साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नीलूफर मैयाँ

'हजुर । यिनीहरूको आतिथ्य र स्नेह देखेर त मलाई कताकता दुप्पी कटाएर यहीँ बसिदिऊँ जस्तो लाग्यो । नीलूफरले फर्काइन् 'महामहिमज्यू । यस उमेरमा किन दुःख पाउनुहुन्छ ? यी तपाईंको टुप्पी मात्र काटेर कहाँ मान्छन् र ? छानो उडाउने हाँसोको विष्फोट भयो ।

Nepal Telecom ad

धच गाेतामे :

कार्यक्रम अनुसार अझै पाकिस्तान दुई दिन बसेर पर्सिपल्ट मात्र हामीले तेहरान पुग्नुपर्ने भएको थियो । हैदराबादबाट फर्केको भोलिपल्ट झिसमिसेमै रिजालजी, मन्त्री र सचिव लाहोरका लागि प्रस्थान गर्नुभयो । उही दिन फर्कनुपर्ने भएकोले मैले जाने इच्छा गरिनँ । के हेर्नु तीन घण्टामा लाहोर ? त्यसमा पनि केही समय भोज-भतेरमै कट्टा हुने । म बरु कराँची शहर धित मरुन्जेल हेर्छु भनिदिएँ । जाँदाजाँदै प्रधानमन्त्रीले परराष्ट्रका ठिटाहरूलाई आदेश दिनुभयो— तपाईंहरू आज राति नै तेहरानको लागि अग्रिम डफ्फाका रूपमा प्रस्थान गर्नुस् । त्यहाँ प्रेस इत्यादिसित भेट गर्नुभो भने प्रचारको पनि काम हुन्छ । सबै लाखापाखा लागेकाले म एक्लो परें । परराष्ट्रका कर्मचारीहरूले राति एक बजे उड्ने जहाजको टिकटको व्यवस्था गरेका थिए ।

प्रधानमन्त्रीहरू बेलुकी लाहोरबाट फर्केर आइपुगे । भोलिपल्ट हरियो चउरको माझमा बसेर हामी चिया खाइरहेका थियौँ । प्र.म. ले भन्नुभयो- अहिलेसम्म त हाम्रा ठिटाहरू तेहरान पुगिसकेका होलान् । हिजो एक बजेको उडान थियो । यति भन्दा नभन्दै— गौतम साहबका टेलीफोन है, भनेर त्यही हाजीमस्तान करायो । को होला यो कराँचीमा समेत ज्यान फ्याँकेर मेरो धुनपत्तो लगाउने ? कतै काठमाडौबाट त आकस्मिक फोन आएन ? घरको सन्चो बिसन्चो, अनेक कुरा निमेषभरमा खेलाउँदै कोठाभित्र पसेर फोन लिएँ । उताबाट परिचित तर रुन्चे आवाज आयो— गौतम । हामी बडो सङ्कटमा पर्याैं । हाम्रो फ्लाइट छुट्यो । अब के गरी बुढालाई मुख देखाउने ?

