आर.सी. रिजालभँडाल्नु र डँडाल्नु
मण्डले गुन्डाले प्रजातन्त्रमा प्रतिबद्ध सतीका सारी च्यात्थे । त्यो बेला तिमी सारी बोकेर चुँदी तर्थ्याै। ती सारी माफियाका मतियारले नै किनिदिएका थिए । यो देशका माफिया र खुफियालाई हामीले पचास वर्षअघिदेखि चिनेका छौं ।

दाहाल यज्ञनिधि :
“थलाको थलै कति घिच्छस् ए ?” थला मारी-मारी घिचेको घिचेकै गर्नेलाई बूढी बजूले भनेकी हुन् । यो वाक्य मेरा कानमा पर्दा म पनि झसङ्ग भएथें । त्यो बेला मेरो उमेर चढेको थिएन । छिप्पिएको अरिमोठेजस्तो मान्छेले भतेरमा जति पस्कँदा पनि भो भनेन । पन्यूँ ठूलो खड्कुलोअन्सारको नै ठेउके थियो। फ्याउरी जत्रो तामे पन्यूँ उचाल्न ती बज्यैलाई साह्रै नै सास्ती भएको थियो । यो कुरा उनले दुवै हातले डाँठ समाएर चपराका चपरा भात पस्किएकाले देखाउँथ्यो । ती बूढी भतेर लाएको दिनलाई मात्रकी भान्से हुन् । त्यो बेला पूर्वी पहाडमा हाडमासु, छालालोला सबै देखाएर भात पकाउँथे । भान्सेले अनिवार्य चोली फुकाल्नुपर्थ्यो। ब्रा लाउने चलनै थिएन। फेरी लाउने जोगीका नधोएका मैला झाेला जस्तै झाेलिएका वृद्ध जीउका स्तन थिए ।
लल्याकलुलुककी शिथिल आमैले त्यस घिचासलाई धेर खानेको घरमा अवासी लाग्ने कुरो बताकी थिइन् । मुखबाट नभए पीँधबाट समेत कोच्न पाए हुन्थ्यो भन्ने मनोग्रन्थि भएका मान्छे छन् । ती फाल्टाफाल्टै हुँदा दृश्यमा आउँदैनथे । आज हाम्रो देशमा घिचासहरूको जत्थाले अवासी पसाए। घरमूली नै आहारिसे छ, खन्चुवा छ, भुँडी फुटुन्जेल एक्लै खान्छ भने त्यो घरमा जहानले भोकभोकै मर्नुपर्छ । हाम्रो देशमा घरमूलीको जत्था मिथकको अघासुर भएको छ ।
भैरव अर्यालको निबन्धका वर्गीकृत भुँडीमा चार प्रकार छन् । आहारिसे भुँडी, घ्याम्पे भुँडी र हाँडीघोप्टे भुँडीको फौजले हाम्री राज्यश्री भोग्यो । दाप्सा पेटचैं दपेटिएको दपेटियै रह्यो। तीन किसिमका भुँडीको हुद्दा भाले भयो । राँगोको रन्थन, अर्नाको ठनठन र साँढेको हनहन यो हुद्दामा छ । काङ्ग्रेस खान काङ्ग्रेस बनेको हूल राँगो हो भने कम्न्युज्म हरेल्न कम्न्युस्ट बनेको जुलुस अर्ना हो । त्यसभन्दा अलि पृथक् ढाँचाको हुज्जत गुमेको साँढे भनेको नेपालै खाएको मण्डले वर्ग हो ।
यी तीनवटै गणका भालेलाई कोरलो छँदै चेपुवा लाएर खसी पार्न हामी दाप्सा पेटले सकेनौं। यिनका राजखानी छानी छानी सन्नी छोडेर घाउ नलाग्ने गरी हम्मरले पिट्नुपर्थ्यो। पिता ताल परेका ढुङ्गालाई बिछ्याउनुपर्थ्यो । त्यसमाथि जननेन्द्रियलाई दक्खल नपारीकन नसा छामीछामी तेर्स्याउनुपर्थ्यो। चेपुवाले खसी पार्दा खुट्टा भटक भटक पार्लान् । भड्किन