तिलक राईजिगज्याक भेजिटेबल
अमेरिका जस्तो यस्तो ठूलो शहरमा इङ्लिस मुला, इङ्लिस बैगुन, इङ्लिस रमभेडाको सामु म पनि इङ्लिस गुन्द्रुक भएर इङ्लिसमा मिस टम्याटोलाई नेपाली ब्लफ दिइरहेको थिएँ।

तिलक राई :
म गुन्द्रुक हुँ। जीवनको सुलुपातेमा सुलुत्त चिप्लेर अहिले धनकुटे बाजेको कालो सस्पेनमा भक् भक् उम्लिरहेछु। मेरो जन्म धनकुटे बाजेको बारीमा रायाको सागको रूपमा भएको थियो।
एक दिन बाजेले हामीलाई काट्दै डोकोमा थुपार्न थाल्यो। एकै छिनमा हामी एक डोको भयौँ । मेरा कति साथीहरूलाई धनकुटे बाजेले इँजारले कस्दै बिटा बनाउँदै दार्जिलिङ बजारमा बेच्न पठायो । मलाई र अरू कति साथीलाई
एकपल्ट दारलिङ हेर्ने धोकोको पोको लिएर म घरमै बसेँ । तीन दिनसम्म बाजेले हामीलाई खानु र पिउनु बिना लल्याकलुलुक पारेर ओइलाई राख्यो । चौथो दिनमा बाजेले हामीलाई तातो पानीमा डुबाउँदै निचोर्दै मैलो दुलैदुलो भएको टिनमा हाल्न थाल्यो । यसरी धने बाजेले हामीलाई तातो पानीमा नुहाइ दिँदै निचोर्दै, खँटुवा बन्दुकमा पदुवा बारूद खाँदे झैँ थोत्रो टिनमा खाँद्नसम्म खाँद्न थाल्यो।
यसरी जिउँदै टिनमा बन्द गरेर धने बाजेले हाम्रो टाउकामा ठूलो ढुङ्गाले थिचिदियो । मेरो शरीरमा भएको रगत, मासु, हड्डी सबै पसिनाका रूपमा थोत्रे टिनको प्वालबाट फुत्तफुत्त बाहिर निस्कन थाले। यसरी शरीरबाट पसिनाको खोलो बग्दा म चुर्से न चुर्से भएँ। अघिको डबल नाडी अहिले सिन्के नाडी भएको देख्दा पक्कै बारीकोले भेटेछ कि जस्तो लाग्यो।
एक हप्तासम्म यसरी नरकमा किचिक्क किच्चिएर पसिना काडेपछि बाजेले घाम तपाउन हामीलाई बाहिर निकाल्यो । शारीरिक र मानसिक दुःख र पीडाले मेरो हृदय नै अमिलो भएर आयो। अब म लङ्का विजयी हनुमान जस्तै थोत्रे टिन विजयी गुन्द्रुक भएर निस्केँ । दुई दिनसम्म यसरी घाम तपाएपछि फेरि हामीलाई पोको पारी भिक्टोरिया पार्कमा पिङ झुण्ड्याए झैँ भारमा झुण्ड्याइयो। हामीले भारैमा एउटा बिराट सभाको आयोजना गर्यौं । जिब्रो र भुँडीको सेवा गर्ने कुरो सभामा छलफल गरियो। जनताको सेवा गरेर मेवा खाने हाम्रो पेवा नै भयो । अब हामी कर्तव्यको पुकारमा हाँसी- हाँसी काशी होइन तर कराईमा हामफाल्न तयार भयौं।
