अमर अधिकारीज्योतिष विद्या गरिबहरु सिध्या
यी अरबपति र खरबपति जोगीहरुसँग देखाउने दाँत र चपाउने दाँत अलग अलग हुन्छन्। यिनको भ्रमजालमा सोझा सिधा मान्छेहरु फस्नेगर्छन् र उनकै नाम जप्दै बस्ने गर्छन् अन्धभक्तहरु।

अमर अधिकारी :
नेपालमा बाजे बराजुले मान्दैआएको धर्म मासिने र धर्ति भासिने सम्भावना बढ्दै गएको छ। धर्मको नाममा हुने व्यापारबाट कसैकसैलाई अपार फाइदा हुनेगरेको कुराहरु बेलाबेलामा सुन्नमा आउँछ। यसै क्रममा ज्योतिषीहरुले पनि गरिब र मध्यमवर्गीय मान्छेलाई सुख, शान्ति र धनी बन्नका लागि भन्दै विभिन्न प्रयोगहरु गर्न लगाउँदै आएको पाइन्छ। धनीमानीहरुभन्दा पनि मध्यमवर्गीय र गरिबहरु ज्योतिषीकोमा धेरै धाउने गरेको देखिन्छ। किन कि धनी आफै समृद्ध हुन्छन् र ज्योतिषीकोमा जान आवश्यक ठान्दैनन्। बाउबाजेले आर्जेको धनमा ढलीमली गर्न पाएपछि किन अलिमली गर्नपर्थ्यो र ?
पशुपति क्षेत्रमा असी प्रतिशत ज्योतिषी नक्कली हुन् भनेर पहिल्यै समाचार आइसकेको छ। सक्कली ज्योतिषीको घाँटीमा गुणस्तर चिह्न झुण्डेको त देखिदैन नै, कसरी थाहा पाउनु र गुणस्तरतिर धाउनु। ज्योतिषीहरुलाई पनि गुणस्तर चिह्नको व्यवस्था पनि हुनुपर्दछ भन्ने यस लेखकको जोडदार माग छ। हुन त म पनि नब्बेवर्ष पुग्न लाग्नुभएका ज्योतिषी पिताको पुत्र हूँ। अहिलेका ज्योतिषीको समाज सेवा गरेर रमाऊँ भन्दा पनि जति सकिन्छ कमाऊँ भन्नेतिर ध्यान गएको देखिन्छ। पञ्चाङ्ग समितिले समेत अवैध भनेका प्रयोगहरु केही ज्योतिषीले आफ्नो गोजी भर्नका लागि गरिब र मध्यमवर्गीयहरुलाई गराउन लगाउदा यहाँ धर्मको बदला अधर्म भएको ठहरिन्छ।
ज्योतिषीहरुले गरिबहरु सिध्याउने काम गरेको देखिन्छ। कतिपयले त भारतको कुनै ज्योतिषीकोमा फोटो पठाएर फोटोमा टिका लगाएर सानो दस्तखत गराएर त्यो फोटो प्राप्त भएपछि ग्रह-दशा काटिन्छ भन्ने अन्धविश्वास रहेको यो लेखकले थाहा पाइसकेको छ। यस्ता पाखण्ड कुनै पनि गरिब र मध्यमवर्गीयका लागि सह्य हुँदैंन। बरु धनीमानीसँग लुट ढोँगीहरु हो! किन गरिबहरुलाई लुट्ने?
