दुष्यन्त भट्टराईनव वर्ष
होस् निर्माण छिटै स्वदेश घरको बाटा तथा वासको । यो हाम्रो नववर्ष होस् प्रगतिको आस्था र विश्वासको !

नारा मात्र नहोस् सधैँ सदनमा सङ्कल्प होस् आस होस्
केही गर्न अठोट होस् दृढ अझै गन्तव्य झन् खास होस्
हाम्रा धर्म परम्परा नसकियून् चिन्ता नहोस् गाँसको
यो हाम्रो नववर्ष होस् प्रगतिको आस्था र विश्वासको !!
हानाहान गरेर पुग्नु छ कहाँ ? यस्ता कुरा बुझ्नु छ
दोषारोपणले न बच्छ गरिमा, यस्ता कुरा बुझ्नु छ
मारामार नहोस् रहोस् सुजनमा सम्मान सद्भावको
यो हाम्रो नववर्ष होस् प्रगतिको आस्था र विश्वासको !!
खेती गर्न किसानले समयमै पाऊन् सबै चाहिने
होस् सन्तुष्टि मुहारमा र मनमा आनन्द होस् दाहिने
आशाका रविले दिने किरणले पीडा हटोस् त्रासको
यो हाम्रो नववर्ष होस् प्रगतिको आस्था र विश्वासको !!
खोलून् हेर छिटै यहाँ श्रमिक छन् जो कारखानाहरू
पर्देशी बनिएर बेच्न नपरोस् सामर्थ्य हाम्रा अरू
होस् निर्माण छिटै स्वदेश घरको बाटा तथा वासको
यो हाम्रो नववर्ष होस् प्रगतिको आस्था र विश्वासको !!
जस्तो फूल फुलेर मग्मग हुने गर्छन् बगैँचाहरू
जस्तो प्यास थकान होस् पथिकको मेट्छन् फलैँचाहरू
त्यस्तै होस् उपकारको गुण सधैँ निर्मूल उच्छ्वासको
यो हाम्रो नववर्ष होस् प्रगतिको आस्था र विश्वासको !!
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest