साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चस्मा

मेचमा अझ बढी आराम साथ बसी चुरोट तान्दै ऊ “केको गुनासो ? किन र केको लागि ? संसार जहिले पनि यस्तै हो र अनन्त कालसम्म यसरी नै चली रहनेछ“ भन्नेछ ।

Nepal Telecom ad

लोकेन्द्रबहादुर चन्द :

चस्मा तपाईंलाई केटाकेटी छँदादेखि नै मन पर्छ । सानदार फ्रेम र सिसा भएका र यदाकदा टल्किरहने छुकछुके (चटपटे) आँखालाई पनि ढाकिराख्ने चस्मा मामुली थोक होइन । चस्माले पहिरिने बुद्धिमता, गम्भीरता र मर्यादा छ भने छाप छोड्छ । “चस्मा छैन भने इज्जत पनि छैन” यो आजको नियमै भइसकेको छ । गोरो र चिल्लो अनुहार भएको, जिउ डम्म परेको पेट भएको एकजना मानिस हुन सक्छ, तर चस्मा नहुँदा ऊ प्रभावशाली देखिन्न । मानिसहरू उसलाई कि सेनाको अवकाश प्राप्त (जुनियर) कनिष्ठ अफसर होला, कि बाँसबारी छाला जुत्ताको खुद्रा व्यापारी होला भनी अन्दाज काड्न (अनुमान गर्न) थाली हाल्छन् । चस्मा नपहिरेको दुब्लो पातलो मानिसलाई त असन बजारमा खाद्य संस्थानको मोटो चामल बेच्ने आढती हो भन्ने ठानी मानिसहरूले हेला गर्न थाली हाल्छन् । यसमा जनताको दोष छैन । अरूबाट सम्मान खोज्नु तर चस्मा नलगाउनु भनेको सेनाको कमान्डर हुने चाहना राख्नु तर बन्दुकबारे थाहै नपाउनु जस्तो कुरो हो ।

कल्पना गर्नोस्, एकजना राता रात गाला भएको र चस्मा भिरेको भुँडीवाल मानिस सामुन्ने आइपुग्छ । के त्यसको बेवास्ता गर्न सम्भव छ ? छैन; आकृतिले नै उसको महत्त्व देखापर्छ । सबैले उसलाई पूर्वमन्त्री वा कुनै मन्त्रालयको सेवानिवृत्त सचिव हो भनी ठान्छन् । कुनै पूर्व संस्थानको पूर्व अध्यक्ष भन्दा तल्लो स्तरको मानिस हो भनी त कसैले कुनै स्थितिमा पनि मान्दैन । यसै उद्देश्यले टल्किरहेको चस्माले कसैलाई पनि उसको दर्जा घटाउने अनुमति दिँदैन । चस्मा भिरेको दुब्लो पातलो मानिसले ऊ विद्वान्, प्राध्यापक वा भर्खर भर्ना भएको भन्सार अधिकृत अथवा महत्त्वपूणर् पद पाउनै थालेको राजनीतिज्ञ हो कि भन्ने भान पार्छ । यस किसिमको जनभावना र आफूमा अन्तर्निहित विशेषताका कारण चस्मालाई विद्वत्ता, बुद्धिमत्ता र प्रतिष्ठासित जोर्ने गरिन्छ ।

आफ्नो विद्यार्थी जीवनमा एक दिन अरू विद्यार्थीहरू सहित तपाईंले कलेजमा देखा परेको नौलो र दुब्लो पातलो मानिसको मजाक उडाउनुभो । कक्षा कोठामा पसेपछि यो थाहा पाई तपाईंहरू सङ्कुचित हुनुमो कि ती महाशय नीतिशास्त्रका नयाँ प्राध्यापक थिए र उनले अनेक विषयवस्तुहरूबारेका थुप्रै सिद्धान्तहरू पचाइसकेका हुनाले उनको झोलामा एकभन्दा बढी डिग्रीहरू पनि थिए । समझदार व्यक्ति भएको हुँदा उनले त्यस घटनाबारे कसैलाई दोष दिएनन् । अर्को दिन उनले आफ्नो स्तरबारे भ्रम हटाउन नाकमाथि चस्मा अड्याए र त्यस दिनदेखि यो त्यहीँ टाँसिएझै गरी सधैँ बसी राख्तछ अनि उनीसित ख्यालठट्टा पनि कसैले गर्दैन । विद्या र ज्ञान प्राप्त गर्न निक्कै पो अध्ययन गर्नुपर्छ । बालुवाका कणहरू जस्ता अक्षरहरू बोकेका रेगिस्तान जस्ता ठूल्ठूला ग्रन्थहरू पार गर्ने कुरो ऊँटजस्तो चस्माको अभावमा सोच्नै नसकिने कुरो हो । यदि कुनै सनकी (विचित्र) मानिस आफूले पैदलै हिँडी सारा संसारको यात्रा गरिसकेको गफ हाँक्छ भने तपाईं उसलाई पत्याउनु हुनेछैन होला । यसै प्रकार कुनै अर्को व्यक्ति आफूले चस्मा बिना नै ठूल्ठूला ग्रन्थ पढिसकेको कुरो गर्छ भने तपाईं त्यसलाई पनि पत्याउनु हुनेछैन होला । तपाईं उसको चस्माविहीन निस्तेज अनुहारकै अघिल्तिर उसलाई हेरेर हाँस्नु हुनेछ । वास्तवमा चस्मा नभई ज्ञान हासिल गर्ने कुरो सोच्नु भनेको विना पटरी नै रेलगाडी हिँड्ने गरेको बारे सोचे सरह हो ।