महिनैपिच्छे श्रीमानको ग्रहदशा हेराउन जाने श्रीमतीहरू पनि नभएका होइनन् यहाँ।
त्यसरी ग्रहदशा हेराउन जाँदा लागेको गाडी भाडा र ज्योतिषीले असुल्ने मोटो रकम केबल बेफ्वाकको खर्च हो। यता श्रीमानका लागि केही पनि फरक परेको हुँदैन। जीवनबाट निराश भएका गरिबहरु केही फलिफाप होला कि भन्दै ज्योतिषीकोमा धाउने र आशाका गीतहरु गाउने गरेको पाइन्छ यो समृद्ध नेपालमा। श्रम गर्न छाडेर यसरी भ्रम पालेर ज्योतिषीकोमा जानेहरु आफै मानसिक रुपमा कमजोर भएको देखिएको छ।
अहिले जिल्लाजिल्लामा पनि ज्योतिष परिषद र संगठनहरुका साइनबोर्ड देख्न सकिन्छ। सामान्य पात्रो हेर्न जान्नेहरु पनि ज्योतिष परिषदका पदाधिकारीहरु बनेको मैले थाहा पाएकै कुरा हो। “चन्द्रमा, वृहस्पति, राहु, केतु आदि यो स्थानमा छन्! विरामी पर्ने सम्भावना छ, यो ग्रहदशा कटाउनका लागि यो यो विधिको पूरा गर्नुस्” भन्ने र आफू नजिकका कर्मकाण्डी खटाउने ज्योतिषीहरुको धन्दा पनि गजबकै छ। ज्योतिषीले पचास प्रतिशत मिलाउने र पचास प्रतिशत नमिलाउने हो भनेर भनिन्छ। नमिलाएका कुरालाई ध्यान नदिई मिलाएका कुरालाई मात्र ध्यान दिनाले ज्योतिषीहरु मोटाउदै आएका छन् र सन्तुष्टिका भजन गाएका छन्।
अहिले ज्योतिषीहरुलाई छिटो छिटो कमाउने माध्यम बनेको छ ज्योतिष सफ्टवेयर। ती सफ्टवेयर मार्फत् मोबाइलमा समेत भूत, भविषय र वर्तमान हेर्न सकिन्छ। खगोलशास्त्र बारे जानकारी नभएकाहरु पनि ज्योतिषी बनेर गेरु बस्त्र धारण गरेर, टुप्पी पालेर बस्दैआएका छन् धन कमाउनका खातिर। काठमाडौँको टुँडीखेल वरपर र अन्य ठाउँहरुमा बाटोको छेउछाउँमा दाह्री पालेका र खाइलाग्दा देखिने भारतीय ज्योतिषीहरु पनि बसेका हुन्छन्। “बालिके ! इधर आओ, तुम्हारा भविष बताएँगे” भन्दै सोझा बटुवाहरुलाई आफूतिर तान्ने र पैसाका लागि झटारो हान्ने गरेको पाइन्छ। आफू त सुने पनि नसुने झैँ गरेर हिडिन्छ यस्ता ठगहरुको बोली नसुनेर। श्रीमानहरुलाई भन्दा पनि श्रीमतीलाई बढी चासो हुनेगरेको पाइन्छ ज्योतिष विद्यामा। श्रीमान् लाग्छन् श्रममा श्रीमतीहरु लाग्छन् भ्रममा।
खास योग्य र अध्ययनशील ज्योतिषी भेटाउन मुस्किल छ यहाँ। भारतमा एक अयोग्य ज्योतिषीले लेखेको अंकज्योतिष पुस्तकमा गल्ती औल्याइएको थियो। तर ती ज्योतिषी मरेपछि उनलाई भगवान तुल्याउन उनका छोराहरु मरिमेटेका छन् नेपालमा समेत। उनीहरुको धन्दा नेपालमा निर्वाध रुपमा चलिरहेको यस लेखकसँग केही प्रमाणहरु छन्। एक कच्चा ज्योतिषी मरेपछि काल्पनिक नाम दिएर भगवान वा ऋषि मान्ने अन्धभक्तहरु फसेका छन्। उनका जन्तरमन्तर चर्को मूल्यमा सोझा सिधाहरुलाई भिडाउने गरिएको छ।
