प्रा. कपिल अज्ञातप्रभावोत्पादक र कलात्मक व्यङ्ग्य कृति : ‘बोकाको मन’
व्यङ्ग्य चेतना र बौद्धिक विश्लेषणका दृष्टिले पनि उनी अब्बल कोटीका निबन्धकार देखिन्छन् । नेपाली व्यङ्ग्य निबन्धमा मिश्रितको यस कृतिले महत्त्वपूर्ण अर्थ राख्ने देखिन्छ ।

प्रा. कपिल अज्ञात :
काशीनाथ मिश्रितको ‘बोकाको मन’(व्यङ्ग्य निबन्ध सङ्ग्रह -२०७५) भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कृति हो । यसमा उनका २४वटा व्यङ्ग्य निबन्ध सङ्ग्रहित छन् । कविता-काव्य र निबन्धमा सक्रिय रहेका उनका फुटकर रचनादेखि खण्डकाव्य, महाकाव्यसम्मका सिर्जना छन् । कवितामा लामो समय साधना गरेरनिबन्धमा लागेका उनका निबन्धको बोकाको मन निकै रोचक र प्रभावोत्पादक हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।
मिश्रितले आफ्नो नैबन्धिक कृतिको नाम राखेका छन् ‘बोकाकोमन’ । व्यङ्ग्य निबन्धका निमित्त यो निकै सुहाउँदो शीर्षक भन्न सकिन्छ । यसै निबन्ध सङ्ग्रहभित्र एक निबन्ध पनि बोकाकै मन रहेकाले शीर्षक निकै अर्थपूर्ण छ भन्ने लाग्दछ । बोको वासनात्मक चञ्चलताको प्रतीक मानिने बाख्री बुढीको सन्तान हो । बोको मुख्य दुई प्रयोजनले पालिन्छ । मानिसको आहाराका निमित्त र बाख्रा वीजारोपणका निमित्त । विजारोपणका अन्य विकल्प रहे वा बोकाहरू धेरै भए भने केहीलाई छाडेर उत्कृष्ट मांस प्रयोजनका निमित्त खसी पार्ने गरिन्छ । मन मानिसको मात्र हैन पशु अर्थात् बोकाको पनि हुन्छ ।बाख्री बुढीको कोखमा जन्मिएपछि उसले आफ्नो नियति भोग्नै पर्छ । मान्छेले आफ्नो स्वार्थका निमित्त कतिसम्म नीच कर्म गर्छ त्यसलाई बोकाको मनको माध्यमबाट बताइएको छ । मानिसको स्वार्थका लागि पालिएको पशु हुनाले ऊ कालगतिले मर्न पाउँदैन । उसलाई देवीदेउताको भाकल बली पनि चढाउने गरिन्छ त्यसैले उसलाई बलिको बोका पनि भनिन्छ । बोकाको माध्यमबाट मानवीय चरित्रको विश्लेषण गरिने हुँदा ‘बोकाको मन’ शीर्षक निकै सटिक र सार्थक रूपमा रहेको बुझ्न सकिन्छ ।
बोकाको मनको पहिलो व्यङ्ग्य निबन्ध हो – ‘मनको छाल पोख्न खोज्दा’ । यसमा उनले साहित्य र समाजप्रतिका आफ्ना धारणा व्यङ्ग्यात्मक रूपमा पस्केका छन् । उनले साहित्य र समाजमा देखिएका अराजक प्रवृत्तिप्रति छेड हान्दै साहित्य जनचेतना र जनजागृतिका लागि लेखिनु पर्छ तर गुदीविनाको खोक्रो साहित्यले भ्रम मात्र फैलाएको भन्दै मनका भाव पोख्न खोज्दा अरुले आलोचना गर्छन् भने गरून् भनी साहित्य सिर्जना गरेको धारणा व्यक्त गरेका छन् । ‘टोपी’मा टोपीको महत्त्व दर्शाउँदै मानिसले कुनै न कुनै टोपी लगाइरहेका हुन्छन् भनी सबै टोपीवाल भएको प्रमाणित गरेका छन् । शिरको टोपीभन्दा मगजको टोपीले समाजमा अराजकता र आतङ्क मच्चाएको कुरा दर्शाएका छन् । अन्तमा जुत्ताको महत्त्व जत्तिकै टोपीको पनि महत्त्व छ भन्दै वीर पुर्खाका गौरवमय टोपीको महत्त्व दर्शाएका छन् ।
