भोलानाथ सुबेदीबैठक
आफूले चाहेको पाउनका लागि बैठक गर्नुपर्छ । बैठक गरिएन भने भत्ता आउँदैन। भत्ता नआएपछि बेलुकाको चुलो निभ्छ। घरमा भाँडा बज्न थाल्छन् । समस्याको सगरमाथा चुलिन्छ त्यसैले बैठक गर्नैपर्छ।

भलादमी भोला :
भुइँमा थेचारिएर फुई लगाउन होस् वा मझेरीमा मुढा जोतेर घुँडा धसी घडघडो बन्न किन नहोस् ।सोफामा सेपिएर सेयरको कुरा गर्न होस् वा भित्तामा चेपिएर फित्ताका कुरा गर्न होस् ।चाप्लुसी कुरा गर्दै खाजा खानका लागि चाबेलदेखि सात दोबाटोसम्म कुदाउन पनि बैठक नै चाहिन्छ । बैठकमा धक फुकाएर कुरा गर्न पाइन्छ । ठगठाग गरेर बिलको अङ्क थप्न पाइन्छ। आफूले गरेको खर्च उकास्न पनि त बैठक नै चाहिन्छ । रयलपयल खर्चले घरमा भोज लगाउन पाइन्छ। त्यसैले सधैं बैठकै चाहिन्छ।
बैठक झुम्रीलाई भुइँमा गुन्द्री ओछ्याउन लगाएर पनि गर्न सकिन्छ । फलैचामा गलैचा हाली ताली बजाउँदै पनि गर्न सकिन्छ। मनमा चौचौ लागेमा चौतारोको चार कुनामा बसेर पनि गर्न सकिन्छ। फुर्ती लगाएरै गरौँ न भन्दा कुर्सीमा बसेर पनि गर्न सकिन्छ । लुकीछिपी गरौं भन्दा जङ्गल पस्न सकिन्छ।दरबारका कोठीमा कक्रक्क परेर बैठक गर्न सकिन्छ ।बैठकमा चोचोमोचो मिलाउन पाइन्छ। होचो अग्लो सम्याउन पाइन्छ । अरुलाई नङ्ग्याउन पाइन्छ । आफूलाई सच्याउन पाइन्छ ।बिहेमा जन्ती जानु परे एकै किसिमका कपडा किन्न बैठक नै चाहियो। दशैंमा टिका लगाउन सँगै जान पनि बैठक नै चाहियो।
बैठकमा एक घुड्की चिया सुरुप्प पारी एक पाप्रो बिस्कुट सुलुत्त निल्न पाइन्छ ।बैठकमा चौरासी व्यञ्जन सहितको लन्च र डिनरमा -याल काड्ने भेटिन्छन्। बेलुकालाई चुलो बाल्न नपरोस् भनी एक्लै बसेर पेटमा अन्न भरिरहेकाहरू पनि भेटिन्छन् ।चन्नीको हाड देखिने गरी कुखुराको साप्रो चपाएर हाहा र हु हु गर्दै गिलासको पानी घटाघट पार्नेहरू पनि असरल्लै भेटिन्छन्। बिना निष्कर्ष बिना उद्देश्य कति बैठकहरु तुहिन्छन् । बैठकको नाउँमा देशको करोडौं बजेट स्वाहा हुन्छ। त्यसको न दर्ता हुन्छ न भर्ता हुन्छ। बैठकमा खाएको जाँडको बिल सरकारी अड्डामा पेश गर्न मिल्दैन। त्यसैले लेखापालले अनेक फर्जी बिल पेश गरी अडिटरको ओठतालु सुकाइदिन्छन् ।होचो अग्लो मिलाउनु पर्ने हुँदा बैठक उठेर गर्न मिल्दैन। उठेर गर्ने हो भने त्यो उठक हुन्छ बैठक हुँदैन ।उठ्दा बैठकको मर्यादा बिग्रन्छ। बैठक बहिस्कार गरेको ठहर्छ।
बिहान भगवानको भजनदेखि सुरु हुन्छ बैठक । कक्षा कोठामा गरिने शिक्षण पनि बैठकै हो।गोली गाँठामा एक आनाका ऐँजेरु पलाए पनि । उँटको जस्तो डडाल्नु बनुन्जेल बस्नुपर्ने भएकोले यसलाई बैठक भनिएको होला। बैठकमा बस्दा बस्दै कोही सपना देख्न थाल्छन् । कोही घुरेर एजेण्डा फुराउन थाल्छन्। कोही औंला भाँच्दै आतेजाते खर्च उठ्ने हो वा होइन भनी पुर्पुरोमा हात राख्दै हुन्छन् । ढाड दुखेर कक्रक्क भएपनि खुट्टा निदाएर झमझम गरेपनि घुँडाको छाला उक्किए चर्याए पनि निर्णय नहुन्जेल मिठो मसिनोले जिभ्रो पट्काउँदै बस्ने गरिन्छ बैठक ।
