साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मानको भूमिका

उनीहरूले पनि आफ्नो कर्तव्य बिर्से । उचित त के हुन्थ्यो भने प्रहरीको एउटा टोली मानसिंहलाई भेट्न जाँदो हो र भन्दो हो, ‘हे दस्युराज ! तपाईं वयोवृद्ध हुनुहुन्छ । तपाईंले अरु दश पन्ध्रवटा डकैती गर्नुस् ।’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

प्रिय बन्धु,

लामो समयदेखि मैले पत्र लेखिनँ । यस अन्तरालमा ठुलाठुला घटनाहरू भए । मेरो जीवनमा त्यस्तो महान् क्षण पनि आयो जुन जीवनमा एकपटक मात्र आउने गर्छ । धेरैको जीवनमा यो यति ढिलो गरेर आउँछ कि यसमा र पिण्डदानको समयमा खासै अन्तर रहँदैन । के तपाईको क्षण पनि आइपुगेको हो ? अर्थात् के कहिल्यै कसैले तपाईंसँग तपाईंको जन्ममिति सोधे ?

विरोधाभासको भूमिका तयार भयो नि ! छैन, त्यस्तो कुरो भएको छैन । भयो के भने एक दिन मलाई भेट्न दुई तीन जना नवयुवकहरू आए ; एकदमै ताजा र नचिनिएका । आउँदाआउँदै मसँग तपाईंको जन्ममिति के हो भनेर सोधे । म त यस्तो अप्रत्याशित प्रश्नले अनकनाएँ । तपाईंलाई त थाहै छ, जन्ममिति सोध्ने प्रयोजनहरू अनेक हुन्छन् जसमा एकदुई वटा त निकै डरलाग्दा हुन्छन् । आयुको एउटा अवस्थासम्म त यो प्रश्न प्यारो पनि लाग्छ, त्यसपछि भने सोध्नेलाई भक्कुमार गाली गर्न मन लाग्छ । म निकै अप्ठ्यारोमा परेँ । आखिर किन सोध्छन् यिनीहरू ? अब म यिनीहरूलाई कुनचाहिँ मिति भनिदिऊँ ?

तपाईंलाई थाहै होला, प्राचीन ऋषिमुनिदेखि आधुनिक बाबुगिरीको समयसम्म कसैले पनि आफ्नो सही जन्ममिति भनेका छैनन् । विश्वामित्रसम्मले मेनकालाई आफ्नो वास्तविक आयु लुकाएका थिए । मैले ती तन्नेरीहरूलाई सोधेँ, ‘मेरो जन्ममितिको आवश्यकता किन परेछ ? खास के कुरो हो र ?’ तिनीहरूमध्ये सबैभन्दा बढी विनयशील लाग्नेले भन्यो, ‘हजुर, कुरो के हो भने तपाईंले पनि लेख्दालेख्दै बाह्र तेह्र वर्ष बिताउनुभएछ । अब त तपाईं पनि अनुभवी हुनुभयो । तपाईंले केही नभने पनि हामीले आफ्नो कर्तव्य बुझेका छौँ र त्यो पूर्ण गर्न चाहन्छौँ ।’

बन्धु, मैले यो सङ्केत बुझेपछि त म हर्षविह्वल भएँ । उनीहरू मेरो जन्मदिन मनाउन चाहन्थे ; मेरो सम्मान गर्न चाहन्थे । किन गर्न चाहन्थे उनीहरू यस्तो ? किनभने मैले लेख्न थालेका बाह्र तेह्र वर्ष भइसकेका थिए र म अब चालिसको नजिक पनि पुगेको थिएँ । यो त्यो अवस्था हो जब लेखकले पाठ्यपुस्तकमा प्रवेश पाउँछ र मदरसामा प्रतिष्ठा पाउँछ । जुन लेखकको प्रवेश मदरसामा भयो त्यो ठुलो लेखक भयो । उसको सम्मान हुनुपर्छ । यता मेरा पनि एकदुईवटा सामग्री पाठ्यपुस्तकमा सङ्कलित भएका छन् र हुन सक्छ यी केटाहरूले पनि त्यो पढे होलान् अनि उनीहरूले मप्रति आफ्नो कर्तव्य बुझे होलान् ।

