तिलक राईसंसारका पुड़केहरू…
'गुलिभरको यात्रा', 'स्नो ह्वाइट' र 'सात पुड़के' आदि दिएर विश्व साहित्यलाई अझ सुन्दरी तुल्याउने महान् कलाकार भ्यानगग् र विरेन्द्र भई निस्के यिनै पुड़के मोराहरू । धन्य हुन् यी पुड़केहरू...!!

तिलक राई :
“जो होचो उसको मुखमा घोचो” भन्ने आहान आज अक्षरसः असत्य प्रमाणित भएको छ। यो युग ता अणुको युग हो। हेर, यो सानो अणुमा कति ठूलो शक्ति छ-सम्पूर्ण विश्वलाई पराजित गर्ने। अणुको नाम मात्रले सारा विश्वमा भूइँचालो जान्छ। यसैले “नपत्याउने खोलाले बगाउँछ” भनी अणुलाई सहयोग गर्दै अर्को उक्ति उफ्रिउठ्छ । इतिहास साक्षी छ, यस्तै मानव अणुहरूले यहाँ गर्नुसम्म गरेर गएका थिए। पुड़के नेपोलियनको उपद्रो सहन नसकी समग्र विश्व रोएका थिए। विश्वलाई शान्ति र अहिंसाको मन्त्र सिकाउने अर्का जब्बरस्वाँठ पुड़के थिए-लालबहादुर शास्त्री। हिटलर यस्तै अर्का पुड़के थिए जसले यहूदीहरूलाई पानी खेदो गरी मारेका थिए-साधु बिरालोले मुसाहरू निमिट्यान्नै पारेझें। चर्चिल अर्का पुड़के थिए-जसको करामातले इतिहासका पृष्ठहरू भरिएका छन् राजनीतिका राक्षसहरू थिए यी पुड़के मोराहरू ।’
यसरी मलाई पुड़केहरूको तारिफ गर्न मन लाग्छ एउटा प्रेमीले प्रेमिकालाई प्रशंसा गरेझैं। पुड़कोपना, हाइटको ‘इकोनोमि’ – ले गर्दा नै आज नेपालीहरू विश्वमा वीर नेपाली भनी दिख्यात भएका छन्। राइफल र एकजना गोर्खा सिपाहीको उत्नाइँमा बरु राइफल अग्लो होला ! र पनि ता युद्धमा यी पुड़के गोर्खाहरू साँच्चै काल भइदिएका छन्-हिमालजस्तो अग्ला शत्रुहरूको निम्ति ! लड़ाइँमा शत्रुहरूले बन्दुक, राइफल, भिसाइल नै किन नहानुन् तर पुड़केहरूका निमित्त त्यो हावाको गोली जस्तो मात्र हुन्छ। छोटो-मोटो, डल्लो-पुड़को गोर्खा सिपाहीको देब्रेर दाहिने, माथि र तलबाट आफै तर्कि जान्छन् ती वुलेटहरू । लौ हेर्नुहोस् हाम्रो नेपाली ‘हाइट’- को चमत्कार।
यसैले जिलिगान्टे नेपालीलाई एउटा ‘क्वालिफाइड’ सिपाही भनी दुनियाँले चिनेकाछन् यस्तो ‘राइफल’ हाइट भएका पुड़केहरूको अर्को एउटा रेजिमेण्ट- ‘जिलिगान्टे गोर्खा रेजिमेण्ट’ स्थापित गरे सरकारलाई ठूलो सहयोग र मदत हुनेछ। तिनीहरूको ‘हाइट’ देखेर नै दया र मायाले भरिनेछन् दुश्मन मोराहरूको हृदय । नानीहरू आएछन् भनी त्यसै त्यसै क्षमा गर्नेछन् ती पुड़केहरूलाई । लौ हेर्नुहोस् गोर्खा ‘हाइट’ को फाइदा। यो ता भयो सामरिक क्षेत्रमा मानव अणुको फाइदा !