चस्मा पहिरी किताब पढ्नु भनेको वास्तवमा एक गजबको अनुभव हो । अक्षरहरू आ-आफै किताबहरूवाट माथि उठ्छन् र मगजतिर जान थाल्छन् । यस प्रक्रियामा चस्माका काँचहरूले अक्षरहरूलाई छेक्छन्, प्रासङ्गिक अक्षरहरू वा पाठलाई मात्र मगजभित्र पस्न दिन्छन् र बाँकीलाई किताबमा नै फर्काइदिन्छन् । प्रासङ्गिक पाठहरू जो दिमागभित्र पस्छन् त्यहाँ रही रहन्छन्; किनभने चस्माका काँचहरूले ती अक्षरहरूलाई चाहेको बेला भागेर बाहिर आई टाढा जान दिँदैनन् । यस कारण मानिस चस्मा लगाउने बित्तिकै देखिने मात्र होइन साँच्चिकै विद्वान् पनि भइहाल्छ ।

चस्मा सम्पन्नता र प्रतिष्ठाको परिचायक पनि हो । दैनिक जीवनमा जब तपाईंले टेलिफोन लाइन वा खाने पानीको धारा जोड्ने जस्ता कामका लागि हाकिमहरूलाई भेट्नुपर्ने हुन्छ, चस्माले यसमा पनि मदत गर्छ । ढोकामा बसेका पालेलाई चस्माको मोल थाहा हुन्छ र ऊ चस्मालाई सामान्य मानिसहरूका लागि अनावश्यक वस्तु पनि मान्दछ । हो तः ऊ सजिलैसित चस्माजस्तो अनावश्यक वस्तुमाथि पैसा बगाउने मानिसको स्तर निश्चित गर्न सक्छ र गनगन नगरी तपाईंलाई हाकिमको कोठामा पस्न दिन्छ । हाकिम पनि ढिलो वा चाँडो तपाईंको चस्माको मोलको अनुपातमा तपाईंका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ । समय लाग्न सक्छ अथवा तपाईंको माग पूरा नहुन पनि सक्छ; तर तपाईंको चस्माको कारण हाकिमले निश्चित रूपमा आश्वासन दिई तपाईंलाई अनुगृहीत गर्ने गर्छ । चस्माले अड्डामा मात्र होइन बजारमा पनि मदत गर्छ । तपाईंले चस्मा मिरेको छैन र केही थोकहरू उधारोमा माग्नुभयो भने पसलेले आज नगद, मोली उधारो लेखेको पट्टा देखाइदिन्छ होला । तपाईं बुझ्नुहुन्छ कि त्यहाँ लेखिएको भोलि कहिल्यै पनि आउँदैन । तपाईंसित चस्मा छ भने स्थिति अर्कै हुन जान्छ । पसले विभिन्न थोकहरू उधारोमा दिन तयार हुन जान्छ । कोठा बहालमा लिन, कतै जागिर भेट्टाउन र बैंक अथवा साहूकारहरूसित कर्जा लिन पनि चस्माले ठूलो मद्दत पुर्‍याउँछ । जनसाधारणलाई थाहा हुन्छ कि चस्मा पहिरिने मानिस शान्तिप्रिय र विवेकशील हुन्छन्; अतः यिनीहरूसित जुनसुकै किसिमको लेनदेन गरे पनि झैझगडा हुँदैन होला मनी आमजनता विश्वस्त हुने गर्छन् । यसैले हो प्रत्येक व्यक्ति यस्ता महिला वा पुरुषहरूसित जेजस्तो पनि कारोबार गर्न इच्छुक रहने गर्छन् जसले चस्मा भिरेको हुन्छ ।

