लाेकेन्द्रबहादुर चन्दराष्ट्रिय सहमति
अप्ठ्यारोमा परेकाहरूलाई सजिलो होस् बाहिर फेर त्यसै हल्लिरहनेहरूको पनि कल्याण होस् भन्ने चाहना राख्नु मानव मात्रको धर्म हो । यसर्थ आउनुहोस् तपाई हामी पनि भनौं- "राष्ट्रिय सहमति जिन्दावाद ।"

लाेकेन्द्रबहादुर चन्द :
सबैको आ-आफ्नो बेलाबखत हुन्छ । प्रत्येक राजनीतिज्ञ अभिनेता अथवा सन्तको पनि आ-आफ्नो बेलाबखत वा जमाना हुन्छ । आफ्नो जमानामा यिनीहरू निकै चर्चित हुन्छन् । जमाना वा समय चुकेपछि बिस्तारै सेलाउन थाल्छन् । यो कुरो मानिसमा मात्रै होइन शब्दहरूमा पनि आफ्नो उत्तिकै लागू हुँदोरहेछ । शब्दहरू पनि आफ्नो बेलाबखत आइपुग्दा खुबै लोकप्रिय हुँदा रहेछन् र जमाना चुकेपछि ती शब्दहरू नै ओइलाइएका देखिन्छन् । केही दशकअघिसम्म खुबै प्रचलित शब्दहरू आज देखापर्दैनन् । उहिले नेपाली बोल्दा ‘चाइने जो हो जोहो के रे’ अथवा ‘केरेबस’ जस्ता वाक्यांशहरूलाई थेगोको रूपमा प्रयोग गर्ने व्यापक प्रचलन थियो ।
मेरा एक जना मित्र ‘गोविन्द जय जय, गोपाल जय जय’ भनी कीर्तन गर्दा “गोविन्द चाइने जो हो गोपाल केरे भन्ने गर्नु हुन्थ्यो ।” हारमोनियमको लय र तबलाको तालमा उहाँको स्वर नमिली भजन कीर्तन नै खलबलिन्थ्यो । बोल्दै जाँदा उहाँको मुखारविन्दुबाट रामको चाइने जो हो भाइ शत्रु के रे जो हो धन भन्ने वाक्यांश पनि निस्किने गरेको मलाई अझ सम्झना छ। साँच्चै भन्ने हो भने त्यतिबेला भलाद्मी कहलिन केही न केही थेगो प्रयोग गर्नैपर्छ भन्ने आम धारणा पनि थियो । यी थेगोहरूमा चाइने जो हो भन्ने थेगो साह्रै लोकप्रिय थियो । शुद्ध र सुसंस्कृत नेपाली बोल्दा चाइने वा चाइने जो हो को प्रयोग नगरी हुँदैन भन्ने समेत धेरैको धारणा दियो ।
एक निश्चित समयपछि यी थेगाहरू हराउदै गए । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि ‘तपाईंको’ भनिने वाक्यांशको निकै लोप भयो । पहिले यो वाक्यांश बेगोको रूपमा प्रयोग यो उपत्यकाभित्र अत्यधिक मात्रामा हुने गर्थ्यो । राणाकालमा धेरै जस्ता ऐरेगैरेहरूसमेतलाई हजुर हजुर भन्नुपर्ने भएकोले मनले तपाई भन्न खोज्दा पनि भन्न नसक्ने स्थितिले गर्दा ‘तपाईंको’ भन्ने वाक्यांश प्रजातन्त्रपछि जोर सोरले प्रचारमा आएको हुनुपर्दछ । यस थेगोका बारेमा अनभिज्ञ भएकाले म एकचोटि निकै फसादमा परेको छु । काठमाडौँको कुनै एक टोलमा मेरा एक जना मित्रको घर खोज्दै जाँदा फलानाको घर कहाँ हो भनी सोधें पसलेले ‘त्यो घर त तपाईंको’ भन्दा म पनि युवक र अधीर थिएँ । रिस उठिहाल्यो। ‘मेरो होइन बाबा साथीको घर पो खोजेको’ भन्दाभन्दै पनि अघिल्तिरको मान्छे त खालि तपाईंको, तपाईको नाम भनिरह्यो । त्यतिबेला मलाई निकै झोक चलेको थियो। तर पसले मभन्दा हृष्ट-पुष्ट भएकाले केही केही पनि नभनी लुसुक्क आफ्नो डेरातिर लागें ।
