लाेकेन्द्रबहादुर चन्दचस्मा
मेचमा अझ बढी आराम साथ बसी चुरोट तान्दै ऊ “केको गुनासो ? किन र केको लागि ? संसार जहिले पनि यस्तै हो र अनन्त कालसम्म यसरी नै चली रहनेछ“ भन्नेछ ।

लोकेन्द्रबहादुर चन्द :
चस्मा तपाईंलाई केटाकेटी छँदादेखि नै मन पर्छ । सानदार फ्रेम र सिसा भएका र यदाकदा टल्किरहने छुकछुके (चटपटे) आँखालाई पनि ढाकिराख्ने चस्मा मामुली थोक होइन । चस्माले पहिरिने बुद्धिमता, गम्भीरता र मर्यादा छ भने छाप छोड्छ । “चस्मा छैन भने इज्जत पनि छैन” यो आजको नियमै भइसकेको छ । गोरो र चिल्लो अनुहार भएको, जिउ डम्म परेको पेट भएको एकजना मानिस हुन सक्छ, तर चस्मा नहुँदा ऊ प्रभावशाली देखिन्न । मानिसहरू उसलाई कि सेनाको अवकाश प्राप्त (जुनियर) कनिष्ठ अफसर होला, कि बाँसबारी छाला जुत्ताको खुद्रा व्यापारी होला भनी अन्दाज काड्न (अनुमान गर्न) थाली हाल्छन् । चस्मा नपहिरेको दुब्लो पातलो मानिसलाई त असन बजारमा खाद्य संस्थानको मोटो चामल बेच्ने आढती हो भन्ने ठानी मानिसहरूले हेला गर्न थाली हाल्छन् । यसमा जनताको दोष छैन । अरूबाट सम्मान खोज्नु तर चस्मा नलगाउनु भनेको सेनाको कमान्डर हुने चाहना राख्नु तर बन्दुकबारे थाहै नपाउनु जस्तो कुरो हो ।
कल्पना गर्नोस्, एकजना राता रात गाला भएको र चस्मा भिरेको भुँडीवाल मानिस सामुन्ने आइपुग्छ । के त्यसको बेवास्ता गर्न सम्भव छ ? छैन; आकृतिले नै उसको महत्त्व देखापर्छ । सबैले उसलाई पूर्वमन्त्री वा कुनै मन्त्रालयको सेवानिवृत्त सचिव हो भनी ठान्छन् । कुनै पूर्व संस्थानको पूर्व अध्यक्ष भन्दा तल्लो स्तरको मानिस हो भनी त कसैले कुनै स्थितिमा पनि मान्दैन । यसै उद्देश्यले टल्किरहेको चस्माले कसैलाई पनि उसको दर्जा घटाउने अनुमति दिँदैन । चस्मा भिरेको दुब्लो पातलो मानिसले ऊ विद्वान्, प्राध्यापक वा भर्खर भर्ना भएको भन्सार अधिकृत अथवा महत्त्वपूणर् पद पाउनै थालेको राजनीतिज्ञ हो कि भन्ने भान पार्छ । यस किसिमको जनभावना र आफूमा अन्तर्निहित विशेषताका कारण चस्मालाई विद्वत्ता, बुद्धिमत्ता र प्रतिष्ठासित जोर्ने गरिन्छ ।
आफ्नो विद्यार्थी जीवनमा एक दिन अरू विद्यार्थीहरू सहित तपाईंले कलेजमा देखा परेको नौलो र दुब्लो पातलो मानिसको मजाक उडाउनुभो । कक्षा कोठामा पसेपछि यो थाहा पाई तपाईंहरू सङ्कुचित हुनुमो कि ती महाशय नीतिशास्त्रका नयाँ प्राध्यापक थिए र उनले अनेक विषयवस्तुहरूबारेका थुप्रै सिद्धान्तहरू पचाइसकेका हुनाले उनको झोलामा एकभन्दा बढी डिग्रीहरू पनि थिए । समझदार व्यक्ति भएको हुँदा उनले त्यस घटनाबारे कसैलाई दोष दिएनन् । अर्को दिन उनले आफ्नो स्तरबारे भ्रम हटाउन नाकमाथि चस्मा अड्याए र त्यस दिनदेखि यो त्यहीँ टाँसिएझै गरी सधैँ बसी राख्तछ अनि उनीसित ख्यालठट्टा पनि कसैले गर्दैन । विद्या र ज्ञान प्राप्त गर्न निक्कै पो अध्ययन गर्नुपर्छ । बालुवाका कणहरू जस्ता अक्षरहरू बोकेका रेगिस्तान जस्ता ठूल्ठूला ग्रन्थहरू पार गर्ने कुरो ऊँटजस्तो चस्माको अभावमा सोच्नै