म त तिनको स्वर सुनेर झसङ्ग भएँ भर्खर प्र.म. तिमीहरू तेहरान पुगिसकेको हुनुपर्छ भनी बडो प्रसन्न भैरहनुभएको थियो । अब मारेन ? एक त यो भ्रमणदल आफैँ सङ्कटमा थियो, त्यसमाथि अब यो दुर्घटना ? कसरी छुट्यो प्लेन ?’ मैले सोधें । उताबाट ध्वनि आयो- ‘के हुन्थ्यो ? उही त हो नि । गौतम ! प्लीज । केही उपाय गर । हामी अहिले तिम्रो कोठामा आइपुग्दैछौं । म गएर पुनः चियापानमा सामेल भएँ । भेषले सोधे- ‘कसको फोन थियो ?’ ‘एउटा पाकिस्तानी पत्रकारसित हिजो परिचय भएको थियो उसैको फोन रहेछ’ भनेँ ।
के गर्ने यिनीहरूका बारे ? बैङ्कमा बिनसित्ति यात्रा बिथोलिएकोले प्र.म. अत्यन्त चिन्तित भएका र किञ्चित् चिढिएका समेत मैले देखिसकेको थिएँ । त्यसमा पनि मलाई राम दाइले अलमल्याएर रूनु न हाँस्नु पारिसकेका थिए । अहिले यो भुक्तमान आइलाग्यो ।
कोठामा गएको त तीनै जना कालो न कालो अनुहार लाएर बसिरहेका रहेछन् । टेबिल संहिताका विद्यासागरहरू आज टेबिलउपर स्वयम् उत्तानो परेछन् । पाकिस्तानी जहाजमा पाइने छाँट छैन भन्ठानेर यहाँ होटेलमा अलिअलि खाएर जाने भनी बसेको त उठ्नै नसक्ने भयौँ । बल्ल-बल्ल विमान घाटसम्म चार हात-खुट्टा टेकेर पुग्दा प्लेन उडिसकेको रहेछ । जहाज गयो भन्ने सुन्नासाथ हामीमाथि चिसो पानी खत्त्याए जस्तो भयो छङ्ग छाडिहाल्यो नि एउटाले भन्यो । मैले सोधें- प्र.म. ले तिमीहरूलाई देख्नुभो ?

‘देखेका भए त यही चौरमा हाम्रो कब्र खन्ने आज्ञा अहिलेसम्म दिसक्नुहुन्थ्यो । अब हाम्रो शेष आयुर्दा तिम्रै हातमा छ ।’ उनले भने म पनि बडो रनभुल्लमा परेँ । यस सङ्घटबाट जोगाउनको लागि के उपाय गर्ने ? प्र.म. कहाँ झ्वास-झ्वास्ती गएर भन्ने आँट मेरो पनि पुगेन । उहाँ पनि खानपानको रसिया भएको भए केही मात्रामा क्षमाशील हुनुहुँदो हो । बाध्यता नआइलागी उहाँ गिलास उचाल्ने मानिस होइन । तसर्थ म भेषबहादुरको कोठामा गएँ ।

उहाँ अखबार हेररहनुभएको थियो । मैले भनें- ‘मन्त्रीज्यू, त्यस छापामा कुनै खबर पाउनुहुन्न, हेडलाइन त मसित छ । अनि सबै कुरा उहाँ सामु ओछ्याइदिएँ । भेषजी पनि टाउको समाएर थुचुक्क बस्नुभो । भेषबहादुर अलि उत्तेजित हुनुभयो यति उच्चस्तरीय शिष्टमण्डलमा आएका परराष्ट्रका अफिसरले नै जाँड खाएर प्लेन छुटाइदिए भन्ने कुरा पाकिस्तानका मानिसले सुने भने के पो भन्लान् ? अब तिनलाई अगाडिको यात्रामा लग्नुसट्टा लोतेकान लाएर काठमाडौ फर्काइदिनु उचित होला । यस्तो निम्नस्तरको समस्या लिएर बूढा कहाँ कुन मुखले म सिफारिश गर्न जाऊँ ? म केही नबोली मौन धारण गरिरहेँ । एक छिनमा उहाँ आफै नरम हुनुभयो- ल जाऊँ, पहिले जर्साब कहाँ गएर कुरा गरुँ ।

ज. पद्मबहादुर खत्री दाह्री काट्दै हुनुहुन्थ्यो । त्यहाँ मैले केही उच्चारण गर्नुपरेन । सबै परिपाठ अर्थमन्त्रीले नै लाए । छलफलको क्रममा, प्र.म. लाई कुनै अरू नै कारणले गर्दा प्रस्थान गर्न नसकेको भनिदिने हो कि भन्ने विचार पनि नआएको होइन । तर पछि जो भएको हो त्यो सत्य कुरा भनिदिनु श्रेयस्कर हुनेछ । भनसुन गर्याे भने उहाँले पनि कठोर निर्णय लिनुहुनेछैन होला भन्ने राय कायम गर्यौं ।