त्यसैबेलातिरको कुरो हो मेरा साथीकी श्रीमती बिरामी परी अस्पताल भर्ना भएकी थिइन् । उनीलाई भेट्न भनी म अस्पताल गएको थिएँ। साथीकी श्रीमती कुन वार्डमा भर्ना भएकी छिन् भनी जतिपटक सोद्धा पनि पाले चाहिँ तपाईंको वार्ड वा तपाईंकी श्रीमतीमात्र भट्टयाउदै बसेको थियो । त्यसबेलासम्म अस्पतालमा फौजदारी गर्नुहुन्न भने अकिल ममा आइसकेको थियो । अतः मित्रकी श्रीमतीलाई भेट्दै नभेटी लुसुक्क डेरातिर फर्केको कुरो अद्यपि सम्झिन्छु। आज तपाईको भन्ने थेगो प्रचलनमा छैन । मलाई यो ठिकै पनि लागेको छ । किनभने अब हाम्रो बीचमा ‘तपाईंको सट्टा मपाईंको जमाना आइसकेको छ ।
बितेको बीसौं शताब्दीतिर समाजवाद भन्ने शब्द सबैको मुखमा निकै झुन्निएको हुन्थ्यो । जे गर्दा पनि त्यतिबेला समाजवादकै दोहाई दिइन्थ्यो । अब यो शब्द प्रचलनबाट हट्दै गएको छ । अलिकता ह्याङ ओभर भने बाँकी छ । यही कारणले होला केही पार्टीका नेताहरू खुला र उदार अर्थतन्त्रको प्रशंसा गर्दै आफ्नो पार्टीले पनि उदार अर्थनीति लिएको घोषणा गर्छन् । अनि त्यही भाषणको अन्त्यमा गएर ‘हामी समाजवादी हौं’ पनि भन्ने पनि गर्दछन् । एकदिन मैले उदार अर्थनीति र समाजवाद पनि मिसाउन त मिलेन नि। यी त फरक फरक कुरा पो हुन् । रात र दिनलाई मिसाउन सकिन्छ ? भनेर विनम्रतापूर्वक निवेदन गर्दा आँखा तरेर ‘बडो मिलेन रे। के मिलेको छ हँ यो संसारमा ? तिम्रै जीउमा पनि नमिलेका कुराहरू कति छन् कति ।
उदार अर्थतन्त्र र समाजवाद आपसमा नमिल्ने भए पनि के बित्छ । हामीले नभनी कतै जान पाउने होइनन् । नमिलेर भए पनि बसिरहन्छन् यसै मुलुकमा । समाजवाद नभने कार्यकर्ताहरूको समर्थन र जनताको भोट पाइँदैन । उदार अर्थतन्त्र नभनेर विदेशबाट नोट पाइदैन । यो कुरा बुझ्दाझ्दै पनि बुझ पचाई धर्ती र आकाशको तर्क झिक्ने तिमी त मेरो पार्टीको विरोधी जस्तो लाग्छ । हाम्रो पार्टीलाई सखाप पार्ने षड्यन्त्रमा लागेका तिमी पक्कै पनि वितण्डावादी हौ ।’