‘विश्वास’मा निबन्धकारले विश्वासको खोजी गरेका छन् । विश्वास गर्ने प्रवृत्ति सबैभित्र छ । यो परस्परमा हुने गरिने प्रक्रिया हो । विश्वासको पोका फुकाउने क्रममा कहिँ कतै विश्वासिलो पात्र नभेटिएको कुरा दर्शाउँदै खास स्थितिमा मात्र विश्वास गर्न सकिने बताउँदै प्रकृतिले प्राणी जगतलाई अनिष्ट नगर्ने कुरामा विश्वास दिलाउँछन् । विश्वास दिलाउनका निमित्त कसम खाने प्रवृत्तिको पनि उनले आलोचना गरेका छन् । वीरहरू कसम नखाने कुरा बताएका छन् । आफूले जान्दै नजानेको र अझै नभएको वस्तुलाई विश्वास गर्नु अन्धविश्वास हो भन्ने बताउँदै विज्ञानको विकासले विश्वासको विनाश हुने कुरा गर्दै अन्तमा विश्वासको वर्चस्व कायम गर्न सदैव समानता लागु हुनुपर्ने कुरा बताउँछन् । यसरी विश्वासप्रतिका वैचारिक तर्कहरू गम्भीर र मननीय देखिन्छन् ।
‘हेर्ने आँखाहरू’मा हेर्ने र देख्नेको भिन्नता दर्शाएर निबन्धकारले बुद्धले आँखा चिम्लेर नै संसार देखे भन्ने दृष्टान्त दिँदै हेरेर पनि नदेख्नु निर्जीवता हो र नहेरे पनि देख्नु सजीवता हो भन्दै हेर्ने आँखा जबसम्म देख्ने आँखा बन्न सक्दैनन् तबसम्म देश बन्दैन भन्ने कुरा स्पष्ट पारेका छन् । ‘छोरीलाई चिठी’मा निबन्धकारले सुन्दर भविष्यको कल्पना गरेर चिठी लेखेका छन् र चिठीमा उनले छोरीलाई अङ्ग्रेजी पढाएर जर्मनी पनि पठाउने सोचेका छन् । जर्मनीलाई फुलबारी मान्दै त्यहाँबाट एक फूल टिपेर ल्याउने तिमी हुनुपर्छ भन्दै र शिशु सधै शिशु नरहने बताउँदै देशलाई सांस्कृतिक दृष्टिबाट समृद्ध तुल्याउने कल्पना गरेका छन् ।
‘मलाई ऐसित रिस उठिरहेछ’ यो भाषासँग सम्बन्धित रहेको समस्यापरक निबन्ध हो । यसमा निबन्धकारले कति सिद्धान्तहरू व्यवहारमा चरितार्थ हुँदैनन् । व्यवहारमा आउन नसक्ने सिद्धान्त प्रयोजनीय छैनन् भन्ने उनको दृष्टिकोण रहेको छ । उनका दृष्टिमा हाम्रो वर्णमालामा रहेको ‘ऐ’ अव्यावहारिक लिपि चिन्ह हो । ऐलाई (माथि दोलखै दिएर) परिवर्तन गरियो भने यो उच्चारण हुन्छ भन्ने उनको विचार रहेको छ । ‘लौरो’मा निबन्धकारले लौराका विषयमा गहन विश्लेषण गरेका छन् । लौरो टेक्न, छेक्न र सेक्न प्रयोग गरिने लामो आकारको वस्तु हो । अब यसलाई टेक्न, छेक्न र सेक्नमा सीमित नराखी लाउने खाने वस्तु पनि हो भन्ने बुझेनौँ भने हामी लौराभन्दा पनि सोझा रहेछौँ भन्ने बुझे हुन्छ भन्दै लौराले लडाइँ जितिँदैन । यसका लागि ठुला ठुला हतियार बनिसके भन्दै लौरो चिन्तनमा मात्र नखुम्चिएर वृहत चिन्तनमा लाग्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।
