नरनाथ लुइँटेलश्याम गाेतामेकाे अवशान (७)
उनको शव खरानी हुञ्जेलसम्म पनि उनको मृत्युको खवर पाएर साहित्यकारहरू आर्यघाट पुग्ने क्रम जारी रहेको थियो। यसरी गोतामे भौतिक रूपमा निस्प्राण भए पनि उनका रचना सिर्जनामा उनी अद्यापि ज्युँदो छन् र धेरै पछिसम्म ज्यूँदो रहने छन् ।
नरनाथ लुइँटेल :
वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाेतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
(७)
अनायासै हास्यव्यङ्ग्य लेखनमा प्रवेश गरेका श्याम गोतामेको नेपाली हास्यव्यङ्ग्यमा दीर्घजीवन बाँचेर आकस्मिक ढङ्गले २०५५ साल वैशाख १९ गते बिहान पौने ५ बजेतिर देहान्त भयो। उनको मृत्यु हुँदा उनको उमेर ५९ वर्ष पुगेको थियो। आर्थिकरूपले निकै जर्जर अवस्था भए पनि गोतामे शारीरिक रूपमा निकै स्वस्थ देखिन्थे। २०५२ सालमा पहिलोपटक मुटुसम्वन्धी केही समस्या देखापरेको थियो। मुटुसम्बन्धी अस्वस्थताको पहिलो आक्रमणपछि उपचार र औषधिको सेवन गरियो. त्यसपछि यो समस्या फेरि देखिएको थिएन। २०५१ सालदेखि उनको पिशावबाट सुगर जाने र वेलावेला पिशाव रोकिने समस्याको सामना गरिरहेका थिए। त्यसको पनि उपचार र औषधि प्रयोग भइरहेको थियो।
ललितपुरस्थित जाउलाखेलको वि.एन.वि. प्राइभेट अस्पत्तालमा अप्रेशन गरी नियमित औषधि सेवन गरिरहेका गोतामेलाई वैशाख १८ गते राति पिशाव रोकिने समस्याले पुनः सतायो। राति १२ बजेदेखि गोतामे छटपटाए तर अन्तरमुखी स्वभाव र सकेसम्म अरूलाई दुःख नदिने बानीले गर्दा आफ्नै पत्नी र छोरालाईसमेत उनले उठाएनन् । एकैचोटि विहान ४ बजेतिर एकदमै असैह्य भएपछि पत्नीलाई उठाएर ‘मलाई अलिक असजिलो भयो, जाउलाखेल जाउँ’ भने। पत्नीले छोरा प्रकाशलाई उठाउन खोज्दा उनले रोकेर ‘उसलाई किन दुःख दिने, आधा घण्टाको काम हो, हामी फर्किहाल्छौं, भो पर्दैन’ भने। त्यसपछि गोतामे पत्नीको साथ लागेर तल झरे र पाकोदेखि सुनधारासम्म हिंडेरै गए। सुनधाराबाट ट्याक्सी चढी जाउलाखेल पुगेका गोतामेको तुरून्तै उपचार भयो र रोकिएको पिशाव खुल्यो। तर त्यसको केही बेरपछि नै उनलाई स्वाँस्वाँ बढेर आयो। औषधिको साइड इफेक्ट हो या अरू नै केही भयो, उनी एकदमै नर्भस भएर पत्नी पद्मासँग ‘अब म शायद रहन्न होला, घरको राम्रो हेरविचार गर्नु, म बितिहालेँ भने पनि कान्छा छोरालाई जापानबाट नबोलाउनु’ आदि कुरा गर्न थाले।
डाक्टरले गोतामेको हर्टएट्याक भएको हुन सक्ने आशङ्का गरी त्यहाँ आई.सि.यु.को व्यवस्था नभएको र उक्त व्यवस्था भएको वीर अस्पत्तालमा लैजान आग्रह गरेको बताइन्छ । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखी तुरुन्तै वीर अस्पत्तालतिर हिंडाइयो। त्यो बेलासम्म उनी बेहोस भइसकेका थिए। पाटन अस्पत्ताल नाघेर एम्बुलेन्स अगाडि बढेपछि गोतामे एकाएक होसबाट व्युँझिए र एकपटक “हे राम ।” भनी आँखा चिम्लिए। साथमा रहेका छोरा प्रकाशको भनाइ छ- ‘जिन्दगी भरी भगवानको नाम नलिने पिता गोतामेले किन हे राम भन्नुभयो बडो अनौठो लागेको छ।” (प्रकाश गौतम- १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा व्यक्त मन्तव्यको क्रममा।) वीर अस्पत्ताल ल्याइ पुऱ्याइएको उनको शरीरलाई डाक्टरहरूले निर्जीव घोषणा गरिदिए। त्यसपछि उनको शव त्यतैबाट पशुपति आर्यघाट लगियो।