नसकिने कुरो हो । यदि कुनै सनकी (विचित्र) मानिस आफूले पैदलै हिँडी सारा संसारको यात्रा गरिसकेको गफ हाँक्छ भने तपाईं उसलाई पत्याउनु हुनेछैन होला । यसै प्रकार कुनै अर्को व्यक्ति आफूले चस्मा बिना नै ठूल्ठूला ग्रन्थ पढिसकेको कुरो गर्छ भने तपाईं त्यसलाई पनि पत्याउनु हुनेछैन होला । तपाईं उसको चस्माविहीन निस्तेज अनुहारकै अघिल्तिर उसलाई हेरेर हाँस्नु हुनेछ । वास्तवमा चस्मा नभई ज्ञान हासिल गर्ने कुरो सोच्नु भनेको विना पटरी नै रेलगाडी हिँड्ने गरेको बारे सोचे सरह हो ।
चस्मा पहिरी किताब पढ्नु भनेको वास्तवमा एक गजबको अनुभव हो । अक्षरहरू आ-आफै किताबहरूवाट माथि उठ्छन् र मगजतिर जान थाल्छन् । यस प्रक्रियामा चस्माका काँचहरूले अक्षरहरूलाई छेक्छन्, प्रासङ्गिक अक्षरहरू वा पाठलाई मात्र मगजभित्र पस्न दिन्छन् र बाँकीलाई किताबमा नै फर्काइदिन्छन् । प्रासङ्गिक पाठहरू जो दिमागभित्र पस्छन् त्यहाँ रही रहन्छन्; किनभने चस्माका काँचहरूले ती अक्षरहरूलाई चाहेको बेला भागेर बाहिर आई टाढा जान दिँदैनन् । यस कारण मानिस चस्मा लगाउने बित्तिकै देखिने मात्र होइन साँच्चिकै विद्वान् पनि भइहाल्छ ।
चस्मा सम्पन्नता र प्रतिष्ठाको परिचायक पनि हो । दैनिक जीवनमा जब तपाईंले टेलिफोन लाइन वा खाने पानीको धारा जोड्ने जस्ता कामका लागि हाकिमहरूलाई भेट्नुपर्ने हुन्छ, चस्माले यसमा पनि मदत गर्छ । ढोकामा बसेका पालेलाई चस्माको मोल थाहा हुन्छ र ऊ चस्मालाई सामान्य मानिसहरूका लागि अनावश्यक वस्तु पनि मान्दछ । हो तः ऊ सजिलैसित चस्माजस्तो अनावश्यक वस्तुमाथि पैसा बगाउने मानिसको स्तर निश्चित गर्न सक्छ र गनगन नगरी तपाईंलाई हाकिमको कोठामा पस्न दिन्छ । हाकिम पनि ढिलो वा चाँडो तपाईंको चस्माको मोलको अनुपातमा तपाईंका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ । समय लाग्न सक्छ अथवा तपाईंको माग पूरा नहुन पनि सक्छ; तर तपाईंको चस्माको कारण हाकिमले निश्चित रूपमा आश्वासन दिई तपाईंलाई अनुगृहीत गर्ने गर्छ । चस्माले अड्डामा मात्र होइन बजारमा पनि मदत गर्छ । तपाईंले चस्मा मिरेको छैन र केही थोकहरू उधारोमा माग्नुभयो भने पसलेले आज नगद, मोली उधारो लेखेको पट्टा देखाइदिन्छ होला । तपाईं बुझ्नुहुन्छ कि त्यहाँ लेखिएको भोलि कहिल्यै पनि आउँदैन । तपाईंसित चस्मा छ भने स्थिति अर्कै हुन जान्छ । पसले विभिन्न थोकहरू उधारोमा दिन तयार हुन जान्छ । कोठा बहालमा लिन, कतै जागिर भेट्टाउन र बैंक अथवा साहूकारहरूसित कर्जा लिन पनि चस्माले ठूलो मद्दत पुर्याउँछ । जनसाधारणलाई थाहा हुन्छ कि चस्मा पहिरिने मानिस शान्तिप्रिय र विवेकशील हुन्छन्; अतः यिनीहरूसित जुनसुकै किसिमको लेनदेन गरे पनि झैझगडा हुँदैन होला मनी आमजनता विश्वस्त हुने गर्छन् । यसैले हो प्रत्येक व्यक्ति यस्ता महिला वा पुरुषहरूसित जेजस्तो पनि कारोबार गर्न इच्छुक रहने गर्छन् जसले चस्मा भिरेको हुन्छ ।
