प्रा. कपिल अज्ञातग्रहणतन्त्र : व्यङ्ग्यत्व र कृतित्वको अपूर्व मिश्रण
शीर्षक र कविताबीच पनि राम्रो तारतम्य मिलेको देखिन्छ । शीर्षककै केन्द्रीयतामा कविताका पङ्क्तिहरूले सुन्दर वृत्त बनाएर आनन्ददायी प्रभाव छोड्छन् । अनुभूति प्रवाहमा पनि कहीँ कतै अवरोध पाइन्न ।

प्रा. कपिल अज्ञात :
ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र नेताहरूको अनैतिक आचरण, अकर्मण्यता र दुष्प्रवृत्तिले दूषित भएर ग्रहणतन्त्र भएको छ । ग्रहण भनेको विघ्नबाधा हो । सूर्यचन्द्रजस्ता महान् जीवनदायी ग्रहमा ग्रहण लागेपछि अन्धकारको स्थिति पैदा हुन्छ । ग्रहपिण्डको प्रभाव मानवपिण्डमा पनि पर्ने हुँदा मानवले पनि दुःख–कष्ट बेहोर्नुपर्छ । अन्धकार भएपछि दुःख, कष्ट स्वतः आइपर्छन् । सपूतहरूको त्याग, सङ्घर्ष र वलिदानबाट प्राप्त भएको गणतन्त्र सुन्दर र स्वर्णिम व्यवस्था हुनुपर्ने हो तर यो भाँडतन्त्र र गाँडतन्त्रको रूपमा देखिँदै आएको छ । राज्यको यही दुरावस्थाप्रति लक्ष्यित गरेर कविले आफ्ना कविता कृतिको नाम गहणतन्त्र राखेका छन्, यो व्यङ्ग्यबोधक शब्द हो ।
समाजमा प्रकृति पनि छ, विकृति पनि छ । कविता प्रकृतिउपर पनि लेखिन्छन्, विकृतिउपर पनि लेखिन्छन् । अचेल समाज र व्यवस्था नै विकृतिमय छ । जब विकृत परिदृश्यले कवि चेतनालाई हिर्काउँछ तब कविले व्यङ्ग्यात्मक शैली अपनाएर प्रतिकार गर्छ भन्ने व्यङ्ग्य अभियन्ता नरनाथ लुइँटेलको दृष्टिकोण यसमा चरितार्थ भएको छ । समाज विकृतिमय भएकाले पाठकको मन पनि त्यस्तै कविताले अधिक तान्छ । त्यस्तै कविता अचेल अधिक आउन थालेका छन् । यो समयको लहर वा प्रभाव हो । त्यस्ता विकृतिविषयक कविताको भावभूमि व्यङ्ग्य हुने गर्छ । त्यस्तै व्यङ्ग्यात्मक भाव र शैलीका कविताहरू सुभाषचन्द्र देवकोटाको यस ग्रहणतन्त्र (व्यङ्ग्य कवितासङ्ग्रह–२०८०) मा समाविष्ट रहेका छन् ।
“फित्कौली अनलाइन मिडिया”बाट प्रकाशित ग्रहणतन्त्रमा गद्यशैलीका ६७ वटा कविताहरू सन्निहित छन् । सबै कविताहरू सरल, सम्प्रेष्य, कोमल र सुललित शैलीमा बुनिएका छन् । कतिपय कविका कविता पढ्दा व्यङ्ग्यकविताका नाममा व्यङ्ग्य शब्दका प्रस्तुति लाग्छन् तर यी व्यङ्ग्य धारका व्यङ्ग्यकविता नै लाग्छन् । व्यङ्ग्यत्व र कवित्वको अपूर्व समन्वयबाट निर्मित कविताले कविताको मधुर र मिठो आस्वादन दिनुका साथै व्यङ्ग्यको मिठो प्रभाव छोड्छन् ।
कतै समस्यापूर्तिपरक शैलीमा कवित्वको सुन्दर पृष्ठभूमि बनाएर अनुभूतिहरूको तारतम्यलाई कविले यति कोमल र मनोहर ढङ्गले प्रस्तुत गर्छन् कि त्यसको कथ्यले नै हाम्रो मनमस्तिष्कलाई तरङ्गित र झङ्कृत पार्दछन् । सरलता र सहजतामा सौन्दर्य सृष्टि गर्नु चुनौतीपूर्ण कार्य हो तर यहाँ कविले त्यो चमत्कारजन्य भावनालाई सरल र सुबोध्य रूपमा प्रस्तुत गरेका छन् । शीर्षक र कविताबीच पनि राम्रो तारतम्य मिलेको देखिन्छ । शीर्षककै केन्द्रीयतामा कविताका पङ्क्तिहरूले सुन्दर वृत्त बनाएर आनन्ददायी प्रभाव छोड्छन् । अनुभूति प्रवाहमा पनि कहीँ कतै अवरोध पाइन्न । शब्द र शैली अनुभूतिमा सलल्ल प्रवाहित छन् ।
अनुभूतिहरू जति कवित्वको उत्कर्षमा छन् उत्तिकै व्यङ्ग्यका उत्कर्षमा पनि छन् । शब्दचयन र प्रस्तुतिले पनि हामीलाई लठ्याउँछ । यथार्थमा कविता, कविता हुनुको स्वाद ग्रहणतन्त्रमा पाउन सकिन्छ । कतै पौराणिक मिथकको प्रयोग गरेर, कतै कविताभित्र विचारको बिउ रोपेर कविताको गुरुत्व र गरिमा बढाएका छन् । समग्र कवितामा सामयिक वस्तुस्थितिको यति सुन्दर र सटीक चित्रण छ मानूँ, कविता फूलैफूल उनेर मालाजस्ता बनेका छन्, जसले सौन्दर्यको आभा छोड्छन् । कविताभित्रै कतै हाइकू, कतै मुक्तकीय स्वरूपले कविताको आकर्षण बढेको छ । कतै विम्बको तुलनात्मक प्रस्तुति पनि पाइन्छ । नेताहरूको अतिरञ्जित र अस्वाभाविक आश्वासन दिने प्रवृत्तिप्रति कविले कटाक्ष गरेका छन् ।
अन्तमा, यति सुन्दर कृतिभित्र केही कवित्वका शीर्षक र भावसमेत हुबहु दोहोरिएका छन् । कृतिको शुरूमै व्यङ्ग्य कवितासङ्ग्रह हुनुपर्नेमा व्यङ्ग्य निबन्धसङ्ग्रह भनिएको छ । आगामी संस्मरणमा यस्ता त्रुटि सच्याउनुपर्ने देखिन्छ ।
०००
कीर्तिपुर–२, कलङ्की, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest








