राजनैतिक दर्शनका एकजना ठूला विद्वान्ले यान्त्रिक नियमको चर्चा गर्नुभएको थियो । सायद यी विद्वान् थामस हाब्स थिए कि । त्यो नियम पढ्दा खेरि चस्मा नभिरेको हुँदा तपाईं निश्चित रूपले भन्न सक्नुहुन्न । जे होस्, त्यस नियमअनुसार प्रत्येक वस्तुले आँखाहरूमाथि दवाव दिन्छ र दबाबले मस्तिष्कमा रमाइला वा नरमाइला भावनाहरू सृजित गर्छ । आँखामा जति बढी दवाव पर्छ त्यतिकै चर्का भावनाहरू मस्तिष्कमा उठ्ने गर्छन् । तपाईंलाई लाग्छ कि यस नियमको पनि चमासित केही न केही सम्बन्ध छ । एक व्यक्ति जो कुनै वस्तुले पैदा गरेको सानोभन्दा सानो दबाबले समेत उत्तेजित हुन्छ जीवनमा सफल हुन सक्तैन । एउटा चाहिनेभन्दा बढी संवेदनशील र आवेशी मानिस न त जनसाधारणको माया पाउन सक्छ न उनीहरूलाई डोर्‍याउन नै सक्छ । समाजमा भद्र पुरुष कहलिन मानिसले अति शान्त र संयमित हुनु जरूरी पर्छ ।

साधारणतया मानिसहरूमा सजिलै उत्तेजित हुने स्वभाव हुन्छ । यसर्थ मृदुभाषी, सहनशील र विनम्र हुनु भनेको सजिलो काम होइन । कसैले होच्याउन वा बेइजती गर्न गरेका काम, वचन र इसाराहरूले तपाईंलाई मात्र होइन हरेक व्यक्तिलाई रिस उठाइहाल्छन् । तपाईं एकचोटि रिसाउनु भो कि समाजले तपाईंलाई आफ्नो सम्मानित सदस्य भनी इज्जत गर्न छोडिदिहाल्छ । यस समस्याको एउटा मात्र समाधान बजार जानु, चस्मा किन्नु र त्यसलाई पहिरिनु मात्र हो । चस्मा पहिरेपछि वस्तुहरूको वा अरूले भने-गरेका कुराहरूका दवावहरूले निक्कै प्रतिरोधक क्षमता भएका काँचहरू पार गरेर मात्र आँखालाई छुन पाउनेछन् । यस प्रकार अब उक्त दवावहरूले तपाईंका आँखाहरूलाई धेरै दुख्ने गरी थिच्ने छैनन् बरु दबाव आँखाहरूलाई बिस्तारै मुसारी थुमथुमाउनेछ र तपाईंको मस्तिष्कमा आनन्द दिने विचार उब्जनेछन् । तपाईं अरूले गाली गरिरहँदा पनि मुसुमुसु हाँसिरहनुहुनेछ । दशा लाग्दा अथवा खराब समय आउँदा पनि दुःखले चस्माका काँचहरूवाट छानिएर मात्र तपाईंका आँखाहरूलाई छुन पाउने भएकोले तपाईं कस्तै कठिन र विपरीत परिस्थितिमा पनि शान्त र पर्वतझै स्थिर रहनुहुनेछ । अतः यो निष्कर्ष निकाल्न सकिन्छ कि चस्माले आउने कयौं वर्षसम्म तपाईंले घरको बहाल, टेलिफोन र विजुलीको शुल्क, साहूको ऋण नतिरेको भए पनि समाजमा तपाईंको सम्मान कायम राखिछोड्नेछ ।

तपाईंको एकजना मित्रको भनाइ अनुसार चस्माको उत्पत्ति अर्थात् जन्मको समय पनि चानचुने नभई महायुद्ध जस्तो सानदार समय हो । तपाईंको मित्र मुलुकको सारै असल र चस्मे नागरिक हो । उसको नाउँ मू.पं. पुरातन पन्थी हो । ऊ यस पुस्ताका सबै पण्डितहरूभन्दा बढी बुद्धिमान् छ । उसलाई आफ्नो पासमा डिप्लोमाहरूभन्दा बढी डिग्री हुने श्रेय जान्छ । पासमा रहेका डिप्लोमाहरूले उसलाई यस संसारलाई दुःख अथवा आनन्द दिइरहेका सबै मुद्दाहरूमा बोल्न उक्साउँछन् र उससँग भएकाडिग्रीहरूले उसलाई हतबुद्धि र अस्तव्यस्त पार्छन् भने अरुलाई ममित पारिदिन्छन् । उसको भनाइ रहेको छ कि कुरुक्षेत्र मैदानमा महाभारतको युद्ध सुरु हुनुभन्दा एकैछिन अघि भगवान् कृष्णले पाण्डव सेनाका सर्वश्रेष्ठ योद्धा अर्जुनलाई गीताको उपदेश दिनुपर्ने मएको थियो । ठीक त्यही वेला भगवान्को एकजना शिष्यले भगवद्गीताको सारतत्त्व लिई सञ्जयसित सल्लाह गरी चस्माको आविष्कार गरेको हो । गीताको प्रमुख सारतत्त्वमध्ये एक तत्त्व जीव मात्रलाई समान दृष्टिले हेर्नुपर्छ भन्ने रही आएको छ र यो कुरो बडो स्पष्ट रूपले उल्लिखित छ; तर जस्तो कि शिष्य भनाउँदाहरू अचम्मका जीव हुन्छन् र धेरैजसोले आफ्ना गुरुको भनाइको व्याख्या गुरुले गरेको व्याख्याभन्दा ठ्याम्मै विपरीत पर्ने गरी गर्ने गर्छन् । यस शिष्यले पनि भगवान् कृष्णको भनाइको विपरीत यस्तो व्यवस्था खडा गर्यो कि जस अनुसार समाजका माथिल्ला वर्गहरूले मात्र चस्मा लाउन पाउने भए । यही कारण हो कि तल्लो वर्ग र निम्न मध्यमवर्गका मानिसहरू प्रारम्भदेखि नै चस्माको विरोध गर्दै आइरहेका छन् ।

