रामकृष्ण ढकालदलहरू कि ढलहरू
कुनै बेला त्यस्ता दलहरूको ब्यानरले छोपिएका ढलहरूलाई बिना आन्दोलन, बिना जुलुस, बिना आगो बिना राँको, बिना खती बेला पनि आउँदोरहेछ ओखती ।

रामकृष्ण ढकाल :
केही वर्ष भयो गाउँशहर जताततै दुर्गन्ध फैलिएको । स्थानीय बासिन्दाहरू दुर्गन्धका कारण बेस्सरी आत्तिएका थिए । फेरि दुर्गन्ध पनि यति चर्को थियो कि तान्दै नतानेको सर्को टुप्पिदेखि पैतालासम्म पूरै भरिभराउ हुन्थ्यो । दुर्गन्ध पनि एकै किसिमको थिएन । अनेक खालका थिए । तर जुनसुकै दुर्गन्ध भए पनि त्यो असाध्यै कडा र यातनादायी थियो ।
मानिसहरूमा कसरी यो दुर्गन्धलाई जरैदेखि सदाका लागि अन्त्य गर्न सकिन्छ भनेर छट्पटी थियो । दुर्गन्धको संयुक्त रागले तन्नेरी तरुनीहरूलाई भागाभाग बनाएको थियो । कोहि भागेर खाडी पुगेका थिए कोहि कतैको झाडी पुगेका थिए । कोहि युरोप पुगेका थिए त कोहि जीउरोपमा पुग्न लाचार थिए ।
सदरमुकामका अड्डातिर गयो भने घुस्याहा गन्हाउँथ्यो, दलको कार्यालयतिर पुगियो भने भुस्याहा गन्हाउँथ्यो । कतै कमिसनखोर त कतै बजेटचोर, कतै राजनीतिक आफन्तवादी त कतै झमेलावादी गन्हाउँथ्यो । कतै भनसुनवाद, कतै नातावाद, कतै फरियावाद, कतै हरियावाद, कतै अत्याधुनिक समाज त कतै लुछाचुँडी बाझाबाझ, कतै साँढा त कतै ठाँडा, कतै ग्वाम्मवाद त कतै हाम्मवाद, कतै झण्डावाद त कतै रण्डावाद, कतै वितण्डा त कतै हत्कण्डा, कतै पराइ भक्ति र संस्कृति त कतै धर्म छोडेर बाँकी रहेको पाप सापेक्षता, कतै विदेशी आयोजना त कतै स्वदेशी खायोजना, कतै लम्पसारवाद त कतै घ्याम्पासारवाद, कतै अन्यायवाद त कतै खन्यायवाद, कतै रोगी नून त कतै महारोगी कानून, कतै विदेशी भाषाको शिक्षा त कतै परचक्री प्रभुको स्वेच्छा, कतै यो खाले त कतै त्यो खाले गर्दै एकसाथ; टाउकोमात्र होइन कपालै दुख्नेगरी दुर्गन्ध छोड्थे सदासर्वदा दिनरात ।
यतातिर दुर्गन्ध पीडितहरूको भने सधैं आँसुको साथ पुर्पुरोमा हात मन पोल्ने भक्कानिनुपर्ने दिनरात । यस्तो नारकिय अवस्था केही दशकसम्म नै चलिरह्यो । खप्ने कुनै उपाय हुन सकेन । सिङ्गो राष्ट्र पूरै प्रकृति सुसंस्कृत सभ्यता बाहेक अरू कोहि आत्तिएन कोहि रोएन ।
आखिर छानबिन नगरी नहुने भयो । देशविदेश सबैतिरबाट आआफ्मो सुरले गहन विचारविमर्श भयो । अन्त्यमा पत्ता लाग्यो कि सम्पूर्ण प्रकारका दुर्गन्धहरू दलहरू र, तिनका मनमौजितन्त्रका पलहरू छलहरू बलहरू आदि गन्हाएका रहेछन् । दलहरूकै परमप्रिय छाडातन्त्र, साँढातन्त्र, उँधोगाडातन्त्र, भ्रष्टतन्त्र, निकृष्टतन्त्र, दामासाही भागतन्त्र, दुच्छर भाषणका रागतन्त्र, चुनाव नामको नाटकतन्त्र, विकाश नामको त्राटकतन्त्र, झोलेतन्त्र, चाकरीतन्त्र, नीचतन्त्र, घिचतन्त्र, आदि इत्यादि दर्जनौं दुर्गन्धका खानीहरू रहेछन् । अर्थात नाम चाहिँ दलहरू तर वास्तविकतामा ढलहरू रहेछन् ।
यस्तै दुर्गन्धका खानीहरूलाई आफ्नो प्राणभन्दा प्यारो मानी जनमत जानीजानी अटेरी गर्ने दलहरू नामका ढलहरू नै यस्तो नारकिय दुर्गन्धका संरक्षकहरू रहेछन् । जबसम्म यिनको अस्तित्व पालिमुनिबाट नालिमुनि पुग्दैनन् तबसम्म यिनीहरूको हर्कतका कारण उत्पन्न दुर्गन्ध हुने थिएन बन्द । कुनै बेला त्यस्ता दलहरूको ब्यानरले छोपिएका ढलहरूलाई बिना आन्दोलन, बिना जुलुस, बिना आगो बिना राँको, बिना खती बेला पनि आउँदोरहेछ ओखती ।
दलहरूकै नरम हतियार अर्थात् निसास्सिएर रहनुपर्ने वाध्यताको चक्रवाती नरक (निर्वाचन) लाई बुद्धिमतापूर्वक प्रयोग गर्न सकिएमा यस्ता दलहरू नामका ढलहरूको यस्तो उपाख्यान लेख्नुपर्ने अवस्था बिसर्जन हुन्थ्यो । हेराैं कुनै त्यस्तो दिन आइपुगेको खण्डमा जनता नामका महाअभागी प्राणिहरूले कसरी सदुपयोग गर्ने रहेछन् ।
०००
२०८२ माघ २२
चितवन ।
Subscribe
Login
0 Comments
Oldest





