एक दिनको कुरो । बाजेको चुलामा म संस्कृतमा भाषण दिएँ झैँ उम्लिन थालेँ । अघेनामा हरिमुस्ले कोदोको कालो ढिँडो टाइफ्यडमा धताएझैं धताइरहेथ्यो। एकछिनमा मैले भाषण दिइसकेँ । ढिँ डोलाई धताउँदा-धताउँदै अगेनाबाट भुइँमा झारियो। त्यसपछि बाजे र उहाँका माछा मिठाई जस्ता सुपुत्रहरूले गुन्द्रुक र सिद्राको अचारसँग ढिँडो बजाउन थाले। यसरी जनताको सेवा गर्न पाउँदा मलाई हुनसम्मको आनन्द लाग्यो।
गुन्द्रुकको झोलमा इज्जत नफ्याँक्नु भन्ने ज्ञानी मुसाहरूको भनाइ छ। मैले अझसम्म मेरो झोलमा याने कि गुन्द्रुकको झोलमा इज्जत त होइन तर लाबर जस्तो जिब्रोसमेत फालेको देखेको छु । मासु दोकानमा गएर गोम्बेको बाबुलाई मासुको भाउ सोध्नुहोस् । त्यसपछि बुथुरीकी आमालाई मेरो याने कि गुन्द्रुकको भाउ सोध्नुहोस् । अब बुथुरीकी आमाको गुन्द्रुकलाई गोम्बेको बाबुको मासुबाट वियोग गर्नुहोस् । जति वियोगफल निस्कन्छ त्यसलाई ५०० नं. पैले गुन्नुहोस् । जति गुणनफल निस्कन्छ त्यो भयो एक सेर गुन्द्रुकको मोल । अब गणितका विद्यार्थीहरू स्वयम् विचार गर्नुहोस् र भन्नुहोस् गुन्द्रुकको झोलमा इज्जत फ्याँक्नु राम्रो रहेछ कि नराम्रो ?
हिजआजका ए. बी. सी. डी. छिचोलेका नानीहरूले मेरो शुभनाम गुन्द्रुक नभनेर, कसैले कर्लिङ भेजिटेबल भन्छन्, त कसैले गोर्खा सुप, त कसैले जिकज्याक भेजिटेबल। गुन्द्रुक भन्नु पर्दा उहाँहरूको छुच्चो मुख चुच्चो बनाउनु पर्छ रे।
अँ, हिज राती सपनामा मैले के देखेँ भने म त अमेरिकाको प्रसिद्ध भेजिटेबल मार्केटमा सजिएर घमण्डसाथ बसेको रहेछु। अरू टिन्- फुड झै म पनि टीनमा बन्द गरिएको रहेछु। मेरो टिनको छातिमा ठूलाठुला अक्षरमा ‘नेपाली कर्लिङ एण्ड जिकज्याक भेजिटेबल सुप’ लेखिएको लेभल टाँसिएको रहेछ। अमेरिका जस्तो यस्तो ठूलो शहरमा इङ्लिस मुला, इङ्लिस बैगुन, इङ्लिस रमभेडाको सामु म पनि इङ्लिस गुन्द्रुक भएर इङ्लिसमा मिस टम्याटोलाई नेपाली ब्लफ दिइरहेको थिएँ।
मिस्टर चार्ली आएर मेरो छातिमा लेखेको लेबल राम्ररी हेर्यो र मलाई किनेर लग्यो । मिस्टर चार्लीले आजको डिनरको निम्ति मेरो सुप बनाउने भो । सेतो टिलिक्क टल्कने छुरी मेरो टिनको छातीमा ख्वाम्म रोपिँदा म कहालिँदै निन्द्राबाट बिउँझेँ । यसरी बिउँझँदा मैले आफैलाई अमेरिकाको प्रसिद्ध भेजिटेबल मार्केटमा नपाएर धनकुटे बाजेको कालो ताप्केमा बायाँ मुड र दायाँ मुड गर्दै गरिरहेको पाएँ ।
०००
इन्द्रेणी (विविध सङ्कलन) सन् १९६४
दार्जिलिङका पवन प्रधान र शाैरभ क्षेत्रीकाे खाेजिमेलीमा
Subscribe
Login
0 Comments
Oldest







