अघिअघि भेष थापा, त्यसपछि परराष्ट्र सचिव र पछिपछि म लागेर तीनै जना प्र.म. को कोठाभित्र पुग्यौँ । तीनै जना साथै आउनुभो – अर्को मिनी शिष्टमण्डल लिएर आउनुभएको त होइन ?- प्रमले ठट्टा गर्नुभयो । मन्त्रीले त्यतिखेर नै कुराको फुर्को समाएर भन्नुभयो- ‘हो हजूर । यस्तो खण्ड खाँचो पर्याे कि यो शिष्टमण्डल यहाँ नल्याई सुखै पाइएन । सबै कुरा प्र.म सामु उहाँले नै खुलस्त पारिदिनुभयो । जर्साबले भन्नुभयो- ‘परदेशमा हजूरले किन तिनलाई गाली गरिरहनु ? जे गर्ने घर फर्केपछि म गरुँला आज बिहानदेखि नै प्रधानमन्त्री बडो प्रसन्नचित्त हुनुहुन्थ्यो । त्यस कारण हामीले जति सोचेका थियौँ त्यति कठोर प्रतिक्रिया देखाउनु भएन । सोध्नुभयो- अहिले ती कहाँ छन् ?”

मैले भनेँ- ‘मेरो कोठामा दुःखमनाउ गरेर बसिरहेका छन् ।’ प्र.म. ले भन्नुभयो- ‘डाक्नुस् ती सबैलाई । हामीलाई आश्चर्य लाग्यो । यत्रो घटना भएर पनि प्र.म. को स्वरमा कुनै आक्रोश थिएन । उहाँले यसलाई यति हलुकातवरबाट लिनुहोला भन्ने हामीले सोचेका थिएनौ ।
ओ ल हिँड, तिमीहरूलाई बूढाले बोलाएका छन् ।’ भन्दै म कोठाभित्र पसें । ती पोडेसित भाचाखुसी गए जस्तै मेरो पछिपछि लागे ।
प्रधानमन्त्रीले आफ्नो उदारताको लागि ठूलो यश पाउनुभयो । उनीहरूले भित्र पस्नासाथ भने- ‘सर, हामीबाट ठूलो अपराध हुन गयो । त्यसको लागि हामी क्षमा माग्दछौँ ।’ प्रधानमन्त्रीले हाँस्दै भन्नुभयो- ‘अस्ति हामी आएको पाकिस्तानी जहाजमा त सर्भ गरेको देखेको थिएँ । प्लेन उडिसकेपछि माथि जति खाए पनि तपाईंहरू गन्तव्यमा पुगिहाल्नुहुन्थ्यो । कसैले थाहा पनि पाउने थिएन । तपाईंहरू तलै किन हतारिनुभो ? ल भैगो अबदेखि त्यसो नगर्नुहोला ।

यस उदारताबाट ती सब बडो कृतकृत्य भएर फर्के । त्यस समूहमा एक जना मल्ल जर्नेलका ज्वाइँ पनि थिए । मल्ल सैनिक सचिव थिए भने उनका छोरा राजाका पार्श्ववर्ती । यो तन्तु राजासम्म तानिएको हुनाले यस बारे सकारात्मक वा विपरीत प्रभाव राजदरबारभित्र समेत भोलि पर्न जाने पूर्वानुमान गरेर रिजालजीले त्यो औदार्य देखाउनुभएको हो, अथवा उहाँको यो स्वभावगत स्वतःस्फूर्त क्षमाशीलता हो ? यो प्रश्न मेरा लागि अनुत्तरित नै रहयो ।

भोलिपल्ट अर्थात् ५ जनवरीका दिन सबै जना साथै तेहरान पुग्यौँ । शिष्टमण्डलमा पाकिस्तानका लागि राजदूत रहनुभएका खड्गमानसिंह थपिनुभयो । हामी पाकिस्तानमा भएसम्म दूतावासका प्रथम सचिव साथ थिए । पछि तेहरानको लागि प्रस्थान गर्ने बेला खड्गमानजी इस्लामावादबाट आइपुग्नुभयो ।

