नरनाथ लुइँटेलबहुविद् व्यक्तित्वमा विस्तारित श्याम गाेतामे (६)
कतिपय मानिसहरू गाेतामेलाई टिमुर्किएको, शिष्टाचार र सोमत नभएको, घमण्डीसमेत भन्ने गर्दथे। आमरूपले भन्दा गोतामेको स्वभाव टिमुर्किएको जस्तो देखिए पनि साँच्ची नै अशिष्ट भने थिएन। उनी घमण्डी पनि थिएनन् ।

नरनाथ लुइँटेल :
वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाेतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
अनुवादक एवम् सम्पादक व्यक्तित्व :
नेपाली राष्ट्रभाषा बाहेक अङ्ग्रेजी, हिन्दी तथा मैथिली भाषामा गोतामेको राम्रो दखल थियो। भाषिक ज्ञान र शिपको यो पाटोलाई पनि उनले व्यवहारमा उतारेको देखिन्छ। यसैले उनलाई एउटा कुशल अनुवादक व्यक्तित्वका रूपमासमेत उभ्याएको छ। हिन्दी र अङ्ग्रेजी भाषामा लेखिएका हास्यव्यङ्ग्य कृतिहरू उनले थुप्रै पढेका थिए। हिन्दी भाषाका चर्चित हास्यव्यङ्ग्यकार हरिशंकर परसाईं श्याम गोतामेका मनपर्ने लेखक नै मानिन्छन। (सं. माणिकरत्न शाक्य हास्यव्यङ्ग्यकार नालीबेली, सिस्नुपानी नेपाल, २०५६, पृ. ६६।) अङ्ग्रेजी र हिन्दीका केही कृतिहरू उनले अनुवाद गरेको बताइन्छ ता पनि ती कृतिहरू प्रकाशित भएको भने पाइँदैन। अनुवादको रूपमा सुधाकर चौधरीको मैथिली भाषाको कथा सङ्ग्रह गाजल भने नेपालीमा अनुवाद गरी २०२९/२०३० सालतिर प्रकाशितसमेत भएको देखिन्छ। नेपालीबाहेक अरू भाषामासमेत राम्रा दखल भएका गोतामको अनुवादक व्यक्तित्व छिटफुट अनुवादमै सीमित रहेको हुँदा प्रखररूपमा उठ्न सकेको भने देखिन्न।
छिटफुट अनुवादका अतिरिक्त गोतामे सम्पादन कार्यमा पनि बेलाबेला जुटेको देखिन्छ। अनुवादक व्यक्तित्वभन्दा यो सम्पादक व्यक्तित्व अलि बढ्ता टड्कारो भएर हाम्रा सामु उपस्थित भएको छ। नेपाल र एशियाली अध्ययन संस्थान त्रि.वि.वि.द्वारा प्रकाशित अनुसन्धानमूलक कृति, नेपालका प्राचीन अभिलेखहरू भाग १ र भाग २ दुवै ग्रन्थको सम्पादन गोतामेले कुशलतापूर्वक गरेका थिए। यसअर्थ सामान्य रूपमै भए पनि श्याम गोतामेको अनुवादक एवम् सम्पादक व्यक्तित्व प्रकट भएको छ।
जागिरे व्यक्तित्व :
श्याम गोतामेको जीवन आजिविकाको निम्ति लामो समय जागिरदारका रूपमा बितेको देखिन्छ। जागिरे जीवनको आरम्भ २०१५ सालदेखि नै भएको थियो। ग्राम विकास नामक तत्कालीन सरकारी कार्यालयमा उनी करीव दुई वर्षमात्र कार्यरत भए। त्यसपछिको ७ वर्ष अर्थात् २०१७ सालदेखि २०२५ सालसम्म तत्कालीन जि.प्र.