‘तपाईंले पनि लेखेका बाह्र तेह्र वर्ष भए ।’ — विचार गर्छु, यदि बाह्र तेह्र वर्ष मैले चोरेको पनि हुन्थ्यो भने के उनीहरू आएर यसै गरी भन्दा हुन् त —‘तपाईंले चोर्न थालेका पनि बाह्र तेह्र वर्ष बिते । तपाईंले भने पनि नभने पनि हामी आफ्नो कर्तव्य बुझ्दछौँ । आफ्नो जन्ममिति भनिदिनुस् त !’ हो, उनीहरू त्यस स्थितिमा पनि आउँथे किनभने भारतमा सबै कुरो आयुअनुसार नै गर्ने गरिन्छ । उमेरमै विवाह हुन्छ र उमेरमै सन्तान पनि हुन्छन् । यदि मान्छे साहित्य, राजनीति, जनसेवा या पसलको माध्यमबाट जनतासित सम्पर्कमा रह्यो र उसको उमेर पनि साठीतिर पुग्यो भने मानिसहरूले उसको अभिनन्दन गर्दछन् । कसैले ‘ए भाइ, किन गर्दै छौ अभिनन्दन ? यिनले त्यस्तो के गरेका छन् र ?’ भनेर सोधे भने उत्तर पनि त्यस्तै पाउनेछन्, ‘केही होइन, साठी वर्षका हुनुभयो नि त !’ यो ठुलो पराक्रम हो । अभिनन्दन गरेर छोडिदिन्छन्, मानौँ भन्न चाहन्छन्, ‘बाजे, अब तिमीे इच्छा लागेको दिन देहत्याग गर्न स्वतन्त्र छौ ?’

एक पटक एउटा नेताको अभिनन्दनको लागि निकालिएको अपिलमा लेखिएको थियो – ‘फलानाज्यू सत्तरी वर्षका हुनुभयो । यता आएर उहाँको स्वास्थ्य अवस्था पनि निकै खस्किँदै गएको छ । त्यसो हुँदा उहाँको अभिनन्दन समारोह अविलम्ब गरिदिनु हाम्रो कर्तव्य भएको छ ।’ यसको स्पट अर्थ के भयो भने बाबुहो ! जुन समयको प्रतीक्षा हामीलाई थियो, अब त्यो समय आइपुगेको छ । फलनाज्यूले रमाना लिने वेला भयो । उहाँले देहत्याग नगर्दै उहाँको अभिनन्दन गरिदिऔँ जसले गर्दा उहाँको आत्माले छट्पटाउनु नपरोस् । त्यसो त मानिसहरू यसो पनि भन्छन् — धन र सम्मान मृत्युको यति निकट आएर पाउनुभन्दा पहिले नै पाइने हो भने जीवन केही लामो र उपयोगी पनि हुने थियो । तर यसमा झन्झट पनि छ । कसलाई दिने र कसलाई नदिने ? यसमा झगडा पनि हुन सक्छ । उमेरको सूत्र सरल छ । उमेर एउटा सर्वमान्य उपलब्धि हो । त्यसको इज्जतमा कसैलाई केही गुनासो हुँदैन ।

म कहिलेकाहीँ एकजना वयोवृद्ध साहित्यकारमाथि व्यङ्ग्य गरिदिन्छु । केही व्यक्तिहरूले मसँग यसो गर्न नहुने बताए । मैले भनेँ, ‘उनका कर्महरू नै पाखण्डी छन् त !’ फेरि उनीहरूले भने, ‘जे भए पनि आखिर उहाँ वयोवृद्ध हुनुहुन्छ नि !’ बन्धु, यसो यस नीतिमाथि विचार गर्नुस् त ! कर्म नहेर रे ! उमेर हेर रे ! यति सुल्झेको सिद्धान्त मानवसमाजमा कसरी चलेको छ कुन्नि जसमा हरेक सिद्धान्त अल्झिएको छ ।