राजनैतिक दर्शनका एकजना ठूला विद्वान्ले यान्त्रिक नियमको चर्चा गर्नुभएको थियो । सायद यी विद्वान् थामस हाब्स थिए कि । त्यो नियम पढ्दा खेरि चस्मा नभिरेको हुँदा तपाईं निश्चित रूपले भन्न सक्नुहुन्न । जे होस्, त्यस नियमअनुसार प्रत्येक वस्तुले आँखाहरूमाथि दवाव दिन्छ र दबाबले मस्तिष्कमा रमाइला वा नरमाइला भावनाहरू सृजित गर्छ । आँखामा जति बढी दवाव पर्छ त्यतिकै चर्का भावनाहरू मस्तिष्कमा उठ्ने गर्छन् । तपाईंलाई लाग्छ कि यस नियमको पनि चमासित केही न केही सम्बन्ध छ । एक व्यक्ति जो कुनै वस्तुले पैदा गरेको सानोभन्दा सानो दबाबले समेत उत्तेजित हुन्छ जीवनमा सफल हुन सक्तैन । एउटा चाहिनेभन्दा बढी संवेदनशील र आवेशी मानिस न त जनसाधारणको माया पाउन सक्छ न उनीहरूलाई डोर्याउन नै सक्छ । समाजमा भद्र पुरुष कहलिन मानिसले अति शान्त र संयमित हुनु जरूरी पर्छ ।
साधारणतया मानिसहरूमा सजिलै उत्तेजित हुने स्वभाव हुन्छ । यसर्थ मृदुभाषी, सहनशील र विनम्र हुनु भनेको सजिलो काम होइन । कसैले होच्याउन वा बेइजती गर्न गरेका काम, वचन र इसाराहरूले तपाईंलाई मात्र होइन हरेक व्यक्तिलाई रिस उठाइहाल्छन् । तपाईं एकचोटि रिसाउनु भो कि समाजले तपाईंलाई आफ्नो सम्मानित सदस्य भनी इज्जत गर्न छोडिदिहाल्छ । यस समस्याको एउटा मात्र समाधान बजार जानु, चस्मा किन्नु र त्यसलाई पहिरिनु मात्र हो । चस्मा पहिरेपछि वस्तुहरूको वा अरूले भने-गरेका कुराहरूका दवावहरूले निक्कै प्रतिरोधक क्षमता भएका काँचहरू पार गरेर मात्र आँखालाई छुन पाउनेछन् । यस प्रकार अब उक्त दवावहरूले तपाईंका आँखाहरूलाई धेरै दुख्ने गरी थिच्ने छैनन् बरु दबाव आँखाहरूलाई बिस्तारै मुसारी थुमथुमाउनेछ र तपाईंको मस्तिष्कमा आनन्द दिने विचार उब्जनेछन् । तपाईं अरूले गाली गरिरहँदा पनि मुसुमुसु हाँसिरहनुहुनेछ । दशा लाग्दा अथवा खराब समय आउँदा पनि दुःखले चस्माका काँचहरूवाट छानिएर मात्र तपाईंका आँखाहरूलाई छुन पाउने भएकोले तपाईं कस्तै कठिन र विपरीत परिस्थितिमा पनि शान्त र पर्वतझै स्थिर रहनुहुनेछ । अतः यो निष्कर्ष निकाल्न सकिन्छ कि चस्माले आउने कयौं वर्षसम्म तपाईंले घरको बहाल, टेलिफोन र विजुलीको शुल्क, साहूको ऋण नतिरेको भए पनि समाजमा तपाईंको सम्मान कायम राखिछोड्नेछ ।
तपाईंको एकजना मित्रको भनाइ अनुसार चस्माको उत्पत्ति अर्थात् जन्मको समय पनि चानचुने नभई महायुद्ध जस्तो सानदार समय हो । तपाईंको मित्र मुलुकको सारै असल र चस्मे नागरिक हो । उसको नाउँ मू.पं. पुरातन पन्थी हो । ऊ यस पुस्ताका सबै पण्डितहरूभन्दा बढी बुद्धिमान् छ । उसलाई आफ्नो पासमा डिप्लोमाहरूभन्दा बढी डिग्री हुने श्रेय जान्छ । पासमा रहेका डिप्लोमाहरूले उसलाई यस संसारलाई दुःख अथवा आनन्द दिइरहेका सबै मुद्दाहरूमा बोल्न उक्साउँछन् र उससँग भएकाडिग्रीहरूले उसलाई हतबुद्धि र अस्तव्यस्त पार्छन् भने अरुलाई ममित पारिदिन्छन् । उसको भनाइ रहेको छ कि कुरुक्षेत्र मैदानमा महाभारतको युद्ध सुरु हुनुभन्दा एकैछिन अघि भगवान् कृष्णले पाण्डव सेनाका सर्वश्रेष्ठ योद्धा अर्जुनलाई गीताको