आर.आर. चौलागाईंमाथिको आदेश
पहिरोले असी घरधुरी र चार सय जति मान्छे बस्ने सिङ्गै गाउँलाई बगाएर खोलामा पुऱ्यायो। त्यही हप्ता माथिको आदेश आइपुग्यो। तर त्यहाँ गाउँ हैन बगर थियो ।

आर.आर. चौलागाईं :
भूकम्पले गाउँ हल्लायो । घरहरू क्षत विक्षत मए। खेतबारीहरू चिराचिरा भए। थुप्रै मान्छे मरे। हाहाकार भयो । राजधानीबाट भूगर्भविद्हरू आए। केन्द्रदेखि तलसम्मका ठालुहरूको ओइरो लाग्यो । नेताहरूले जनतालाई आश्वासन बाँडे । उद्धार गर्ने कसम खाए। विज्ञहरूले गाउँलेलाई त्यो ठाउँमा नबस्नू भने । त्यहाँ खतरा छ, अन्तै सर्नू भने । उनीहरूले गाउँलाई अन्तै सार्न स्थानीय सरकारलाई सिफारिस गरे। यति भएपछि
गाउँलेहरू पनि ढुक्क भएर बसे ।
त्यो सालको वर्षा सुरु भयो। पूरै गाउँ त्रसित भयो । आश्वासन र सिफारिस अनुसार कुनै काम भएन । गाउँमा कोही आएनन् । डर बढ्यो । गाउँलेहरू जम्मा भए। विचार विमर्श गरे । छलफल गरे। स्थानीय सरकारलाई भेटेर घच्घच्याउने निर्णय गरे । सोअनुसार उनीहरूले स्थानीय सरकारलाई भेटे । स्थानीय सरकार प्रमुखले भने- “हामीले तपाईंहरूको समस्यालाई त्यतिबेलै माथि पठाएका थियौँ। योभन्दा बढी हामी केही गर्न सक्तैनौँ। माथिको आदेश पर्खेका छौं। एक वर्ष बित्यो। अहिलेसम्म आएको छैन । आदेश आउनेबित्तिकै
तपाईंहरूको काम हुन्छ ।”
गाउँलेहरू निराश भएर फर्के। अहँ । स्थानीय सरकारलाई माथिको आदेश आएन । गाउँलेहरूको आशा निराशामा परिणत भयो। गाउँलेहरू पुनः जम्मा भए । यसपालि उनीहरू प्रदेश सरकारकहाँ पुगे। त्यहाँ पनि त्यस्तै भनियो । माथिको आदेश पर्खिंदापर्खिंदै पाँच वर्ष बित्यो। त्यो आदेश भन्ने चिज आउँदै आएन ।
कुनै रात। मुसलधारे पानी पर्यो। गाउँलेहरू निद्रामा थिए। गाउँमाथि पहिरो खस्यो । उनीहरूले “ऐया ।” पनि भन्न पाएनन् । पहिरोले असी घरधुरी र चार सय जति मान्छे बस्ने सिङ्गै गाउँलाई बगाएर खोलामा पुऱ्यायो। त्यही हप्ता माथिको आदेश आइपुग्यो। तर त्यहाँ गाउँ हैन बगर थियो ।
०००
हेटौंडा-४, अभिकुञ्ज, मित्रनगर, मकवानपुर
मधुपर्क (२०७७ असोज/कातिक)
Subscribe
Login
0 Comments
Oldest








































