लक्ष्मीप्रसाद देवकोटासुकुलमाथि
मेचमा विराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन् कि पीङ खेल्दछन्, टेबिलको र मेचको वीचमा कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन्

मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैंचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो ।
कोठामाभन्दा बगैंचामा प्रकृतिको नजिक भएजस्तो हुन्छ र हरियो रङको समीपमा उसलाई बीसौं शताब्दी छाडेर चटाइको भर्खर अविष्कार भइरहेको युगको दार्शनिक बनेर जाईको बोटनेर घोरिरहे झैं लाग्दछ ।
मलाई त्यस बेला सच्चा नेपाली भए झैं लाग्यो । मेच र टेबिलको अत्याचारबाट छुटेको बेलामा मैले याद पाएँ कि पहिलेको प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुण्ड्याएर बनकर जस्तो गरी बस्तो रहेछ ।
मलाई यस्तो लाग्यो कि मेचमा बस्ने व्याक्तिमा चञ्चलता हुन्छ किनकि अप्राकृतिक तवरले आधूनिक आसनीमा गोडा पिडौलालाई प्राकृतिक तालीम छैन । ऋषिमुनिहरू पलेटी कसेर बस्तथे समाहित पद्मासनमा, एक भाग शरीर पनि रौंप्रमाण हिल्दैनथ्यो । उनीहरू मेरूदण्ड सीधा गरेर खटिया राखी पढ्ने या ध्यान गर्ने गर्दथे तर मेचमा विराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन् कि पीङ खेल्दछन्, टेबिलको र मेचको वीचमा कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन् र अभागी आधुनिकताको कैदीलाई कहिले यता हिल्ल मन लाग्छ कहिले उता । फर्कदा पनि खर्याकखुरूक आवाज नगरी फर्कन सक्दैन र यसको मुख्य अवगुण त्यस बेला थाहा हुन्छ, जब भाषापरिषदमा मग्न भएर मिहीन विचारहरू उब्जाइरहेको लेखनदासका मगजमा खर्खराउँछन् ।
फेरि टेबिलले या डेस्कले मान्छेको शिर घोप्ट्याउँछ र छातीको भरले लेख्न लगाउँछ । तर खटिया कति प्राकृतिक छ उसले बुझ्दछ जसले प्रयोग गथ्र्यो । तर आजकालका ठिटाहरूसँग खालि घण्टौंसम्म बहस गर्नु उनीहरू बुझ्दैनन् ।
टेबिल मेचको भक्तले मन्दछ, ‘हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसंग उच्च आसनमा बसेर रवाफिलो तवरले लेखपढ गर्दछौं ? मानौं सिंहासन छ । सुकुल लेखकका मगजबाट के फूर्ति र रवाफ निक्लन सक्ला ?’
यस्ता मान्छेहरू ती हुन् जो संस्कृत भन्दा नाक चेप्राउँछन् । श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन् र प्राचीन आर्यसभ्यतामा नफरत देखाउँछन्; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्, थचक्क बस्न सक्तैनन् । टाउको तल्तिर फर्कको पुतली आफूलाई अप्राकृतिक सम्झदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन् ।
महात्माहरू पलेटी मारेर दुनियाँ बुझ्दछन् तर माष्टरहरू नेचमा डटेर दुनियाँलाई बुझाइरहेछन् । के नक्कल, उल्था, उतार र आधुनिक अज्ञान ?
‘लक्ष्मी निबन्ध संग्रह’
Subscribe
Login
0 Comments
Oldest











































