आर.आर. चौलागाईंहाकिमको सरुवा
"यो हाकिमजस्तो दयालु त कोही देखिनँ । सरुवा रोकियो । बडो राम्रो भो ।" "घूस भनेको खाँदै नखाने-कस्तो इमान्दार । सबैजना यस्तै भइदिए पो ।"

आर. आर. चौलागाईं :
माथिबाट हाकिमको सरुवाको चिठी आयो । भोलिपल्टदेखि कर्मचारीहरू ठूलठूलो स्वरले हाकिमको निन्दा गर्न थाले ।
एउटाले भन्यो- “यो हाकिमजस्तो निर्दयी त कोही देखिनें। अब जाने भो ठिकै भो ।”
अर्कोले थप्यो- “घूस कति खान्छ नि । जति भए पनि नपुग्ने । एक सुका पनि नभेटे हुन्थ्यो अब ।”
अझ अर्को उठ्यो- “सरुवाको मात्रै आएछ । अझ खारेजीकै चिठी आउनुपर्ने । अनि देख्थ्यो बाबुको बिहे !”
त्यसको केही दिनपछि अचानक हाकिमको सरुवा रद्द भएको अर्को चिठी आइपुग्यो । भोलिपल्टदेखि तिनै कर्मचारीहरू हाकिमले सुन्ने गरेर नै प्रशंसा गर्न थाले ।
“यो हाकिमजस्तो दयालु त कोही देखिनँ । सरुवा रोकियो । बडो राम्रो भो ।”
“घूस भनेको खाँदै नखाने-कस्तो इमान्दार । सबैजना यस्तै भइदिए पो ।”
“कुनचाहिँ बेवकुफ रहेछ त्यो सरुवा गर्न खोज्ने । बल्ल थाहा पायो होला नि ।”
०००
हेटाैँडा
Subscribe
Login
0 Comments
Oldest








