खास पार्टीमा खास नेताको रौद्ररूप देखेर म डराएँ। मैले डराउनुपर्ने कतिपय पोख्ता आधारहरू थिए। पिछलग्गु नेताहरूका समेत चम्चाहरू हुन्छन् भने खास पार्टीका खास नेताका त खासै चम्चाहरू हुन अवश्यम्भावी थियो । उहाँ केही हृष्ट-पुष्ट र जुडो कराँते सिकेका चम्चाहरूलाई मेरो पछाडि लगाइदिन सक्नुहुन्थ्यो । उहाँका दुईचार खासै आफ्नो अखबारहरू पनि पक्कै होलान् र तिनको माध्यमबाट मेरो बारेमा भए, नभएका कल्पना पनि गर्न नसकिने तुच्छ कुराहरू प्रचार प्रसार गराइदिनुसक्नु हुन्थ्यो । मलाई वितण्डावादी त भनिसक्नुभएकै थियो । आजभोलि दिनहुँजसो बनिराखेका ऐन-नियमको कुनै एक जालोमा मलाई अल्झाइदिन सक्नुहुन्थ्यो । अनि आफ्नो जालमा अल्झिएको कीरालाई माकुरोले अठ्याए झै मलाई अल्झाइराख्न सक्नुहुन्थ्यो । अतः यहाँ पनि लुसुक्क डेरातिर हिँड्न उचित ठानें। डेरामा पुगेर पनि कसैसित बोल्न नपरोस् भनी सिरकले मुख ढाकी गुटमुटी पल्टिरहें।
अन्य थेगाहरू क्रमशः लोप हुँदै गएका भए पनि हिजोआज तीनवटा वाक्यांश वा शब्दहरूको व्यापक प्रचलन छ । ती हुन् राष्ट्रिय सहमति, पारदर्शिता र अन्तरक्रिया । राष्ट्रिय सहमति सान्है ठूलो कुरो जनाउने वाक्यांश हो। पारदर्शिता पनि कम महत्त्वपूर्ण शब्द होइन । अतः यिनको चर्चालाई केही बेर थाँती राखेर अहिले अन्तरक्रिया शब्दको चर्चा गरौं जो साहै प्रचलित र लोकप्रिय भएको छ । अहिले परिवार नियोजनदेखि मेलम्ची खानेपानी योजनासम्म, जलविद्युत् योजनाहरूदेखि विभिन्न रोगहरू निवारण गर्ने कार्यक्रमहरूसम्म, माओवादी समस्यादेखि सर्वदलीय सहमति जस्ता राजनीतिक, सामाजिक, आर्थिक साहित्यिक र कलात्मक विषयहरूसम्ममा अन्तरक्रिया गर्न भनी दिनहुँजसो गोष्ठीहरू भइरहेका छन् ।
यो अन्तरक्रिया शब्दको अर्थबारे म केही भन्न चाहन्नँ। म जस्तो साधारण मान्छेले केही भन्ने आँट पनि गर्नु मिल्दैन । यस सम्बन्धमा यस्तै एक गोष्ठीमा पर्दापण गरी एक जना ठूला सन्त नेताले व्यक्त गर्नुभएको वाणी मात्रा यहाँ उधृत गर्न चाहन्छु । एउटा अन्तरक्रिया गोष्ठीमा उहाँले ‘क्या हो यो अन्तरक्रिया भनेको यसको अङ्ग्रेजीमा अनुवाद-इन्टरकोर्स हुन्छ’ भन्नुभएको थियो । उहाँ जस्तो संस्कृतको साथै अङ्ग्रेजी भाषाको विद्वान्ले गर्नुभएको अन्तरक्रिया शब्दको अङ्ग्रेजी उल्थालाई शङ्का गरिरहन मिल्दैन। यो बारे यो भन्दा बढी भन्न असमर्थ छु । बरु कुरो अस्पष्ट र बीचैमा छोडेको मा सम्पादक महोदय र उहाँमार्फत पाठकहरूसित क्षमा माग्न तयार छु।
