हरिशंकर परसाईंसम्मानको भूमिका
उनीहरूले पनि आफ्नो कर्तव्य बिर्से । उचित त के हुन्थ्यो भने प्रहरीको एउटा टोली मानसिंहलाई भेट्न जाँदो हो र भन्दो हो, ‘हे दस्युराज ! तपाईं वयोवृद्ध हुनुहुन्छ । तपाईंले अरु दश पन्ध्रवटा डकैती गर्नुस् ।’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
प्रिय बन्धु,
लामो समयदेखि मैले पत्र लेखिनँ । यस अन्तरालमा ठुलाठुला घटनाहरू भए । मेरो जीवनमा त्यस्तो महान् क्षण पनि आयो जुन जीवनमा एकपटक मात्र आउने गर्छ । धेरैको जीवनमा यो यति ढिलो गरेर आउँछ कि यसमा र पिण्डदानको समयमा खासै अन्तर रहँदैन । के तपाईको क्षण पनि आइपुगेको हो ? अर्थात् के कहिल्यै कसैले तपाईंसँग तपाईंको जन्ममिति सोधे ?
विरोधाभासको भूमिका तयार भयो नि ! छैन, त्यस्तो कुरो भएको छैन । भयो के भने एक दिन मलाई भेट्न दुई तीन जना नवयुवकहरू आए ; एकदमै ताजा र नचिनिएका । आउँदाआउँदै मसँग तपाईंको जन्ममिति के हो भनेर सोधे । म त यस्तो अप्रत्याशित प्रश्नले अनकनाएँ । तपाईंलाई त थाहै छ, जन्ममिति सोध्ने प्रयोजनहरू अनेक हुन्छन् जसमा एकदुई वटा त निकै डरलाग्दा हुन्छन् । आयुको एउटा अवस्थासम्म त यो प्रश्न प्यारो पनि लाग्छ, त्यसपछि भने सोध्नेलाई भक्कुमार गाली गर्न मन लाग्छ । म निकै अप्ठ्यारोमा परेँ । आखिर किन सोध्छन् यिनीहरू ? अब म यिनीहरूलाई कुनचाहिँ मिति भनिदिऊँ ?
तपाईंलाई थाहै होला, प्राचीन ऋषिमुनिदेखि आधुनिक बाबुगिरीको समयसम्म कसैले पनि आफ्नो सही जन्ममिति भनेका छैनन् । विश्वामित्रसम्मले मेनकालाई आफ्नो वास्तविक आयु लुकाएका थिए । मैले ती तन्नेरीहरूलाई सोधेँ, ‘मेरो जन्ममितिको आवश्यकता किन परेछ ? खास के कुरो हो र ?’ तिनीहरूमध्ये सबैभन्दा बढी विनयशील लाग्नेले भन्यो, ‘हजुर, कुरो के हो भने तपाईंले पनि लेख्दालेख्दै बाह्र तेह्र वर्ष बिताउनुभएछ । अब त तपाईं पनि अनुभवी हुनुभयो । तपाईंले केही नभने पनि हामीले आफ्नो कर्तव्य बुझेका छौँ र त्यो पूर्ण गर्न चाहन्छौँ ।’
बन्धु, मैले यो सङ्केत बुझेपछि त म हर्षविह्वल भएँ । उनीहरू मेरो जन्मदिन मनाउन चाहन्थे ; मेरो सम्मान गर्न चाहन्थे । किन गर्न चाहन्थे उनीहरू यस्तो ? किनभने मैले लेख्न थालेका बाह्र तेह्र वर्ष भइसकेका थिए र म अब चालिसको नजिक पनि पुगेको थिएँ । यो त्यो अवस्था हो जब लेखकले पाठ्यपुस्तकमा प्रवेश पाउँछ र मदरसामा प्रतिष्ठा पाउँछ । जुन लेखकको प्रवेश मदरसामा भयो त्यो ठुलो लेखक भयो । उसको सम्मान हुनुपर्छ । यता मेरा पनि एकदुईवटा सामग्री पाठ्यपुस्तकमा सङ्कलित भएका छन् र हुन सक्छ यी केटाहरूले पनि त्यो पढे होलान् अनि उनीहरूले मप्रति आफ्नो कर्तव्य बुझे होलान् ।