का. सिक्षा शाखा भक्तपुरमा शिक्षा निरीक्षक पदमा कार्यरत रहेका थिए भने २०२५ सालदेखि २०३३ सालसम्मका अरू ८ वर्ष रसियन सूचना केन्द्रमा टाइपिष्ट पदमा काम गरेको देखिन्छ। त्यसपछिको २० वर्ष अर्थात् २०३४ सालदेखि ०५४ सालसम्म राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी जीवन व्यतित गरेको पाइन्छ। बैंकको जागिरे जीवनमा पनि बसाइका हिसावले लामो समय एकै ठाउँ सुस्थीर देखिन्न। उनी केही वर्ष भरतपुर बसेका छन् त केही समय सिराहा। त्यसैगरी कहिले पोखरा पुगेका छन् त कहिले फर्पिङ । यो खालको अस्थिर बसाइले उनको लेखनमा केही नकारात्मक प्रभाव भने पारेको बुझिन्छ।
यति लामो जागिरे जीवनमा गोतामेका केही विशेषताहरू प्रकट भएका छन्, जो आम कर्मचारीभन्दा अलि भिन्न र अनौठोलाग्दा पनि छन् । उनी रा.वा. वैंकमा शुरु नियुक्ति हुँदा कोषाध्यक्ष पद (त्यही पदलाई खजाञ्ची पनि भनिन्छ) मा थिए। २० वर्षपछि उमेरको हद पूरा भई २०५४ सालमा अनिवार्य अवकाश प्राप्त गर्दा पनि विलकुल त्यही खजाञ्जी पदमै कार्यरत थिए। यो यथार्थले उनीभित्र रहेका केही प्रवृत्तिगत र स्वभावगत पक्षलाई उद्घाटित गरेको पाइन्छ।
उनको जागिरे व्यक्तित्वको प्रमुख विशेषता नै ती पक्षहरू हुन् जसले उनको क्रमिक पदोन्नति र आर्थिक उन्नतिमा अवरोध खडा गरेका थिए भन्न सकिन्छ। ती विशेषताहरुमध्येको एउटा हो- उनी आफ घूस खाँदैनथे मात्र होइन घुस खाने या यस्तै अनियमित र भ्रष्टाचार गर्ने व्यक्ति त्यो हाकिम होस् या कारिन्दा कसैलाई देखी सहँदैनथे। त्यस्ता मतिभ्रष्टहरूसँग उनले लोलोपोतो वा माया मोलाहिजा कहिल्यै गरेनन्। अर्को विशेषता भनेको आम नेपाली कर्मचारी मानसिकताभन्दा उनको मानसिकता अलि फरक थियो। चाकरी-चुक्ली र चाप्लुसीबाट एकदमै टाढा रहेर त्यस प्रवृत्तिका हाकिम हुन् या कारिन्दा कसैलाई उनले मन पराएनन् । आफ्नो तोकिएको जिम्मा र जवाफदेहीको काम खुरुखुरु गर्यो । लुरुलुरू घर वा कोठा फर्कियो। यस किसिमको प्रवृत्तिमा दृढ रहेर जागिरे जीवन व्यतित गरेको अकण्टक व्यक्तित्व देखिन्छ श्याम गोतामेको ।
छपाई शुद्धिमा पोख्त व्यक्तित्व :
गोतामेमा लेख्य भाषाको भाषिक संरचनाको राम्रो ज्ञान थियो। भाषिक सरचनासम्बन्धी ज्ञानशून्य व्यक्तिहरूद्वारा लेखिएका र छपाई शुद्धि नगरेका कारण अशुद्ध रूपमा छापिएका पत्र-पत्रिका र पुस्तकहरू देख्दा गोतामे दिक्क मान्दथे। यसैलाई मूल विषय बनाएर उनले ‘प्रूफरिडर’, ‘शुद्ध किन लेख्ने’ जस्ता हास्यव्यङ्ग्य रचनासमेत लेखेका छन् । धेरै लेखक, साहित्यकार र प्रकाशकहरू आफ्नो कृतिको पाण्डुलिपि छपाईका निम्ति छापाखाना लैजानुभन्दा अगाडि पाण्डुलिपि शुद्ध पार्न वा प्रूफ सच्याउन गोतामेको जिम्मा लगाउँथे।
