साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दार्जिलिङमा नेपाली हास्यव्यङ्ग्य (१)

थापाले यसलाई भारतीय नेपाली साहित्यको पहिलो गद्य हास्यव्यङ्ग्य भनी चिन्हित गरेका छन् । झरिलो हास्यको पुटले भरिएको यो गद्य भारतेली नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा मात्र नभई भारतेली नेपाली गद्यको प्रथम कृतिका रूपमा चिन्हित भएको छ ।

Nepal Telecom ad

सुकराज दियाली :

विषयप्रवेश
नेपाली जातिहरू रउसे प्रकृतिका हुन्छन् । हाँसोरेला, ठट्टा, छेडपेचजस्ता प्रवृत्ति उनीहरूको संस्कृतिमै मिसिएका छन् । कतै पातलो त कतै बाक्लो गरी मेलापात, बिहे, व्रतबन्ध र चाडबाडका बेला कमान बस्तीका मेलामा हुने भेटघाटहरू यहाँको रमाइलोका अवसर हुन् । यस्तो भेटघाटमा कहिलेकहीं खुसी प्रकट गर्ने क्रममा हाँसोठट्टा भैहाल्छ । आचारविचार, लोकगीत, सिलोक र उखानटुक्का आदिमा फुत्कने हाँसो र बजारिने बोलीलाई व्यङ्ग्यका रूपमा इङ्गित गर्न सकिन्छ (थापा, सन् २०१० : १) । ठट्टाका क्रममा कसैलाई खसालेर केही भन्नुपर्दा पनि हास्यव्यङ्ग्य प्रकट हुन्छ ।

हास्यव्यङ्ग्य साहित्यको एउटा सिङ्गो शैली हो । यसभित्र हास्य र व्यङ्ग्यले भरिएका कविता, कथा, निबन्ध, नाटक, एकाङ्की र संस्मरणजस्ता साहित्यिक विधा-उपविधा समेटिन्छन् । हास्यव्यङ्ग्यबाट मानवीय मनोभावको प्रभावशाली सम्प्रेषण हुन्छ । यस अध्ययनमा भारतको पूर्वोत्तर भेगमा पर्ने पश्चिम बङ्गाल प्रान्तको दार्जिलिङ र सो वरिपरि लिपिबद्ध नेपाली साहित्यिक कृतिहरूमा हास्यव्यङ्ग्यको केकस्तो उपस्थिति छ भनेर सरसरी सर्वेक्षण गरिएको छ । यहाँ दार्जिलिङ भन्नाले दार्जिलिङ जिल्लाअन्तर्गतका दार्जिलिङको मुख्य सहरी क्षेत्र, खर्साङ, सिलगुडी, र मिरिकका साथै जलपाइगुडी, मालबजार एवम् कालिम्पोडसमेतलाई बुझ्नुपर्छ । यस आलेखमा वि.सं.लाई सिधै लेखिएको छ भने सन् लाई सन् उल्लेख गरिएको छ ।

दार्जिलिङमा हास्यव्यङ्ग्यको इतिहास
हास्यव्यङ्ग्यपरक भारतीय नेपाली साहित्यको लेखाजोखा गर्दा वि.सं. १८०१ देखि १९३९ सम्मको १४० वर्षको अवधिलाई नेपाली हास्यव्यङ्ग्यको प्रारम्भिक काल मानिन्छ (थापा, सन् २०१० : २) । स्गौरली सन्धिपछिको समयमा नेपाली समाजमा छाएको असन्तोष, मानसिकरूपमा परस्परको भीडन्तबाट एकप्रकारको थाकिरहेको जनमानसमा रहेको मनपीडा तथा तनावलाई नेपाली साहित्यका सर्जकहरूले हास्यव्यङ्ग्यात्मक प्रतीक बिम्बद्वारा आफ्ना सिर्जनामा प्रकाश पारेको पाइन्छ । यस समयका कविहरूले हास्यव्यङ्ग्यात्मक कविताहरू सिर्जना गरेको पाइन्छ । हास्यव्यङ्ग्यका विशिष्ट समीक्षक राजेन्द्र सुवेदी र हीरामणि शर्माले नेपाली साहित्यका प्रारम्भिककालीन हास्यव्यङ्ग्य कविका रूपमा भानुभक्तलाई ‘रसिक कवि’ भनी संज्ञा दिएका छन् । तिनका समकालीन कविहरूमा हास्यव्यङ्ग्य चेत देखिँदैन भनी उनीहरूको पुस्तक ‘नेपाली हास्यव्यङ्ग्य निबन्ध’ मा उल्लेख भएको छ ।