‘सम्भावना’मा निबन्धकारले सम्भावनाउपर गहिरो विचार विमर्श गरेका छन् । उनका दृष्टिमा विश्वास गुमेपछि जुन कुरा पनि सम्भावनामा परिणत हुन्छ । सम्भावना नै नरहने हो भने संसार शुन्य हुन्थ्यो । हाम्रो देशमा पनि विकासको सम्भावना नभएको होइन तर त्यो सम्भावना त्यागेर पराइको अधिनमा गइरहेछौँ भन्दै हाम्रा पराश्रित प्रवृत्तिप्रति कटाक्ष गरिरहेका छन् । सम्भावनाकै चर्चा गर्ने क्रममा नेपाल टेथिस सागर हुन्छ कि भन्ने कुरामा आम नेपालीलाई सचेत गराएका छन् । ‘कक्टेलवाद’मा वादका बारे वयान गरेका छन् । अहिले कुनै वाद पक्रिएन भने बरबाद हुन्छ भन्ने जनाउ दिँदै व्याकरणकारहरूसमक्ष वाद उपसर्ग, परसर्ग वा मूल शब्द के हो भन्ने प्रश्न राखेका छन् । सबैभन्दा बढी वाद जन्माउनेमा साहित्य भन्दा पनि राजनीति हो भन्ने तर्क राखेका छन् । वाद जस्तो गहन शब्द उत्ताउलो भएको र क्षेत्र, लिङ्ग, जात आदिमा वाद जोड्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । दुईभन्दा बढीवादहरू मिलेर बनेको वादलाई कक्टेलवाद भन्दै वादकै सन्दर्भमा मिश्रितको अर्थ पनि खुलाएका छन् ।
‘भिखारी’मा आफ्नो दुर्भाग्य महाकाव्य झोलामा बोकेर बेच्ने सन्दर्भ उठाएर कविकलाकारले बेहोर्नु परेको नियति दर्शाएका छन् । जहाँ देश नै भिखारी छ त्यहाँ आफू भिखारी बन्नु परेकोमा दुःख नलागेको कुरा दर्शाउँदै शालिक फुटाल्नेप्रति व्यङ्ग्य गर्दै हेलिकोप्टर खस्दाको प्रसङ्ग, लुटपाट मच्चाउने मान्छेका निकृष्ट प्रवृत्ति दर्शाउन पुगेका छन् । यससन्दर्भमा स्कन्द पुराणको माघ महात्म्यमा गोमाले भिक्षा दिन बेर गर्दा महादेवले श्राप दिएको प्रसङ्ग उल्लेख गरेर यस्ता भिखारीलाई पनि परमेश्वर मान्नु पर्नेमा धिक्कार जताएका छन् ।
‘हतियार व्यवस्थापन कि बेवास्तापन’मा हतियारको दुरुपयोग भएकोमा चिन्ता जनाउँदै हतियारको होडमा अघि बढेको संसारप्रति बढी आक्रोश प्रकट गरेका छन् । मान्छेमा विवेक रहेन भने नाश हुनुको विकल्प छैन भन्दै हतियारका प्रयोगकर्ता नै शत्रु हुन् भन्ने विचार व्यक्त गरी हतियारको तर्कसङ्गत र विवेकसङ्गत परिभाषा प्रस्तुत गरेका छन् ।
शहीदलाई विकृत रूपमा प्रयोग गरिएको शब्द हो – सैद । शहीद गरिमामय शब्द हो तर यसको अवमूल्यन हुँदै गएको छ । अवमूल्यन हुनुको कारण जहाँ, जो, जसरी मरे पनि सहिद मान्ने प्रवृत्ति हो । हकिगत र स्वतन्त्रताप्रतिको महान विचारमा लागेर बलीवेदीमा चढ्नेहरूलाई सहिद मान्नु पर्नेमा संयोगवश मर्न पुगेका जस्तातस्तालाई पनि सहिद घोषित गरिने प्रवृत्तिप्रति निबन्धकारले कटाक्ष गरेका छन् । तथाकथित रूपमा घोषित गरिएको सहिदको चित्त बुझ्दो परिभाषा छैन भन्दै सहिदप्रति आफ्नो स्पष्ट धारणा राखेका छन् । सहिदका नाममा विकृति भित्रिएको उनको धारणा रहेको छ ।