तपाईंको मित्र मू.पं. पुरातनपन्थीले जानकारी गराउँछ कि यस बखत संसारमा तल्लो र तल्लो मध्यम वर्गका मानिसहरूको भारी बहुमत छ । यसर्थ चस्माविरुद्ध ठूला षड्यन्त्रको योजना बनाइँदै छ । उक्त वर्गहरू बाहेक सुविधासम्पन्न वर्गका केही नाराबाजहरू पनि यस षड्यन्त्रमा सामेल भइसकेका छन् । हावाको बगाइ कतातिर छ भन्ने सुँघी तथा चाँडै फाइदा उठाउन पाइएला भन्ठानी केही राजनीतिज्ञ र पत्रकारहरूले पनि चस्मा विरोधी अभियानमा हालसालै आफूलाई सामेल गरेका छन् । यी षड्यन्त्रकारीहरूमध्ये केहीले चस्मा भिरेका छन्; तर तिनले चस्मा विहीन वर्गको साथ दिइरहेका छन् । यसरी यिनीहरू आफूहरू उदार भएको र आफ्नो वर्ग-स्वार्थलाई बलिदान गरेको देखाउन चाहन्छन् । वास्तवमा यिनीहरू अवसरवादी हुन् र आफ्नो स्वार्थका खातिर बहुमतलाई साथ दिइरहेका छन् । उनीहरूमध्ये सबैले भविष्यमा आफू बहुमतको नेता हुने मौका छ भन्ने कुरो देखिरहेका छन् । यो शक्ति (कुर्सी) प्राप्त गर्नका लागि हात मिलाउने एउटा प्रस्ट चाल हो । जे होस्, अवसरवादीहरूलाई कसैले पनि पत्याउन्न र चस्माले त यस्तो अवसरवाद र छलकपटलाई घृणा नै गर्छ । अतः यो कुरो भने निश्चित छ कि अवसरवादीहरू न आज सफल हुनेछन् न भोलि; तर चस्माको चर्चा भने अब रोकिनेवाला छैन ।

चस्मा र राजनीतिको आपसमा धेरै गहिरो सम्बन्ध छ । स्पष्ट दृष्टिकोण नभएका र केही पनि नरहेको अर्थात् शून्यको खात (रास)वाट केही न केही खैचेर ल्याउन नसक्ने मानिस राजनीतिमा सफल हुँदैन । चस्माले देखा पर्ने वस्तुहरूलाई ठूला र सफा पारी प्रस्ट दृश्य प्रस्तुत गर्दछ । यसका साथ-साथ नजरलाई सुधारी केही नभएको ठाउँमा अलिकता पनि केही रहेछ भने चस्माले देखाउँछ । अनि खैचेर ल्याउन त सजिलो परिहाल्छ र जोकोही चस्मावालले पनि सकिहाल्छ । यस प्रकार राजनीतिक सफलता वा असफलता चस्मा हुनु वा नहुनुले निर्धारित गर्छ भन्न सकिन्छ ।