उपदेश दिनुपर्ने मएको थियो । ठीक त्यही वेला भगवान्को एकजना शिष्यले भगवद्गीताको सारतत्त्व लिई सञ्जयसित सल्लाह गरी चस्माको आविष्कार गरेको हो । गीताको प्रमुख सारतत्त्वमध्ये एक तत्त्व जीव मात्रलाई समान दृष्टिले हेर्नुपर्छ भन्ने रही आएको छ र यो कुरो बडो स्पष्ट रूपले उल्लिखित छ; तर जस्तो कि शिष्य भनाउँदाहरू अचम्मका जीव हुन्छन् र धेरैजसोले आफ्ना गुरुको भनाइको व्याख्या गुरुले गरेको व्याख्याभन्दा ठ्याम्मै विपरीत पर्ने गरी गर्ने गर्छन् । यस शिष्यले पनि भगवान् कृष्णको भनाइको विपरीत यस्तो व्यवस्था खडा गर्यो कि जस अनुसार समाजका माथिल्ला वर्गहरूले मात्र चस्मा लाउन पाउने भए । यही कारण हो कि तल्लो वर्ग र निम्न मध्यमवर्गका मानिसहरू प्रारम्भदेखि नै चस्माको विरोध गर्दै आइरहेका छन् ।
तपाईंको मित्र मू.पं. पुरातनपन्थीले जानकारी गराउँछ कि यस बखत संसारमा तल्लो र तल्लो मध्यम वर्गका मानिसहरूको भारी बहुमत छ । यसर्थ चस्माविरुद्ध ठूला षड्यन्त्रको योजना बनाइँदै छ । उक्त वर्गहरू बाहेक सुविधासम्पन्न वर्गका केही नाराबाजहरू पनि यस षड्यन्त्रमा सामेल भइसकेका छन् । हावाको बगाइ कतातिर छ भन्ने सुँघी तथा चाँडै फाइदा उठाउन पाइएला भन्ठानी केही राजनीतिज्ञ र पत्रकारहरूले पनि चस्मा विरोधी अभियानमा हालसालै आफूलाई सामेल गरेका छन् । यी षड्यन्त्रकारीहरूमध्ये केहीले चस्मा भिरेका छन्; तर तिनले चस्मा विहीन वर्गको साथ दिइरहेका छन् । यसरी यिनीहरू आफूहरू उदार भएको र आफ्नो वर्ग-स्वार्थलाई बलिदान गरेको देखाउन चाहन्छन् । वास्तवमा यिनीहरू अवसरवादी हुन् र आफ्नो स्वार्थका खातिर बहुमतलाई साथ दिइरहेका छन् । उनीहरूमध्ये सबैले भविष्यमा आफू बहुमतको नेता हुने मौका छ भन्ने कुरो देखिरहेका छन् । यो शक्ति (कुर्सी) प्राप्त गर्नका लागि हात मिलाउने एउटा प्रस्ट चाल हो । जे होस्, अवसरवादीहरूलाई कसैले पनि पत्याउन्न र चस्माले त यस्तो अवसरवाद र छलकपटलाई घृणा नै गर्छ । अतः यो कुरो भने निश्चित छ कि अवसरवादीहरू न आज सफल हुनेछन् न भोलि; तर चस्माको चर्चा भने अब रोकिनेवाला छैन ।
चस्मा र राजनीतिको आपसमा धेरै गहिरो सम्बन्ध छ । स्पष्ट दृष्टिकोण नभएका र केही पनि नरहेको अर्थात् शून्यको खात (रास)वाट केही न केही खैचेर ल्याउन नसक्ने मानिस राजनीतिमा सफल हुँदैन । चस्माले देखा पर्ने वस्तुहरूलाई ठूला र सफा पारी प्रस्ट दृश्य प्रस्तुत गर्दछ । यसका साथ-साथ नजरलाई सुधारी केही नभएको ठाउँमा अलिकता पनि केही रहेछ भने चस्माले देखाउँछ । अनि खैचेर ल्याउन त सजिलो परिहाल्छ र जोकोही चस्मावालले पनि सकिहाल्छ । यस प्रकार राजनीतिक सफलता वा असफलता चस्मा हुनु वा नहुनुले निर्धारित गर्छ भन्न सकिन्छ ।