कृष्णचन्द्रसिंह प्रधानले मधुपर्क (हास्यव्यङ्ग्य अङ्क, भदौ, २०५४) मा प्रकाशित ‘नेपाली साहित्यमा हास्यव्यङ्ग्य : प्राप्ति र पर्यवेक्षण’ शीर्षक लेख (पृ. ७) मा उल्लेख गरेअनुसार दार्जिलिडको हास्यव्यङ्ग्य साहित्यमा ज्ञानदिलदास (१८७८-१९४०) को पनि उत्तिकै योगदान छ । एन.पी. थापाको पुस्तक ‘दार्जिलिङमा नेपाली हास्यव्यङ्ग्यको विकास परम्परा’ मा उल्लेख भएअनुसार महाराज जङ्गबहादुरको जेलखानामा छ महिना बसेपछि ज्ञानदिलदासले दार्जिलिङ र सिक्किमको भ्रमण गरेर धर्मप्रचार गरेका थिए । उनले दार्जिलिङमा पादरी ए टर्नबुललाई धर्मसम्बन्धी तर्कमा पराजित गरेका थिए। ब्राह्मणवादका कट्टर विरोधी ज्ञानदिलदासले सिंगला बजारमा एक गैरब्राह्मणको गोडा धोएर जलपान गरेका कारण ब्राह्मणहरूले जातिच्यत गर्ने धम्की दिँदा उनी हातमा राँको बोकेर दिउँसै बजारमा जात खोज्दै घुमेका थिए भनिन्छ । त्यसलाई व्यङ्ग्यको उत्कृष्ट दृष्टान्तका रूपमा लिन सकिन्छ ।

त्यतिवेला ज्ञानदिलदासले जनसाधारणले छर्लङ्गै बुझ्नसक्ने छन्दयुक्त लोकलयमा कविताहरू रचना गरेको पाइन्छ । उनका कवितामा सुधारवादको पक्षमा अज्ञानता, रूढिवादी विचारधाराका कट्टरवादीप्रति व्यङ्ग्य गर्दै धनीहरूले गरिबमाथि गरेको थिचोमिचोलाई कवितामा उतारेको पाइन्छ-
धनीको धन छ गति न पति
धेरै तुत्याऊँ भन्छ जत्ति तति ।
काम गर किसान धेरै धन्धा गर्छ
लाउन खान नपाई अकालैमा मर्छ
भेंडी बाख्री खसी बोका काटि थाप्छन् रक्ति
यस्तै प्राणीकन भन्छन् यमराजको भक्ति ।

ज्ञानदिलदास भक्तिकालका दार्जिलिङका सशक्त हास्यव्यङ्ग्य कवि थिए । त्यसभन्दा अघि दार्जिलिङसहित भारतका अन्य स्थानबाट हास्यव्यङ्ग्यमा कलम चलाउने साहित्यकारहरूको अझै पत्तो लागेको छैन (थापा, सन् २०१०: ७) ।

असीत राई (सन् १९४३-मार्च ३०, २०१९) ले भारतीय नेपाली साहित्यको इतिहासमा उल्लिखित मुन्सीका तीन आहानहरू (सन् १८१९) भित्रको दोस्रो आहान लघुकथामा प्रशस्तै हास्यठट्टाको उदाहरणसहित पुष्टि गरेका छन् । मुन्सी नाउँका एकजना व्यक्तिले सन् १८१९ मा लेखेका तीन आहानहरूलाई कलकत्ताको फोर्ट विलियम कलेजका अरबी र फारसीका सहायक प्राध्यापक लप्टन जेम्स एलेक्जेण्डर (जे.ए.) एटनले सन् १८२० मा ‘ए ग्रामर अफ द नेपालीज ल्याङ्गवेज’ पुस्तकभित्र गाभेर कलकत्ताबाट प्रकाशित गरेको पाइन्छ । थापाले यसलाई भारतीय नेपाली साहित्यको पहिलो गद्य हास्यव्यङ्ग्य भनी चिन्हित गरेका छन् । झरिलो हास्यको पुटले भरिएको यो गद्य भारतेली नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा मात्र नभई भारतेली नेपाली गद्यको प्रथम कृतिका रूपमा चिन्हित भएको छ । (थापा, सन् २०१० : ८) ।