मलाई सम्झना हुन्छ— जति वेला हामी स्कुलमा पढ्थ्यौँ त्यति वेला एकजना बुढा लालजी दाजु थिए । उनी समय बिताउनका लागि स्कुलका केटाहरूलाई बोलाएर उनीहरूसित तास खेल्थे । अनि उनका विषयमा सबै जनाको मत उनी एकदमै निकृष्ट मान्छे हुन्, रक्सी खान्छन् र जुवा खेल्छन् भन्ने थियो । उनले हामीलाई बाजी थापेर खेल्न सिकाए । उनी नियमित रूपमा हामीलाई पैसा दिन्थे र बाजी थाप्न लगाउँथे । खेल सकिएपछि उनले पैसा फिर्ता लिन्थे । यसरी हारजितको आर्थिक पक्ष हराउँथ्यो । जुवाको प्राथमिक शिक्षा हामीले उनीबाटै पाएका हौँ । उनले हामीलाई केही उच्च श्रेणीका गालीहरू पनि सिकाए जुन श्रेणीका गालीहरू पुलिसको ज्ञानकोशमा पनि छैन होला । एक दिन उनको ‘हृदय असफल’ (हर्ट फेल) भयो अनि उनलाई देवताहरूका छोराछोरीलाई जुवा सिकाउन स्वर्गतिर बोलाइयो । अँ, खास कुरो त बिर्सेँछु ।

एक पटक कुनै सन्दर्भमा टोलमा एउटा समिति बन्यो र त्यसको सर्वसम्मत अध्यक्ष लालजी दाजुलाई बनाइयो । हामी केटाकेटीहरू त अचम्ममै पर्‍यौँ । हामीले आफ्ना अभिभावकसित यति नराम्रा मान्छेलाई पनि अध्यक्षको पद किन दिएको भनेर सोध्यौँ । हामीले उत्तर पायौँ, ‘जे भए पनि उनी वयोवृद्ध व्यक्ति हुन् ।’ अनि त्यसै वेलादेखि ममा उमेरका प्रति गहिरो श्रद्धा जन्मेको हो र कर्मको स्थान दोस्रो हुन पुगेको हो । अब कुनै बुढो जँड्याहालाई देखे पनि उसप्रति सदाचारभन्दा बढी आदर जाग्दछ । जे भए पनि उनी वयोवृद्ध हुन् । यदि कुनै वृद्धले तिमीलाई ढुङ्गैले हानेछ भने पनि र तिमीले तिनलाई रोकेछौ भने पनि केही नीतिवान्‌हरू आउने छन् र भन्नेछन्, ‘केही नभन भो ।’ अनि तिमी भन्नेछौ, ‘तर ऊ त मलाई ढुङ्गाले हिर्काउँदै छ नि त !’ अनि नीतिवान्‌हरूले भन्नेछन्, ‘जे गरे पनि उनी वयोवृद्ध हुन् ।’

पछिल्ला केही वर्षहरूमा केही वयोवृद्धहरूले सबै नयाँ साहित्यलाई कसिङ्गर भन्ने पेसा नै गर्न थालेपछि केही नयाँ लेखकहरूले उनीहरूमाथि प्रत्याक्रमण गरे । अनि केही नीतिवान्‌हरूले सुझाव दिए, ‘उनीहरूलाई केही नभन । उनीहरू वयोवृद्ध हुन् ।’ आफूमाथि तेर्सिएर तापस दिने वरको रुखसित प्रतिरोध गर्ने अधिकार साना बिरुवालाई हुँदैन । उनीहरूले रुखसित भन्नुपर्ने हुन्छ, ‘हे वयोवृद्ध, चाहे तपाईंले हामीलाई हुर्किन नदिनुहोस् तर हामी तपाईंको आदर गर्छौँ । तपाईंले जे गरे पनि तपाईं वयोवृद्ध हुनुहुन्छ । तपाईंको सबैभन्दा ठुलो उपलब्धि के हो भने तपाईंले जन्म लिनका लागि हाम्रोभन्दा पहिलेको समय चुन्नुभयो ।’