आर्थिक क्षेत्रमा पुड़केहरूले उस्तै फाइदा उठाएका छन्। यस्तो महङ्गोको समयमा एक थरिका मानिसलाई मात्र फाइदा भएको छ-त्यो हो ‘पिग्मी हाइट’ हुनेहरू। एउटा ‘फुल साइज’ मान्छेलाई एक थाल भातले पनि राम्रो पेट भरिदैन । कति… समस्या…। तर एकजना पुड़केलाई एउटै मुरैको डल्ला काफि ! पेटभरि खाएर पनि उग्रन्छ त्यो मुरैका डल्ला-बेलुकीको खाजालाई।
कति फाइदा… कति मज्जा पुड़को हुनुमा ! अघाएका मान्छे जहिले पनि ‘चियरफुल’ हुन्छ-‘चेरीको फूल’ जस्तो। यसैले पुड़केहरू हर समय वसन्त बोकी हिँड्छन् आफूसँग। एक गज लुगाले कोट-प्यान्टदेखि लिएर भोटो, अण्डर-वेयर र टोपीसम्म पुग्छ एकजना पुड़केहरूलाई! यसैले ता ‘एभर ग्रीन (चिरहरित्)’ पट्टीले सजिएका छन् यी पुड़के मोराहरू-हिमालयका फेदमा उम्रिने-बाहैमासे हरियो हुने बुच्का गुराँसजस्तो। यसैले म ईर्ष्यालु भइदिन्छु यी पुड़केहरूका ‘हाइट’-मा। छोराहरूदेखि लिएर नातिसम्मको लुगा ‘फिट्’ हुन्छ यी पुड़के मोराहरूलाई। कस्तो ‘फ्रि’ साइज शरीर यी मोराहरूका ! कल्पना गर्नुहोस् यी ‘अन्डर’ साइज बाजेहरू आधुनिक नातिको ‘बेलबटन’ प्याण्ट र ‘गोगो’ सटिङ्गमा सजिएर भौंतारिँदै चोकमा हिँडेका कति रमाइलो दृश्य ! ठूलो गतिलो ‘डनलप्’ बेडहरूको आवश्यक्ता किन पर्थ्यो यी बाउन्नेहरूलाई? सधैं लड़ने डर हुन्छ अग्लो पलङबाट । कोक्रोमा सुत्यो नातिसँगै, वस समस्था हल। ठूलो हुनु जतिको साहो छ सानो हुनु उत्तिकै सजिलो !
गर्नुसम्म उपद्रो गर्छन् यी पुड़के मोराहरूले। पुलिसहरू खेदै आए आँगनमा ‘मेस्कल’ खेलिरहेका नानीहरूको झुण्डमा पसिदिन्छन् । तालिम प्राप्त पुलिस अफिसरहरू पनि सेकेण्ड…। यस्तै छ पुड़के जनरलहरूको करामात! यात्रामा पनि यी पुड़केहरूले चैन नगरेका होइनन्। ‘टिन एजर’ बनी ‘हाफ टिकट’ काटी मज्जाले यात्रा गर्छन् यी पुड़केहरू । अँ, मधेशको ठूलो रेलमा भने चढ़न र ओर्लिन समस्या भएको छ यी अणु मानवहरूलाई। टिकट चेक् गर्न सिटि फुक्दै टि.टि. आए झ्यालदेखि बाहिर हेरि दिन्छन् यी पुड़केहरू आफ्नो छिप्पिएका अनुहार लुकाउन । वस् टि.टि. पनि सेकेण्ड ।
हामी राईहरूका सामु ‘हाइट’ को ता कुरै नगरे परि हुन्छ। ‘युर’ झर्रा राईहरूका हाहट ‘तोड्वा’ साइजको हुन्छ। सुनेको कुरा… उहिले-उहिलेका राई बूढ़ाहरू छिप्पिएको भालेमा चढ़ी यात्रा गर्थे र…। बारीमा काम गर्दा पानी परे निर्धक्क ओत लाग्थे रे माने र पिँडालुका पातमनि! बेलुकी अगेना वरिपरि गफ हाँक्दा बाजे नाति ठिम्याउन चर्को पर्थ्यो रे- ‘हाइट’ मा भुलेर। राईहरूमा भुलेर म चाहिँ ‘गुलिभर’ भइसकेको छु। ‘गुलिभरको हाइट’ पाएर म खुशीभन्दा बढ़ता दुःखी नै छु-किनभने भालेको सवार गरी मैले पुतलीसँग युद्ध गर्नु सकिनँ। मानेको पात ओड़ी पानी-झरी छेक्दै ‘रविन्सन क्रुसो’ सँग होड़ गरी ‘वाल्ट डिस्नी’ लाई परास्त गर्नु सकिनँ। यसैले म दुःखी छु-मेरो हाइटमा। आफूले रुचाएका कुरोको उपलब्धि नहुँदा त्यसमा धेरै अवगुणहरू देखिन्छन्-मैले तोड्या हाइट नपाउँदा देखेझैँ ! ठूलो भीड़मा ता नगए पनि हुन्छ यी पुड़केहरू। भीड़मा किची मर्छन् यिनीहरू-साना नानीहरूझैँ ! ठूला-ठूला मेला र चाडमा ता काँधमा बोकी घुमाए मात्र सुरक्षित रहन्छन्-यी पुड़केहरू।
जिलिगान्टे सरहरूले उफ्रि-उफ्रि ‘ब्ल्याक बोर्ड’ नभेट्दा निर्दोष विद्यार्थीहरूलाई ‘डस्टर’ को झटारो हानी ‘क्लास’ छाड़ी निस्केका पनि नसुनिएको कुरो होइन। जिलिगान्टे ड्राइभरहरूले गाड़ी हाँक्दा ‘क्लच’ र ‘एक्सिलेटर’ मा खुट्टा नपुग्दा ‘एक्सिडेण्ट’ गरी धेरैको अपहत्या गरेका कुरो पनि उस्तो असम्भव लाग्दैन। यस्तै जबरजस्ती र ढीट हुन्छन् यी चन्दनेहरू। यसैले प्रेम गर्न लागिसकेछु मेरै ‘हाइट’ – लाई म ता।