यसरी भक्तिकालबाट शृ‌ङ्गारकाल हुँदै हुर्केको भारतीय नेपाली साहित्यको हास्यव्यङ्ग्य विधा बिस्तारै झ्याङ्गिएर लहरी र सवाईकालमा जान्छ । दार्जीलिङ्गे साहित्यमा लहरी र सवाईकाललाई कविता साहित्यको उज्यालो र झरिलो काल पनि मानिएको छ । केही लहरी र सवाईहरूमा हास्यव्यङ्ग्यका फिंज र फोकाहरू पाइन्छन् । लहरी र सवाई साहित्यमा हास्यव्यङ्ग्यको सृजना गर्ने प्रतिभाहरू दलबहादुर सारू मगर (आनन्द लहरी, १९७३), हाजीरमान राई (मिठा मिठा नेपाली गीत, १९५७), प्रसादसिंह नेचाली राई (प्रीतिलहरी, १९१७), नरबीर तामाड (आनन्दलहरी छैटौं भाग, १९१७), चन्द्रध्वज राई (प्रेमतरङ्ग (१९०८), डी बी राई (आनन्द लहरी आठौँ भाग, १९१३), दलबहादुर राई चामलिङ (आनन्द लहरी चौथाे भाग, १९१३) आदि रहेका छन्। जसले आधुनिककालको सङ्क्रमणकालीन समयमा नेपालबाहिर नेपाली हास्यव्यङ्ग्यको पृष्ठभूमि तयार गरेका थिए (थापा, सन् २०१०: १३)।

त्यसयता नेपालभित्र र बाहिर लहरी र सवाईले हास्यव्यङ्ग्य मिश्रित सङ्क्रमणकालीन मूल्यलाई उ‌द्घाटित गर्न सक्षम बनेको देखिन्छ । लहरी र सवाईका रचनाकारहरूले हास्यव्यङ्ग्यलाई उत्कर्ष प्रदान गर्न प्रेम, वियोग, व्यथा आदिको प्रसङ्ग प्रदर्शन गरेर दरिलो स्थान ओगट्न पुगेका छन्। यसरी तिनताक पत्रपत्रिकामा फाटफुट न प्रकाशित हास्यव्यङ्ग्य रचनाले भारतीय हास्यव्यङ्ग्य साहित्यलाई अघि बढ़ाएको पाइन्छ । हीरा छेत्रीको ‘भारतेली नेपाली पत्रपत्रिकाको शताब्दी’ (सन् १८८७-१९८६) नामक पुस्तकको पृ. २९ मा लेखिएको छ, बाबु रामकृष्ण वर्माद्वारा नागरी प्रचारिणी सभाको पक्षमा त्यसताक हिन्दीमा प्रकाशित भइरहेको ‘गोरखा भारत जीवन’ को एक अङ्गमा प्रकाशित विज्ञापन अनि गोर्खा हास्य मञ्जरीको अघिल्लो जिल्दमा प्रकाशित ‘गोरखा – भारत जीवन’ को सम्पादक पनि रामकृष्ण वर्मा भन्ने उल्लेख गरिएको मोती स्मृति ग्रन्थका भरमा नै उक्त पत्रिकालाई आजसम्म प्रकाशित प्रथम नेपाली पत्रिका भन्ने रीत बसिसकेको छ ।