अघिअघि खड्गमानजीसित मेरो धेरै चिनजान थिएन । एकतन्त्री शासनका विरोधी भई बीस वर्षको जेल यातना सहेर निस्कनुभएकोले उहाँलाई नामबाट नचिन्ने कोही थिएन । बरु उनकी पत्नीसित मेरो निकटता थियो । बिहा नगर्ने अठोट लिएका साधु जीवन बिताउने मानिसलाई राजा त्रिभुवनले कर लाएर प्रजाराज्यलक्ष्मी सिंहसित प्रणय सूत्रमा बाँधिदिए । प्रजाराज्यलक्ष्मी राष्ट्रिय पञ्चायतकी सदस्या थिइन् र पछि उपाध्यक्ष पनि, जहाँ म उपसचिव थिएँ । प्रजाराज्यलक्ष्मी सिंहमा आभिजात्यको अहम् र पदीय गरिमाको गर्वबोध थियो । गहिरो लिपस्टिक लाएकै ओठले लामो चुरोट तानेर कार्यालयमा बसिरहन्थिन् । यति भएर पनि मैले उनलाई मन पराउने कारण थियो-
अट्टहास गरेर बात नै पिच्छे हाँस्ने उनको बानी । निर्झर जस्तो खुला हाँसोले उनका केही विकृतिलाई बगाएर लगिदिन्थ्यो । उनी निःसन्तान भइन् र एक शिशुलाई आफ्ना पोस-पुत्र तुल्याइन् । पछि क्यान्सरपीडित भएर उनको देहावसान भयो ।

खड्गमान सिंहसित मेरो निकटता ०१९ सालमा भयो, जब म खड्गबहादुरसित पच्छिम नेपालको दौडाहामा गएको थिएँ । खड्गमान सिंह त्यसबखत भेरी अञ्चलको अञ्चलाधीश हुनुहुन्थ्यो र भाषण गर्दा त्यहाँको जनसमुदायलाई भन्नुहुन्थ्यो- ‘तपाईंहरूले भेरी अञ्चललाई भेरीगुड बनाउनुपर्छ । सारै सरल र निस्कपट मानिस, तर ठट्टा र हाँसो गर्नमा बिछट्ट । म पनि हास्यप्रिय मानिस भएकोले उहाँको मेरो संस्कृति-संस्कारमा निकै र्याङठ्याङ मिलेको थियो । उनी चुरोट निकै खान्थे तर रक्सीदेखि आजन्म मुख बारिराखे ।

मलाई देखेर खड्गमान सिंह बडो प्रसन्न भए । म त गोतामे सितै बस्छु, यिनीसित रहँदा बडो आनन्द आउँछ । भनेर जहाजमा पनि मैसित टाँस्सिएर यात्रा गरे । प्रधानमन्त्रीले ठट्टा गर्नुभयो- जानुस्, जानुस् । एक छिनपछि गोतामेको मुख गन्हायो भनेर यता नआउनुहोला। त्यसको मुकाबिला गर्ने हथियार भिरेरै आएको छु- चुरोटको मुस्लो धूवाँ झिकेपछि गोतामे परास्त हुन्छ । मलाई थाहा छ उसको बानी । हामी सबै हाँस्न थाल्यौँ ।

बिहान तेहरान पुग्दा यही पाँच-छ बजेको हुँदो हो । छालाको ज्याकेट लाएर प्रधानमन्त्री होबिदा स्वागतार्थ विमान घाटमा आएका रहेछन् । पाकिस्तानलाई हेर्दा, त्यो देश दरिद्रताको कन्था ओढिराखेको भारत वा नेपाल जस्तो देखिन्थ्यो । तर इरानको छवि बेग्लै थियो । चारैतिर सम्पन्नताको सुवास मगमगाइरहे जस्तो ।

