सुरेशकुमार भट्टफतुरे कान्छा
अनि त भो कि मेरो मुखमा आफैंले आफैलाई यसरी लोप्र्याईं भनेर नाकबाट लोपारेर भनेँ ई खाईस् फत्ते, भाग्यमा नभा मूला भनेर फतुरेले भन्यो । सबै दङ्ग परेर हाँसे हललल।
सुरेशकुमार भट्ट :
फतुरे कान्छा शहरको छेउको छहरे गाउँमा बस्ने रमाइलो हँसिमजाकको मान्छे हो। व्यवसायिक हिसावले भन्नु पर्दा फतुरे कान्छा गाई भैंसी पाल्ने र शहरमा दूध बेच्ने ग्वाला पनि हुन्। ऊनको दैनिकी श्रीमतीले उज्यालो नहुँदै गाई भैंसी दोएर भाँडामा राखिदिएको दूध साइकलमा दुई पट्टी झुन्डाएर शहर पुर्याएर घर फर्कनु निरन्तरता हो। ऊ गफ पनि खुबै गर्ने तर महिनावारी दूध दिने ठाउँमा गौवा /बाल्टी पखालेको बाहेक ईमान्दार खाँट्टी पानी कत्ति नमिसाएको दूध दिने हुनाले उसलाई थाहा पाउनेले अरुसँग दूधै नकिन्ने छाप ग्राहकमा उसले नमेटिने गरी पारेको थियो। नाम पनि फत्ते काम पनि फत्ते र सत्य भनेर प्रशंसा गर्थे।
प्राय: गाउँलेहरू एउटा चिया पसलमा जम्मा हुने र गफ चुट्ने गर्थे। फतुरे पनि तिनै गफाडी गँजडीहरूको एउटा कित्ता नै थियो। फतुरे एक दिन आएन भने पनि सबै खल्लो मानेर घर फर्कन्थे।आपसमा भन्थे फतुरे नभाको गफ नुन नहालेको दाल जस्तो भन्थे। फतुरे पनि हतार हतार शहरमा दूध पुर्याएर हतार हतारमै त्यही चौबाटाको चिया पसल आइपुग्थ्यो। उस्लाई परैबाट देख्ने बित्तिकै लौ आज त झक्कि रमाइलो हुने भो भनेर सबै उसैलाई हेर्थे। ऊ आएर भन्थ्यो पख है दाजु भाइ हो पहिले मेरो घोडा बाँधुम् अनि सुनाउँछु । अनि चिया समाम्ला भनेर अरूलाई सुनाउँथ्यो साईकल राख्नलाई पनि। अरू भन्थे हो हो फत्ते भाइ तेरो टाँगनघोडा बलिएरी बाँध नत्र पैंया ठोक्ला फेरि।
हेर भाइ हो आज म तिमीहरूलाई उदेकको कुरा सुनाउँछु सुन्छौ भन्दै बाँसको मुढामा बस्न लागेको लुरेले थुत्त तानिदिएको बङ्लङ्गै भएर भुईंमा पसारियो । सारा मान्छे मरी मरी हाँसे। ए मलाई लडाउने सल्लाह पहिल्यै भार छ हैन ? तेरिमा धतुरे हो। ल भनओ कल्ले मुढा तानेको ? मैले त हैन । मैले त देखिन। भन्ने नै धेरै भए। आखिरमा लुरेले भन्यो दाइ माफ गर तानेको त मैले हो तर लडाउन हैन बस्न तानेको। गल्ति स्विकार गरिस् हैन ? गरें दाइ गरे। उसो भे दण्ड सजाय तिर ? के होला दाइ ? जा एक कप स्पेशल चिया ले। चिया त म यसै नि दिन्थि नि। अनि के गर्छस् त ? उसो भए। जा तेसो भए बिस्कुट पनि ले नजाने पछि तिर्न पर्याे नि भाइ। ल ल दाइ आज दाइले फर्माउने म खुवाउनी कसो त नि दाइ ? मेरो भातख्वाई गर्या छैन र खुवाउनी बजिया आफै खान्छु नि ले भनेर हातमा लिएर पकापक चोप्दै निल्दै गर्याे । बिहान देखिको भोको। जुरूक्क उठेर डकार्दै गिलास दिएर थपक्क बेन्चका माझमा बस्यो। ए गाउँले हो साँच्चै सुन्ने हो ? सुन्ने किन नसुन्ने ? हिजो अस्ति तँ नआउँदा चौतारै सुन्ने भो भनेर बलेले भन्यो। सबैले हो हो दाइ हो भन्नु भने।
ल सुन त। हेर बाबु हो धेरै वर्ष अगाडिको एक दिनको कुरा हो, म बिहानको रातैमा उठेर दुई भाँडा दूध लिएर खोल्लिएर जाँदैथिं, अलि अँध्यारो अँध्यारै थियो । साइकल अगाडि घच्याक दबियो । ए के रैछ ? भनेर लाइटर बालेर हेरेको त पैह्रा छेउमा गाग्रीको बिट टल्कियो। पहिरो गएर गाग्रीगाडा निस्केको रैछ । मैले कुरो बुझि हालेँ । के रैछ चिनी हालें । अनि मेरो पालो यसो कान्लाको मौरो र पातीको गाँज उखेलेर ढ्याप्प पारेर बजारेको रिनिनि न गर्याे गाग्री । मेरो पालो ट्याप्प बिटमा समातेको रोकियो रन्को । अहो कसैले देख्यो कि भनेर चारैतिर हेरेँ, चानुमानु भाकाले ‘अब धेरै बेर यहाँ अलमलियो भने फत्ते तेरो भाग्य खोसिन्छ, कुद भन्यो मनले । मेरो पालो कुदीहालें।
