साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुल्ला उम्मेदवार

त्यो भजन मण्डलीमा भएका सबै पार्टीहरूका नेताहरूले खासखास खुसखुस गरे । हाँ हूँ गरे । मुक्का मुक्की होला जस्तो पनि भयो, तर मुक्का मुक्की चैँ धन्न भएन ।

Nepal Telecom ad

आनन्दमय निद्रालाई चकनाचुर पार्दै एका बिहानै रेडियोमा सनसनी खबर फैलियो । आँखाका चिप्रा पखाल्न छोडेर झुसे कान रेडियोको आवाज आउने ठेउकोमा जोडेँ । मेरा कानका झुस खडा भए । खबरै यस्तो थियो कि कानका मात्रै त के कहाँ कहाँका झुस् खडा भए भए । खबर पनि कथा जस्तै लामै थियो ।

खबर यस्तो थियो । नेपालका राजनैतिक पार्टीहरुले आ-आफ्नो छवि सुधार्न निर्वाचन आयोगलाई हार गुहार गरेछन् । ’हे पाँचमुखे आयोग! यस भन्दा अघिका हाम्रा उम्मेदवारहरु यति गन्हाए कि उनीहरुलाई डम्पिङ साइटमा लगेर फ्याल्यो भने काठमाण्डुको फोहोरै त्यहाँबाट भाग्ने सम्भावना बढ्यो । त्यही भएको हुनाले केही उपाय लगाई पाऊँ भनी तपाईँ सामु उपस्थित छौँ ।’ यो पुकार सुनी पाँचमुखे आयोगले पार्टीहरूलाई छवि पनि जोग्गिने र पार्टी पनि भइराख्ने सुझाव दियो ।’ खबर यत्ति मै सकिएन ।

त्यस पछि के भयो? लौ त्यो पनि सुन्नुहोस । यसरी पार्टीहरूका नेताहरूको भजन मण्डलीले निर्वाचन आयोगको अघिल्तिर ध्यान गर्न थाल्यो । निर्वाचन आयोगले पनि आफ्नो औतारी रूप धारण गरेर धेरै बेर चूप लाग्यो । भजन मण्डलीले निर्वाचन आयोगको आदेश कुर्दा कुर्दा दिक्क लागेर आफ्नो ध्यान भङ्ग हुनै आँटेको बेला युरेका ! युरेका ! युरेका ! भन्दै निर्वाचन आयोगले आँखा खोल्यो । उठ्नै आँटेका पार्टीहरूको आशाको त्यान्द्रो सलबलायो ।

विधि विधान मिच्नु पनि नपर्ने र आफूलाई ढाँटहरूको हुलबाट टाढा राख्न पनि मिल्ने नयाँ जुक्ति निर्वाचन आयोगले निकाल्यो । युरेका! भनेर एक पटक फेरी डकारेर आफ्नो आविष्कारको यसरी व्याख्यात्मक टिप्पणी गर्‍यो ।

’ल सुन्नुहोस – तपाईँका पार्टीका कार्यकर्ताहरु गन्हाउन थाले । त्यसो भएर अब आ-आफ्ना पार्टीमा २० प्रतिशत उम्मेदवार पार्टीका सदस्यहरूबाट हैन, खुल्लाबाट खोज्नुस् ।’

’ओहो ! ओहो ! कस्तो कुरा हो यो ? आविष्कार पनि अलि गतिलो गर्नु नि !’ पार्टीका नेताहरुले एकै स्वरमा भने ’हाम्रा त्यति धेरै कार्यकर्ता छन् अब २० प्रतिशत उम्मेदवार खुल्लाबाट ल्यायो भने हामीलाई नै पार्टीबाट निकाली दिन्छन् । कसरी सम्भव हुन्छ ?

निर्वाचन आयोगले भन्यो, ’पार्टीको छवि बचाउने हो भने यही मात्र एउटा उपाय हो ।’
त्यो भजन मण्डलीमा भएका सबै पार्टीहरूका नेताहरूले खासखास खुसखुस गरे । हाँ हूँ गरे । मुक्का मुक्की होला जस्तो पनि भयो, तर मुक्का मुक्की चैँ धन्न भएन । अन्त्यमा कुरो मिलाउन सिपालु हाम्रा नेताहरूले सर्वसम्मत निणर्य गरे कि निर्वाचन आयोगले दिएको सुझाव लागू गर्ने । भजन मण्डलीमा भएका सबैले ताली बजाए ।