गोतामेको आकस्मिक स्वर्गारोहणको दुःखद समाचार पाएर थुप्रै लेखक साहित्यकारहरू आर्यघाट पुगेका थिए। फूलमाला र अवीर अर्पण गर्दै सवै लेखक तथा साहित्यकारहरूले गोतामेको शवको अन्तिम दर्शन गरी चितामा राखियो। छोरा प्रकाशले दागबत्ती दिए। उनको शव खरानी हुञ्जेलसम्म पनि उनको मृत्युको खवर पाएर साहित्यकारहरू आर्यघाट पुग्ने क्रम जारी रहेको थियो। यसरी गोतामे भौतिक रूपमा निस्प्राण भए पनि उनका रचना सिर्जनामा उनी अद्यापि ज्युँदो छन् र धेरै पछिसम्म ज्यूँदो रहने छन् ।
गोतामेको देहान्तको १३औं दिन पारेर हास्यव्यङ्ग्य समाज नेपालले काठमाडौंस्थित कृषि विकास बैंकको सभाकक्षमा एक श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो। उक्त श्रद्धाञ्जलि सभा प्रमुख अतिथि तथा सभापति बेगर अनौपचारिक रूपमा प्रारम्भ भएको थियो। कवि, लेखक तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त सभामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा प्रेषित शोक वक्तव्य वाचन गरिएको थियो। उक्त शोक वक्तव्यमा भनिएको थियो- ‘नेपाली हास्यव्यङ्ग्य फाँटका सशक्त हस्ताक्षर वरिष्ठ लेखक श्याम गोतामेको निधन भएको सुन्दा मलाई ज्यादै दुःख लागेको छ। उहाँको निधनले हास्यव्यङ्ग्य साहित्यको फाँटमा अपूरणीय क्षति पुगेको महसूस गरेको छु। हास्यव्यङ्ग्य जस्तो जटिल विधामा सरल ढङ्गले निबन्धहरू रचना गरी नेपाली साहित्यमा पुऱ्याउनु भएको उहाँको योगदान चिरस्मरणीय रहने छ । दुःखको यस घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार एवम् उहाँका पाठकहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’
सभामा हासनेका तर्फबाट गोतामेलाई मृत्युपरान्त आदर-पत्र अर्पण गरिएको थियो। सुपुत्र प्रकाश गौतमले उक्त आदर-पत्र ग्रहण गरेका थिए। उनले आफ्ना पिताको देहान्तमा शोक प्रकट गर्ने सवैप्रति धन्यवाद ज्ञापन गर्दै गोतामेका केही व्यवहारिक पक्षका प्रसङ्गहरूको स्मरण गरेका थिए। शब्दश्रद्धा व्यक्त गर्दै साहित्यकार रमेश विकल, सूवसेन ओली र रामकुमार पाँडेले गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्व एवम् योगदानका वारेमा मन्तव्य प्रकट गरेका थिए भने हास्यव्यङ्ग्य स्रष्टा श्रीधर खनाल र नरनाथ लुइँटेलले गोतामेका स्मृतिमा रचित कविताहरू वाचन गरेका थिए।
यसरी नेपाली हास्यव्यङ्ग्यको आधुनिककालका एक अत्यन्तै दह्राे र खरो स्रष्टा श्याम गोतामेको भौतिक रूपमा अवसान भएको देखिन्छ ।
क्रमश: अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)








































श्याम गोतामेका हास्यव्यंग्य पहिलेदेखि पढ्दै आएको थिएँ । २०५२-५३ सालतिर ‘हिमालय टाइम्स’को कार्यालयमा अत्यन्त छोटो भेटघाट भएको थियो- हाम्रो । ती दिन हामी दुबैको उपस्थिति ‘हिमालय टाइम्स’ दैनिकको नियमित स्तम्भ व्यग्यंविनोदमा हुन्थ्यो । त्यसो त श्याम गोयन्काको विश्वमित्रमा पनि हामी दुबै पालोपालो व्यंग्य लेख्थ्यौं ।
स्वर्गीय गोतामेको जीवनका मुख्य मोड र साहित्यिक योगदानको बारेमा ‘फित्कौली’मा नियमित पढ्न पाएँ ।
नरनाथ सर र ‘फित्कौली’लाई धन्यवाद!