खगेन्द्र नेउपानेआउनोस् नेता ज्यू ! आउनोस्
बाख्रापाठा सारेर आउँला, नानी पढ्ने स्कूलचौरमा ठेलामठेल गरौंला, तातो घाम खाउँला त्यहीं छाप लाउँला, तपाईंलाई जिताउँला अनि आफू लखतरान हारेर घर फर्कौंला ।
आउनोस् है आउनोस्
चुनाव आउँदै छ रे
उठेर आउनोस्
सक्नेहरू एक्ला एक्लै आउनोस्
नसक्नेहरू जुटेर आउनोस्
आउनोस् है आउनोस् !
आउनोस् है आउनोस्
जित्ने त तपाईंहरूले हो
हामी त हरेक पल्ट हारिरहन्छौं
कहिले यहाँलाई कहिले वहाँलाई
आशाभरोशा सारिरहन्छौं
वर्षौं पालेका इच्छा आकाँक्षाहरू
नैराश्यताका तरबारले मारिरहन्छौं
कहिले चोकबजारमा
अव्यवस्थाको राँको बालेर
जिन्दावाद र मुर्दावादमा हुन्छौं
आफ्नै आकाँक्षाहरूको श्रद्धाञ्जलीमा
दुई थोपा आँसु खसाएर रुन्छौं
आउनोस् है आउनोस् !
हो यसरी नै हार्यौं हामी धेरैपल्ट
तपाईं आउनुभो
मजेरीमा आसन जमाउँनुभो
अँगेनामा कुरा फत्काउँनुभो
भँडारको भकारी भत्काउनुभो
हामीले पनि होला ता नि भन्यौं
नाङ्गो करङ तेर्स्याएर
तपाईंको सुरक्षा ढाल बन्यौं
तपाईंले उमालेको रगत शान्त पार्न
हामीले आफ्नै ओठ टोक्यौं
आफ्ना योग्यताहरू च्यात्यौं
तपाईंलाई नै बोक्यौं
धेरै टाढा टाढा धायौं
अप्ठ्यारा र हण्डरहरू खायौं
हामीले आफ्ना कामहरू बितायौं
आफू मज्जाले हार्यौं तपाईंलाई जितायौं ।
फेरि एकपल्ट मन बाँधेर
चाम्रे पकाएर गुन्द्रुक साँधेर
एकाबिहानै जुठो मुख पारेर आउँला
भैंसीको भकारो सोहोरेर
बाख्रापाठा सारेर आउँला
नानी पढ्ने स्कूलचौरमा ठेलामठेल गरौंला
तातो घाम खाउँला
त्यहीं छाप लाउँला
तपाईंलाई जिताउँला
अनि आफू लखतरान हारेर घर फर्कौंला
र
आफैंमाथि अपशोच गर्दै
अर्को चुनाव पर्खौंला ।
हो यसरी नै
वर्षौंवर्ष हारिरहने बानीपरेका हामीहरू
जिन्दगीको हर मौसममा
अमिलो पानी परेका हामीहरू
भत्किएको सडकमा
चारचक्केका पैयाँले उडाएको धूलो
फोक्सोभरि भरेर
आफ्नै सुन्दर भविष्य देख्न नसक्ने आँखाको फुलो
तपाईंको आगमनमा छरेर
चोक र बजारमा ताली बजाउन पर्खौंला
चर्को घाममा सुकेको पराल झैं खर्कौंला
आउनुहोस्
उठेर आउनोस्
सक्नेहरू एक्लाएक्लै आउनोस्
नसक्नेहरू जुटेर आउनोस् ।
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest







