अर्को महत्त्वपूर्ण कुरा पारदर्शिताबारे छलफल गरौ । यसबारे एक जना मित्रको भनाइ उद्धृत गर्न चाहन्छु । भनाइ उद्धृत गर्नु पूर्व उहाँको परिचय दिनु जरुरी छ । उहाँ नेपालको सार्वभौम जनतामध्येकै एक जना हुनुहुन्छ । उहाँले कहिल्यै पनि चुनाव जित्नुभएको छैन । उहाँ जनताको माझमा जानुभन्दा महंगो रेस्टुराँहरू वा नृत्यस्थलमा जान मन पराउनुहुन्छ, तर पनि जनताको प्रवक्ता आफूमात्र भएको दावी छ उहाँको । प्रजातन्त्रमा यस्तो दावी गर्न पाइन्छ । यस्तो दावीले कसैको पद वा सम्पत्तिलाई बाधा दिन नथालेसम्म कसैले यसको विरोध पनि गर्दैन। उहाँको भनाइ छ कुनै एक व्यक्ति पारदर्शी हुनुको अर्थ उसको अङ्ग-प्रत्यङ्ग र मन-मस्तिष्क, भित्र-बाहिरका सबै कुराहरू देखापर्नुका साथै उसको अस्तित्वभन्दा पनि पछिल्तिरका कुरा समेत देखापर्नु हो । उनको भनाइअनुसार नेपाली जनताले आफ्ना नेताहरूका जम्मै क्रियाकलाप र उनका काया पछिल्तिरको मुलुकको भविष्य पनि देखिसकेका छन् ।
नेताहरूको मन-मस्तिष्कमा सत्ता छ । जसरी पनि सत्तामा पुग्ने, सके जति बटुल्ने अनि हैकम चलाउने आकाङ्क्षा छ भन्ने कुरो जनसाधारणले बुझिसकेको छ । उनीहरूको आज एउटा कुरो भन्ने भोलि त्यसकै ठीक विपरीत भाषण दिने आज पूर्वतिर जाने भोलि ठीक पश्चिम क्षितिजमा निस्किने बानी पनि जनताले प्रस्टै देखिसकेका छन् । उनीहरूले विश्वासघात गरेका, स्वकेन्द्रित रहने गरेको तथा लोभलालचले ग्रस्त मनस्थिति बोकेको कुरो जनताको आँखाबाट लुकेको छैन । उनी भन्छन् पारदर्शिताको दुहाई दिनेहरूलाई जनताले नाङ्गै, एकदमै नाङ्गै अवस्थामा देखिसकेका छन् । साथै उहाँहरूको पछिल्तिर उभिएको मुलुकको डामाडोल भविष्य पनि देखा पर्न थालिसकेको छ ।
म ती मित्रको कठोर लाञ्छनाको प्रतिवाद गर्न खोज्दछु । तर दुई करोड जनताको स्वघोषित प्रवक्ताको अघिल्तिर मेरो केही लाग्दैन । अनि म एकपल्ट फेरि लुसुक्क घरतिर लाग्दछु । अर्को दिन मैले छल्न खोज्दाखोज्दै बीच सडकमा उनी भेटिन्छन् र मलाई रोकेर भन्दछन् । शताब्दीमा पूरा हुने काम केही वर्षमा नै हाम्रो मुलुकमा पूरा गरिसकेको छ । अतः अब पारदर्शिताको शब्दको उच्चारण नै बन्द गरिनुपर्दछ । एउटा थप नियम बनाई पारदर्शिता शब्दको उच्चारण गर्नेलाई समाजको नैतिक मापदण्डमा खलल पारेको अभियोगमा जेलकै सजाय दिनुपर्दछ । जन-प्रवक्ताको हैसियतले उहाँको यो माग हो र सत्तासीनहरूले यो कुरा नमानी सुख पाउँदैनन् भन्दा उहाँको अनुहारमा आत्मविश्वास झल्किरहेको थियो । उहाँले तर्क पनि तेस्याउनु भो कि सत्तासीनहरूले जुनबेला मनलाग्यो त्यहीबेला र जे मन लाग्यो त्यही कानून बनाउने गरेकै छन् । संसद्को अधिवेशन सुरु हुनुभन्दा केही अगाडिसम्म पनि कानून बनाएकै छन् भने पारदर्शितालाई अपराध घोषित गर्ने कानून बनाउन के गाह्रो पन्यो ? ‘के गाह्रो छैन खुरुखुरु आजै बनाए पनि भैहाल्छ ।’ उहाँले आफैं जवाफ दिनुभो ।