यो कुरो राजनीतिज्ञहरू बुझ्छन् र आफूसित सधैँ सादा वा रङ्गीन चस्माहरू राख्ने गर्छन् । गहिरा काला रङ्गका चस्मा उनीहरूका निम्ति ठीक हुन्छन्; किनभने उनीहरूले समाजका विदूप पक्ष र अँध्यारा मानिसहरूको सामुन्ने कहिलेकाहीँ भए पनि आउनुपर्ने हुन्छ । उनीहरूले रिसले आँखा चिम्लेको वेला पनि मुस्काएको देखा पर्नुपर्ने भएकाले समेत राजनीतिज्ञहरूलाई चस्मा, खास गरी कालो चस्मा नभई हुँदैन । केही राजनीतिज्ञहरू सञ्चार माध्यमहरूमा चस्मा नलगाएर नै देखा पर्ने गर्छन् जो माथि भनेबमोजिमको षडयन्त्रकै एउटा अङ्ग हो, अन्यथा चस्माको मद्दत र माथि उचाल्ने प्रभावको अभावमा कुनै मानिस पनि राजनीतिज्ञ बन्न सक्तैन । वास्तवमा राजनैतिकहरूले त कुन किसिमका फ्रेम र कति पावर भएका काँचहरू उनको उद्देश्य पूरा गर्न उपयुक्त हुन्छन् भन्ने कुरो समेत बुझेका हुन्छन् र उनीहरू यस्ता चस्मा पहिरिन्छन् जसले जनतामा आफूले खोजेजस्तो प्रभाव पार्न सकून् ।
जति बढी आकर्षक चस्माको फ्रेम हुन्छ, नेता त्यति बढी जनप्रिय हुन्छ । काँचको पावर जति बढी हुन्छ, त्यो राजनीतिज्ञ प्रशासनमा त्यति बढी दक्ष हुन्छ । यी दक्ष हुन सक्नेहरू मौका पाउना साथ अधिनायक हुन खोज्न सक्छन् । यस कारण यस्ता राजनेताहरूलाई समर्थन गर्न सतर्क हुन जरुरी हुन्छ । पातलो फ्रेमको चस्मा पहिरिने राजनेताहरूलाई तपाईं सजिलै खारेज वा वेवास्ता गर्न सक्नुहुन्छ; तर तपाईंले यो कुरो भने मनमा राखि छोड्नुपर्छ कि ईश्वरले चाहेछ भने यिनीहरू अद्भुत सफलता प्राप्त गर्न सक्छन् । नेताहरू जो कुनै बेला चस्मा पहिरिन्छन् र कुनै वेला पहिरिँदैनन् पक्कै पनि धूर्त र अवसरवादी हुन्छन् । व्यक्तिगत हिसावले यिनीहरू सफल हुन सक्छन् तर यिनको सफलताले गर्दा मुलुकले भने निश्चित रूपले कष्ट भोग्दछ ।
एक असफल राजनीतिज्ञलाई सफल र सफल राजनीतिज्ञलाई असफल पार्नमा चस्माको के भूमिका हुन्छ भन्ने कुराका पक्षमा तपाईं धेरै उदाहरणहरू दिन सक्नुहुन्छ । यो हल्ला चलाइएको थियो कि अमेरिकाका पूर्व राष्ट्रपति श्री निक्सनले सपथ ग्रहणपछि गल्तीले आफ्नो चस्मा वाटरगेट भवनमा छोड्नुभएको थियो रे । यसै पारामा जर्मनीका पूर्व चान्सलर विली व्रान्टको चस्मा पनि उनका निजी सचिवले चोरेको थियो रे । यिनै कारणहरूले गर्दा उनीहरूले पदत्याग गर्नुपरेको थियो रे भन्ने कुरो धेरैलाई थाहा छ रे ! हामीलाई थाहा छ कि हिटलर चस्मा पहिरिने गर्थे र भाषण दिँदा खेरि (श्रोताहरू) जनतामा शक्ति र उत्साहको भावना आओस् भन्ने हिसाव गरी चस्मा हातमा लिई मुख अघिल्तिरको टेबुलमा जोडले मुड्की बजार्थे । यस प्रक्रियामा चस्माहरू धुलोपिठो हुन्थे । उनलाई भाषण गर्दा एकपछि अर्को गरी धेरै चस्मा दिइन्थे तर उनी सबैको यही हाल गर्थे । वास्तवमा भाषण गर्दा चस्माहरूको चुरो चुरो पार्ने हिटलरको बानी नै भइसकेको थियो । सायद उनी आफूले सम्पूणर् विश्वलाई आखिरमा कसरी चकनाचुर पार्नेछु भन्ने कुरो देखाउन पो चाहन्थे कि । जे होस्, जसरी उनी वास्तै नगरी आफ्ना चस्माहरूलाई धुलोपिठो पार्थे त्यसरी नै उनको विश्वविजयको सपना पनि चकनाचुर भो ।