‘तपाईंले पनि लेखेका बाह्र तेह्र वर्ष भए ।’ — विचार गर्छु, यदि बाह्र तेह्र वर्ष मैले चोरेको पनि हुन्थ्यो भने के उनीहरू आएर यसै गरी भन्दा हुन् त —‘तपाईंले चोर्न थालेका पनि बाह्र तेह्र वर्ष बिते । तपाईंले भने पनि नभने पनि हामी आफ्नो कर्तव्य बुझ्दछौँ । आफ्नो जन्ममिति भनिदिनुस् त !’ हो, उनीहरू त्यस स्थितिमा पनि आउँथे किनभने भारतमा सबै कुरो आयुअनुसार नै गर्ने गरिन्छ । उमेरमै विवाह हुन्छ र उमेरमै सन्तान पनि हुन्छन् । यदि मान्छे साहित्य, राजनीति, जनसेवा या पसलको माध्यमबाट जनतासित सम्पर्कमा रह्यो र उसको उमेर पनि साठीतिर पुग्यो भने मानिसहरूले उसको अभिनन्दन गर्दछन् । कसैले ‘ए भाइ, किन गर्दै छौ अभिनन्दन ? यिनले त्यस्तो के गरेका छन् र ?’ भनेर सोधे भने उत्तर पनि त्यस्तै पाउनेछन्, ‘केही होइन, साठी वर्षका हुनुभयो नि त !’ यो ठुलो पराक्रम हो । अभिनन्दन गरेर छोडिदिन्छन्, मानौँ भन्न चाहन्छन्, ‘बाजे, अब तिमीे इच्छा लागेको दिन देहत्याग गर्न स्वतन्त्र छौ ?’
एक पटक एउटा नेताको अभिनन्दनको लागि निकालिएको अपिलमा लेखिएको थियो – ‘फलानाज्यू सत्तरी वर्षका हुनुभयो । यता आएर उहाँको स्वास्थ्य अवस्था पनि निकै खस्किँदै गएको छ । त्यसो हुँदा उहाँको अभिनन्दन समारोह अविलम्ब गरिदिनु हाम्रो कर्तव्य भएको छ ।’ यसको स्पट अर्थ के भयो भने बाबुहो ! जुन समयको प्रतीक्षा हामीलाई थियो, अब त्यो समय आइपुगेको छ । फलनाज्यूले रमाना लिने वेला भयो । उहाँले देहत्याग नगर्दै उहाँको अभिनन्दन गरिदिऔँ जसले गर्दा उहाँको आत्माले छट्पटाउनु नपरोस् । त्यसो त मानिसहरू यसो पनि भन्छन् — धन र सम्मान मृत्युको यति निकट आएर पाउनुभन्दा पहिले नै पाइने हो भने जीवन केही लामो र उपयोगी पनि हुने थियो । तर यसमा झन्झट पनि छ । कसलाई दिने र कसलाई नदिने ? यसमा झगडा पनि हुन सक्छ । उमेरको सूत्र सरल छ । उमेर एउटा सर्वमान्य उपलब्धि हो । त्यसको इज्जतमा कसैलाई केही गुनासो हुँदैन ।
म कहिलेकाहीँ एकजना वयोवृद्ध साहित्यकारमाथि व्यङ्ग्य गरिदिन्छु । केही व्यक्तिहरूले मसँग यसो गर्न नहुने बताए । मैले भनेँ, ‘उनका कर्महरू नै पाखण्डी छन् त !’ फेरि उनीहरूले भने, ‘जे भए पनि आखिर उहाँ वयोवृद्ध हुनुहुन्छ नि !’ बन्धु, यसो यस नीतिमाथि विचार गर्नुस् त ! कर्म नहेर रे ! उमेर हेर रे ! यति सुल्झेको सिद्धान्त मानवसमाजमा कसरी चलेको छ कुन्नि जसमा हरेक सिद्धान्त अल्झिएको छ ।