दार्जिलिङमा हास्यव्यङ्ग्य लेखनको विकासक्रम
पादरी गङ्गाप्रसाद प्रधान (४ जुलाई, १८५१-२८ – मार्च, १९३२) ले दार्जिलिङ कमानमा काम गर्दागर्दै सन् १९०० मा दार्जिलिङमा गोर्खा प्रेस स्थापना गरी त्यही प्रेसबाट सन् १९०१ देखि गोर्खे खबर कागत् प्रकाशन गर्न थाले । यसमा हास्यव्यङ्ग्य रचनाका लागि छुट्टै स्तम्भ वा स्थान नछुट्याइएको भए पनि प्रकाशित रचनाहरूले हास्यव्यङ्ग्यको प्रतिनिधित्व गरेको देखिन्छ । यसका लागि घुमनिवासी एम बी छेत्रीको श्लोकका आलोचनामा गरिएको टिप्पणीका साथै १ अक्टोबर १९१६ को गोर्खे खबर कागतको अङ्कमा व्यङ्ग्यात्मक पारसमणि प्रधानको कवितालाई हेरौं-
गयो पाठशाला तहीं छैन भाषा
भयो लौ दुराशा, भये धेर निराशा ।
यता छन् न्यपाली उता छन् न्यपाली
अहा, वीर गोर्खा कतै छैन खाली ।
जस्ता कविताहरू प्रकाशित भएको पाइन्छ । त्यसरी नै रेशमी चुनी, हाँसको नराम्रो चल्लाको कथाहा, एक बटौरे साथी, बाँसको कथाहा र अलिवेओसोरको ऋणजस्ता छोटा कथामा प्रत्यक्ष-अप्रत्यक्षरूपमा व्यङ्ग्यवाण र गुप्त हास्यव्यङ्ग्यहरू पाइन्छ । त्यसरी नै दार्जिलिङ भेकबाट नरबहादुर दाहालको सम्पादकत्वमा कौवा प्रकाशनले प्रकाशित गरेको सेलको माला (२०३१ कार्तिक) मा कम्तीमा र ६५ वटा हास्यव्यङ्ग्य रचनाहरू सङ्कलित छन्, जसले दार्जिलिङ भेकतिर पनि हास्यव्यङ्ग्यको अकाल नपरेको तथ्यलाई स्पष्ट पारेको छ (थापा, सन् २००० : ७) ।

भारतीय नेपाली हास्यव्यङ्ग्य साहित्यका सन्दर्भमा कुरा गर्नुपर्दा खरसाङबाट पारसमणि प्रधान (१ जनवरी, सन् १८९८-२ फरवरी, १९८६) को सम्पादनमा प्रकाशित मणिनारायण प्रधानको कविता बैरिष्टर स्तोत्र पञ्चदशी (अनुवाद) लाई दार्जिलिङको पहिलो हास्यव्यङ्ग्य कविता भनेर साहित्यविद्हरूले मानेका छन् । पारसमणि प्रधानको १ सम्पादनमा प्रकाशित चन्द्रिका पत्रिका (वि.स. १९७४) क को कला- १, वर्ष १) मा खरसाङका मणिनारायण प्रधानले अनुवाद नै भए तापनि पहिलो व्यङ्ग्य कविता (वैरिष्टर ह स्तोत्र पञ्चदशी। का रूपमा दार्जिलिङको नेपाली नि हास्यव्यङ्ग्य संसारलाई प्रदान गरेका थिए । मणिनारायण ह प्रधानको यो व्यङ्ग्य कविता दार्जिलिङको पहिलो व्यङ्ग्य कविताका रूपमा चिन्हित भएको छ (थापा, सन् २०१०:१८) । प्राचीनताका दृष्टिकोणबाट शारदा सन् १९३४ र गोर्खा ससार (सन् १९२७) भन्दा पहिला व्यङ्ग्य कविताको नमुना प्रकाशित भएको हुनाले चन्द्रिका वर्ष १, कला १, सन् १९१८ को महत्त्व बढेर गएको पाइन्छ ।

दार्जिलिङबाट प्रकाशित आदर्श (सन् १९३०), नेपाली साहित्य सम्मेलन पत्रिका (सन् १९२४, पछि दियालोका रूपमा प्रकाशित), नेबुला (सन् १९३६), परिवर्तन (सन् १९३५), खोजी (सन् १९४०) र गोर्खा (सन् १९४८) जस्ता पत्रपत्रिकाहरूमा प्रकाशित हास्यव्यङ्ग्य रचनाहरूका आधारमा दार्जिलिङको हास्यव्यङ्ग्य साहित्यको साङ्गोपाङ्गो इतिहासलाई केलाउन सकिन्छ । यसै सन्दर्भमा हाम्रो ध्वनि पत्रिका (सन् १९७१) को वर्ष २५, अक १० मा जीवन नामदुंगले ‘हास्यव्यङ्ग्य साहित्य: दार्जिलिङ’ लेखमा उल्लेख गरेअनुसार नेपालबाहिर शारदा पत्रिकामा सन् प्र १९३४ तिरै प्रकाशित भएका सिल्वाल पण्डितको वेदान्त विवादको मिसिल र प्रेमराज शर्माको पण्डितजीको चिठी जस्ता व्यङ्ग्यप्रधान लेखको समतुल्य दार्जिलिङ भेकबाट सन् १९४० मा खोजी पत्रिकामा प्रकाशित भएको हीराकु‌मार सिंहको व्यङ्ग्यप्रधान कथा ‘नारदजीको भारत भ्रमण’ रहेको पाइन्छ । उनका अनुसार यो कथा दार्जिलिङ भेकतिर प्रकाशित पहिलो व्यङ्ग्य कथा हो ।