अब तपाईं महात्मा गान्धीको उदाहरण दिनुहुन्छ । गान्धी वडो सावधानीले आफ्नो चस्माको बचावट गर्नुहुन्थ्यो आफ्ना आँखाका नानीहरूलाई गरेझै । वेलावेला घरबुना खादीको रुमालले चस्मालाई पुछ्ने पनि गर्नुहुन्थ्यो । यही कारण हो कि उहाँले तत्कालीन सर्वशक्तिमान वेलायतका विरुद्ध समेत सङ्घर्ष गरी भारतलाई स्वतन्त्र बनाउने आफ्नो सपना साकार पार्न सक्नुभो र उहाँ अमर पनि कहलिनुभो ।
महात्मा गान्धीको प्रसङ्ग ल्याइसकेपछि उहाँको अहिंसा र सत्याग्रहबारे कुरो नगर्न मिल्दैन । किशोरावस्थादेखि नै गान्धीजीलाई “काँचको घरमा बस्नेहरूले अरूलाई ढुङ्गा हिर्काउनु हुँदैन“ भन्ने उक्तिको जानकारी थियो । कारण अरूले पनि प्रतिकारमा ढुङ्गा हिर्काएछन् मने काँचको घर टुक्रा-टुक्रा हुन केही समय नै लाग्दैन, काँचै काँचको घरमा कोही पनि बस्दैन । यो उक्ति वास्तवमा चस्मा भिर्ने मानिसहरूसित सम्बन्धित हो भन्ने कुरो महात्मा गान्धीलाई थाहा थियो । चस्मा मिरेको मानिसले आफ्नो चस्मा फुटेर आँखा जस्तो संवेदनशील ठाउँमा चोट नलागोस् भन्ने हेतुले समेत अरूलाई ढुङ्गाले हिर्काउँदैन । यस्ता व्यक्तिहरूले आफ्ना चस्माहरूको अलिक ठक्कर साथ फुट्ने स्वभावलाई ध्यानमा राखी ढुङ्गाको त के कुरो कसैमाथि पनि मुड्की, डन्डा, कङ्कड र धुलोसमेत फ्याँक्नु हुँदैन । गान्धीजीले यी तथ्यहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्नुभो र अनि अहिंसा र सत्याग्रहका सिद्धान्तहरू प्रतिपादित गर्नुभो । आक्रमण गर्दा वा बचाउ गर्दा जेसुकै गर्दा पनि शारीरिक बलको प्रयोग नगर्नु यी सिद्धान्तहरूको सार तत्त्व हो । गान्धी यस्तो अचम्मको मानिस हुनुहुन्थ्यो कि आफ्नो चस्माको जोगावटका लागि उहाँ सिद्धान्त प्रतिपादित गर्ने सीमासम्म पुग्नुभो । उहाँले आफ्नो चस्मा पनि बचाउनुभो र इतिहासमा पहिलो पटक विपक्षीमाथि कुनै किसिमको (लट्ठीजस्ता साधारण हतियारसमेत) हतियार प्रयोग नगरी सङ्घर्षमा विजयी पनि हुनुभो ।
साधारणतया चस्मा पहिरेका मानिसहरू शिष्ट, शान्तिप्रिय र स्नेही हुन्छन् । हाम्रो समाजलाई विनष्ट हुनबाट जोगाउन आवश्यक पर्न भनेका यस्तै नागरिकहरू हुन् । कला, संस्कृति, मानवतावाद र विज्ञानको संरक्षणका निम्ति पनि संसारले यस्तै मानिसहरू खोजेको हो । यस्तो परिस्थितिमा आफ्ना छिमेकीहरूलाई चस्मा लगाउन मन्जुर गराउने हरेक नागरिकको कर्तव्य हुनुपर्छ । जनसङ्ख्याको बहुमतले चस्मा पहिरिन थालेछ भने निश्चित रूपले समाजमा स्थायी शान्ति र सम्पन्नताका साथ साथ प्रगति पनि देखा पर्नेछ ।
चस्माले आँखाहरूलाई अनेकन किसिमले सुरक्षित पार्छ र लाज मान्ने र हच्किने अविवाहित युवक र युवतिहरूका लागि कवचको काम पनि दिन सक्छ । “क्षमा गर्नु होला है” भनेजस्ता दाह्रीजुँगा र “माफ गर्नोस् है” भनेजस्तो खिसिएको मुस्कान भएका युवाहरू चस्मा नभिरी चस्मा भिरेकी युवतिहरूको सामु पर्ने सक्तैनन् । चस्मा मिरेका अविवाहित युवकलाई मात्र चस्मा मिरेकी युवतिका अगाडि गई उभिने हिम्मत हुन्छ । ऊ मात्र बिहेको प्रस्ताव राखी युवतिलाई आफ्नो जीवनका चिन्ता, गति र सुविधाहरूमा आधी हिस्साको हकदार बन्न निम्तो गर्न सक्छ । यसरी प्रत्येक चस्मे युवतिलाई पनि विहेको लागि निर्मित यज्ञ वेदीका चारैतिर सात फेरा लिइसकेपछि रातोरात दर्जा र सम्पत्ति प्राप्त गर्ने धेरैमा धेरै मौका हुन्छ । कहिलेकाहीं विहेपछि दाम्पत्य जीवनमा तल-वितल परेर अप्सरा जस्ती युवति शून्य जस्ती हुन पनि सक्छे; तर ऊसित त्यो शून्य छोप्न चस्मे अर्थात् धनीसित विहे भएको हुँदा प्रशस्त दौलत भएकोले ऊ पीर मानेर बस्दैन ।