दिनभरी उतै अलमलिएँ। त्यो दिन यो चौबाटे कहाँ अनि उता मने कहाँ पनि चिया खान आइनँ, दिन भरी शहरमा अनि के आऊनु नि।साँझ नपरी तेता आउँनै भएन । आएर खोतल्न नमिल्ने अरूले देखे गैगो भनेर उतै उतै दिन बिताएँ र ठूलो साँझ टरेपछि टंची टंची कोही मान्छे छन् कि भन्ने बिचार गरेर त्यहाँ आइपुगें। अनि आफूले राखेको पातीको र मौरोको गाँज माथि उठाएर यसो छाम्दै हेर्दै गरेँ पहिरा पट्टि गाग्री धकेलेको झण्डै पहिरामा झरेन। बलै माथि तानेर बोरामा हालेर साइकलमा एकापट्टि झुन्डाएर घरतिर कुलेलम ठोकेँ।
घरमा पुगेर ए बत्ती बाल भनें । उल्ले पनि नसोधिकन बत्ती बालेर आई । अनि मैले भनेँ अई जा दोटा थुँगा फूल पनि ले । नकराई नकराई भने बमोजिम गरी । ल हेरि यो बोराको मुख खोल्दिन्छु लक्ष्मीलाई सम्झेर तिं पूजा गर भनें । गरी सकेपछि यसो मुख खोलेर हेरेको दूध जस्तो सेता चाँदीका दाम टन्नै रैछ गाग्रीमा। ए सुन्त यो लगेर माथि तलामा जतनसँग राख । कसैले नदेखोस् हाम्रा केटा केटीले पनि नदेखुन् बुझिस् भनें । सुरूक्कन लेर गई र तलामा राखेर तल आई तेत्तिखेरै बाख्रा हरायो भन्दै गैराघर क्रिस्ने आयो। हामी झसक्क भयौं। उल्ले भन्यो दाइ हाम्रो बाख्रा देखेनौ ? म दिनभरी शहरमा, तेरी भाउजू घरमा उसैलाई सोध भनें। उल्ले नि मैले देखिन बाबु यता आ भात देखिहाल्थें नि भन्दिई । ए ! कता गो होला ? भन्दै ऊ घर गयो। हामी पनि खानपिन गरेर सुत्यौँ।
भोलिपल्ट म शहर गएर चाँडै नै घर आएँ र भनें आज साँझ चाँडै खानपिन गरेर त्यो काम गर्न पर्याे भनें। उल्ले पनि चाँडै नै खानपिन बनाई भूराहरू खाएर आआफ्नो काम गर भनें । उनरू नि गए। हामी ढोका सोका लाएर बत्ती बालेर मान्द्रोमा खन्याएर गन्न थाल्यौँ।पाँचपाँचको राशी राखेर गन्दागन्दै मध्यरात भो तेतिकै सुत्यौँ। भोलि पल्ट म उठेर दूध लिएर दगुरी हालें। केटाकेटी स्कुल गए। मेरो बुढी घाँस काट्नतिर लागिछ। आमा नजिकै छ भनेर केटाकेटी ढोका खुलै छाडेर स्कुल गएछन्। म शहराट हतार हतार घर आएँ। उल्लाई सोधें अई थान्को मुन्को गरिस् त ? काँ ? गर्नु नि म त तपाईं आ सी गर्ने होला भनेर तलैमा गा छैन। होर ? लौ आइज उसो भा भनेर तलामा गयौँ र हेर्छौं त ढोके झ्याल खुलै रछ झसङ्ग भएर उता दामको राशी भातिर हेर्दा त एउटा राशी पनि छैन।
अनि त भो कि मेरो मुखमा आफैंले आफैलाई यसरी लोप्र्याईं भनेर नाकबाट लोपारेर भनेँ ई खाईस् फत्ते, भाग्यमा नभा मूला भनेर फतुरेले भन्यो । सबै दङ्ग परेर हाँसे हललल। धिताल माइला बाले भने धत्तेरी मोरा तेरो मुख नभा भा त कागले पनि टिपेर शिवपुरी पुर्याउँथ्यो भन्दिए । सबै मरी मरी हाँसेर आजको फतुरे पुराण हिं सकियो स्वाहा भनेर घरतिर बाटो लागे। यस्तै छ हाम्रो शहर छेउका दैनिकी र गफगाफ, चियाको गिलास गन्तीमा दूध बेचेको पैसा साफ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