भिटामिन एम भनेर निबन्धकारले यहाँ धन पैसालाई लक्ष्यित गरेका छन् । एक दिन घन्टाघरको भिड छिचोलेर अघि बढ्ने क्रममा आफ्नो मोवाइल चोरी भएको प्रसङ्गबाट आफ्नो धन विषयक अनुभूतिहरू प्रकट गरेका छन् । धनप्रतिको विकृत चिन्तन र व्यावहारले समाज अधिनतातिर लागेको धारणा व्यक्त गरेका कथन वैचित्र्य र आनुप्रासिक योजनाले निबन्ध निकै रोचक रहेको छ । ‘नयाँ शब्द खोज्ने धुनमा’ निबन्धकारले नयाँ नयाँ शब्द खोजेर शब्दकोशमा प्रविष्ट हुन नपाए पनि रोचक ढङ्गले प्रस्तुत गरेका छन् । निबन्ध निकै ज्ञानवर्धक, मनोरञ्जक र प्रभावोत्पादक बन्न पुगेको पाइन्छ ।
‘उरिम’ धेरैले नसुनेको नयाँ शब्दमा लेखिएको निबन्ध हो । ग्रामिण भेगतिर प्रयोग हुने भाषिकाको शब्द हो भन्ने लाग्छ । यो शब्द शब्दकोशमा पनि प्रविष्ट भएको देखिँदैन । यो कुनै ठिङ्ग्रिङ्ग ठडिएको पुरानो शैलीको घर जस्तो आकार हो भन्ने बुझिन्छ । यसमा निबन्धकारले यो राख्ने कि नराख्ने भन्नेमा तर्कवितर्क गरिरहेका छन् । परिवारका सदस्यहरूका आआफ्ना मतहरू छन् । परिवारका विभिन्न मतमतान्तरका बीच यसको मरमत विनाश केही नगर्ने निष्कर्षमा पुग्छन् । नेताहरूले देश निर्माण गर्न नखोज्नु र लेखकले उरिम मरमत गर्न नखोज्नुमा समानता देखाएका छन् । ‘भ्रष्टाचार’मा कर्मचारीका चाचुचा मूल मन्त्र र भ्रष्टाचार जनै हुन् भन्दै कहाँ कसले के कसरी भ्रष्टाचार गर्छ तिनको चरित्र उदाङ्गो पारेका छन् । अन्तमा भ्रष्टाचार आचरण भएको तथ्य दर्शाएका छन् । मुख हेरेर व्यवहार गर्नु पनि भ्रष्टाचार हो भनेका छन् ।
‘थुइक्क छोरीको बाबु’मा छोरा र छोरीमा विभेदको धारणा राख्ने समाजको सोचप्रति तिब्र आलोचना गर्दै धिक्कार जताएका छन् । छोरा र छोरीलाई समान सोचेर व्यवहार गर्नुपर्छ भन्ने सिद्धान्त भए पनि व्यवहारमा चरितार्थ हुन नसकेको कुरा दर्शाउँदै छोरीको बाबु हुनु परेकोमा समाजले नै गिज्याइरहेको कटु अनुभव प्रस्तुत गरेका छन् । समाजलाई धिक्कार जताउनु पर्नेमा आफैप्रति धिक्कार जताउनुले शीर्षक नमिलेको जस्तो लाग्छ । ‘नेतालाई चिठी’मा नेताले लौरो त बिर्से बिर्से झोलासमेत बिर्सेकोमा व्यङ्ग्य प्रहार गरेका छन् ।
‘अँगेरो’मा निबन्धकारले रक्सीलाई अँगेरोको सब्द प्रयोग गरेका छन् । प्रथमतः त्यसप्रति वितृष्णा जागेको कुरा गर्दै त्यसै विषयमा खण्डकाव्यसमेत रचेर समाजमा विकृति ल्याउने तत्त्वको रूपमा रक्सीको सातोपुत्लो उडाएको कुरा व्यक्त गरे पनि पछि गएर त्यसैको समर्थनमा आफ्नो धारणा राखेका छन् । त्यही समर्थनबाट पनि विरोधको स्वर गुन्जिएको पाउन सकिन्छ ।
‘भेक छेकको राजनीति’मा राजनीति गर्न कुनै योग्यता र उमेर नचाहिने, त्यसलाई फोहोरी खेलको रूपमा लिँदै जनतालाई क्यारिम बोडको गोटीको रूपमा तुलना गर्दै कुनै रेफ्री र नियम नचाहिने खेलको रूपमा चित्रण गरेका छन् । नाक, चाक, भेक र छेकको कुरा उठाएर राजनीतिमा देखिएका विकृतिप्रति तीक्ष्ण प्रहार गरेका छन् । ‘माइलाको अस्तित्व’मा माइलाको अस्तित्वबारे आफ्ना वैचारिक तर्कहरू प्रस्तुत गर्दै प्रकृतिलाई मान्छेले हस्तक्षेप नगर्ने हो भने वातावरण नबिग्रिने कुरा दर्शाएका छन् ।
