रामकृष्ण ढकालसाँच्चै हो रहेछ
सबै कुरा सत्य नै रहेछन् । उसले आफू नजिकै रहेका रमिते ३,४,५,६ सँग भन्यो -- सिंहदरबार गाउँगाउँमा आएको छ भन्थे साँच्चै हो रहेछ ?!

रामकृष्ण ढकाल :
पर्दा खुल्छ ।
(घना तर अव्यवस्थित बस्तिको मध्य्र्भागमा रहेको फराकिलो चोकको डबलीको दृश्य । मञ्चमा दुई हूल प्राणिहरू देखिन्छन – एक हूल रमिता हेर्नेहरूको र अर्को हूल रमिता देखाउनेहरूको । रमिता हेर्नेहरू मनुवा जातका प्राणिहरू छन केहि सयको सङ्ख्यामा जो कहिले यता कहिलेउता गरिरहेका, एक आपसमा खासखुस गरिरहेका छन् । यहि दृश्यको बीचमा अर्को दृश्य पनि रहेछ ।)
रमिते १ (जो रमिताभएको ठाउँभन्दा अल्लि पर उभिएकोहुन्छ । त्यहिँ नजिकै रमिते २ आइपुगेपछी ):- ओइ त्यहाँ के भाको हो ? थुप्रै मान्छे जम्मा भएका छन् त ?! तँ त्यहिँ गएर आको हैन ? मलाई भन्न कुरो के हो ?
रमिते २:- त्यहाँ डबलिको बीचमा कतैबाट एकहूल जनावरहरू आएकारहेछन । मान्छेहरू के क्केन नौलो प्राणी देखेकोजस्तो गरी झुम्मिइरहेका छन् ।
रमिते १:- किन ? कुन जातका प्राणिहरू रहेछन् र ?
रमिते २:- उहीँ देखिरहेको जातका नै हुन । एउटा अल्लिठूलो चाहिँ अश्वजातसँग धेरैहदसम्म मिल्दोजुल्दो छ भने अरू सानाखालेचाहिँ हनुमानजीसँग ।
रमिते १:- ए ! अनि के गर्दैछन् त ती प्राणिहरू ?
रमिते २:- केही होइन, आ-आफ्नो स्वभावको प्रदर्शन गर्दैछन् ।
रमिते १:- भन्नाले ? अल्लि प्रष्ट हुनेगरि भन न !
रमिते २:- जिद्दी गरिहालिस् ल सुन । ठूलोचाहिँ राजाजस्तो पल्टेर गजधम्म एउटा आसनमा बसेको छ भने सानाेचाहिँ लाम लागेर पालैपालो ठूलोलाई कन्याइदिने, पाउ चाटिदिने, कुनै आहारा भेटे बाँडिचुँडी गरेर खाने, हामीजस्ता सोझासीधालाई हप्काउने, चिथोरौंलाजस्तो गर्ने त्यही त हो । जनावरले अरू के नै जानेका हुन्छन् र ! बरू कहिल्यै नदेखेको अचम्मभने आज यहीँ देखियो ।
रमिते १:- के देखिस् र त्यस्तो नौलो ?!
रमिते २:- अरू त केही होइन ती दुवै थरी जनावरहरूले केही नबुझिने बाङ्गाटेढा सोझा विभिन्न धर्काहरू कोरिएका कागजको लुगा लाएका छन् । अनि लुगाले छोप्न बाँकी रहेको शरीरको भागहरू जस्तै अनुहार, नाडी आदिमा पात झरेर शिख्रो भएका रुखहरूका काला काला बुट्टाहरू छन् । अनि दुवै थरिको आँखामा चस्मा लगाएको जस्तो देखिनेगरी पैसाको नोटका श्वेतश्याम चित्रहरू छन् । मैले आजसम्म यस्तो चित्र ज्यानमा छापिएका जनावर कहिल्यै देखेको त के सुनेकोसम्म पनि थिइन । आज आफ्नै आँखाले प्रत्यक्ष देखें । अझ अर्को झन अचम्मको कुरो त ती जनावरहरूमध्ये सानाखालेले भूइँमा केही लेखेजस्तो गर्ने र ठूलोचाहिँलाई देखाउने अनि ठूलोलाई कुनै चारो टक्र्यायो भने त्यो लेखेको कुरो हेरेर सच्याएजस्तो पनि गर्दोरहेछ । अझ त्यो ठूलो ले नै यस्सो मेसोपालो मिलाएर अधिक चाकरी गरेबापत केही चारोका टुक्राहरू बक्सिस पनि दिँदोरहेछ । अनि त्यसैको लोभले होला चाकरिको अघोषित होडबाजी नै चल्दोरहेछ ।
रमिते १:- हँ! हो र ? यस्तो त मैले पनि कहिल्यै सुनेकोसम्म पनि थिइन । यस्तो अचम्म त अरू बेलामा अरू ठाउँमा कहिँ कतै सुन्न देख्न पाइँदैन । यहिँ त्यस्तोछ भने म पनि एकचोटि हेर्न त्यही भिडमा जान्छु । ल यो जानकारीका लागि तँलाई धन्यवाद । (ऊ मञ्चको बीच तिर जान्छ । रमिते २ चाहिँ आफ्नो घरतिर जान्छ ।)
जब रमिते १ भिडमा पस्यो उसले आफ्नै आँखाले देख्यो कि त्यहाँ त बाँदरहरू मख्ख परेर गधाको चाकरी गर्दैछन् । अघि भर्खरै अर्कोले भनेको सबै कुरा सत्य नै रहेछन् । उसले आफू नजिकै रहेका रमिते ३,४,५,६ सँग भन्यो — सिंहदरबार गाउँगाउँमा आएको छ भन्थे साँच्चै हो रहेछ ?!
पर्दा खस्छ ।
०००
२०८२ चैत्र ५
चितवन
Subscribe
Login
0 Comments
Oldest






































