साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव अर्थात् चुटेर नाक वङ्ग्याइदिने

यस्ता सयौं हजारौं हर्कत जुन चुनावलाइ आधार बनाएर गरिन्छ तीमध्ये करिब सबै जसोले हामीलाई चुटेकै छन्, हाम्रो ठाडो हुनुपर्ने नाक बङ्ग्याइदिएकै छन्

Nepal Telecom ad

रामकृष्ण ढकाल :

खै कसले हो प्रजातन्त्रको परिभाषा दिँदै भनेका थिए रे- प्रजातन्त्र भनेको जनताद्वारा जनतामाथि जनताकै लागि गरिने शासन हो भनेर । यो परिभाषाको धज्जी अहिले यो परिभाषा गर्नेकै देशतिरबाट शुरुभै यस्तरी उँडेको छ कि त्यत्तिको त चैत बैशाखको हुरिबतासले उडाएकाे पत्कर पनि उँड्दैन होला । अर्थात प्रजातन्त्र भन्ने शब्दको बनावटमा आएका अक्षरहरू त उहि छन् तर तिनको स्थान र स्वरूपमा भने केही परिवर्तन आएर प अ अ अ र जा तँ नत्र भएको छ । र साथमा मुड्की बटाराइ पनि खोज्छ ।

शायद यहि कारणले होला यो प्रजातन्त्रको बलिस्ठ आधार मानिएको चुनाव नामको कामले पनि आफ्नो वास्तविक अर्थबाट बिचलित भएको छ र यो केही शब्दहरूको समूहको छोटकरी रूपमा रूपान्तरण भएकोछ । यो कुनै अल्मल्याउने गन्थन होइन । मात्र चुनाव शब्दमा रहेका तीनवटा अक्षरहरूको पूरा रूप अहिलेको तथाकथित प्रजातान्त्रिक दल ब्यक्ति वा समूहहरूको वास्तविक व्यवहारको आधारमा चु= चुटेर, ना= नाक र व= वङ्ग्याइदिने हुनगएको छ । कुरो सुन्दा त यो निकै उत्पट्याङ लाग्न सक्छ तर हामीले विगतका केही दशकहरूदेखि भोग्दै आएको मर्म त यहि हो ।

अब प्रश्न उठ्ला हैन दुई चार शब्द लेख्ने हुँदैमा यत्रो ठूलो कुरोलाई धूलो बनाएर उडाउने ? भनेर । तर वास्तविकताको गम्भीर मनन गरियो भने जवाफमा अर्को पनि प्रश्नै ठडिन्छ- हालसम्म कुनचाहिँ चुनावको परिणामले हामीले नाक ठाडो पारेर हिँड्ने वातावरण दिएको छ त ? जहिले चुनाव भए पनि जसले चुनाव गराए पनि आएको परिणामले त उहीँ पाँच मिनेट लगाएर मतदान पाँच वर्षभरी रोदन त गराएको हो नि । यस्तै चुनावका परिणामहरूले हाम्रो गौरवशाली वीरताको इतिहास आज रौरवशाली विदेशीको पाउमा नोकर हलि गोठाला भान्से भकारेको रूपमा रोइरहेको छ ।

अनि हाम्रो इज्जतको पर्याय बनेको नाक ठडिन छोडेर अर्काको पाउमा रगडिन पुग्नुको विवशतामा रोएको भएन त ?
चुनावबाट चुनिएर आएको भन्ने आवरणमा कहिले भ्रष्टाचारको मुक्का हानेका छन, कहिले घुसखोरिको; कहिले नातावादको मुक्का हानेका छन् कहिले झोलेवादको; कहिले दुष्ट भ्रष्ट संरक्षणको मुक्का हानेका छन् कहिले पूर्वाग्रह र पक्षपातको; कहिले अन्यायी कानूनको मुक्का हानेका छन् कहिले विदेशी इशाराको; कहिले यो काण्डको मुक्का हानेका छन् कहिले त्यो ताण्डवको । अनि बिचरो नाक चुटिएर बाङ्गो हुँदैन त !!

त्यतिमात्र कहाँ हो र ? अझ रौरवशाली शासनका हतियार मतियार सञ्चालक खाञ्चालक हसुरक झोले झाम्टे जुम्रे जगल्टे भुसे पगल्टे तुर्को आसे आदिको सिंहदरबारको सिंहकै साख्खै डमरूको जस्तो व्यवहार पनि कम छैन । तिनका खुराफाती काम कारोबार बोली व्यवहार आफू मोटाउने जनता घटाउने छँदैछ । नेतालाई मस्ती जनतालाई सास्ती आसेपासे सबै अगस्ती भन्ने त उखानै बनिसक्यो । गाउँटोल वडासम्म यस्तै हर्कतधारीहरूको हालिमुहाली , जनता जति माछा राजनीति चाहिँ दुवाली हामिले पाइला पाइलामा भोगेकै छौं ।

भू- परिवेष्टित देशको पहिचान बदलिएर प्रत्येक कार्यालय घुस परिवेष्टित भएका छन् । प्रशासन प्रशासन होइन दुशासन बनेको छ । अनेक भाँति र भूमरिका कुहिगन्धे नियम लगाएर जनता नामका निरीह प्राणिहरूलाई अरबी शब्दावली अनुसारको जन्नतजस्तो देश र जहन्नुमजस्तो परिवेश पारिएको छ । यस्ता रौरव पुराणको आधार भनेको त्यही चुनाव नै हो । चुनाव जितेर गएकाहरू असल कामको लेखो राख्न भन्दा गलत गरेर लेप्र्याइ चाख्न बढी मन पराउने भए ।

आजकलको विद्यार्थीसँग बाबू तँ पढेर के बन्छस् भन्दा विदेशीको नोकर बन्छु भन्नू र राजनीति गरेर के हुन्छस् भन्दा अख्तियारको मुद्दाको सिकार भन्नु उस्तै भएको छ। मात्र यत्ति हो यस्ता सयौं हजारौं हर्कत जुन चुनावलाइ आधार बनाएर गरिन्छ तीमध्ये करिब सबै जसोले हामीलाई चुटेकै छन्, हाम्रो ठाडो हुनुपर्ने नाक बङ्ग्याइदिएकै छन् चाहे त्यो चुटाइ भाषणको, घुसको, भ्रष्टाचारको, नातावादको, झुटा मुद्दाको, अनेक जालझेलको, अधर्म वा पाप सापेक्षताको आदि जुनसुकै प्रकारको होस् । त्यसैले वास्तवमा अहिलेसम्मकै भोगाइ अनुसार चुनाव भन्नाले चुटेर नाक बङ्ग्याइदिने प्रपञ्च नै हो ।

०००
२०८२ माघ १५
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x