यो कुरो राजनीतिज्ञहरू बुझ्छन् र आफूसित सधैँ सादा वा रङ्गीन चस्माहरू राख्ने गर्छन् । गहिरा काला रङ्गका चस्मा उनीहरूका निम्ति ठीक हुन्छन्; किनभने उनीहरूले समाजका विदूप पक्ष र अँध्यारा मानिसहरूको सामुन्ने कहिलेकाहीँ भए पनि आउनुपर्ने हुन्छ । उनीहरूले रिसले आँखा चिम्लेको वेला पनि मुस्काएको देखा पर्नुपर्ने भएकाले समेत राजनीतिज्ञहरूलाई चस्मा, खास गरी कालो चस्मा नभई हुँदैन । केही राजनीतिज्ञहरू सञ्चार माध्यमहरूमा चस्मा नलगाएर नै देखा पर्ने गर्छन् जो माथि भनेबमोजिमको षडयन्त्रकै एउटा अङ्ग हो, अन्यथा चस्माको मद्दत र माथि उचाल्ने प्रभावको अभावमा कुनै मानिस पनि राजनीतिज्ञ बन्न सक्तैन । वास्तवमा राजनैतिकहरूले त कुन किसिमका फ्रेम र कति पावर भएका काँचहरू उनको उद्देश्य पूरा गर्न उपयुक्त हुन्छन् भन्ने कुरो समेत बुझेका हुन्छन् र उनीहरू यस्ता चस्मा पहिरिन्छन् जसले जनतामा आफूले खोजेजस्तो प्रभाव पार्न सकून् ।

जति बढी आकर्षक चस्माको फ्रेम हुन्छ, नेता त्यति बढी जनप्रिय हुन्छ । काँचको पावर जति बढी हुन्छ, त्यो राजनीतिज्ञ प्रशासनमा त्यति बढी दक्ष हुन्छ । यी दक्ष हुन सक्नेहरू मौका पाउना साथ अधिनायक हुन खोज्न सक्छन् । यस कारण यस्ता राजनेताहरूलाई समर्थन गर्न सतर्क हुन जरुरी हुन्छ । पातलो फ्रेमको चस्मा पहिरिने राजनेताहरूलाई तपाईं सजिलै खारेज वा वेवास्ता गर्न सक्नुहुन्छ; तर तपाईंले यो कुरो भने मनमा राखि छोड्नुपर्छ कि ईश्वरले चाहेछ भने यिनीहरू अद्भुत सफलता प्राप्त गर्न सक्छन् । नेताहरू जो कुनै बेला चस्मा पहिरिन्छन् र कुनै वेला पहिरिँदैनन् पक्कै पनि धूर्त र अवसरवादी हुन्छन् । व्यक्तिगत हिसावले यिनीहरू सफल हुन सक्छन् तर यिनको सफलताले गर्दा मुलुकले भने निश्चित रूपले कष्ट भोग्दछ ।

एक असफल राजनीतिज्ञलाई सफल र सफल राजनीतिज्ञलाई असफल पार्नमा चस्माको के भूमिका हुन्छ भन्ने कुराका पक्षमा तपाईं धेरै उदाहरणहरू दिन सक्नुहुन्छ । यो हल्ला चलाइएको थियो कि अमेरिकाका पूर्व राष्ट्रपति श्री निक्सनले सपथ ग्रहणपछि गल्तीले आफ्नो चस्मा वाटरगेट भवनमा छोड्नुभएको थियो रे । यसै पारामा जर्मनीका पूर्व चान्सलर विली व्रान्टको चस्मा पनि उनका निजी सचिवले चोरेको थियो रे । यिनै कारणहरूले गर्दा उनीहरूले पदत्याग गर्नुपरेको थियो रे भन्ने कुरो धेरैलाई थाहा छ रे ! हामीलाई थाहा छ कि हिटलर चस्मा पहिरिने गर्थे र भाषण दिँदा खेरि (श्रोताहरू) जनतामा शक्ति र उत्साहको भावना आओस् भन्ने हिसाव गरी चस्मा हातमा लिई मुख अघिल्तिरको टेबुलमा जोडले मुड्की बजार्थे । यस प्रक्रियामा चस्माहरू धुलोपिठो हुन्थे । उनलाई भाषण गर्दा एकपछि अर्को गरी धेरै चस्मा दिइन्थे तर उनी सबैको यही हाल गर्थे । वास्तवमा भाषण गर्दा चस्माहरूको चुरो चुरो पार्ने हिटलरको बानी नै भइसकेको थियो । सायद उनी आफूले सम्पूणर् विश्वलाई आखिरमा कसरी चकनाचुर पार्नेछु भन्ने कुरो देखाउन पो चाहन्थे कि । जे होस्, जसरी उनी वास्तै नगरी आफ्ना चस्माहरूलाई धुलोपिठो पार्थे त्यसरी नै उनको विश्वविजयको सपना पनि चकनाचुर भो ।