अग्लो ठाउँमा भएको कुरा झिक्न वा राख्न लाए खिसी गरेझैं हुन्छ यी पुड़केहरूलाई ! रीस र लाजले अझ पुड़किन्छन् यी पुड़केहरू-मरिच आफ्नो रागले आफै चाउरिएझें। छोरोले नचिनेर आफ्ने पुड़के बाबुलाई हपार्दा संसार त्यागी सन्यास पसेका छन्-यी पुड़केहरू बुद्ध र महावीर बनी। केटाकेटी सम्झी घरकै कुकुर विरालासम्मले टेर्दैन बरु धम्काउँछ यी पुड़केहरूलाई। कति दुःखपूर्ण संसार। वर्खा झरीमा ब्रह्मपुत्र हुन्छ घर अघिको नाली- यी पुड़केहरूलाई। पाँचै ऋतुमात्र होस् भनी अर्जी चढ़ाएका छन् रे वरुण देवलाई यी गान्टेहरूले ।
अग्ली स्वास्नी पाए झुण्डेर सेरेर मरे पनि भयो-यी पुड़केहरू। अग्ली श्रीमतीले पुड़के श्रीमानलाई हात समाती हिँड्दा-आमाले छिप्पिएको बाबालाई हावा खुवाउन लगेझैं देखिन्छ। धन्य ईश्वर! यो ‘वद्भिस्मत’ देखि उन्मुक्त छु म ता।
म भन्छु यी पुड़केहरू एक्लै कहिले पनि यात्रा नगरुन्। यात्राको थकाइले मस्त भएछु म ता। ढोकाको ‘की होल’ नभेट्टाएर एक रात होटेलको ढोका अधि नै विताएका छन् मेरा पुड़के साथीले। भोलिपल्ट साहै नरमाइलो लाग्यो मलाई-साथीले दुःख पाए कहाँ होइन तर तिनको ‘की होल्’- सम्म नभेट्टाउने ‘हाइट’-को पुड़कोपनामा ! के मज्जाको छ यो संसार !
प्रकृतिको पवित्र देन माया-पिरतिदेखि पनि वञ्चित छन् यी जिलिगान्टेहरू ! टुप्पीसम्मै वैंश आए पनि कुनै तरुणीले हेर्ने होइन यी पुड़केहरूलाई। जवानीको विज्ञापन ‘डण्डीफोर’ – ले निधारै फोरे पनि कुनै तरुणीले पत्याउने होइन यी पुड़केहरूलाई। कुनै केटीले जिस्काए मुटुने छेड़ने शब्द सुनिन्छ-‘यो भाइ, चाहिँ किन तन्नेरी भा ‘को!’ यसैले धेरैजसो पुड़केहरू ‘ब्याचलर’ नै छन्-फ्रेम फुटाएर निस्कन लागेका हनुमानौं। म पनि त्यति भन्छु-जीवनमा कहिल्यै विवाह नगरून् यी पुड़केहरू । अमाजन स्त्रीले काखमा राखी घोप्टो पारी आफ्नो पुड़के पतिदेवलाई पिँधमा पिटेको दृश्य कति विषादपूर्ण देखिन्छ । त्यो दुःखाई र पीर सहन नसकी उम्कनलाई पुड़के पतिदेवले खुट्टा चलाएको दृश्य झन् नरमाइलो देखिन्छ। कति उदेकको संसार।
लोग्ने स्वास्नीको झगड़ा परालको आगो। मिलेपछि उनीहरू नै घुम्न निस्कन्छन् फेरि-आमा र छिप्पिएको बाबाझें। कति आनन्ददायक छ यो संसार। धनी हुनु एउटा दुर्भाग्य बनी दिन्छ यी पुड़केहरूरूलाई। चोरसँग सामना गर्न सक्तैनन् यी पुड़केहरू। सजिलै ओभरकोटको भित्री गोजीमा अथवा नित्ताको काँटीमा झुण्डाइ दिन्छन्-यी पुड़केहरूलाई । यसैले धन अरूलाई भन्दा तमस्या भएको छ पुड़केहरूलाई। गरीव हुनु नै निको पुड़केहरू। सरकस्मा ‘जोकर’ वनी, दजारमा तमासा बनी सजिलै जीवन अर्जन गर्न सक्छन् यी पुड़केहरूले ! यस्तै छ यहाँ पुड़केहरूको संसार !
सत्य जहिले पनि तीतो हुन्छ । तिलक राईले हामी पुड़केहरूको बखानो गरे भनी नभुनन् यी पुड़केहरूले । जस्तो देखें त्यस्तै लेखें। महान् छन् यी पुड़केहरू । ‘गुलिभरको यात्रा’, ‘स्नो ह्वाइट’ र ‘सात पुड़के’ आदि दिएर विश्व साहित्यलाई अझ सुन्दरी तुल्याउने महान् कलाकार भ्यानगग् र विरेन्द्र भई निस्के यिनै पुड़के मोराहरू । धन्य हुन् यी पुड़केहरू…!!
०००
दार्जिलिङ
भारतीय नेपाली हास्यव्यङ्ग्य (२०२०)
Subscribe
Login
0 Comments
Oldest







