नदिन चौखुर्याएर बाँध्नुपर्थ्यो। कसैले अगाडिका खुट्टा कसैले पछाडिका खुट्टामाथि घारा राखी राखी थिचीथिचीकन कसिएर ठटाउनु-पिट्नुपर्थ्यो। यिनका हिनहिनाउने र उतउताउने हिनिनी उतुतु वयावयामा परिणत हुन्थे । उम्तिए अनमत्त हुन सक्तैनथे । अनि भने यिनलाई सिर्कनैसिर्कनाले हिर्काइ-हिर्काइ मेला लैजान हुन्थ्यो । मेला लाँदा पनि बाटाका दुवैतिरका लहलह बालीमा थुतुनो पुर्याउन सक्थे । त्यहाँ पनि दह्रा र बाक्ला चोयाका महलाले मुख थुन्नुपर्थ्यो अरूको भन्दा चाँडो मेला थाल्न सोड्क्याइ-सोङ्क्याइ कुटाउनुपर्थ्यो । अटेरी गर्लान् जस्ता लाग्नेलाई सोड्का हान्न काँडे लौरा लिनुपर्थ्यो । अनि भने नाकाडाँडीमा हिर्काएर या छेपारीका मासु झर्ने गरी सुम्ल्याएर चाँचाँडो नारिन्थ्यो ।
सबेरैदेखि मेलो थाल्दा अबेर नभैकन बाली लाग्थ्यो। ठिक्क ठिक्क गरी चाहिँदो मात्रमा स्यौलास्यौलीले घस्याएर कहिलेकाही हिउँदे दिनमा वनपाखातिर छोडिदिन मिल्थ्यो। किनभने अघिल्लो बर्खा जोत्नु जोतेका गोरु दाइएका हुन्थे । दाएका गोरु आउने असारका चटारोमा पनि काँधमा जुवा बोकाएर हलो नार्न काम लाग्थे । बाँको पल्टाई पल्टाई रोंटो नबिराई जोत्न जान्नेले रासै अन्नबाली फलाउछ । हामी दाप्सा पेटमै चित्त बुझाउनेले अगस्ति चिनेर गस्ती गरेनौं । डँडाल्नुमा थोत्रे डोकोभित्र मरिकुच्च पार्ने पसलेको भारी छ । जीरा बेच्नेदेखि हीरा बेच्नेसम्मका र नुन बेच्नेदेखि सुन बेच्नेसम्मका पसलेले हाम्रो डँडाल्नुका खाला उतारिरहेछन् । हाम्रा डँडाल्नुको छाला खुत्तिएर भतभती पोलेको छ । पोलेको डाहा छटपटीले मर्नु बनाए पनि जन्मिएका लालाबालाका निम्ति काला स्मग्लर र मोटा पाखण्डका भारी बोकिरहेछौं । भारी बोक्ने हामी भरियाका कसैको फियो र हियो ठीकसँग चल्दैनन् । बोकाउने साहू मोजसँग कोही खुफियाको धन्दा गर्छन् । कोही माफियाको मल छर्छन् । मल भन्नु भँडाल्नु हो। पितृ पुस्ताकी च्याप्जु आमाले घिचासलाई भन्दाभन्दै यो पनि भनिथिन्- ‘धेरै खाई मल, थोर खाई बल’ ।
हाम्रो देश आज अटेसमटेस गरी खाँदाखाँदा कहिल्यै नअघाउने अगस्तिको बाघपन्जामा पर्याे । यिनीहरूले खानु खाए र जताततै आज भँडाल्नु पल्टाए । यिनीहरूका भँडाल्नाका थास बोक्ने डँडाल्ना हाम्रा हाडछाला मात्र बाँकी भएका आङलाई यिनीहरू फेरिफेरि पनि ताक्नेछन् । नागरिक शिक्षाको सजिलो वाक्यमा भनौ नेपालमा राजनीतिका शिविर तीनवटा छन् । यहाँ तीन तिघ्रा भएको जन्तु छ । संसारमै जन्तुमध्ये मान्छे दुईतिघ्रे मात्र पाइन्छ । भुसतिघे स्वाँठहरू भेला भएको राजनीतिको प्यालीमा तीनतिघ्रेकाे टाउको अचम्मले बनेको छ । विश्वमा अग्लो हिमाल काखमा हाम्रो नेपाल’ को सत्य कथा, तथ्य व्यथा संसारका तीन सयमध्ये एक मुलुकको मात्र हो । आधा सय वर्ष भनेको धेरै लामो याम हो । त्यो पनि विचित्र गतिले संसारकै प्रगति अधिका अघि दैडीदत्त दगुरेको युगमा ।