यसको अतिरिक्त युवतिहरूमा थरीथरीका पुरुषहरूतिर हेर्ने चाहना हुनु स्वाभाविक हो । अपसोच । समाज पुरातनपन्थी छ । अतः यसो गरी हेर्न थाल्दा युवतिहरूका नातागोताहरूले उग्र विरोध गर्न सक्छन् । चस्माले यस्ता अल्पकालीन आकर्षणहरूलाई पनि सम्पन्न गर्छन् र साथै कवचको समेत काम गर्न सक्छन् । आँखा सोझो तेर्सो कर्के पारी कुन दिशामा हेरी रहेछन् भन्ने कुरो चस्माका कारण अरूले पत्तो पाउन सक्तैनन् । वालाहरूका आँखा यताउता डुली घित मारेर आफ्नो ठाउँमा आइसकेका हुन्छन् तर कसैले अलिकता पनि भेउ पाउँदैन । यो एउटा केक एउटै समयमा खाएको र थन्क्याई पनि राखेको जस्तो कुरो हुन जान्छ ।
यस यताउता चहार्ने काममा सुरुमा नजरको साटासाट हुन्छ अर्थात् एक जोडी पुरुष आँखाले अर्को एक जोडी महिला आँखाहरूसित भेटघाट गर्छ । आँखाको यो भेटघाट अर्थात् कुस्ती लामो समयसम्म चल्यो भने यसले समय बित्दै जाँदा खास गरी महिलाहरूका लागि खतरनाक मोड लिन सक्छ । यसले युवतिहरूको जीवनलाई सहनै नसकिने गरी दुखित पारिदिन सक्छ । साधारणतया दुखको यो पहाडले दुइटा जोडी आँखाहरूको मामलामा मात्र थिच्ने गर्छ । दुइटाभन्दा बढी जोडी आँखा भएछन् मने कुनै नोक्सानी हुँदैन । कुरो के भने आँखा जुधाउने दुई जनामा एक जनाले पनि चस्मा भिरेको रहेछ भने डराउनुपर्दैनः किनभने त्यहाँ आँखाहरूको जोडी दुईको सट्टा तीन हुन्छन् । साथै त्यस चस्मा भिरेका जीवले आफ्नो धनसम्पत्तिको बलले पीडाको त्रिभुजबाट दुइटैलाई निकाल्न पनि सकिहाल्छ । वास्तवमा सिद्धान्त के हो भने आपसमा जुध्न जति बढी जोडी आँखाहरू हुन्छन् त्यति बढी सुरक्षा रहन्छ । यसर्थ कुमारीहरूलाई सादा चस्मामाथि धूप (रङ्गीन) चस्मा पनि टाँस्न सल्लाह दिन अत्यावश्यक छ । यसो गर्दा जुभने आँखाको सङ्ख्या बढ्नेछ र फलस्वरूप खतराको क्षेत्र पार गर्न सकिनेछ । यसवाहेक काला चस्माहरूले युवतिहरूको व्यक्तित्व रहस्यमय हुन जानेछ । यही रहस्यले त यस संसारमा लैजा-मजनू, सरु-समेरु र रोमियो जुलियट जस्ता महान् प्रेमीहरू जन्माएका छन् । एकचोटि रहस्य उदाङ्गो भो कि सबै रोमियोहरूले मेरो छिमेकी चक्करदासजस्तै नाच्नुपर्ने त हो, विचरा गरिब अब आफूले गरेको प्रेम-विवाहलाई ठूलो भुल मान्दछ र इच्छा नहुँदा नहुँदै पनि आफ्नी मोटी न मोटी श्रीमती र १२ जना चटपटे सन्तानहरूप्रतिको कर्तव्य पालन गरिरहेको छ ।