गोतामेले भाषिक शुद्धताका साथ सारिदिएका वा छपाई शुद्धि गरिदिएका अनगिन्ती पुस्तक, ग्रन्थ तथा साहित्यिक पत्रिका र सामयिक सङ्कलनहरू प्रकाशित भएका छन्। अशुद्धिका कारण भाषामा आएको अराजक स्थितिप्रति गोतामे तीव्र रोष प्रकट गर्दथे। छपाई शुद्धि, शुद्ध पाण्डुलिपि, प्रतिवेदन तथा सामग्री तयार गर्ने उद्देश्यलाई संगठित रूपमा पूरा गर्ने धेयले गोतामेले एउटा संस्था समेत गठन गरेको पाइन्छ । यस सवालमा गोतामे अत्यन्त गम्भीर थिए । आफू पाेख्त थिए र नेपाली भाषामा छापिने सबै पुस्तक वा सामग्रीहरू भाषिक रूपले शुद्ध छापिउन् भन्ने सोच राख्ने गोतामको व्यक्तित्वकाे एउटा महत्त्वपूर्ण पाटो यो पनि रहेको देखिन्छ ।
खरो, खस्रो र निर्भीक व्यक्तित्व :
श्याम गोतामेको व्यक्तित्त्वको अर्को एउटा महत्त्वपूर्ण पाटो उनले जो कसैसँग पनि गर्ने खरो र खस्रो व्यवहारसँग जोडिएको छ। खरो र खस्रो मिजास गोतामेको पर्याय नै थियो। लोकाचार, शिष्टाचार र औपचारिकतालाई पटक्कै निर्वाह गर्न नचाहने मानिसहरूको यस्तो स्वभाव हुनु अस्वाभाविक होइन। उनका रचना र कृतिहरू आम-पाठकका निम्ति जति लोकप्रिय छन्, व्यक्तिगत रूपमा श्याम गोतामे उत्तिकै अलोकप्रिय देखिन्छन्। यो उनको त्यही खरो र खस्रोपनको परिणाम हो। उनीसँग कुनै पनि सन्दर्भमा भेट गर्न आउने मान्छे यदि उनको स्वभावबाट पूर्वपरिचित छैन भने त्यो भेटघाट नै ऊसँग अन्तिम हुने सम्भावना बढी हुन्थ्यो। लप्पनछप्पन केही नगरी आफ्नो कुरा सफासफी भनिदिने गोतामे त्यसको परिणामतर्फ वास्तै गर्दैनथे। त्यसैले कतिपय मानिसहरू उनलाई टिमुर्किएको, शिष्टाचार र सोमत नभएको, घमण्डीसमेत भन्ने गर्दथे। आमरूपले भन्दा गोतामेको स्वभाव टिमुर्किएको जस्तो देखिए पनि साँच्ची नै अशिष्ट भने थिएन। उनी घमण्डी पनि थिएनन् ।
आत्मविश्वासले दृढ व्यक्ति गोतामे जो कोहीसँग पनि नडराउने र नदब्ने प्रकृतिका थिए। यसलाई उनको निर्भीक व्यक्तित्व भन्न सकिन्छ। यस किसिमको व्यक्तित्वको छनक आफ्नै पिताजीको घुस्याहा प्रवृत्तिका विरुद्ध दौडाहामा उजुर गरी पिताजीलाई कार्वाही गराउनेसम्मका युवाअवस्थाकै क्रियाकलापबाट देखिदै आएको हो। त्यसपछिका दिनहरूमा पनि गोतामे यस किसिमका विसङ्गति र विकृतिजन्य काम कार्वाहीका विरूद्ध दृढ भएर उभिएको देखिन्छ। यो नराम्रो कुरा हो भनेर उनको ब्रम्हले देखेपछि एकदम नडराइकन त्यसलाई व्यङ्ग्यको लेपन लगाएर आफ्नो निबन्ध रचनामा उतार्थे। एक पटक “आफू जागिरे भएर पनि व्यवस्था र प्रशासनयन्त्रलाई व्यङ्ग्य गर्दै धेरै व्यङ्ग्य लेख्नु भो, डर लागेन ?” भनी सोधिएको प्रश्नको जवाफमा गोतामेले भनेका थिए- “देखेको कुरा लेखेँ के डराउने ? (श्याम गोतामे अशेष मल्लसँगको कुराकानीमा आधारित जनमञ्च साप्ताहिक ०५०/८/१६ का अङ्क ३०. पृ. १५ ।)