अब तपाईं महात्मा गान्धीको उदाहरण दिनुहुन्छ । गान्धी वडो सावधानीले आफ्नो चस्माको बचावट गर्नुहुन्थ्यो आफ्ना आँखाका नानीहरूलाई गरेझै । वेलावेला घरबुना खादीको रुमालले चस्मालाई पुछ्ने पनि गर्नुहुन्थ्यो । यही कारण हो कि उहाँले तत्कालीन सर्वशक्तिमान वेलायतका विरुद्ध समेत सङ्घर्ष गरी भारतलाई स्वतन्त्र बनाउने आफ्नो सपना साकार पार्न सक्नुभो र उहाँ अमर पनि कहलिनुभो ।

महात्मा गान्धीको प्रसङ्ग ल्याइसकेपछि उहाँको अहिंसा र सत्याग्रहबारे कुरो नगर्न मिल्दैन । किशोरावस्थादेखि नै गान्धीजीलाई “काँचको घरमा बस्नेहरूले अरूलाई ढुङ्गा हिर्काउनु हुँदैन“ भन्ने उक्तिको जानकारी थियो । कारण अरूले पनि प्रतिकारमा ढुङ्गा हिर्काएछन् मने काँचको घर टुक्रा-टुक्रा हुन केही समय नै लाग्दैन, काँचै काँचको घरमा कोही पनि बस्दैन । यो उक्ति वास्तवमा चस्मा भिर्ने मानिसहरूसित सम्बन्धित हो भन्ने कुरो महात्मा गान्धीलाई थाहा थियो । चस्मा मिरेको मानिसले आफ्नो चस्मा फुटेर आँखा जस्तो संवेदनशील ठाउँमा चोट नलागोस् भन्ने हेतुले समेत अरूलाई ढुङ्गाले हिर्काउँदैन । यस्ता व्यक्तिहरूले आफ्ना चस्माहरूको अलिक ठक्कर साथ फुट्ने स्वभावलाई ध्यानमा राखी ढुङ्गाको त के कुरो कसैमाथि पनि मुड्की, डन्डा, कङ्कड र धुलोसमेत फ्याँक्नु हुँदैन । गान्धीजीले यी तथ्यहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्नुभो र अनि अहिंसा र सत्याग्रहका सिद्धान्तहरू प्रतिपादित गर्नुभो । आक्रमण गर्दा वा बचाउ गर्दा जेसुकै गर्दा पनि शारीरिक बलको प्रयोग नगर्नु यी सिद्धान्तहरूको सार तत्त्व हो । गान्धी यस्तो अचम्मको मानिस हुनुहुन्थ्यो कि आफ्नो चस्माको जोगावटका लागि उहाँ सिद्धान्त प्रतिपादित गर्ने सीमासम्म पुग्नुभो । उहाँले आफ्नो चस्मा पनि बचाउनुभो र इतिहासमा पहिलो पटक विपक्षीमाथि कुनै किसिमको (लट्ठीजस्ता साधारण हतियारसमेत) हतियार प्रयोग नगरी सङ्घर्षमा विजयी पनि हुनुभो ।

साधारणतया चस्मा पहिरेका मानिसहरू शिष्ट, शान्तिप्रिय र स्नेही हुन्छन् । हाम्रो समाजलाई विनष्ट हुनबाट जोगाउन आवश्यक पर्न भनेका यस्तै नागरिकहरू हुन् । कला, संस्कृति, मानवतावाद र विज्ञानको संरक्षणका निम्ति पनि संसारले यस्तै मानिसहरू खोजेको हो । यस्तो परिस्थितिमा आफ्ना छिमेकीहरूलाई चस्मा लगाउन मन्जुर गराउने हरेक नागरिकको कर्तव्य हुनुपर्छ । जनसङ्ख्याको बहुमतले चस्मा पहिरिन थालेछ भने निश्चित रूपले समाजमा स्थायी शान्ति र सम्पन्नताका साथ साथ प्रगति पनि देखा पर्नेछ ।

चस्माले आँखाहरूलाई अनेकन किसिमले सुरक्षित पार्छ र लाज मान्ने र हच्किने अविवाहित युवक र युवतिहरूका लागि कवचको काम पनि दिन सक्छ । “क्षमा गर्नु होला है” भनेजस्ता दाह्रीजुँगा र “माफ गर्नोस् है” भनेजस्तो खिसिएको मुस्कान भएका युवाहरू चस्मा नभिरी चस्मा भिरेकी युवतिहरूको सामु पर्ने सक्तैनन् । चस्मा मिरेका अविवाहित युवकलाई मात्र चस्मा मिरेकी युवतिका अगाडि गई उभिने हिम्मत हुन्छ । ऊ मात्र बिहेको प्रस्ताव राखी युवतिलाई आफ्नो जीवनका चिन्ता, गति र सुविधाहरूमा आधी हिस्साको हकदार बन्न निम्तो गर्न सक्छ । यसरी प्रत्येक चस्मे युवतिलाई पनि विहेको लागि निर्मित यज्ञ वेदीका चारैतिर सात फेरा लिइसकेपछि रातोरात दर्जा र सम्पत्ति प्राप्त गर्ने धेरैमा धेरै मौका हुन्छ । कहिलेकाहीं विहेपछि दाम्पत्य जीवनमा तल-वितल परेर अप्सरा जस्ती युवति शून्य जस्ती हुन पनि सक्छे; तर ऊसित त्यो शून्य छोप्न चस्मे अर्थात् धनीसित विहे भएको हुँदा प्रशस्त दौलत भएकोले ऊ पीर मानेर बस्दैन ।

