट ठसठसी कन्दै चिसो हावा आउथ्यो भने अर्को प्वालमा झुम्रो कोचिएको थियो। सिटहरु यति मैला थिए कि हातले छुँदा हातै कालो होला जस्तो। इन्जिनमुनिको भुइँमा सुतेर चारघन्टा लगाएर मिस्तिरीले भूमिहेलिकोप्टरलाई तन्दुरुस्त गराए। बालक जस्ता देखिने सहचालकले उर्दी जारी गरे “लौ सबैजना आआफ्नो सीटमा सवारी होस् !”
दाङको नारायणपुर पुग्दा श्री ४ मौसुफलाई कनिष्ट नातेदारहरुको एक टुकडीले सम्मान गारत अर्पण गर्दै सलामी टक्र्याएको थियो। मौसुफले दाङमा रहेका सबै आफन्तका समस्या एकएक गरी सुनिबक्सेको र मौसुफमा सरकारका अनन्य सेवक भनाउदाहरुले फूलमाला लगाई दिई सम्मान गरेका थिए। दाङमा पहिले लोकप्रिय रहेको तिल्की र अनदी चामलको अभावमा श्री ४ ले भारतबाट आयातीत पालिसदार तथा हानिकारक चामलको जर्रो भात ज्युनार गरिबक्सेको थियो। स्थानीय वुद्धिजीविहरुले मौसुफमा विन्ति जाहेर गरेपछि दाङका बासिन्दालाई मौसुफले सम्बोधन गरिबक्सने क्रममा “पैसा छ भन्दैमा घरिघरि नखानू, छोराछोरी मोटाए भन्दैमा खुशी नहुनु, धनसम्पत्तिको आडम्बर नदेखाउनु, आफूखुशी औषधि किनेर नखानु, धाक धक्कु धेरै नलगाउनु, गहना धेरै प्रदर्शन नगर्नु, एउटाको कुरा अर्कोलाई लगाउने कान बन्द गर्नू” भनेर हुकुम बक्स भएको थियो।
खाना र चियाभन्दा पनि खाजाहरु धेरै ज्युनार गरिबक्सेकोले यस भ्रमणलाई खाजकीय भनिएको हो, दिनमा चारपटक खाजा खानुपर्ने। केही दिन दाङमा राज गरिबक्सी मौसुफ तरकार रोल्पाका लागि सवारी होइबक्सियो। मौसुफले लिबाङ बसोबासको क्रममा केही राजभक्तहरुले सातदोबाटोदेखि बामरुकसम्म ठाउँठाउँमा काफल र ऐँसेलु टिपेर ग्रहण गरिबक्साएका थिए। दुई दिन रोल्पामा राज गरिबक्सी तेस्रो दिनमा पुनः दाङ फिर्ती सवारी भएपछि मौसुफ केही दिन दाङमै राज गरिबक्सी त्यहाँका पर्यटकीय स्थलहरुको अवलोकन गरिबक्सेको थियो। जेठ २ गते राती नौ बजे काठमाडौँ फिर्ती सवारी भएपछि भने मौसुफमा निराशा छायो।
किन कि बुढानिलकण्ठस्थित आफ्नो लघुदरबारमा नुहाउने पानीको अभावमा मौसुफ तरकारले मुख धुन पनि सकस व्यहोरीबक्सेको कुरा डाङडुङेखबर डटकमले जनाएको छ। देशका खातिर श्री ४ अमरराजधिराज ज्यादै चिन्तित होइबक्सेको कुरा सञ्चार खाध्यमहरुले जनाएका छन्। देशको हालत झनपछि झन जर्जर अवस्थामा रहेको कुरा मौसुफमा सह्य छैन भन्ने कुरा सबैमा जगजाहेर नै छ।
श्री पशुपंछीका गाथले हामी सबैको कल्याण गरुन् ! जय नेपाल !!
खासस
०००
खुंग्री, रोल्पा।
Subscribe
Login
0 Comments
Oldest










































