बलराम तिमल्सिनाराम राम राम ! हरि हरि हरि !!
बरु राणा शासन ल्याउने हो बरु सती प्रथा फर्काउने हो बरु कमारा कमारी प्रथा जन्माउने हो बरु ढुङ्गे युगमा फर्कने हो बरु भाङ्ग्रा भिर्ने हो बरू ओढारमा बस्ने हो तर धर्म जोगाउने हो ।

बलराम तिमल्सिना :
हरि हरि हरि !
आठ घण्टा काम,
आठ घण्टा आराम
र आठ घण्टा मनोरन्जन माग्ने मजदूरहरू
सिधै पश्चिमका दलाल हुन्
किन कि –
यस्तो नारा उतैबाट यता आएको हो
हाम्रो यता त
मजदूर र मनोरन्जन
एकै जुनीमा सँगसँगै हुनै सक्दैन ।
जसको जोत उसको पोत
यो सिधै फिरङ्गी नारा हो
नेपाली पवित्र माटोमा
यस्तो पापी नारा चल्दै चल्दैन
हाम्रो यता त
जसको लाठी उसको भैंसी चल्छ ।
पुरुष बराबर महिलालाई अधिकार
त्यसो भनिरहेको छ भने कोही
उसलाई सिधै डलरे भनिदिनुस
किन कि –
यो भाँडभैलो उतैबाट आएको हो
यता त ‘पिता रक्षती कौमार्य…’ पो थियो
यता त केवल पुरुषको हाइहुकुम चल्छ
पोथी बासेको अशुभ मानिन्छ हाम्रोमा ।
दलितलाई विशेष अधिकार
जो माग्दै छन यस्ता कुरा
उसलाई भारतको दलाल भनि दिनोस्
अम्बेडकरको काँचो वायु जागेको भने पनि हुन्छ
अम्बेडकर अंग्रेजका दलाल थिए भनिदिनुस
या मनुस्मृतिको मिशायलले ठोकिदिनुस
यता त दलितलाई मान्छे गनिदैनथ्यो
जो पशु सरह यत्रो वर्ष बस्न सके
अझै उसै गरी बाँचे भैहाल्यो नि
हामीले भोगिआएको भाग कटाएर
तिनलाई किन चाहियो विशेष अधिकार ?
धर्म निरपेक्षताका कुरा
गर्दै छ भने कोही मनुवा
उसलाई ईशाई मिशिनरीको जासुस भनिदिनू
हिन्दू अधिराज्य मासेर
यस्तो नरक व्यवस्था ल्याउने
सिधै पश्चिमका दलाल नभएर
अरु को हुन सक्छ ?
सङ्घीयता बलियो बनाऊँ
जो यसो भनिरहेको छ
ऊ यूरोपियन यूनियनको दलाल हो भनिहाल्नु
केही सोच्नै पर्दैन
सिधै भनिदिए हुन्छ
परेको बेहोरौंला
हाम्रो यता त एकात्मक बाहेक छँदै छैन ।
जसले राजा मासे र गणतन्त्र ल्याए
ती सबै यो माटोका बैरी हुन भनिदिऊँ
जसले यो मुलुक आर्ज्यो
उसैका सन्तानलाई गद्दीच्युत गर्नेहरू
यो देशका मित्रु हुन सक्दैनन् ।
समावेशी र समानुपातिक
वाफ्रेवाफ !
हाम्रो धर्म शास्त्रमा
कहीं छुट छैन यस्तो
हाम्रो त आफ्नो थान्को छ
‘ब्राम्हणस्य मुखमासीद
बाहु राजन्य कृत:…’पो हो
मुखबाट जन्मेका
र पैतालाबाट जन्मेकाहरू
कसरी एकै हारमा बस्न मिल्छ
हरिॐ हरिॐ हरिॐ
जो यस्तो रडाको झिक्दै छ
त्यो म्लेक्ष हो, राक्षस हो, दैत्य हो
कल्की अवतार धारण गरेर
सबैलाई खरानी पार्ने छन ईश्वरले ।
यो समाजवाद र साम्यवादको कुरा
राम राम राम !
हरि हरि हरि !!
कहाँ कुइरे र भोटेको बिचार मानेर हुन्छ ?
बरु राणा शासन ल्याउने हो
बरु सती प्रथा फर्काउने हो
बरु कमारा कमारी प्रथा जन्माउने हो
बरु ढुङ्गे युगमा फर्कने हो
बरु भाङ्ग्रा भिर्ने हो
बरू ओढारमा बस्ने हो
तर धर्म जोगाउने हो ।
०००
२०८० कार्तिक २३
सिनामङ्गल काठमाण्डौ
Subscribe
Login
0 Comments
Oldest






































