होम सुवेदीबुद्ध उमार्ने अभियान
हामी बुद्धबादीहरू हामीबाटै हराएको बुद्ध खोज्ने युद्ध लड्दा लड्दा अब त थाकि पनि सकेका छौंं अब ता पाकि पनि सकेका छौं ।

एक पटक उम्रिएको बुद्धले हामी अघाएनौ
किनभने हामी बुद्धवादी हौं
बुद्धवादी भएर पनि
हामीहरू आधुनिक युद्धवादी हौं
हामीले बुद्ध खोजेको धेरै भयो
नपाएपछि अब हामी बुद्ध उमार्ने अभियानमा छौैं
हामी बुद्धबादीहरू
हामीबाटै हराएको बुद्ध खोज्ने युद्ध लड्दा लड्दा
अब त थाकि पनि सकेका छौंं
अब ता पाकि पनि सकेका छौं
बोधिवृक्षमुनि तपस्या गर्न आउला भनेर
कुरेको पनि धेरै भयो
बोधीवृक्ष पनि काठतस्करको हात गइसक्यो ।
अब ता बुद्ध यसरी यहाँ पनि आउने रहेनछ
बरु नयाँ बुद्ध रोप्नु पो पर्ने रहेछ
बुद्ध उमार्ने मलिलो माटो पो बनाउनु पर्ने भएछ ।
यत्रो प्रयास गरेर पनि खै त हाम्रो बुद्ध उम्रिएको
यत्रो खोजी गरेर पनि खै त हामीले बुद्ध पाएको
हामीले बुद्ध उमार्ने मलिलो माटो बनाउँदा बनाउँदा
विकीरणको धुलो उड्न थालिसकेको छ
आधुनिक बुद्ध रोप्न पनि
परमाणु ऊर्जाको खाँचो हुँदैछ
यी उपाय गरेपछि भने
अब बुद्ध उम्रने आश प्रबल भएको छ
हामीहरूको हौसला सबल भएको छ ।
हुन सक्छ मित्रहरू,
हाम्रो बुद्ध फेरि चाँडै उम्रदैछ
मिसायल काँधमा हालेर
प्वाइजनस ग्यास हावाभरि छर्दै
हातमा न्युटन बमको आशीर्वाद बोकेर ।
हुन सक्छ मित्रहरू,
चाँडै यहाँ बुद्ध जन्मनेछ, चाँडै यहाँ बुद्ध उम्रनेछ—
हिट्लरको कान्छो छोराको रुपमा
हिरण्यकशिपुको जेठो छोराको रुपमा
अथवा कुनै न कुनै रुपमा
यहाँ बुद्ध उम्रिएरै छाड्नेछ ।
हाम्रो बुद्ध जहाँ पनि उम्रन सक्छ मित्रहरू,
हुन सक्छ यो युद्धको मैदानमा जन्मियोस्
हुन सक्छ हाम्रो बुद्ध
आणविक भट्टीमा उम्रोस्
हुन सक्छ मित्र
हामीले जन्माउन खोजेको बुद्ध
पुटिन भएर जन्मस्
इरान, इराक, अफगानीस्तानमा
रुस युक्रेन र पाकिस्तानमा जन्मोस्
यो जे जसरी जहाँ पनि जन्मन सक्नेछ
लिट्टे, आइएस आइ, बोकोहराम भएर पनि
जन्मन सक्नेछ ।
हिजोकै बुद्धबाट हामी पनि अघाइसकेका छौं
नयाँ बुद्धका लागि
हामी पनि ठाउँठाउँमा धाइसकेका छौं
खुमेनी बुद्धका शान्तिसन्देशहरू
जियाउल हक बुद्धका उपदेशहरू
रेगन पुटिन र गोर्भाचोभका सन्देशहरू
सुन्दा सुन्दा हामी पनि त वाक्क भइसकेका छौ
यसैले मित्र हामीलाई पनि एक नयाँ बुद्ध चाहिएको छ
आजका साना बुद्धहरू
जो युद्धको धुनी जगाएर
समाधिमा लीन छन्
तिनीहरूदेखि हामी अघाइसकेका छौं
आजका सीताहरू जो लाममा छन्
पाठेघरको सफाइ गर्नेहरूको लाममा
त्यस्ता सीताहरूदेखि पनि हामी अघाइसको छौं
आजका सुकरातका रुपमा आएका बुद्धहरू
अन्तरिक्षको गाथा गाउनमा लागिरहेका छन्
आजका वाल्मीकिहरू
नयाँ बुद्धको रामायण लेख्न पर्खिरहेका छन्
अन्तरिक्ष गाथा लेख्न लागिरहेका छन् ।
यसैले हामी पछि परिसकेका छौं
अब हामी पनि चुप बसेर हुन्न
एउटा न एउटा बुद्ध नउमारी हुन्न ।
यसैले आओ साथी हो ।ं
भोलिलाई चाहिएको बुद्ध उमार्न
झोली थाप्दै गुहार मागेर हात पसारी
मागौं बडो सम्मानका साथ—
ए, बुद्धवादीहरू,
बुद्ध उमार्न चाहिने अलिकति इन्धन हामीलाई पनि दिन्छौ कि ?
तारापुरका लागि ल्याइएको
वम निर्माण गर्ने ऊर्जा
अलिकति हामीलाई पनि दिन्छौ कि ?
रुसबाट पोल्यान्ड पुगेको विकीरण
हाम्रा नारीहरूलाई खुवाएर पनि
हामीले बुद्ध उमार्न सकेनौ
म्यान्डेक्स, हेरोइन, ब्राउन सुगर खुलाएर पनि
हामीले बुद्ध जन्माउन सकेनौं
हाम्रै यार्सागुम्बा खुवाएर पनि हामीले
बुद्ध रोप्न सकेनौ
यसैले—
हामीलाई बुद्ध उमार्ने ऊर्जा चाहिएको छ
यसमा तिम्रो पनि हक हुनेछ
हाम्रो पनि हक हुनेछ
यसैले मित्रहरू,
बुद्ध जन्माउने विष्फोटक र बारुदहरू
अलिकति दिन्छौं कि ?
किन हो बुद्ध नउम्रेको
बुद्ध रोप्ने माटोको
अलिकति परीक्षण गरिदिन्छौ कि ?
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