म कवि भएकाले कविका नाम छाप्ने अधिकारभन्दा अरूका दावा गर्दिन । भोजपुर-काठमाडौं सम्पर्कका प्रदीप नेपाल, तनहुँ- काठमाडौं सम्पर्कका क्षेत्रप्रताप अधिकारी, गोर्खा काठमाडौं सम्पर्कका चिरञ्जीवी वाग्ले तीन शिविरका तीन चम्का हुन् यिनीहरू गोजेरो भरेर पजेरो गुडाउन पाएका बखत आआफ्ना सुशासक पाएका छन् ।
बागडोरको बग्गी तान्ने घोडा चढेका समयमा जब घोडाले टेर्दैन या सइसले घोडा ल्याइदिँदैन चरनबाट तब चढ्न पाउँदैनन् । अनि त्यो बेलामा अर्कोले बग्गी चलाएको देखी सहन्नन् र लेख्न थालिहाल्छन् । कुशासन चलाउने दुःशासनका बारेमा उनेरू नै लेख्छन् । अनि हामीले चै त्यहाँ तुरुन्त उनीहरूको भँडाल्नुलाई उठाएर खाला पल्टिएको डँडाल्नुले बोक्न अघि सरिहाल्नु भन्ने हुन्छ । एक त मैतीदेवीमा जिउँदै छोडिएको द्यौते बोको गन्हाएजस्ता भालेका बथान छन् । तीनवटै शिविरमा । साँच्चै धर्म पालन गर्नेहरूलाई यिनीहरूको उग्र हच्कोले नजिक जानै दिँदैन । झाडाबान्ता एकै चोटि मुस्लिएर कलममार्फत आएको भँडाल्नुमा क्षेत्रप्रताप अधिकारीको चैं चौबाटैमा पल्टिएको देखेर कटुवाली गर्दै छु। ताकी ताकी ‘जो गाउँको मुखिया उही बाटो हगुवा’ लाई केटाकेटीले चिनून् । केटाकेटीमध्ये धेरैले थाहा पाए भने बाटो हग्ने मुखियालाई टिन ठटाइ ठटाइ आँची गर्ने खुंदुक खोज्न कर लाउनेछन् । “बितेको एक दर्जन वर्षमा दर्जनौं खाओवादी जन्मिए-खाओवादीको कर्तुतबाट माओवादी जन्मिए ।”
होइन यो देशमा नि अब पनि तिमीलाई नै अगुवा मान्न तयार छन् नेपाली जनता ? ए क्षेत्रप्रताप । बाह्र वर्षअघि जन्मेका सबै अरू जति मरिसके भन्ठान्यौ । र ‘अहिले यही ‘पञ्चऱ्याली’ ले यो देश समृद्ध भएको लेख्ने सपना देख्दै छौ ? तिमीले यसै बेला देशभरिका नाबालकका कलिला कल्पनामाथि ‘नयाँ वर्ष’ को हर्क बाँडेको होइनौ । तिम्रा नयाँ वर्षमा यो देश समग्रमै भोकानाङ्गा कोही थिएनन्, होइन ? खस्यौलीको भट्टीमा बास बस्न पुगेका कुरा बिर्सियौ । चौतारीचौतारीमा कसलाई भेटेथ्यौ । घामजस्ता जूनजस्ताले सबैलाई ओठमाथि जुँगा र नाइटोमुनि लुगा उमारेको कविता हामीले लेखेका थियौं। सुहाउने गरी गरेको कुरा पो पत्याउँछन् । चम्केको घोडा र लम्केको हात्ती एकै हुन्न । हुन्नहुन्न कदापि हुन्न । तिमीले सोचेका हाैला, अब फेरि नारान् पर्साद फर्किनेछ । डेरा डेरा आँखाले हेरेपछि नाङ्गो डँडाल्नुकी कुप्री बज्यैले घिचासलाई मात्र चपरीका चपरी भात पस्किनेछिन् । अनि म पनि यहीको डाम्ना बनेर जुठेल्नुका टपरी नै चपाउँला भन्ने सपना अहिले पनि देख्दै छौ ।
