गाँड
शत्रुको गोली लागे गाँडैमा लाग्छ किनभने यो टाढैबाट देखिन्छ । उता बन्दुक पड्कन्छ, यता गाँड छर्राले भरिन्छ। उसलाई केही हुँदैन । गाँड फुटेर उ त ह्याण्डसम्म सिपाही भएको हुन्छ ।
तिलक राई :
गाँड के हो ? यसको उत्पत्ति विषयमा आजसम्म कसले अनुसन्धान गर्न सकेका छैनन् । गाँड हावाले भरिएको थैलो पो हो कि ? कोप्ता बनाउने मासुको पोको पो हो कि ? यस विषयमा विश्नवका धुरन्धर डाक्टरहरूले पनि हार खाएका छन् ! गाँड हावाको थैलो नभएर, कोप्ताको पनि नभएर धोकोको पोको चाहिँ निश्चय हुनसक्छ। गाँडले आजका विशौसदिका मानिसहरूलाई ठूलो अवसर दिएको छ- “आऊ, ममाथि ‘थेसिस’ लेख” यसरी गाँड गडगडिन्छ चुनौती दिँदै मानवजातिलाई। कसैले पनि गाँडमाथि थेसिस लेखी डाक्टरको उपाधि लिनसक्छन्।
गाँडको उत्पत्तिको विषयमा यस्तो भनाई पनि छ – पृथ्वीको सृष्टि भएपछि एकदिन स्वर्गबाट एउटा अप्सरा कमरमा माटोको हाँडी बोकी पानी भर्नको निम्ति रूङधुङ खोलातर्फ झरेछिन् । यो सबै बिर्खेले परबाट हेरिरहेको हुन्छ । अप्सराले हाँडीमा पानी भर्छिन्। कमरमा बोक्छिन्। अनि स्वर्गतर्फ उड्न लाग्छिन्।
त्यसैबेला बिर्खेले क्याटिसले हिर्काएर कमरको हाँडी फुटाईदिन्छ र मरीमरी हाँस्न लाग्छ । यो देखी अप्सरालाई साह्रै रिस उठ्छ । तिनले बिर्खेलाई सराप दिन्छन्– “जसरी तैँले मेरो हाँडी फुटाइदिइस् उसरी नै तेरो समस्त भावी सन्तानको घाँटीमा यस्तै मासुको हाँडी झुण्डियोस्”- यति भनी अप्सरा स्वर्गतिर लाग्छिन् । त्यसै दिनदेखि अप्सराको सरापले बिर्खे र त्यसको सन्तानको घाँटीमा सुन्दर मासुको हाँडी देखिन लाग्छ। अहिले पनि ज-जस्को घाँटीमा गाँड देखिन्छ तिनीहरू सबै बिर्खे भुजेलका सन्तान हुन् भन्ने भनाई छ।
पहिले अहिले हिजआज जस्तो प्रेम विवाह हुँदैन थियो । प्रबन्ध विवाहको प्रचलन थियो । प्रबन्ध विवाहमा पुरूष आफ्नी पत्नीको रूप पिउनलाई उसै-उसै भएका हुन्छन् । तिनीहरू अघि आफ्नी पत्नीको सुन्दर मुखमण्डल नाँच्न लाग्छ। पत्नी पनि आफ्नो पतिदेवको विषयमा यस्तै सुन्दर कल्पना गर्छिन् । पतिले लजाइरहेको पत्नीको घुम्टो खोल्दै पत्नीको रूप आँखाभरी भर्न चाहन्छ । वाफ रे वाफ तिनको आँखा पहिले नै पत्नीको गज्जक फुलिरहेको सुन्दर घिच्रोमा पर्छ । पतिको आँखा उदाङ्गै- सास रोकिन्छ भन्न कता कता जीवनको पहिलो सुन्दर सुहागरातमा पतिलाई ऐठन पार्छ- पत्नीको गाँडले। आराध्यदेवको यो नाजुक अवस्थादेखि नव विवाहित दुलही शोक र चिन्ताले धेरै- धेरै गम्न लाग्छिन् आफ्नो गाँडमा च्यापु अडाई।
यी गाँडहुनेहरूले मलाई रीस नउठेको होइन – यिनीहरूको लापरवाहीमा म हैरान हुन्छु यिनीहरूले परिश्रम नगरेको देखी । कहिले त गाँडै फुटाइदिने रन्को छुट्छ । यी गाँडवालाहरूले अलिकति मात्र प्रयत्न गरे विश्वमा श्रेष्ठ गायक- गायिका हुन्सक्छन्। उनीहरूलाई संगीतको पनि उस्तो आवश्यकता पर्दैन । छाला तल्केर स्वयं बङ्गोज भएको हुन्छ गाँड । जति भएको शब्द र लयहरू पहिलेबाटै टेपमा भरे झैँ गाँडमा भरी दियो अनि मजाले आफूलाई मन परेको गीत निकाल्दै बजाइदियो बस दुनिया मस्त । झन् शास्त्रीय संगीतको निम्ति त गाँडको ठूलो योगदान छ। बुट्टे गाँडहरूले शास्त्रीय संगीत राम्ररी गाउन सक्छन् । किनकि यस्ता बुट्टे गाँडहरूमा आवाज रूमलिएर शिरलिङ हुन जान्छ। गाँड हुनेहरूले यो उपदेश सुनी आजैदेखि रियाज गर्न थाले छोटो अवधिमै उनीहरू विश्वका श्रेष्ठ शास्त्रीय संगीतकार हुनसक्छन् । वाद्य संगीतको सृजनामा पनि हाम्रो उपयोग गर्न सक्छौँ गाँडलाई सजिलै सबै प्रकारको वाद्य यन्त्रहरूको आवाज निकाल्न सकिन्छ।