प्रधानमन्त्री होविदा उमेर ढल्किसकेका वयस्क मानिस रहेछन् । बडो विनोदी स्वभावका । कृष्णप्रसाद भट्टराई जस्तै ठाउँ पायो कि मानिसहरूलाई कुनै न कुनै टुक्का हालेर हँसाइहाल्ने । हामीकहाँ चन्द्रशमशेर, जुद्धशमशेर जस्ता प्रधानमन्त्रीहरूले कृत्रिम रूपमा धारण गर्ने गाम्भीर्य, सदा खैजडीमा कसिराखेको छाला जस्तै तनावयुक्त तमतमाउँदो अनुहार, गरीब प्रजाले टालेको सुरुवालमै तुर्क्याउने गरी झिक्ने क्रोधयुक्त व्याघ्रचीत्कारमा आफ्नो रवाफ र पदीय गरिमाको जुन नापो छाडेर गए, त्यसको धङधङी आजको लोकतान्त्रिक व्यवस्थामा पनि आंशिक रूपमा विद्यमान छ । बडो प्रत्युत्पन्न बुद्धि भएका मानिसले मात्र हास्य र व्यङ्ग्य समयानुकूल अभिव्यक्त गर्न वा लिपिबद्ध तुल्याउन सक्छ । निःसन्देह यो एक कठिन विधा हो र लरतरोका लागि यो चिया कपजस्तो सरल पेय पनि होइन । आमसभामा चश्मा पुछ्दै हाम्रा भू.पू. प्रधानमन्त्रीले सभामा बसेका सुन्दर महिलाहरूको अनुहार राम्रोसित हेर्न सकूँ, त्यसैको लागि आफ्नो चश्मा पुछ्दै छु भन्नुमा कुनै हलुकापन छैन । बरु उहाँको यस विनोदपूर्ण उद्गारको प्रशंसा गर्न सक्ने बानी हामीमा हुनुपर्याे । जुद्धशमशेरको कुसंस्कारको मानसिक दुवानी गर्नुबाट अनिमात्र हामी मुक्त हुन सक्छौँ ।

होविदा प्रधानमन्त्रित्वको अहङ्कारले कहिलै पीडित देखिएनन् । विमान घाटबाट फर्केको दुई घण्टापछि उनी हामीसित भेटघाट गर्न आए । हामी एक राम्रो र चिट्ट परेको अतिथि गृहमा राखिएका थियौँ । होविदालाई इरानका शाहले एक सानो हेलिकोप्टर दिएका रहेछन् । पेट्रोल सस्तो हाम्रो झन्डै दश पैसामा एक लिटर आउने भएकोले सडकमा गाडीहरू बेहिसाब कुदिरहेका हुन्थे । गाडीबाट हिँड्दा उनलाई धेरै समय लाग्ने भएकोले नै उनी कहीँ जानुपर्दा दुई जनाको मात्र क्षमता भएको सानो हेलिकोप्टरको सवारी गर्थे, हामीसित भेट गर्न पनि त्यसैमा आएका थिए । उनी प्रधानमन्त्री भएको यो नवौँ पटक थियो । एघारौँ पटकको प्रधानमन्त्रित्वकालमा उनको जीवन गोली खाएर समाप्त भयो ।

अत्यन्त विनोदी स्वभावका झन्डै जोकर होलान् जस्ता इरानी प्रधानमन्त्री यति देशभक्त र प्रजातन्त्रवादी थिए कि इरानमा विद्रोह हुने डरले स्वयं शाहले यिनलाई मृत्युदण्ड सुनाएर जेल पठाउनुपर्याे । तर होविदाको इमानदारी, कार्यकुशलता र शाहप्रतिको भक्तिले गर्दा एक निर्दोष र सोझा प्रधानमन्त्रीलाई आफू सुरक्षित हुन बलिको बोको बनाउन लागेकोमा शाहको अन्तरात्मामा होविदाप्रति दयाभाव जागृत भएर आयो, गएर होविदालाई सुटुक्क रातारात उडेर विदेश जा, मैले हवाइजहाज एक रात  कालकोठरीभित्र तयार पारेर राखेको छु । मसित हिँड म स्वयं तिमीलाई उडाएर फर्कन्छु भने । तर उनले मानेनन्- विदेश भागेर जान्नँ । मैले केही बिराएको छैन । बरु आफ्नै देशमा मर्छु भने । त्यसको तीन-चार दिनपछि होविदालाई गोली ठोकेर मारिदिए ।