आजभोलि धेरै प्रचलित र धेरै महत्त्वपूर्ण अर्को वाक्यांश हो राष्ट्रिय सहमति । आज राजनीतिक शब्दावलीमा यो भन्दा बढी प्रचलित अर्को वाक्यांश छैन । यो आज राजनीतिज्ञहरूमा मात्र सीमित नभएर जनसाधारणसम्म पनि पुगिसकेको छ । कुनै पसलमा बसेको यवाहरूले एक डब्बा विदेशी ह्विस्की पिउने कि स्वदेशी पिउने भन्ने कुरामा छलफल हुँदासमेत आ-आफ्ना गोजी छामछुम गरिसकेपछि स्वदेशी ह्विस्की नै पिउने निधो गरी त्यस डफ्फाका नाइकेले ‘स्वदेशी लिएर आऊ, हाम्रो राष्ट्रिय सहमति त्यही भएको छ ।’ भनेको कुरो यदाकदा मेरो कानमा परिरहेको छ ।
आज ज्यामीहरूमा समेत थकाइ मारिराखेको बेला कसले पैसा राखी आज सबैलाई चुरोट पिउन दिने भन्ने कुरोमा छलफल हुँदा एउटा राष्ट्रिय सहमतिमा पुगिन्छ अनि त्यो सहमति त्यो दिन दशा बिग्रेका कुनै एक जना ज्यामीको टाउकोमा बजार्ने गरिन्छ । तर राजनीतिक क्षेत्रमा उठिरहने राष्ट्रिय सहमतिको कुरो भने माथिल्ला उदाहरणहरूभन्दा धेरै फरक छ । अर्थात् राजनीतिक क्षेत्रमा उठ्ने राष्ट्रिय सहमतिको अर्थ बेग्लाबेग्लै हुन्छ । सत्तापक्षका लागि राष्ट्रिय सहमति भनेको सो पक्षले अकण्टक रूपमा सत्ता सञ्चालन गर्न पाउनु हो । विपक्षका लागि यसको अर्थ सत्तापक्षकाले वा सत्तापक्षका नेताले पदबाट हट्नु र विपक्षले आफू ढलीमली गर्नसक्ने अवस्थाको सिर्जना हुनु हो । पक्ष वा विपक्षमा रहेका सानातिना समूहहरूका लागि भने यसको अर्थ त्यसै बसिरहनुभन्दा थरीथरीका खेल हुनु र आफ्नो तालुमा पनि आलु फल्ने सम्भावना भइरहनु हो । राजनीतिक क्षेत्रमा सबैले सबैको कुरो बुझेकै हुन्छ । यसर्थ राष्ट्रिय सहमतिको कुरो जोरसोरले उठेको वर्षों भइसक्यो तर यसतर्फ न कसैले पहल गर्छ न कोही छलफल वा अन्तरक्रिया गर्न नै तम्सिन्छ ।
हामी सबैका दृष्टिमा राष्ट्रिय सहमति भनेको आफूले चिताएजस्तो कुरो हुनु मात्र भए तापनि म यस वाक्यांशको अझै पनि धेरैभन्दा धेरै प्रयोग होस् भन्ने चाहना राख्तछु । यो नै त्यो मन्त्र हो जसले अप्ठ्यारोमा परेकालाई सजिलो बनाइदिन सक्छ र घेरा बाहिर परेकाहरूलाई पनि सत्ताको छेउछाउमा पुऱ्याइदिन सक्छ । अप्ठ्यारोमा परेकाहरूलाई सजिलो होस् बाहिर फेर त्यसै हल्लिरहनेहरूको पनि कल्याण होस् भन्ने चाहना राख्नु मानव मात्रको धर्म हो । यसर्थ आउनुहोस् तपाई हामी पनि भनौं- “राष्ट्रिय सहमति जिन्दावाद ।”
०००
युवामञ्च गाईजात्रा विशेष-२०५८ साउन
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)
Subscribe
Login
0 Comments
Oldest






































