रामकृष्ण ढकालसम्भ्रान्त सुकुम्बासी
म त यसभन्दा पहिले यिनीहरूलाई सम्भ्रान्त हुन् भनेर मान्थेँ । तर आज छर्लङ्ग भयो यी त धनले सम्भ्रान्त अनि मनले सुकुम्बासी अर्थात सम्भ्रान्त सुकुम्बासी पो रहेछन् ।

रामकृष्ण ढकाल :
घरमा नै थिएँ र कतै जाने तयारी गर्दैथिएँ । त्यत्तिकैमा मोबाइलमा एउटा अज्ञात नम्बर देखाउँदै घण्टी बज्यो । एकछिन सोचेँ कसको नम्बर होला यो भनेर । तर पत्ता लागेन र स्वीकार गरेँ । घण्टीवादक रहेछन् जिल्लाभरकै उत्कृष्ट मानिएको निजि विद्यालयका एक लगानीकर्ता महोदय ।
सामान्य औपचारिकता पछि सोधेँ – हजुर कति कामले मलाई सम्झनुभयो होला ? उताबाट उत्तर आयो – तपाईंले लेख्नुभएका कृतिहरूमध्ये चौधौँ कृति “आजको युगको नालायक शिक्षा” साह्रै राम्रो छ रे । त्यसैले हामिले हाम्रो विद्यालयको सञ्चालकहरूको अस्तिको बैठकको निर्णय अनुसार तपाईंको त्यो कृति स्वयं लेखकबाटै मगाई हामीले पनि पढ्ने र हाम्रो विद्यालयको पुस्तकालयमा पनि ससम्मान राख्ने भन्ने भएकोले पर्सि दिउँसो हाम्रो विद्यालय छुट्टी भएपछि लगत्तै तपाईं त्यो नवीनतम कृति एकदर्जन र साथमा अन्य कृतिहरू सहित हाम्रो विद्यालयको १९ नम्बरको भवनमा आइदिनुहोला भन्नलाई फोन गरेको ।
यो कुरो सुनेर म त एकछिन अक्क न बक्क बनेँ । दिमागले केही सोच्नै सकेन । त्यसपछि बल्ल भनेँ – पर्सि दिउँसो ४ बजे त म खोलापारि साहित्य प्रतिष्ठानको निम्तोमा अतिथि हुन जानु छ । क्षमा गर्नुहोला म त्यतिबेला तपाईंको विद्यालयमा उपस्थित हुन असमर्थ छु । उताबाट आवाज आयो- ल त्यसोभए पछि फोन गरौँला । ठ्याक्कै यस्तै कुराकानी छ पटकसम्म भयो । अनि साह्रै नै गरे आफ्नै गाउँठाउँका साथीभाइजस्ता हुन् एकपटक गैदिउँ न त भनेर झन्डै तीन दर्जन मेरा विभिन्न कृतिहरू बोकेर म त्यो विशाल क्षेत्रफलमा फैलिएको विद्यालयमा भनेकै समयमा पुगेँ । उनीहरूले सहृदयतापूर्वक मेरा कृतिहरू लिए । केही मेरो प्रशंसाका वाक्यहरू बोले । एककप चिया त्यतिका पुस्तकहरूको बदलामा खुवाए र भने यस्ता घागडान लेखकसित उहाँकै हातबाट उहाँकै दर्जनौं पुस्तकहरू लिएर यसरी हाम्रै घरआँगनको चिया खुवाउन पाउने हामी कति सौभाग्यशाली ।
केहिबेरमा म विदा भएँ र त्यहाँबाट निस्केँ । घर जाँदा मनमनै सोचेँ- त्यत्रो २५ बिघामा फैलिएको, बीसवटा भवन भएको, ३२ वटा पहेंला बसहरू भएको, दशवटा साना गाडी भएको, करिब २ सय जना शिक्षक कर्मचारी माली कुचिकार आदि भएको, जिल्लाभरमै उत्कृष्टमा गनिएको विद्यालय जसले आफ्नो विद्यालय हाताभित्र कुनै विद्यार्थीले एउटा स्वदेशी शब्द बोलेमा त्यस बापत एकसय रुपैयाँ लिन बेर मान्दैन । यही विद्यालयका सञ्चालक तथा गुरु भएकाहरू आज एउटा लेखकले वर्षौंको मेहनत र हजारौँ लाखौँ खर्च गरेर प्रकाशन गरेको पुस्तक कति निर्लज्ज पाराले उनीहरुको विद्यालयमै पुर्याइमाग्छन् । अनि आकाशबाट सित्तैमा वर्षेको पुस्तकझैं बिना पैसा लिन्छन् ।
आफ्नो भने एक पैसो नछोडी विद्यार्थीसँग ब्रम्हलुट गर्ने अनि अरूको मेहनत मूल्य तिरेर लिन जानु त कता हो कता सित्तैँमा त्यो पनि उनीहरूको हातैमा पुर्याउनुपर्ने । क्या गज्जबको महान साेमतिला र सँस्कारी रहेछन् । अनि यस्तैले पढाएका विद्यार्थीले कस्तो देश र कस्तो समाज निर्माण गर्लान् । धन्न मेरो नवीनतम कृतिको नाम यिनीहरूको व्यवहारसँग ठ्याक्कै मेल खाएछ ।
म त यसभन्दा पहिले यिनीहरूलाई सम्भ्रान्त हुन् भनेर मान्थेँ । तर आज छर्लङ्ग भयो यी त धनले सम्भ्रान्त अनि मनले सुकुम्बासी अर्थात सम्भ्रान्त सुकुम्बासी पो रहेछन् । म सोच्दासोच्दै घरमा आइपुगिसकेछु । मलाई भेट्न भनेर मेरो घरमा त्यतिबेला नै आइपुगेका एक मित्रले मलाई देखेर नमस्कार लेखकज्यू भनेको आवजले म झसङ्ग भएँ ।
०००
२०८२ माघ १६
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