उक्त गिरोहको फन्दामा हाकिमहरु, इन्जिनियरहरु, डाक्टरहरु समेत फसेको पाइएको छ। ती फटाहाहरुको बाउ अर्थात् मरेका ज्योतिषीको काल्पनिक ऋषिको फोटो बनाएर “गुरुदेवको चरण सारा देवीदेवताको वासस्थान हो” भनेर भ्रम फैलाएर देवी देवताहरुको अपमान गरिएको छ। ती काल्पनिक ऋषिको आश्रमका एजेन्ट भन्छन्- “हाम्रो आश्रमको अगाडि स्वर्गलोक अत्यन्त तुच्छ छ।“ एक अर्थमा भन्नुपर्दा यो आश्रम हिन्दु धर्मको खिलाफमा छ। यी ठगहरुसँग पुलिसका हाकिम समेत डराउँछन्। ती कच्चा ज्योतिष तीनदशकको उमेरमा नरकमा गएका थिए भने उनका छोराहरुले शिष्यहरुलाई “हजारौँ वर्ष बाँच्नपाउने हाम्रो आश्रममा लैजान्छौँ” भन्दै विभिन्न वहानामा तन-मन-धन लुट्ने गरेको यो पंक्तिकारसँग प्रमाणहरु छन्।
भारतका केही सन्त वा बाबाहरुले विद्यालय, क्याम्पस र अस्पताल सञ्चालन गर्ने र अर्कोतिर यीनै कार्यका आडमा चेलाचेलीहरुबाट करोडौँ-अरबौँ कुम्ल्याउने गरेको पाइन्छ। एकातिर समाज सेवा गरे जस्तो गर्ने र अर्कोतिर लुट्नुसम्म लुट्नेगरेको देखिन्छ। यी अरबपति र खरबपति जोगीहरुसँग देखाउने दाँत र चपाउने दाँत अलग अलग हुन्छन्। यीनको भ्रमजालमा सोझा सिधा मान्छेहरु फस्नेगर्छन् र उनकै नाम जप्दै बस्ने गर्छन् अन्धभक्तहरु।
यस्तै पाखण्डीहरुका पछाडि लाग्ने अन्धभक्तहरु पशुपति मन्दिर, गणेश मन्दिर, नारायण मन्दिरमा जान मन गर्दैनन्। केवल हाम्रा बाबा, हाम्रा गुरुदेव भन्दै त्यस्ताको धाम र आश्रमतिर जान्छन् र सडेको प्रसाद खान्छन्। रातारात कालो धन छाप्ने र धनमाथि धन थाप्नेहरुका लागि ज्योतिषीको के काम? ज्योतिषी त केवल गरिबहरुलाई धनी बनाइदिन खोज्ने मान्छे मात्र हुन्। धनीले धनभन्दा अरु केही पनि चाहँदैन। धन कमाउने चक्करमा र विभिन्न ठक्करमा उसले अरु विषयवस्तु भुलिसकेको हुन्छ। तर गरिबलाई जीवन गुजारा गर्नका लागि रोजगारी कता पाइएला? कहिले पाइएला ? विहे कहिले होला ? आयु कति होला ? भनेर ज्योतिषीलाई सोध्ने र ज्योतिषीले पनि सिलसिलेवार रुपमा मीठो वचनका साथ केही आशा दिलाएपछि गरिबलाई अझ धेरै शुल्क दिउँदिउँ जस्तो लाग्छ।
घरघरमा आएर विभिन्न चटक देखाउने योगीहरुले पनि भूत, भविष्य र वर्तमान बताउदै गृहिणीहरुलाई अलमल्याउदै गर्दा उता भान्सा खानेकुरा डढेर भसक्क भएको हुन्छ भने यता जोगी बाबा मसक्क हुन्छन्। कर्म गर्न छाडेर यस्ता नक्कली जोगीहरुको धर्मका पछाडि लाग्नेहरुमा लोग्नेमान्छेभन्दा स्वास्नीमान्छेहरु बढी छन् यो लेखकको अध्ययन अनुसार। जोगी पनि कोही कान चिरेका त कोही झोला भिरेका कोही कुकुरको डर नमानी कम्पाउण्डभित्र छिरेका देखिन्छन्। कोही धनीहरुले गरिबलाई सल्लाह दिदै भन्छन्, ज्योतिषीलाई हेराउनुस् भनेर सल्लाह पनि दिन्छन्। गरिबबाट ज्योतिषीकोमा गएको शुल्क धनीले कमिशनको रुपमा पाउनसक्छन्। यहाँ यस्तै छ गरिब झन गरिब हुने र धनी झन धनी हुने। हरि ॐ तत्सत !
०००
खुंग्री, रोल्पा।











































अध्ययनको कमी र कमाउने हुटहुटी बोकेका लुटेराले गर्दा ज्ञानी ज्योतिषहरूलाई हेर्ने दृष्टिकोण फेरिएको छ ।