रामकृष्ण ढकालउहाँ त ह्वाँ ह्वाँ !!
हेर मेरा त्यत्रा आलिशान महल, अघिपछि लाग्ने आउरेबाउरे भुस्याहा घुस्याहा जुम्रे जगल्टे गुण्डाले मेरो कति गुणगान गाउँथे ।

रामकृष्ण ढकाल :
एक्कासी कानमा कोहि रोएकोजस्तो कसैले गतिलैसँग यातना पाएर पीडाले चिच्याएजस्तो आवाज ठोक्कियो । गन्तव्य टाढा र समय कम भएपनी त्यो चिच्याहटले अवरोध गरेरैछोड्यो । अनि यात्रारत पथ छोडियो हिँडाइ आवाज आएतिर मोडियो । अल्लिपर एउटा झाडिको बिचमा विदेशी प्रभुको स्थान रहेछ । त्यहाँ नपुग्दै नै रुवाइको आवाज अलि प्रष्ट हुँदै आयो ।
“हे प्रभु ! मेरो त सत्यानाशै भयो । पदपनी गयो इज्जत पनि गयो अरूको त के कुरा प्रभु ! आफ्नै झोलेहरूका अगाडि समेत यो औतार देखाउन लायक रहिन प्रभु ! लौ न तिमीले यो के गरायौ !? मैले मेरो देश भनिन जनता भनिन , यहाँको धर्म भनिन संस्कृति भनिन । सबैलाई दिनुसम्म दुख दिएँ । मैले तिमीलाई रिझाउन भनेर तिमीलाई मनपर्ने सोचेर के चाहिँ गरिन प्रभु ! के चाहिँ गरिन । मैले घुस्याहा भुस्याहा झोले झाम्टे जुम्रे जगल्टे भुसे पगल्टे गुण्डाका झुण्ड आफ्नो बनाइन कि ! भर्खरका लालाबालालाई अनेक बहानामा मारिन कि ! खत्तम भन्दा महाखत्तम चरित्र भएका भेटेपछि जुन दलका भए पनि समेटिन कि ! कुहिएका गन्हाएकालाई अति साह्रै राम्रा अनि तिनै मात्र हुन्, आफ्ना भनेका हाम्रा भनेर अनेक कथा कहानी समेत हालिन कि ! के गरिन प्रभु मैले तिमिलाई खुशी पार्न ?!
सोझा निमुखालाई सकेसम्म अन्याय गर्ने कानून बनाएर प्रजातान्त्रिक मुलुकको आभूषण भन्दै लागू गराइन कि !? राम्रो गर्न चाहनेलाई अतिसाह्रै चाम्रो व्यवहार गरिन कि ?! अनेक घटना बनाएर पटक पटक नरसंहार मच्चाइन कि !? मैले गराएकाजस्ता काण्डहरू संसारका अरू कुन चाहिँ देशले मच्चाएका छन र हजुर ?! यति धेरै कार्यहरू कुशलतापूर्वक सम्पन्न गर्दागर्दै पनि मैले र मेरो दलले त्यसरी चुनाव हार्नुपर्ने ??!!
अनेक तरिका अपनाएर युवाहरूलाई विदेश लखेटें । तिनले ज्यान फालेर पठाएको पैसोमा अनेक हर्कत समेटें । बृद्धहरूलाई सहाराबिहिन बनाई घरघरमा रुनैपर्ने बनाएँ । चुनावका बेला कति पहिलेदेखी पैसो र मासुभातको खोलो बगाएँ । कतै भाटे कारबाही चलाएँ कतै जाँडरक्सी । जहाज, जग्गा र निवासहरूका ठुल्ठुला काण्डहरू आयोजना गरें । छुल्याहा फटाहा घुस्याहा भ्रष्ट गुण्डा आदिलाई केन्द्रको सिंहदरबार देखि टोलको टोलसुधारसम्म विद्युत प्राधिकरण देखि गाउँले साहित्यिक सँस्थासम्म खानेपानी, खेलकुद, वन, लगायत कुनचाहिँ कार्यालय अड्डा झोले झाम्टे उडुसेहरूले भर्न बाँकी राखें र ?! सत्य बोल्नेलाई कि चाहिँ मर्ने, कि चाहिँ मरणासन्न हुने बाध्यतामा पारिन कि ?! यति धेरै गर्दागर्दै पनि मेरो अनि मेरो हात्ती दलको यत्रो हार यत्रो बेइज्जत !? हे विदेशी महाप्रभु यस्ता हजारौं कर्महरू गरेर पनि मैले पाउने फल यहि हो त ? म फेरि त्यो दरबारभित्रको कुर्सिमा बस्नै नपाउने ? फेरि शासन गर्नै नपाउने ?! ह्वाँ वहाँ ह्वाँ वहाँ !!
यसरी भक्त रोएको कसरी हेर्न सकेको प्रभु कसरी हेर्न सकेको ?! के हामिले जनता योभन्दा धेरैचर्को रोएको हेरेको त तिम्लाई रिझाउनको लागि हो । तिमीभन्दा माथि अर्को को छ र त्यसलाई रिझाउन हामीलाई यसरी रुवाएको प्रभु ?! हेर मेरा त्यत्रा आलिशान महल, अघिपछि लाग्ने आउरेबाउरे भुस्याहा घुस्याहा जुम्रे जगल्टे गुण्डाले मेरो कति गुणगान गाउँथे । जहाँ जे घटना गराए पनि आड खोज्दै मै भएको ठाउँमा आउँथे । अनेक कोशेली टक्र्याउँथे । अब त्यस्तो स्वर्गीय आनन्द कहाँ पाउनु हजुर !? लौन प्रभु गुहार गुहार !!
जब यस्ता बिलौना केहिबेर सुनियो तब लाग्यो यहाँ त देशमा भर्खरै भएको चुनाव मार्फत नालिमा पछारिएका दलहरूका केही सय नेताहरूको सामूहिक प्रलाप रहेछ, रुवाबासी रहेछ । अनि मनमा आयो यिनलाई त यत्तिको बोल्न रुन कराउन पनि नसक्नेगरी धसाउनु पर्नेमा अझै केही बाँकी रहेकोले यस्तो सुन्नुपरेको रहेछ । अब बन्ने नयाँ सरकारले गर्ने लोकप्रिय कामले, देशमा अल्लि अगाडि भएको आन्दोलनको हिंसासम्बन्धी छानबिन आयोगको प्रतिवेदनको सहि कार्यान्वयनले र अबको पन्ध्र महिना पछितिर हुने स्थानीय निकायको चुनावको मतदानले यिनको यति रुन सक्ने तागत पनि सबै सिद्ध्याउनु पर्ने नै रहेछ । त्यसप्छि त्यहाँ केही नबोली फरक्क फर्केर मूलबाटोमा आई आफ्नो गन्तव्यतिर लागियो ।
०००
२०८२ फागुन २९
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