पाश्चात्य सभ्यतामा रंगिएर पूरै साहेब हुन चाहनेहरूले बेलायत र अमेरिकाको सपना देख्न पर्दैन । गाँडे दहको एक लोटा पानी पिउनुहोस्- तपाईंको घिच्रो फुलिएर दमाहा जस्तो हुन्छ बस अब गाँडले सजिएको घिच्रोमा बाँधिदिनु होस् बेलायती टाई पक्का साहेब देखिनुहुन्छ। साधारण घिच्रोमा बाँधिएको टाई प्रायः देखिँदैन तर एउटा गाँडले सजिएको घिच्रोमा बाँधेको टाई टाढैबाट देखिने हुन्छ। यति हो अरूलाई झैँ साधारण टाई नभएर गाँड हुनेहरूको निम्ति इसपिसिएल टाइको अर्डर गर्न पर्छ धिच्रोको परिधि बढेर।
गाँड हुनेहरूलाई पल्टनमा भर्ना गरिँदैन। यो ठूलो अन्याय र अत्याचार हो । गाँडको धेरै गुण छ विशेष गरी पल्टनमा- गाँडमा राइफलको बढ अडाएर राम्ररी एम गर्न सकिन्छ । गाँड हुने सिपीहीहरूले लडाईंको समयमा ऊँटले जस्तो आफ्नो रेसन गाँडमा बोकेर दुईचार महिना निर्धक्क लडाई गर्न सक्छन् । शत्रुको गोली लागे गाँडैमा लाग्छ किनभने यो टाढैबाट देखिन्छ । उता बन्दुक पड्कन्छ, यता गाँड छर्राले भरिन्छ। उसलाई केही हुँदैन । गाँड फुटेर उ त ह्याण्डसम्म सिपाही भएको हुन्छ । छुट्टीमा आउँदा आफ्नो श्रीमती हुरूक्कै हुन्छे- गाँड लोग्ने दन्ते कथाको राजकुमार जस्तो आफ्नो सम्मुख उभिएको देखी। हाँस्दै लाहुरे – इश्वरले दिएको छालाको ग्रिनेड उतै लडाइँमै छाडी राखेँ । गाँड हुनेहरूलाई पल्टनमा भर्ना गरियोस् भनी म सरकारलाई उजुर गर्छु।
गाँड हुनेहरूको एउटै गुनासो छ। लेड भन्दा बेड ठूलो भने झैँ गाँडवालाहरूको शरीरभन्दा पनि घिच्रो ठूलो भएकाले दर्जीहरूले कमीज सिलाउनु मान्दैनन्। रेडिमेड कमिज गाँडको साइजको हुँदैन। दुई प्रेमी- प्रेमिका माझ वार्तालाप भइरहेको हुन्छ । प्रेमीको गाँड मसार्दै प्रेमिका भन्छिन्- तपाईंले के गर्नु भएको हो। जहिले पनि मलाई हार मात्र उपहार दिनुहुन्छ ? आज पनि यो हीराको हार बिचैमा कुरा काट्दै प्रेमी भन्छन् – क्षमा गरिदेऊ। जब तिमीसँग दुईचारवटा प्रेमका कुरा गरौं भन्छु तिम्रो गाँड बिचमा भिलियन सरी उभिन्छ। गाँड देख्नासाथ मलाई बमन र वाक्वाकती आउँछ। यसैले प्रेमालाप गर्नु अघि म यो हारले त्यो गाँड छोप्न चाहन्छु । यसैले त मेरो उपहार जहिले पनि हार मात्र हुन्छ। लाज र क्रोधाग्निमा प्रेमिकाको गाँड अझ भुक्क फुलिन्छ फुटबल जस्तो।
गाँड विशेषज्ञ अनुसार गाँडलाई दुई भागमा विभाजन गर्न सकिन्छ- १) भकुण्डो गाँड र २) बुट्टे गाँड। भकुण्डो गाँड एउटै पिसले बनिएको ह्याण्डसम गाँड हुन्छ त थुप्रै मसिना-मसिना काप्ताले सजिएको गाँडलाई बुट्टे गाँड भनिन्छ। हेर्नमा भकुण्डे गाँड भन्दा बुट्टे गाँड नै सुन्दर देखिन्छ। अफ्रिकामा यस्तो एउटा ठाँउ छ जहाँ गाँडदेखि उनमुक्त भएको मानिस पाउन सम्भव छैन । सबै भन्दा ठूलो गाँड भएको मानिसलाई नै यहाँ राजा बनाउने प्रथा छ। यसैले तपाईंहरू मध्ये कसैको सप्रेको गतिलो गाँड भए आजै अफ्रिका रवाना हुनुहोस्- यो सुनौलो अवसर नचुकाउनुहोस् । इच्छुक उम्मेद्वारले निम्न ठेगानामा सम्पर्क राख्नुहोस्-
सचिव
गाँड एकाडेमी,
गाँड वस्ती, पि ओ गाँडे जिल्ला
अफ्रिका
०००
साभार
हिमालोकः अङ्क – ६, सन् १९७३
दार्जिलिङका पवन प्रधान र शाैरभ क्षेत्रीकाे खाेजिमेलीमा
Subscribe
Login
0 Comments
Oldest