यसको अतिरिक्त युवतिहरूमा थरीथरीका पुरुषहरूतिर हेर्ने चाहना हुनु स्वाभाविक हो । अपसोच । समाज पुरातनपन्थी छ । अतः यसो गरी हेर्न थाल्दा युवतिहरूका नातागोताहरूले उग्र विरोध गर्न सक्छन् । चस्माले यस्ता अल्पकालीन आकर्षणहरूलाई पनि सम्पन्न गर्छन् र साथै कवचको समेत काम गर्न सक्छन् । आँखा सोझो तेर्सो कर्के पारी कुन दिशामा हेरी रहेछन् भन्ने कुरो चस्माका कारण अरूले पत्तो पाउन सक्तैनन् । वालाहरूका आँखा यताउता डुली घित मारेर आफ्नो ठाउँमा आइसकेका हुन्छन् तर कसैले अलिकता पनि भेउ पाउँदैन । यो एउटा केक एउटै समयमा खाएको र थन्क्याई पनि राखेको जस्तो कुरो हुन जान्छ ।

यस यताउता चहार्ने काममा सुरुमा नजरको साटासाट हुन्छ अर्थात् एक जोडी पुरुष आँखाले अर्को एक जोडी महिला आँखाहरूसित भेटघाट गर्छ । आँखाको यो भेटघाट अर्थात् कुस्ती लामो समयसम्म चल्यो भने यसले समय बित्दै जाँदा खास गरी महिलाहरूका लागि खतरनाक मोड लिन सक्छ । यसले युवतिहरूको जीवनलाई सहनै नसकिने गरी दुखित पारिदिन सक्छ । साधारणतया दुखको यो पहाडले दुइटा जोडी आँखाहरूको मामलामा मात्र थिच्ने गर्छ । दुइटाभन्दा बढी जोडी आँखा भएछन् मने कुनै नोक्सानी हुँदैन । कुरो के भने आँखा जुधाउने दुई जनामा एक जनाले पनि चस्मा भिरेको रहेछ भने डराउनुपर्दैनः किनभने त्यहाँ आँखाहरूको जोडी दुईको सट्टा तीन हुन्छन् । साथै त्यस चस्मा भिरेका जीवले आफ्नो धनसम्पत्तिको बलले पीडाको त्रिभुजबाट दुइटैलाई निकाल्न पनि सकिहाल्छ । वास्तवमा सिद्धान्त के हो भने आपसमा जुध्न जति बढी जोडी आँखाहरू हुन्छन् त्यति बढी सुरक्षा रहन्छ । यसर्थ कुमारीहरूलाई सादा चस्मामाथि धूप (रङ्गीन) चस्मा पनि टाँस्न सल्लाह दिन अत्यावश्यक छ । यसो गर्दा जुभने आँखाको सङ्ख्या बढ्नेछ र फलस्वरूप खतराको क्षेत्र पार गर्न सकिनेछ । यसवाहेक काला चस्माहरूले युवतिहरूको व्यक्तित्व रहस्यमय हुन जानेछ । यही रहस्यले त यस संसारमा लैजा-मजनू, सरु-समेरु र रोमियो जुलियट जस्ता महान् प्रेमीहरू जन्माएका छन् । एकचोटि रहस्य उदाङ्गो भो कि सबै रोमियोहरूले मेरो छिमेकी चक्करदासजस्तै नाच्नुपर्ने त हो, विचरा गरिब अब आफूले गरेको प्रेम-विवाहलाई ठूलो भुल मान्दछ र इच्छा नहुँदा नहुँदै पनि आफ्नी मोटी न मोटी श्रीमती र १२ जना चटपटे सन्तानहरूप्रतिको कर्तव्य पालन गरिरहेको छ ।