उनीभित्र रहेको निर्भीकपनालाई प्रकट गर्ने अर्को पनि एउटा प्रसङ्ग छ। २०५० सालको भैरव हास्यव्यङ्ग्य पुरस्कार ग्रहण गरेपछि मन्तव्य दिने क्रममा गोतामेले भनेका थिए- ‘म कहाँ कनै कृति थन्किएर बस्दैन किन भने निबन्ध तयार हुनासाथ पत्रिकामा प्रकाशनका निम्ति पठाइहाल्ने मेरो बानी छ । त्यसपछि त्यस निबन्धले कहाँ के लछारपाटो लगायो, कसलाई मन पर्यो कि परेन र त्यसको प्रतिक्रिया के हुन्छ त्यतातिर मेरो चासो रहँदैन। हास्यव्यङ्ग्य लेख्ने लेखकले फलानो रिसाउला, मेरो जागिर जाला, म अलोकप्रिय हाैँला कि भन्ने पानीआन्द्रे पाराले लेख्ने हो भने त्यो माेही मागर दया लुकाउनु जस्तो हुन्छ र त्यति प्रभावकारी हुनै सक्दैन । देखेका र भोगेका कुराहरू सिंगारपटार नगरी जस्ताको जस्तै राख्न सक्ने ह्याउ नहुनेले यस क्षेत्रमा हाम्फाल्नु बेकार छ। (श्याम गोतामे पूर्ववत् ।)
जागिरको सिलसिलामा गोतामे केही समय पोखरामा थिए। पोखराको एउटा पुस्तकालयलाई भट्टी बन्न कर लागेछ। गोतामेलाई त्यो सैह्य भएन र जनकवि धर्मराज थापा वक्ता भएको एउटा सभामा उनले “पोखरामा धर्मराज थापा जस्ता उच्च कोटीका कवि लेखक र सज्जन हुँदाहुँदै पनि पोखरामा मैले कर्मराज पाइँन” भनेका थिए। धर्मराज थापाले मञ्चबाटै कुर्लेर झण्डै उनको सातो खाइदिएछन् । पछि पुस्तकालयको भट्टीमा परिणत भएको प्रसङ्गको सविस्तार गोतामेले व्याख्या गरिदिएपछि भने थापाले पनि हो भनी मुन्टो हल्लाउनु परेको थियो।” (श्याम गोतामे पूर्ववत् ।) यिनै केही प्रसङ्ग र प्रकरणले उनीभित्र रहेको खरो खस्रो र निर्भीक व्यक्तित्वलाई पर्याप्त मात्रामा उजागर गरिरहेका छन् ।
गोतामे जे लेख्थे त्यही बोल्दथे। जे बोल्दथे त्यही लेख्दथे। अथवा उनको लेखन कार्य र निजी व्यवहारबीच गज्जबको समन्वय रहेको पाइन्छ। यो नै गोतामको मूलभूत विशेषता पनि हो। गोतामेका हास्यव्यङ्ग्यकार व्यक्तित्वपछि बढ्ता चिनिएको व्यक्तित्व पनि यही खरो, खस्राे निर्भीक व्यक्तित्व नै थियो भन्नुपर्ने हुन्छ ।
क्रमश: अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)









































म श्याम गोतामेसम्बन्धी आलेख श्रृंखला नियमित पढ्दै आएको छु । लेखकलाई धन्यवाद !!
व्यक्तित्व चर्चा र परिचय सम्बन्धि सुन्दर लेख ! जय होस् 🙏