त्यहि बेला नेताहरूलाई कसैले सोध्यो, खुल्लामा निवेदन हाल्न के के भाँति पुर्याउनु पर्छ त? फेरि नेताहरूले खासखास खुसखुस गरे । हाँ हूँ गरे । अन्त्यमा उम्मेदवारमा निवेदन हाल्नका लागि योग्यताको निर्धारण गरे । त्यो योग्यताको एउटा प्रति पत्रकार, रेडियो, टिभी, शिक्षक, विद्यार्थी, प्राध्यापक, प्राग्य, वकिल, इन्जिनियर, डाक्टर, उद्योगपति, व्यापारी, मजदूर सबैलाई बाँडे तर म जस्तै निष्पक्ष र सर्वसाधारणलाई बाँडेनन् ।

रेडियोले त्यो योग्यताको सूची पढेन । त्यही भएर मेरा झूस ठाडिएका हुन । रेडियोबाटै थाहा पाएको भए कतै धाउनै नपर्ने । तर नेपालाँ एउटाले सूचना खुसुक्क पायो भयो लुकाइहाल्ने, अर्कोलाई नदिने संस्कृतिले जरो गाडे को छ त नि! त्यही भएर म पनि उम्मेदवारी दिन नजिकैको कुनै एउटा पार्टीको कार्यालयमा गएँ । पहिलो गाँसमै ढुङ्गा लाग्यो । पार्टी साह्रै सानो परेछ । कोटा सकियो भनेर उम्मेदवारी फाराम नै दिएन ।

फेरि लखर लखर अर्को पार्टीको कार्यालयमा पुगेँ । त्यहाँ पुग्दा नै युद्ध जितेको जस्तो अनुभव भएको थियो । तर त्यहाँको भीड देख्दा भागेको सिपाही जस्तो हुन पुगेँ । ५ घण्टा लाइन बसे पछि बल्ल रिसेप्सन नेर पुँगे । भए नभएका प्रश्न सोधेर दिक्क भइसकेको थिएँ । तीन पुस्ते जानकारी दिए पछि एउटा फाराम पाइयो । त्यो फाराममा चार वटा खाली ठाउँ थिए । नाम, ठेगाना, के पदमा उठ्ने, र कहाँ बाट उठ्ने । अरु बाँकी निर्देशनै निर्देशन अन्तिम पानामा योग्यता लेखिएको पाएँ । आफूलाई चाहेको कुरा पाए पछि नाकै घिरौँला जत्रो भयो ।

पहिलो योग्यता पढेर गदगद भएँ । लेखिएको थियो कुनै पार्टीको सदस्यता नलिएको । तर, त्यसपछिका योग्यता पढ्नै मन लागेन । पढने इच्छा नभए पनि ल सुन्नुहोस तपाईँ पनि । योग्यता भनेर यस्तो लेखिएको थियोः साँढे जस्तो जुध्न सिपालु; कम्तीमा पनि ट्वाँट र पटमूर्ख हुनुपर्ने; अरूले अह्राएको कुरा मात्रै सुन्ने, जवाफ नफर्काउने; हुलदाङ्गामा स्नातक; झुक्याउने र ढाँट्ने कलामा पारङ्गत; चोरी डकैती लुटपाट र ठग्नमा गहिरो अनुभव; अन्य जघन्य अपराधमा उच्चकोटिको मूल्याङ्कन सहित स्नातकोत्तर; कम्तीमा दुईचार पटक जेल गएको हुनै पर्ने; लप्पन छप्पन र सेटिङ गर्नमा धूर्त; जतिपनि खान र खुवाउन सक्ने, जेटप्लेन खाए पनि पचाउन सक्ने भुँडी भएको; अपरेशन गरेर ढाड लुलो बनाइ जता पनि ढल्किन सक्ने; शरीरमा चाहिने वटा अङ्ग भन्दा एक दुई वटा थप भएकालाई विशेष प्राथमिकता; र अन्तमा निवेदनसङ्ग तस्कर र भ्रष्टाचारीहरूको सिफारिस भएको हुनु पर्ने छ । साथै धेरै पढेका र बुद्धि भएकाले दरखास्त नहाल्नू, ओभर क्वालिफाइड भएर रिजेक्ट हुनेछ ।

योग्यता सरर पढे पछि त मेरो सातोपुत्लो गयो । तालुनै तातेर ज्वरो आउला जस्तो भयो । लाइन बस्ता बस्ता सुकेको मेरो जिउ फैलाउन खुवा बरफवाला भएको ठाउँमा गएँ । खुवा बरफ बेच्नेले पनि ’अब यस्तो जाबो खुवा बरफ अब के बेच्छु र!’ भनेर भाँडोको बिर्को खुल्ला राखेर योग्यता पढ्न थाले छ । बरफ त चौरमा चिप्लेटी खेल्दै थियो । केही सीप नलागे पछि त्यो उम्मेदवारी फाराम त्यहीँ छेउको रुखमा टाँसेर घर फर्केँ ।

रुकुमकोट, रुकुम पूर्व
हाल एडमन्टन, क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x