त्यो बेला तिमीले तनहुँभरि सारी बाँड्ने बाचा गरेको होइन ? अनि उल्फाको धन नभए कहाँको पैसाले जितेथ्यौ है, पञ्चे चुनाव ? अहिलेसम्ममा ज्यामरुक जान निर्धक्क सक्दै छौ ? तिम्रो पितृभूमि हो त्यो । तिम्रा आमाबाबुले पसिनाको पाटो नबिराएझैं लाग्छ । किनभने बोधविक्रम अधिकारी पढ्दा मैले अनुमान गरेथें । कन्डक्टरबाट साझामा साहित्य चलाएसम्मको क्षेत्रप्रताप पनि मैले पढेको छु । त्यहाँसम्मको क्षेत्रप्रतापले लेखेका कवितामा असलियत थियो । असली कान्छीको गलामा असली वीरबहादुरले पहिर्याइदिएका नौगेडीका मालाहरू बेसाहा खोज्न गएका गयै भएका कविता लेख्ने कवि पनि तिमीभित्र छ । भीरमा फुलेको लालीगुराँस तिमी पनि हो । ठाडी भाकामा परेका खरुकी र सालिम्मेका लोकगीतमा आफैलाई टाँगेर तिम्रो गीतकार रोएको छ । हेर आफ्नो बाटो बिराएपछि दु:ख पाइन्छ । साझामा तिमीले धेरै दुःखीहरूलाई ओत दिएका छौ । तिमीभित्रको हीनग्रन्थिअनुसार संस्कृत पढेका मजस्तालाई तिमी देखिसहन्नौ त्यो पनि मलाई थाहा छ । तिमीजस्तै हीनग्रन्थि भएका अरू पनि छन् । सरदर नै हो त्यो व्यथा । यो व्यथाले च्यापेकालाई मैले नै चुनाव जिताएको पनि छु । अङ्ग्रेजी पढेकादेखि थरथरी हुने वासुदेव त्रिपाठी पनि छन् । अङ्ग्रेजी पढ्न जाँदा धोती फेरेर जाने र संस्कृत पढ्न जाँदा टाई झुन्ड्याई सुटमा सिँगान चुहाउने पनि तिम्रै जिल्लामा जन्मेका छन् । विचित्रको संसारमा विचित्रका प्राणी त हुन्छन् । रछन् । पाइए । तिमीभित्रको कवि भक्कुको राँगो हुन थाल्दा र भएका बखतचै हाम्रो साहित्यले धेरै खती बेहोर्नुपरेको छ । त्यसो नगरे नै लाभ छ ।
“माफिया मतियारलाई अब आतङ्ककारी घोषणा गर” अर्थ पो लाग्छ त हौ हामीलाइ पनि । तिमीले जुन पानामा यो वाक्य छाप्यौ त्यही पानामा डा. दुर्गा पोखरेलको च्यातिएको सिल्क सारी पनि छ । थाहा छ ? त्यो सारी च्यातेको मण्डले गुन्डाहरूले हो । मण्डले गुन्डाले प्रजातन्त्रमा प्रतिबद्ध सतीका सारी च्यात्थे । त्यो बेला तिमी सारी बोकेर चुँदी तर्थ्याै। ती सारी माफियाका मतियारले नै किनिदिएका थिए । यो देशका माफिया र खुफियालाई हामीले पचास वर्षअघिदेखि चिनेका छौं ।