इरानको आतिथ्य अभूतपूर्व थियो । अरू परिकारभन्दा पनि मलाई भुटेको भातको माम्री बडो मन परेको थियो । त्यहाँको राष्ट्रिय परिकारमध्ये रहेछ यो । केटाकेटीमा बासीभात भुटेर घरमा खाएको सम्झेँ । भातको पिँधमा टाँस्सिएर माम्री बनेको रातो भातको लागि दाजुभाइमा को खाने भनी कुस्तमकुस्ती परिरहन्थ्यो । त्यही माम्री कलपदार कपडाको थान जस्तै ल्याइन्थ्यो र कैचीले काटी काटी नरम पुलाउमाथि टोपी लाए जस्तै पस्किदिन्थे । आलुचिप्स जस्तै नौनीमा तयार पारिएको कुरुम कुरुम गर्ने माम्रीका लागि म त्यहाँ पनि हुरुक्क हुन्थेँ ।

होविदाले हामी पुगेकै दिन रात्रिभोजको आयोजना गरे । भोजमा एउटा अनौठो घटना घट्यो । म हातमा ह्विस्कीको गिलास लिएर स्थानीय पत्रकारहरूसित कुरा गर्दै थिएँ, एउटा सङ्गीतमय ध्वनि आएर कानमा ठक्कर खायो- गौतम दाइ । ओ धनुष दाइ । कस्तो नसुनेको ? यता त हेर्नुस् एकछिन पहिलो सम्बोधनमा सुनें, तर पत्यार लाग्ने कुरै थिएन । अनकन्टार विदेशी भूमिमा मलाई डाक्ने को हुनसक्छ ? पक्का मिश्रित भाषिक कल्याङमल्याङले गर्दा, बादललाई हेरिरहँदा हात्ती लागे जस्तै मलाई नारीकण्ठको सम्बोधनको झस्को परेको हुन सक्छ । तर तारन्तार नाम लिएर बोलाइरहँदा फर्केर हेरें । एउटी इरानी केटी उभिएर अलि बढी नै हाँसिरहेकी थिई । हाम्रो सामाजिक नाप-तौल अनुसार अलि उत्ताउलै किसिमबाट उसको हाँसोको पर्रा छुटिरहेको थियो- ‘के हेरिरहनुभएको ? मैले तपाईंलाई नै डाकेको हो । ती सरकारी पत्रकारसित के कुरा गर्नुहुन्छ, म तपाईंका प्रश्नहरूको सही उत्तर दिन सक्छु । म क्षमा मागेर उनीतिर गएँ ।

उनलाई देखेर म अवाक भएँ । यति रूपवती केटी मैले औंलामा गन्न सक्ने गरी मात्र देखेको छु । पूर्वीय थिई यो इरानी बाला । महेन्जोदारो र हरप्पाको भग्नावशेषमा सुतिरहेको आर्य दुहिता यस रात्रिभोजमा अएर सशरीर उभिएजस्तो लाग्यो । सेतो इटालियन, वनपीस मार्बल कुँदेर बनाइएजस्ती थिई । नमस्कारको आदान प्रदान पछि भनेँ- मेरो त नाम मात्र होइन तीन पुस्तेसमेत थाहा पाइसक्नुभएछ । कहाँ साेधेर  यो सब हात पार्नुभयो ? तपाईंको नाम म तपाईंबाटै सुन्न चाहन्छु । ती कुनै अदब नमान्ने हिप्पी परिधानमा सजिएकी केटीको नाम रहेछ— नीलूफर । उनले हाँस्दै भनिन्- तपाईंहरूसित आएका मेजर साहेबसित सोधेर तपाईंको नाम थाहा पाएको हुँ ।“
‘यति मीठो नेपाली बोल्न कहाँ सिक्नुभो ?
म छ महीना काठमाडौ बसेर आएकी हुँ । बलराम ‘श्रमजीवी मेरा गुरु हुनुहुन्छ । उहाँबाटै मैले नेपाली भाषा सिकेकी हुँ । काठामाडी कस्तो लाग्यो ? छ महीनासम्म त्यहाँ किन बस्नुभएको ? मलाई गिरीश वल्लभबारे मदन पुरस्कार पुस्तकालयमा खोजी गर्नु थियो । ६ महीना मैले पुस्तकालयमै व्यतीत गरेँ। गिरीशवल्लभ नेपालीभाषाका पहिला उपन्यासकार हुन् । उनको उपन्यास मैले पनि पढिसकेको छु । पोशागत रूपमा उनी वैद्य थिए, तर उपन्यास लेखेर उनले नाम कमाए मैले भनें ।