मलाई सम्झना हुन्छ— जति वेला हामी स्कुलमा पढ्थ्यौँ त्यति वेला एकजना बुढा लालजी दाजु थिए । उनी समय बिताउनका लागि स्कुलका केटाहरूलाई बोलाएर उनीहरूसित तास खेल्थे । अनि उनका विषयमा सबै जनाको मत उनी एकदमै निकृष्ट मान्छे हुन्, रक्सी खान्छन् र जुवा खेल्छन् भन्ने थियो । उनले हामीलाई बाजी थापेर खेल्न सिकाए । उनी नियमित रूपमा हामीलाई पैसा दिन्थे र बाजी थाप्न लगाउँथे । खेल सकिएपछि उनले पैसा फिर्ता लिन्थे । यसरी हारजितको आर्थिक पक्ष हराउँथ्यो । जुवाको प्राथमिक शिक्षा हामीले उनीबाटै पाएका हौँ । उनले हामीलाई केही उच्च श्रेणीका गालीहरू पनि सिकाए जुन श्रेणीका गालीहरू पुलिसको ज्ञानकोशमा पनि छैन होला । एक दिन उनको ‘हृदय असफल’ (हर्ट फेल) भयो अनि उनलाई देवताहरूका छोराछोरीलाई जुवा सिकाउन स्वर्गतिर बोलाइयो । अँ, खास कुरो त बिर्सेँछु ।
एक पटक कुनै सन्दर्भमा टोलमा एउटा समिति बन्यो र त्यसको सर्वसम्मत अध्यक्ष लालजी दाजुलाई बनाइयो । हामी केटाकेटीहरू त अचम्ममै पर्यौँ । हामीले आफ्ना अभिभावकसित यति नराम्रा मान्छेलाई पनि अध्यक्षको पद किन दिएको भनेर सोध्यौँ । हामीले उत्तर पायौँ, ‘जे भए पनि उनी वयोवृद्ध व्यक्ति हुन् ।’ अनि त्यसै वेलादेखि ममा उमेरका प्रति गहिरो श्रद्धा जन्मेको हो र कर्मको स्थान दोस्रो हुन पुगेको हो । अब कुनै बुढो जँड्याहालाई देखे पनि उसप्रति सदाचारभन्दा बढी आदर जाग्दछ । जे भए पनि उनी वयोवृद्ध हुन् । यदि कुनै वृद्धले तिमीलाई ढुङ्गैले हानेछ भने पनि र तिमीले तिनलाई रोकेछौ भने पनि केही नीतिवान्हरू आउने छन् र भन्नेछन्, ‘केही नभन भो ।’ अनि तिमी भन्नेछौ, ‘तर ऊ त मलाई ढुङ्गाले हिर्काउँदै छ नि त !’ अनि नीतिवान्हरूले भन्नेछन्, ‘जे गरे पनि उनी वयोवृद्ध हुन् ।’
पछिल्ला केही वर्षहरूमा केही वयोवृद्धहरूले सबै नयाँ साहित्यलाई कसिङ्गर भन्ने पेसा नै गर्न थालेपछि केही नयाँ लेखकहरूले उनीहरूमाथि प्रत्याक्रमण गरे । अनि केही नीतिवान्हरूले सुझाव दिए, ‘उनीहरूलाई केही नभन । उनीहरू वयोवृद्ध हुन् ।’ आफूमाथि तेर्सिएर तापस दिने वरको रुखसित प्रतिरोध गर्ने अधिकार साना बिरुवालाई हुँदैन । उनीहरूले रुखसित भन्नुपर्ने हुन्छ, ‘हे वयोवृद्ध, चाहे तपाईंले हामीलाई हुर्किन नदिनुहोस् तर हामी तपाईंको आदर गर्छौँ । तपाईंले जे गरे पनि तपाईं वयोवृद्ध हुनुहुन्छ । तपाईंको सबैभन्दा ठुलो उपलब्धि के हो भने तपाईंले जन्म लिनका लागि हाम्रोभन्दा पहिलेको समय चुन्नुभयो ।’