बन्धु, उमेरको अर्थ के हो ? अनुभवहरूको भण्डार तथा कर्मको समाहार । हामी यिनै कुराको त सम्मान गर्छौँ नि ! जीवनभरि घुस खाएर ‘रिटायरमेन्ट’ अवकाश लिएका वयोवृद्धलाई जब हामी सम्मान गर्छौँ तब हामी यही भन्छौँ, ‘हे वयोवृद्ध, हामी तपाईंको जीवनव्यापी घुुसखोरीका अनुभवहरूलाई प्रणाम गर्छौँ । कुकर्महरूको जुन डङ्गुर तपाईंले थुपार्नुभएको छ त्यसको आदर गर्छौँ ।’

के तपाईंलाई डाकु मानसिंहप्रति अन्याय भएको हो भन्ने लाग्दैन ? मलाई त बिझाउँछ । डाकु मानसिंहलाई पुलिसले असी वर्षको उमेरमा मारेको थियो । यो त नीतिविरुद्ध भयो नि ! जुन राजनीतिक दलहरू धर्म र संस्कृतिका रक्षक छन् , कम्तीमा तिनले त यसका विरुद्ध आन्दोलन गर्नुपर्थ्यो । उनीहरूले पनि आफ्नो कर्तव्य बिर्से । उचित त के हुन्थ्यो भने प्रहरीको एउटा टोली मानसिंहलाई भेट्न जाँदो हो र भन्दो हो, ‘हे दस्युराज ! तपाईं वयोवृद्ध हुनुहुन्छ । तपाईंले अरु दश पन्ध्रवटा डकैती गर्नुस् ।’

बन्धु, जहिले ती केटाहरू आए तब मेरो यो विश्वास अझ परिपक्व भयो । सबै उमेरले नै हुने हो । ‘समय पाय तरुवर फरै केतिक सींचौँ नीर !’ (जतिसुकै पानीको सिँचाइ गरे पनि समय आएपछि मात्र रुखमा फल लाग्छ ।)

कामले के गर्छ ? यदि मैले आउने बिस बाइस वर्षसम्म अरूकै रचनाहरू चोरेर आफ्नो नाममा छपाएँ भने पनि साठी वर्ष पुग्दानपुग्दै यी केटाहरू (जो त्यति वेलासम्म प्रौढ भइसकेका हुनेछन्‌) फेरि मलाई भेट्न आउने छन् र भन्नेछन्, ‘चाहे तपाईंले बिस वर्षमा केवल साहित्यिक चोरी मात्र गर्नुभयो तर अब तपाईं साठी वर्षको हुनुभयो । आउनुस्, हामी तपाईंको अभिनन्दन गर्छौँ ।’

मित्र, यदि वयोवृद्धवृन्दले यसलाई पढेर रिसाउनुभयो भने पनि यो उनीहरूकै पक्षमा लेखेको हो भनेर बुझाइदिनू । मेरो पक्ष पनि यही हो । सबैले आआफ्नो भविष्य बनाउने हो ।

अनि ? अरू के छ त हालखबर ? सम्पादकमण्डलका एकमात्र कुमार (राजा दुबे)को विवाहको अवसरमा ‘कल्पना’लाई नियमित गर्नू ।

सस्नेह ह.शं.प.

०००
हरिशंकर परसाईंको ‘परसाई रचनावली’– ३ को पत्र निबन्ध खण्डको ‘सम्मान की भूमिका’ शीर्षकबाट अनुवाद गरिएको हो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x