अब तपाईंले असल नागरिक श्री भू.पं पुरातनपन्थी सँगसँगै विश्व र यसका अनेक समस्याहरूतिर फर्किनुपर्ने हुन्छ । एउटा असल नागरिकले विश्वलाई सताइरहेका समस्याहरूको समाधान खोज्ने दायित्व हो भन्ने उसको कुरोसित सहमत हुन हामी सवै बाध्य नै हुन्छौँ । ऊ ठान्दछ कि समाधान पहिलेदेखि नै यही छ, सारा रोगहरूको एउटै औषधी जस्तो । र यो समाधान प्रयुक्त हुन पर्खिरहेको पनि छ । संसारका सबै खराबीहरूको उपचार गर्ने हो भने उसको भनाइअनुसार संसारभरका मानिसहरूलाई दुइटा वर्ग अर्थात् चस्मा भएको वर्ग र चस्मा नभएको वर्गमा बाँड्नुपर्ने हुन्छ । चस्मा भएका वर्गलाई समाजमा शान्ति, सुव्यवस्था स्थापित गर्न र मानिस-मानिसबीच सद्भावना जगाउने उद्देश्य लिई शासन गर्ने जिम्मा दिनुपर्छ । चस्मा नभएको अर्को वर्गलाई कडा शारीरिक श्रम चाहिने कामहरूमा व्यस्त राख्नुपर्दछ, श्री पुरातनपन्थी आफू चस्मा मिर्ने नागरिक भएकोले यस सामाजिक व्यवस्थामा उसले पाउनेभन्दा गुमाउनुपर्ने केही छैन । यसर्थ आजभोलि उसले यस सामाजिक व्यवस्थाका पक्षमा रातदिन वकालत गरिरहन्छ ।

यसको सम्भावना छ कि कहिलेकाहीँ चस्मा नहुने वर्ग व्यक्ति-स्वतन्त्रता, समानता र बन्धुत्वको कोरा नाराले प्रभावित हुन जाओस् र ऊ सामाजिक व्यवस्थालाई मतामुङ्ग पार्नतिर लागोस् । यस्तो स्थितिमा श्री पुरातनपन्थीको सल्लाह छ कि तपाईंले यिनीहरूका नेतालाई च्याप्प समाती उसका आँखामाथि एकजोडी चस्मा टाँसिदिनुपर्दछ । तुरुन्तै ऊ एक मधुरभाषी, भद्र र सौम्य व्यक्तिमा परिणत हुनेछ, उसको मुहारमा मिठो मुस्कान देखापर्नेछ, ऊभित्र अब उदात्त र परिष्कृत विचार प्रवेश गर्नेछन् र ऊ सजिलै रङ्ग न ढङ्गका नाराहरूलाई बिर्सिनेछ । उसलाई एक चुरोट टक्याउने बेला यही हो, टक्याउनोस् र अनि उसका केके गुनासा छन् भनी सोध्नोस् । मेचमा अझ बढी आराम साथ बसी चुरोट तान्दै ऊ “केको गुनासो ? किन र केको लागि ? संसार जहिले पनि यस्तै हो र अनन्त कालसम्म यसरी नै चली रहनेछ“ भन्नेछ । यो एकजना सर्जनलाई डाक्ने ठिक्क वेला हो, सर्जनलाई बोलाउनोस् र यस शान्त मानिसका लामा लामा कानहरूका पछाडिपट्टि साधारण शल्यक्रिया गरिदिन आग्रह गर्नोस् । अव सर्जनलाई चस्माका विंडहरू चिरिएका ठाउँहरूमा घुसारी नखलबलिने गरी सिइदिन भन्नोस्, ता कि नयाँ चस्मावाल मानिसबाट जुनसुकै हालत र जुनसुकै घटना घटित हुँदा पनि चस्मा नछुट्टियोस् । यस प्रकार स्वतन्त्रता, समानता र बन्धुत्वका सिद्धान्तहरूले तपाईंको समाजलाई न चिमोट्नेछन् न यी महँगा साबित हुनेछन् । भू.पं. पुरातनपन्थीको भनाइ अनुसार सबभन्दा महत्त्वपूर्ण उपलब्धि के हुनेछ भने संसारका सबै समस्याहरू सजिलैसित सुल्झिनेछन् । यस प्रकार भू.प. पुरातनपन्थी भन्छ- “मानिसहरूका जीवन आनन्दै आनन्दमा डुबुल्की लिनेछन् ।”पुरातनपन्थीको सिद्धान्त मानवसमाजमा लागु गर्दा त्यसको परिणाम के होला भन्नेवारे तपाईं निश्चितरूपले भन्न नसक्नुहोला; तर तपाईं भन्न सक्नुहुन्छ होला कि यस बहसको फलस्वरूप तपाईंका बेरोजगार मित्र करोडी मलले हालसालै खोलेको चस्माको पसलमा व्यापार भने अत्यधिक मात्रामा बढ्नेछ, जसले गर्दा उसको आफ्नै वर्गका व्यापारीहरूसमेत छक्क पर्नेछन् ।

०००
‘बाह्रौँ खेलाडी’ (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

लाेकेन्द्रबहादुर चन्द
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x