हीराकमार सिहले सन् १९४२-४४ तिर चारवटा हास्यव्यङ्ग्य नाटकहरू मोर्डन शकुन्तला, चञ्चन वैरागी, मिस्टर कार्ताेस र मनमौज लेखी दार्जिलिङमा मञ्चन गरेका थिए। त्यस समय खोजीमा प्रकाशित रूपनारायण सिंहको धनमतीको सिनेमा स्वप्न, मिस्टर एच बी बास्नेट, के बी सिंहको अर्घेली कार्की आदि लेखहरूमा प्रभावशाली हास्यव्यङ्ग्य रहेको पाइन्छ । ती हास्यव्यङ्ग्यले पाठकहरूलाई मनोरन्जन मात्रै नदिएर ज्ञान र चेतना पनि पस्किएको पाइन्छ । यसै समयमा, यसै पत्रिकामा प्रकाशित धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीका कविताहरूमा पनि व्यङ्ग्यात्मक चेत पाइन्छ । त्यसरी नै गोर्खा पत्रिका (सन् १९४५, वर्ष १, अङ्क २४) मा प्रकाशित अच्छा राई रसिकको पहिलो कविता ‘शङ्करस्तुति’ हास्यव्यङ्ग्यका दृष्टिले युगान्तकारी देखापर्छ। गोर्खा पत्रिकामा अच्छा राई रसिकका हास्यव्यङ्ग्यात्मक लेख, कविता, कथा र निबन्ध निरन्तररूपमा प्रकाशित भैरहेको पाइन्छ । हास्यव्यङ्ग्यात्मक पद्य र गद्य रचनाहरूको प्रकाशनमा हीराकुमार सिंहपछि दार्जिलिङ भेगमा अच्छा राई रसिक दरिलो र प्रभावशाली हास्यव्यङ्ग्यकारका रूपमा देखापर्छन् । यसै सन्दर्भलाई केलाउँदै एनबी थापा लेख्छन्-

हीराकुमार सिंह बम्बई प्रवासमा रहे पनि उनका व्यङ्ग्यप्रधान कथाहरू मुग्लानको एकापट्टि दियालो, हाँगो १३-१४), बक पुराण (दियालो, हाँगो ८७) र घाँटीभन्दा हाड ठुलो (दियालो, हाँगो, ९४) मा प्रकाशित छन् । यसरी नै रसिकले गद्य र पद्य क्षेत्रमा हीराकुमार सिहकै हास्यव्यङ्ग्यलाई परिमार्जित तुल्याएर अगाडि बढेको पाइन्छ । हुन त हीराकुमार सिंह र रसिकको दार्जिलिङ भेकको हास्यव्यङ्ग्य क्षेत्रमा उदय हुनुभन्दा पहिला चन्द्रिका पत्रिकाको कला (वर्ष १, अङ्क १, सन् १९१८। मा नै मणिनारायण प्रधानको हास्यव्यङ्ग्य कविता बैरिष्टर स्तोत्र पञ्चदशी प्रकाशित भएको पाइन्छ । मणिनारायण प्रधानको उक्त हास्यव्यङ्ग्य कविता प्राचीनताको हिसाबले नेपालबाट प्रकाशित शारदा पत्रिका (सन् १९३४) तथा देहरादूनको गोर्खा संसार पत्रिका (सन् १९२७) भन्दा पनि पहिला नै प्रकाशित हुनुले दार्जिलिङबाट हास्यव्यङ्ग्यकाे क्षेत्रलाई यी कविताले उर्वर तुल्याउन थालेकाे प्रमाण पाइन्छ ।
क्रमश:

०००
समकालीन साहित्य, पूर्णाङ्क ९० (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मास्टरको चिया

मास्टरको चिया

सुरेशकुमार भट्ट
वाइपास

वाइपास

सुरेशकुमार पाण्डे
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x