गिरीशवल्लभवारे तपाईंलाई पनि थाहा रहेछ, मलाई खुशी लाग्यो । दुई-तीन महीनापछि म काठमाडौ जाँदै छु । उनको घर र सन्तानहरू बारे खोजी गर्नमा म तपाईंको सहायता लिनेछु । तपाईं मलाई बिर्सनु त हुन्न ? मैले ठट्टा गरे इरान आएर भेट्टाएको कोहीनूरलाई कसैले बिर्सिन सक्छ ?

उनलाई मैले लगेर प्रधानमन्त्री रिजालसँग परिचय गराएँ। होविदा पनि साथै उभिरहेका थिए । उनले भने यो केटी मेरी साली हो, तर मलाई घृणा गर्छे र बोल्न पनि मन पराउँदिन ।

रिजालले नीलूफरलाई आग्रह गर्नुभयो- मैयाँ, मेरो अनुरोध मानेर आजदेखि यो बुढासित बोलिदिनुस् । रिजालले गुन्दुक र सालीको पुरानो उखान हाल्दै दुवैको हात मिलाउन लगाइदिनुभयो । सरल प्रकृतिका होविदा धेरै वर्षपछि सालीसित सन्निकट हुन पाएकोमा यति प्रसन्न भए कि धन्यवाद दिंदै रिजालको गालामा म्वाई खाइदिए । मैले रिजाललाई कानमा भने हामी यहाँ बसुन्जेल यिनलाई शिष्टमण्डलसित राख्ने स्वीकृतिका लागि इरानी प्रमसित अनुरोध गरौँ कि ? होविदाले सहजै स्वीकार गरे । भोलिपल्टदेखि नीलूफर हाम्रै सगोलमा मिसिएर हिँड्न थालिन् र यो क्रम हाम्रो भ्रमण समाप्त नभएसम्म रहिरह्यो । नीलूफर शाहको व्यवस्थाको कट्टर विरोधी थिइन् । इरानको वस्तुनिष्ठ परिचय हामीले उनैबाट प्राप्त गर्दै गयौँ ।

अब विनोदी स्वभावका ठट्टालुहरू हामी तीन जना भयौं। नीलूफर महिला भए पनि ठट्टा गर्नमा कोहीभन्दा उन्नाइस थिइनन् । एक पटक हामी बिहानको स्वल्पाहार गर्नको लागि भोजन कक्षमा टेबिलको वरिपरि टन्न बसेका थियौँ । राजदूत खड्गमान सिंहले प्रधानमन्त्रीतिर हेरेर ठट्टामा भन्नुभयो– ‘हजुर । यिनीहरूको आतिथ्य र स्नेह देखेर त मलाई कताकता दुप्पी कटाएर यहीँ बसिदिऊँ जस्तो लाग्यो । नीलूफरले फर्काइन् ‘महामहिमज्यू । यस उमेरमा किन दुःख पाउनुहुन्छ ? यी तपाईंको टुप्पी मात्र काटेर कहाँ मान्छन् र ? छानो उडाउने हाँसोको विष्फोट भयो ।