‘लावर, चन्द्रमा र घाँसी’मा कथा र सत्य कुरा छुट्याउन गाह्रो पर्ने कुरा गर्दै लावर, चन्द्रमा र घाँसीको विषय उठाएका छन् । लावर भनेको ढाल हो । साहित्य काल्पनिक हुन्छ भन्ने ठान्दाठान्दै हामी सत्य मानिरहेका हुन्छौँ । कुनै पनि कुरा विनातर्क समर्थन गर्नु हुदैन भन्ने कुरा यसमा दर्शाएका छन् । ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने प्रवृत्तिप्रति छेड हान्ने यस उखानपरक निबन्धमा निबन्धकारले एउटा राजाका ठाउँमा चौसठ्ठी राजा भएछन् भन्दै परिवर्तनका नाममा सबै थोक बदल्न नसकिने धारणा राखेका छन् । जतिसुकै नयाँ जमाना आयो भने पनि व्यवहार जङ्गली युगकै छ भन्ने उखानमार्फत मानवीय स्वार्थी प्रवृत्तिको आलोचना गरेका छन् ।
यसरी मिश्रितका निबन्धहरू चिन्तनपरक, विचारपरक र विश्लेषणपरक छन् । गद्यको पहिलो नैबन्धिक कृति नै यति खारिएर तिखारिएर र निखारिएर आउनु मिश्रितको सिर्जनात्मक महत्त्वपूर्ण उपलब्धी हो । उनका यी निबन्धमा कवित्व शक्तिले पनि यथेष्ट काम गरेको छ । उनका कवितामा कताकति मध्यकालिन प्रवृत्ति पनि भेटिएला तर निबन्धमा पूरै आधुनिक प्रवृत्ति देखापर्छ । सचेतनाका दृष्टिले पनि सबै निबन्ध एक से एक परिपाकयुक्त र प्रभावोत्पादक छन् । सबै निबन्धहरू व्यङ्ग्यप्रधान छन् । तिनभित्र कताकति हास्य पनि नपाइने होइन तर व्यङ्ग्यकै तीक्ष्णता छ । अभिव्यक्ति पनि रोचक र मनोरञ्जक छ । ठाउँठाउँमा उखान टुक्काको प्रयोगले कथ्यलाई धारिलो र तेजिलो तुल्याएका छन् ।
त्यस्तै ठाउँठाउँमा कथा उपकथालाई प्रवेश गराएर कथ्यलाई कथात्मक स्वादसहित कलात्मक तुल्याएका छन् । अनुप्रासयुक्त शब्दहरूको सुन्दर संयोजन पनि त्यत्तिकै देखिन्छ । हामीले कहिल्यै नसुनेका र प्रयोगमा पनि त्यति नआएका नयाँ नयाँ शब्दहरूको प्रयोग गरेर निबन्धलाई मनोरञ्जक तुल्याउनुका साथै ज्ञानवर्धक पनि बनाएका छन् । जस्तै लावर, अँगेरो, उरिम आदि । नयाँ शब्द खोज्ने धुनमा त नयाँ शब्दहरू जस्तै झकास, ठिस, टेन्स, र्याञक, सुड्डो, भेजा आदिको प्रयोग गरेर व्यङ्ग्यलाई पनि निकै धारिलो पारेका छन् । व्यङ्ग्यको क्षेत्र पनि व्यापक देखिन्छ ।
राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक आदिमा व्यङ्ग्य वाणहरू वर्साएका छन् । कतिपय निबन्ध सरल ढाँचामै प्रस्तुत रहे पनि नैबन्धिक गुणले सम्पन्न छन् । समाजका विकृति, विसङ्गतिउपर व्यङ्ग्य उत्खनन गरी शिष्ट मर्यादित शैलीमा व्यङ्ग्य विश्लेषणको सिप सामर्थ्य राख्ने कमै निबन्धकारहरू देखिन्छन् । व्यङ्ग्य चेतना र बौद्धिक विश्लेषणका दृष्टिले पनि उनी अब्बल कोटीका निबन्धकार देखिन्छन् । नेपाली व्यङ्ग्य निबन्धमा उनको यस कृतिले महत्त्वपूर्ण अर्थ राख्ने देखिन्छ ।
०००
कीर्तिपुर २, काठमाडाैं ।
Subscribe
Login
0 Comments
Oldest







