अब तपाईंले असल नागरिक श्री भू.पं पुरातनपन्थी सँगसँगै विश्व र यसका अनेक समस्याहरूतिर फर्किनुपर्ने हुन्छ । एउटा असल नागरिकले विश्वलाई सताइरहेका समस्याहरूको समाधान खोज्ने दायित्व हो भन्ने उसको कुरोसित सहमत हुन हामी सवै बाध्य नै हुन्छौँ । ऊ ठान्दछ कि समाधान पहिलेदेखि नै यही छ, सारा रोगहरूको एउटै औषधी जस्तो । र यो समाधान प्रयुक्त हुन पर्खिरहेको पनि छ । संसारका सबै खराबीहरूको उपचार गर्ने हो भने उसको भनाइअनुसार संसारभरका मानिसहरूलाई दुइटा वर्ग अर्थात् चस्मा भएको वर्ग र चस्मा नभएको वर्गमा बाँड्नुपर्ने हुन्छ । चस्मा भएका वर्गलाई समाजमा शान्ति, सुव्यवस्था स्थापित गर्न र मानिस-मानिसबीच सद्भावना जगाउने उद्देश्य लिई शासन गर्ने जिम्मा दिनुपर्छ । चस्मा नभएको अर्को वर्गलाई कडा शारीरिक श्रम चाहिने कामहरूमा व्यस्त राख्नुपर्दछ, श्री पुरातनपन्थी आफू चस्मा मिर्ने नागरिक भएकोले यस सामाजिक व्यवस्थामा उसले पाउनेभन्दा गुमाउनुपर्ने केही छैन । यसर्थ आजभोलि उसले यस सामाजिक व्यवस्थाका पक्षमा रातदिन वकालत गरिरहन्छ ।
यसको सम्भावना छ कि कहिलेकाहीँ चस्मा नहुने वर्ग व्यक्ति-स्वतन्त्रता, समानता र बन्धुत्वको कोरा नाराले प्रभावित हुन जाओस् र ऊ सामाजिक व्यवस्थालाई मतामुङ्ग पार्नतिर लागोस् । यस्तो स्थितिमा श्री पुरातनपन्थीको सल्लाह छ कि तपाईंले यिनीहरूका नेतालाई च्याप्प समाती उसका आँखामाथि एकजोडी चस्मा टाँसिदिनुपर्दछ । तुरुन्तै ऊ एक मधुरभाषी, भद्र र सौम्य व्यक्तिमा परिणत हुनेछ, उसको मुहारमा मिठो मुस्कान देखापर्नेछ, ऊभित्र अब उदात्त र परिष्कृत विचार प्रवेश गर्नेछन् र ऊ सजिलै रङ्ग न ढङ्गका नाराहरूलाई बिर्सिनेछ । उसलाई एक चुरोट टक्याउने बेला यही हो, टक्याउनोस् र अनि उसका केके गुनासा छन् भनी सोध्नोस् । मेचमा अझ बढी आराम साथ बसी चुरोट तान्दै ऊ “केको गुनासो ? किन र केको लागि ? संसार जहिले पनि यस्तै हो र अनन्त कालसम्म यसरी नै चली रहनेछ“ भन्नेछ । यो एकजना सर्जनलाई डाक्ने ठिक्क वेला हो, सर्जनलाई बोलाउनोस् र यस शान्त मानिसका लामा लामा कानहरूका पछाडिपट्टि साधारण शल्यक्रिया गरिदिन आग्रह गर्नोस् । अव सर्जनलाई चस्माका विंडहरू चिरिएका ठाउँहरूमा घुसारी नखलबलिने गरी सिइदिन भन्नोस्, ता कि नयाँ चस्मावाल मानिसबाट जुनसुकै हालत र जुनसुकै घटना घटित हुँदा पनि चस्मा नछुट्टियोस् । यस प्रकार स्वतन्त्रता, समानता र बन्धुत्वका सिद्धान्तहरूले तपाईंको समाजलाई न चिमोट्नेछन् न यी महँगा साबित हुनेछन् । भू.पं. पुरातनपन्थीको भनाइ अनुसार सबभन्दा महत्त्वपूर्ण उपलब्धि के हुनेछ भने संसारका सबै समस्याहरू सजिलैसित सुल्झिनेछन् । यस प्रकार भू.प. पुरातनपन्थी भन्छ- “मानिसहरूका जीवन आनन्दै आनन्दमा डुबुल्की लिनेछन् ।”पुरातनपन्थीको सिद्धान्त मानवसमाजमा लागु गर्दा त्यसको परिणाम के होला भन्नेवारे तपाईं निश्चितरूपले भन्न नसक्नुहोला; तर तपाईं भन्न सक्नुहुन्छ होला कि यस बहसको फलस्वरूप तपाईंका बेरोजगार मित्र करोडी मलले हालसालै खोलेको चस्माको पसलमा व्यापार भने अत्यधिक मात्रामा बढ्नेछ, जसले गर्दा उसको आफ्नै वर्गका व्यापारीहरूसमेत छक्क पर्नेछन् ।
०००
‘बाह्रौँ खेलाडी’ (२०६६)
Subscribe
Login
0 Comments
Oldest






