निबन्ध नलम्ब्याउन अब मैझारोतर्फ लागें । घिचेको घिचेकै गर्दा थलैमा पट्ट भुँडी फुटेर मरेका तथ्य घटना भनूँ ? बनारस भन्ने ठाउँलाई काशी भन्थे हाम्रा जिजुहरू । त्यहाँ विद्या पाउन जाने चलन थियो । साह्रै उहिलेका कुरा नभनौं, अहिले पनि छ । त्यहाँ चौबे जात थरका मान्छे पगितो खानेमा कहलिएका छन् । अन्तर्राष्ट्रिय प्रसारणमा अमिताभ बच्चनले पनि चौबेको पगितो खान्कीको खानदानीलाई लिएर उद्घोष गरेथे । चौबेको प्रभावमा हाम्रो नेपाली विद्यार्थी एउटा निस्कियो । बनारसी बनेका जति नेपाली भेला भएर पचास रुपियाँ बाजी राखिदिए । पाँच कुरुवा चिउरा निलिसके पचास रु. उसैको हुने। एक गेडो पनि बाँकी रहेमा एक्लैले पचासै उल्टो तिनुपर्ने, बाजीको सर्त थियो । नुन र पानीको साथमा त्यो सहभागीले सबै चिउरा साप्सुप्पै निल्यो । बाजी जित्ने त्यसको नाम पनि क्षेत्रप्रताप अधिकारी थियो । त्यसैले त्यो रात हन्मतको मृत्यु भयो । पछि चितामा आगोको लप्काले पोल्दै गएपछि उसको भुँडी पड्किँदा पाँचै कुरुवा चिउरा छरपस्ट छरिएथे। नढाडिँदैका फुक्ला चिउरा ढाडिएर फुटेको भुँडीबाट उछिटिंदा अरू मान्छेले चैं खान मिलेन । भोकाभोका मान्छेहरू त्यो चिताको विचित्र मुर्दाको खवाइ सुनेर आफ्नो खोक्रो पेट छामीछामी पनि हाँसिरहेका थिए ।
मैले यति लेखुन्जेलसम्म यस देशका असङ्ख्य बालवनिताहरू खाला पल्टिएका डँडाल्नामा थाम्न नसकीनसकी पनि पसलेका भारी बोकिरहेका सम्झँदै छु । ती जस्तै टिठलाग्दा अनुहारले डँडाल्नुमा थोत्रो डोकोभित्र पटेरेर के-के बोके के-के उनेरुलाई थाहा थिएन । मल्लकालभरिका मूर्ति देखिँदैनथे बाहिर । तर आज यस देशमा असङ्ख्य मूर्तिहरू पञ्चायतकालमै सबै बाहिरिएका छन् । त्यसै समयका राजनीतिले हो बैनीको बालापन वेश्यालयमा लगेको र यो पनि हो कालापानीलाई क्याम्पा दिने मेरा बाबु होइनन् । २००७ मा प्रजातन्त्र ल्याउँदा कसका घर कत्रा थिए । खाओवादकै निम्ति प्रजातन्त्रको हत्या भएको पनि म जत्तिकालाई थाहा छ । ककसद्वारा नाङ्गो डँडाल्नुले भात बाँड्ने आमा मारिइन् । हत्याराको खोजी त अब पो हुन्छ ।
त्यसैले ‘तस्करको लस्कर’ लाई आतङ्ककारी घोषणा गर्ने पालो त ती नाङ्गैनाङ्गा डँडाल्नु हुनेहरूको हो । मैले प्राणायाम गरीगरी पढेको चोखो वेदको मन्त्र भँडाल्नुमा राखेमा सबै चर्पी चोखो हुँदैन । कानेपोखरीका जुको रमाइलो फोडा छ । त्यसमा मारिएका साहित्यकार दिवानसिंह राईसमेतको रगतको माम्री टेक्ने अनिल पौडेल कविसँग बात मार्दा झलझली सम्झें क्षेत्रप्रतापको प्रतापी कविता ‘राजनीति’ लाई । त्यसैले म पो उद्घोष गर्छु “असतोमा सद्गमयः ” ।
(क्षेत्रप्रताप अधिकारीले बहुदललाई ‘भस्मासुर’ भनेर वमन गरेकाले यो निबन्ध लेखेको हूँ ।)
०००
(सुनाखरी, साहित्यिक पत्रिका, २०५९, भाद्र)
Subscribe
Login
0 Comments
Oldest






