बन्धु, उमेरको अर्थ के हो ? अनुभवहरूको भण्डार तथा कर्मको समाहार । हामी यिनै कुराको त सम्मान गर्छौँ नि ! जीवनभरि घुस खाएर ‘रिटायरमेन्ट’ अवकाश लिएका वयोवृद्धलाई जब हामी सम्मान गर्छौँ तब हामी यही भन्छौँ, ‘हे वयोवृद्ध, हामी तपाईंको जीवनव्यापी घुुसखोरीका अनुभवहरूलाई प्रणाम गर्छौँ । कुकर्महरूको जुन डङ्गुर तपाईंले थुपार्नुभएको छ त्यसको आदर गर्छौँ ।’
के तपाईंलाई डाकु मानसिंहप्रति अन्याय भएको हो भन्ने लाग्दैन ? मलाई त बिझाउँछ । डाकु मानसिंहलाई पुलिसले असी वर्षको उमेरमा मारेको थियो । यो त नीतिविरुद्ध भयो नि ! जुन राजनीतिक दलहरू धर्म र संस्कृतिका रक्षक छन् , कम्तीमा तिनले त यसका विरुद्ध आन्दोलन गर्नुपर्थ्यो । उनीहरूले पनि आफ्नो कर्तव्य बिर्से । उचित त के हुन्थ्यो भने प्रहरीको एउटा टोली मानसिंहलाई भेट्न जाँदो हो र भन्दो हो, ‘हे दस्युराज ! तपाईं वयोवृद्ध हुनुहुन्छ । तपाईंले अरु दश पन्ध्रवटा डकैती गर्नुस् ।’
बन्धु, जहिले ती केटाहरू आए तब मेरो यो विश्वास अझ परिपक्व भयो । सबै उमेरले नै हुने हो । ‘समय पाय तरुवर फरै केतिक सींचौँ नीर !’ (जतिसुकै पानीको सिँचाइ गरे पनि समय आएपछि मात्र रुखमा फल लाग्छ ।)
कामले के गर्छ ? यदि मैले आउने बिस बाइस वर्षसम्म अरूकै रचनाहरू चोरेर आफ्नो नाममा छपाएँ भने पनि साठी वर्ष पुग्दानपुग्दै यी केटाहरू (जो त्यति वेलासम्म प्रौढ भइसकेका हुनेछन्) फेरि मलाई भेट्न आउने छन् र भन्नेछन्, ‘चाहे तपाईंले बिस वर्षमा केवल साहित्यिक चोरी मात्र गर्नुभयो तर अब तपाईं साठी वर्षको हुनुभयो । आउनुस्, हामी तपाईंको अभिनन्दन गर्छौँ ।’
मित्र, यदि वयोवृद्धवृन्दले यसलाई पढेर रिसाउनुभयो भने पनि यो उनीहरूकै पक्षमा लेखेको हो भनेर बुझाइदिनू । मेरो पक्ष पनि यही हो । सबैले आआफ्नो भविष्य बनाउने हो ।
अनि ? अरू के छ त हालखबर ? सम्पादकमण्डलका एकमात्र कुमार (राजा दुबे)को विवाहको अवसरमा ‘कल्पना’लाई नियमित गर्नू ।
सस्नेह ह.शं.प.
०००
हरिशंकर परसाईंको ‘परसाई रचनावली’– ३ को पत्र निबन्ध खण्डको ‘सम्मान की भूमिका’ शीर्षकबाट अनुवाद गरिएको हो ।)
Subscribe
Login
0 Comments
Oldest







