त्यस बेलाको, भरभराउँदो उमेर भएकी नीलूफर ऐले कहाँ होलिन् ? उनको प्रगतिशील विचारधाराले त्यसबखतको उदार अधिनायकवादी व्यवस्थालाई त सहन सकेको थिएन भने पछिको धार्मिक अधिनायकवादीको प्रतिक्रियावादी अन्धकार युगमा उनी कसरी सास लिइरहेकी होलिन्, जहाँ लेखकको टाउको काटेर ल्याउनेका लागि करोडौंको पुरस्कार प्रदान गर्ने फतवा घोषणा
गरिन्छ ।

नीलूफर केही महीनापछि काठमाडौं आइन् । म गौचर विमान घाटमा लिन गएको थिएँ । केही दिन साथै काठमाडौंका गल्ली गल्छेडाहरू पनि चहार्याैं । तर व्यस्तताले गर्दा धेरै साथ दिन सकिनँ । म जिल्लातिर गएको बखत, इरानको राजनीतिक हलचल सुनेर एकाएक उनी स्वदेश प्रस्थान गरिछन् ।

काठमाडौ आएपछि यस औपचारिक भ्रमणको कार्यक्रम बिथोल्ने तत्त्वको रहेछ भनी पत्तो लाउँदा मुख्य दोषी दिल्लीस्थित राजदूत कृष्णबम मल्ल देखिए । कुनै रात भोजभतेरबाट दूतावास फर्कदा मूलद्वारको दरबानले इरानी दूतावासबाट पठाइएको एउटा खाम दिएछ । उनले त्यसबखत खाम खोतल्ने र भित्रको संवाद पढ्ने चेष्टा गरेको भए हामीले अरण्य रोदन गर्दै व्यर्थमा दुई-तीन दिन बैङ्कक बस्नुपर्ने थिएन । तर त्यो पत्र त उनले बिहानीपख फुर्सतसाथ खोलेर ‘लौ मार्याे ।’ भन्दै प्रमुख शिष्टाचार महापाललाई टेलिफोन गरे, जुन प्रसङ्ग अगावै वर्णित भइसकेको छ । आफ्नो बेलै नसकी मल्लज्यू राजदूत पदबाट हट्नुभयो । यता परराष्ट्र मन्त्रालयका सहसचिव माधवकुमार रिमाल, जो खाडी देश र भारतसमेत हेर्ने अधिकृत थिए, निर्दोष भए तापनि परिबन्दमा परेर जगेडामा फ्याँकिए ।

सबै ठाउँको तिथिमिति परिवर्तन गर्दा हो वा उनीहरूको आन्तरिक विग्रहको कारणले हो श्रीलङ्का र बाङ्गलादेशले भ्रमण स्थगित गर्न अनुरोध गरे । हामी त्यहाँ जान पाएनौ ।

पुछारमा, यस भ्रमणबारे काठमाडौका बुद्धिजीवीहरू बीच बहुप्रचारित एक ठट्टा- ‘श्रीलङ्का र बाङ्गलादेशका प्रधानमन्त्रीहरूको आयु लामो रहेछ । रिजालजीले तीसँग पनि हात मिलाएका भए ती फाँसी चढ्थे वा तातो गोली खान्थे ।’

०००
कालान्तर (२०५३)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nawa Raj Khatiwada
Nawa Raj Khatiwada
9 months ago

पेट वटार्ने गरी हाँसो र मलामी-गाम्भिर्यको अन्तर्यलाई मिसाएर रोचक शैलीमा संस्मरणात्मक निबन्ध लेख्न सक्ने सामर्थ्य भएका व्यक्ति थिए धच गोतामे। प्रतिकूल परिस्थितिमा पनि कलम चलाएर, नेपाली साहित्यमा हामी जस्ता पाठकहरूका लागि यस्ता मूल्यवान रचनाहरू उपहार दिने उनी जस्ता मूर्धन्य स्रष्टालाई साधुवाद!

Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
1
0
Would love your thoughts, please comment.x
()
x