घरको बैठक भात वा खाजामा टर्छ । विभिन्न अफिसका बैठकहरू चियाकफी वा बिस्कुटमा टर्छन् । गाउँपालिका तथा नगरपालिकाका बैठकहरू मासु चिउराका साथै पेय पदार्थमा सकिन्छन्। बैठकमा उपस्थित हुने अतिथिलाई पकेट खर्च, पेट्रोल डिजेल खर्चका साथै अन्य विविध खर्च छुट्याएपछि बैठक खर्चिलो बन्दछ।
बैठक आवश्यकता अनुसार निर्धारण हुने गर्दछ। बैठकको उद्देश्य व्यक्ति र समूह अनुसार फरक हुने गर्दछ । खेल्नका लागि केटाकेटीको बैठकदेखि झेल्नका लागि तरुना तरुनीको बैठकसम्म विभिन्न चरण र प्रसङ्गमा हुने गर्दछन्। सत्ता उडाउने बैठकदेखि भत्ता पचाउने बैठकसम्म झोलामा खोला हाल्ने बैठकदेखि खेताला मास्टर राख्ने बैठकसम्म एक ठाउँको नापी अर्को ठाउँको जग्गा एउटाको सरुवा अर्कोलाई भरुवा सबै सबै बैठकबाटै निर्धारण हुने गर्छन् । आफूले चाहेको पाउनका लागि बैठक गर्नुपर्छ । बैठक गरिएन भने भत्ता आउँदैन। भत्ता नआएपछि बेलुकाको चुलो निभ्छ। घरमा भाँडा बज्न थाल्छन् । समस्याको सगरमाथा चुलिन्छ त्यसैले बैठक गर्नैपर्छ।
बैठक गर्ने र नगर्ने सम्बन्धमा निर्णय गर्न पनि बैठकै बस्नुपर्छ। तपाईंले ६० को दशकपछिका बैठक हेर्नुभयो भने आजको बैठक चार दिनपछि बस्ने गरी निर्णय गर्दै समापन भयो भनेर समाचार आएका कुरा बिर्सनु भएको छैन होला। आजको बैठकमा खाजा र चियाको निर्णय भयो भन्ने कुरा सुन्नुभएकै होला।
बैठक झुप्रोदेखि महलसम्म, गल्लीदेखि सडकसम्म, चोकदेखि खलङ्गासम्म घरबारदेखि दरबारसम्म जहाँ पनि हुने गर्दछ । फलामे दिउरे पछितिर सिउरे तिम्रा अघिपछि लाग्ने सबैजना बिग्रे भनेर कसैले गाली गर्यो भने पनि बैठक बस्नै पर्छ। बैठकले बिगार्ने मात्र काम गर्दैन सपार्ने काम पनि गर्छ। सार्कका बैठक हुन् या संयुक्त राष्ट्र संघका बैठक विश्वलाई समस्याबाट मुक्त गर्ने उपाय खोजी गर्दै समापन हुने गर्दछन्।
तपाईँले ख्याल गर्नुभएको छ छैन घरमा बैठक कोठा हुन्छ। बैठके पिर्का हुन्छ । सरकारी वा निजी कार्यालयहरूमा पनि त बैठक कोठै हुन्छ। नेपालको संसद पनि एउटा बैठक कोठै हो। त्यसको सदस्य छिनोफानो गर्न कहिले चुनाव हुँदैछ। चुनावको चुकुलमा चेपिएर कतिको जमानत जफत हुन बेर छैन । जमानत जफत हुनेले पनि बैठकै गरेर अर्कोचोटि चुनाव जित्ने एजेन्डा बनाउन सकुन्। बैठक सार्थक भयो भने समस्याको निदान होला नत्र बैठक पनि रोला। तपाईं हामी पनि रोउँला ।
०००
ओखलढुङ्गा
सम्पर्क :- ९८४३०५४१६१
Subscribe
Login
0 Comments
Oldest






































